Tuesday, March 24, 2015

Geeta Chapter 16


भागवत गीता अध्याय १६

श्रीभगवानुवाच
अभयं सत्त्वसंशुद्धिर्ज्ञानयोव्यवस्थित:।
दानं दमश्च यज्ञश्च स्वाध्यायस्तप आर्जवम्।।१।।

अहिंसा सत्यक्रोधस्त्याग: शान्तिरपैशुनम्।
दया भूतेष्वलोलुप्त्वं मार्दवं ह्रीरचापलम्।।२।।

तेज: क्षमा धृति: शौचमद्रोहो नातिमानिता।
भवन्ति सम्पदं दैवीमभिजातस्य भारत।।३।।
१-३
भगवान श्रीकृष्णले आज्ञा गर्नु भयो
(अभयता, चित्तको प्रशन्नता, ज्ञानप्रतिका लागि निष्ठा, दान, बाह्य इन्द्रियहरु माथि नियन्त्रण, यज्ञ, स्वअध्ययन, तप, अन्त:करणको सरलता, अहिंसा, सत्यवादिता, अक्रोध, स्त्री, पुत्र आदिमा ममताको त्याग, शान्ति, अरुको निन्दा नगर्नु, सम्पूर्ण प्राणीहरुमा दया भाव, लोभ नहुनु, मृदुता, लाज, चंचलताहीन, तेज, क्षमाशील, धीरता, भित्र र बाहिरको शुद्धता, द्रोहभावहीन, अअभिमानी, हे भारत यी गुणहरु त्यो व्यक्तिले पाउँछ जो दैवी सम्पत्तिका साथ जन्मेको हुन्छ। अर्थात शुभ क्षणमा जन्मेकाहरुलाई यी गुणहरु प्राप्त हुन्छ।)

दम्भो दर्पोSभिमानश्च क्रोध: पारुष्यमेव च।
अज्ञानं चाभिजातस्य पार्थ सम्पदमासुरीम्।।४।।
(हे पार्थ, दम्भ, गर्व, अभिमान, क्रोध, निष्ठुरता, र अज्ञानता आसुरी सम्प्तिका साथ जन्मेका व्यक्तिहरुलाई प्राप्त हुन्छ।)

दैवी सम्पद् विमोक्षाय निबन्धायासुरी मता।
मा शुच: सम्पदं दैवीमभिजातोSसि पाण्डव।।५।।
(हे पाण्डव, दैवीसम्पत्ति मोक्षलाई र आसुरी सम्पत्ति बन्धनलाई भनिएको छ तर तिमीले दैवीसम्पत्तिमा जन्म लिएको हुनाले तिमीले शोक गर्ने कारण छैन्।)

द्वौ भूतसगौं लोकेSस्मिन् दैव आसुर एव च।
दैवो विस्तरश: प्रोक्त आसुरं पार्थ मे शृणु।।६।।
(हे पार्थ, यस जगतमा दैवी र आसुरी गरी प्राणीहरुको स्वभावलाई दुई वर्गमा विभाजन गरिएको छ। यस मध्ये दैवी स्वभाव बारे मैले विस्तारमा भने अब मबाट आसुरी स्वभाव बारे सुन।)

प्रवृत्तिं च निवृत्तिचं च जना विदुरासुरा:।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते।।७।।
(आसुरी स्वभावका व्यक्तिहरुमा धर्मप्रति लगाब राख्ने र अधर्म परित्याग गर्ने प्रवृति हुँदैन।  उनीहरुमा शुद्धता, आचार र सत्यता पनि हुँदैन।)
नोट: कुन काम गर्नु उचित र कुन गर्नु अनुचित छ भन्ने ज्ञान असुरहरुमा हुँदैन।

असत्यमप्रतिष्ठं ते जगदाहुरनीश्वरम्।
अपरस्परसम्भूततं किमन्यत् कामहैतुकम्।।८।।
(उनीहरु यस जगत् लाई असत्य, आश्रयहीन, इश्वर नभएको, एक अर्काको संसर्ग द्वारा वा स्वत: उत्पन्न भएको भन्दछन्। यति मात्र होइन, उनीहरु यो जगत् मात्र काममूलक रहेको मान्दछन्।)

एतां दृष्टिमवष्टभ्य नष्टात्मानोSल्पबुद्धय:।
प्रभवन्त्युग्रकर्माण: क्षयाय जगतोSहिता:।।९।।
(यस किसिमको आसुरी दृष्टिकोण राखेर नष्टात्मा, अल्पबुद्धि, अरुको अहित गर्ने, क्रुर तथा दुष्टहरु यो जगत् को क्षय गर्नका लागि जन्मेका हुन्छन्।)

काममाश्रित्य दुष्पूरं दम्भमानमदान्विता:।
मोहाद गृहीत्वासद्ग्राहान् प्रवर्तन्तेSशुचिव्रता:।।१०।।
(यिनीहरु कहिलै पनि पूरा हुननसक्ने काम वासनाहरुको पछि लागेर, घमण्ड, मान, मदले युक्त भइ मोहमा परेर असत्य सिद्धान्त लिन पुगेका हुन्छन् र यसकारणबाट खराब काम गर्नमा उत्प्रेरित रहन्छन।)

चिन्तामपरिमेयां च प्रलयान्तामुपाश्रिता:।
कामोपभोगपरमा एतावदिति निश्चिता:।।११।।
(यिनीहरु मृत्यु नहुनजेलसम्म पनि गणना गर्न नसकिने एवं सीमाहीन चिंताहरुको बोझले थिचिएका हुन्छन् र विषयहरुको भोग र सम्पत्ति सृजनालाई नै जीवनको उद्देश्य ठान्दछन।)

आशापाशशतैर्बुद्धा: कामक्रोधपरायणा:।
ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान्।।१२।।
(असंख्य कामनाहरुको बन्धक भएका तथा काम एवं क्रोधले युक्त यी आसुरी प्रवृतिक व्यक्तिहरु इन्दिय सुख-भोग विलासका लागि अवैध तरिकाबाट धन कमाउन उद्धत रहन्छन्।) 

इदमद्य मया लब्धमिमं प्राप्स्ये मनोरथम्।
इदमस्तीदमपि मे भविष्यति पुनर्धनम्।।१३।।

असौ मया हत: शत्रुर्हनिष्ये चापरानपि।
ईश्वरोSहमहं भोगी सिद्धोSहं बलवान् सुखी।।१४।।

आढ्योSभिजनवानस्मि कोSन्योSस्ति सदृशो मया।
यक्ष्ये दास्यामि मोदिष्य इत्यज्ञानविमोहिता:।।१५।।
१३-१५
(उनीहरु के सोच्छन् भने आज मसँग यति सम्पत्ति छ मेरो चतुराइले यो भन्दा अझ बढी कमाउने छु। अहिले मसँग यति सम्पत्ति छ पछि अझै बढी कमाउने छु। ऊ मेरो सत्रु हो, मैले उसलाई मारेको छु र मेरा अन्य सत्रुहरु पनि मदवारा मारिने छन। म हरेक कुराको स्वामी हुँ र म सर्वाधिक सुखी छु। म पूर्ण छु, शक्तिमान छु र म सुखी छु। म अत्यधिक धनी छु र वरिपरिका मेरा बन्धु बान्धवहरु पनि वैभवशाली छन्। म जत्तिको शक्तिशाली र खुसी कोही पनि छैन। म यज्ञ गर्नेछु र यसरी मैले आनन्द प्राप्त गर्नेछु। तर उनीहरु (आसुरी प्रवृतिक) ले अज्ञानबाट भ्रमित भएर यस्तो भन्ने गर्दछन्।)

अनेकचित्तविभ्रान्ता मोहजालसमावृता:।
प्रसक्ता: कामभोगेषु पतन्ति नरकेSशुचौ।।१६।।
(अनेक किसिमका कामनाहरुबाट चित्त भ्रमित भएका, मोहको पासोमा बेरिएका र भोग विलासमा लिप्त रहने यस्ता अपवित्रहरु नरकमा पतीत हुन्छन्।)

आत्मसम्भाविता स्तब्धा धनमानमदान्विता:।
यज्ञन्ते नामयज्ञैस्ते दम्भेनाविधिपूर्वकम्।।१७।।
(असुरहरु आफैले आफ्नो प्रशंसा गर्ने एवं अविनम्र-घमण्डी हुन्छन्। धन र मानको मादलेयुक्त हुन्छन्। शास्त्र र यसका विधिहरु थाहा हुँदैन। नाम मात्रको लागि, अविधिपूर्वक यज्ञ गर्दछन् जुन घमण्डले गरिएको हुन्छ।)

अहंकारं बलं दर्पं कामं क्रोधं च संश्रिता:।
मामात्मपरदेहेषु प्रद्विषन्तोSभ्यसूयका:।।१८।।
(अहंकार, बल, मूर्खता, काम र क्रोध जस्ता तत्वहरुले गर्दा अन्धा भएका असुरहरु तिनीहरुकै शरीरमा र अरुहरुको शरीरमा रहेको मेरो उपस्थितिको द्वेष-निन्दा गर्दछन्।)

तानहं द्विषत: क्रूरान् संसारेषु नराधमान्।
क्षिपाम्यजस्रमशुभानासुरीष्वेव योनिषु।।१९।।
(साधुहरुको द्वेष गर्ने ती पापाचारी र क्रुर नराधमहरुलाई म यो भौतिक संसारमा पटक पटक आसुरी योनीमा उत्पन्न गराउँछु।)

आसुरीं योनिमापन्ना मूढा जन्मनि जन्मनि।
मामप्राप्यैव कौन्तेय ततो यान्त्यधमां गतिम्।।२०।।
(हे कौन्तेय, ती मूढहरुले हरेक जन्ममा आसुरी योनीमा जन्म लिन्छन र मलाई प्राप्त गर्न असफल भएर त्यो भन्दा पनि खराब गति पाउँछन्।)

त्रिविधं नरकस्येदं द्वारं नाशनमात्मन:।
काम: क्रोधस्तथा लोभस्तस्मादेतत्रयं त्यजेत्।।२१।।
(काम, क्रोध र मोह गरी तीन द्वारहरु छन् जसले व्यक्तिलाई स्वयंले नै आत्मा नष्ट गर्नका नरकतिर लैजान्छन्। त्यसकारण सबैले काम, क्रोध र मोह परित्याग गर्नुपर्दछ।)

एतैर्विमुक्त: कौन्तेय तमोद्वारैस्त्रिभिर्नर:।
आचरत्यात्मन: श्रेयस्ततो यति परां गतिम्।।२२।।
(हे कौन्तेय, जब त्यक्तिले यी तिनै नरकका द्वारहरुबाट आफूलाई मुक्त पार्दछ तब उसले आफ्नो कल्याण गर्दछ र उसले उत्तम गति पनि प्राप्त गर्दछ।)

य: शास्त्रविधिमुत्सृज्य वर्तते कामकारत:।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम्।।२३।।
(तर जो व्यक्तिले आफूखुसी आचरण गर्दछ र शास्त्रमा बताइएका विधिहरुको अवज्ञा गर्दछ उसले सुख र सिद्धि पाउँदैन। उसले परागति-उत्तम गति पनि प्राप्त गर्दैन।)

तस्माच्छास्त्रं प्रमाणं ते कार्याकार्यव्यवस्थितौ।
ज्ञात्वा शस्त्रविधानोक्तं कर्म कर्तुमिहार्हसि।।२४।।

(त्यसकारण तिमीले के कार्य गर्नु पर्ने हो र के नगर्नु पर्ने हो भन्ने कुराको निर्धारक शास्त्रहरुलाई हुन देऊ। तसर्थ तिमीले शास्त्रका आदेश र शिक्षाहरुको मनन गर अनि सोही अनुसार कार्यहरु गर पनि।)

सोरहौ अध्याय समाप्त


No comments:

Post a Comment