Wikipedia

Search results

Friday, February 3, 2012

Discipline For Economic Development-Article-29


आर्थिक विकासका लागि अनुशासन

आर्थिक विकासका लागि अनुशासन आवश्यक छ भनि राख्नु पर्ने कुरा होइन किनभने यो सर्व विदित कुरा हो। राजनीतिमा चांसो न राख्ने सामान्य मानिसलाई समेत पनि यो कुरा भलि भांति थाहा छ। तर पनि यो कुराको चर्चा किन गर्न थालिएको हो भने आर्थिक विकासका लागि अनुशासन आवश्यक छ भन्ने कुरा आम नेपालीलाई थाहा हुंदा हुंदै पनि अनुशासनको पालना भने हुन सकि रहेको छैन र यसको अभावमा मुलुक झन झन आर्थिक विकासको पथमा पछाडि पर्दै गइ रहेको छ, जबकी अन्य विकासशील राष्ट्रहरुले तिब्र गतिमा आर्थिक विकास गरि रहेका छन। यहाँ अनुशासन भन्नाले आर्थिक अनुशासन भन्न खोजिएको हो। विकसित मुलुकहरुले आर्थिक अनुशासनको बलमा नै उल्लेखनीय किसिमले प्रगति गरेका हुन, कुनै जादु वा मन्त्रले गरेका होइनन। यो कुरा सामान्य जनता भन्दा पनि राजनैतिक नेताहरुले बुझ्न आवश्यक छ किनभने आर्थिक अनुशासन पालना गर्न र गराउनमा उनीहरु उदासीन मात्र होइन आर्थिक अनुशासन भंग गर्नहरुको पंक्तिमा अग्र स्थानमा छन। नेताहरुले के बुझ्न आवश्यक छ भने उनीहरुले कठोर आर्थिक नियमहरुको निर्माण गरेर त्यसको पालना पनि त्यतिकै कठोरता का साथ गरेमा सबैले आर्थिक नियमहरुको पालना गर्ने सकारात्मक वातावरणको विकास हुन्छ र त्यसको राम्रो असर पर्न गइ विकासको गतिमा तिब्रता आउँछ। तर यसको विपरित जनतालाई नेतृत्व दिने नेताहरु, जसले देश र जनतालाई अशल नेतृत्व दिने नैतिक जिम्मेवारी लिएका हुन्छन, ले नै आर्थिक अनियमिततालाई बढाउने हो भने मुलुक आर्थिक अराजकताको भूमरिमा परि नै रहन्छ वाहिर आउन सक्दैन, देशमा स्रोत र साधनहरु प्रचुर मात्रामा उपलब्ध भएता पनि।
वर्तमानमा, यस्तो आर्थिक अनुशासन हीनता र अराजकताको स्थितिले नेताहरुलाई फाइदा त होला, उनीहरु यस्तो वातावरणको भरपुर फाइदा उठाएर आफ्नो आर्थिक स्थिति सबल पार्न सफल होलान पनि तर भविष्यमा भने उनीहरुको सन्तानहरुले त्यस किसिमले फाइदा प्राप्त गर्न सक्तैनन, सामान्य जनताको त के कुरा गर्नु, सामान्य जनता त कुशासनको भुमरिमा रुमलिन बाध्य हुन्छन नै।
 राम्रो आर्थिक अनुशासन कायम हुन नसकेको स्थितिमा जो राजनैतिक र आर्थिक रुपमा बलियो हुन्छ उसले बढी फाइदा उठाउन सक्छ। नेताहरु उपरोक्त दुबै किसिमले बलियो भएकोले राष्ट्रमा विद्दमान कमजोर आर्थिक अनुशासनको उनीहरुले भरपुर फाइदा उठाउन सक्लान तर उनीहरुको सन्तानहरुले पनि त्यस किसिमबाट फाइदा उठाउन सक्दैनन किनभने नेताहरुका सन्तानहरुमा नेताहरु जतिकै दिमाग घुमाएर फाइदा उठाउने क्षमता न हुन सक्छ। नेताहरु जत्तिकै उनीहरुका सन्तानहरु पनि दस किसिमका राजनैतिक दाउपेंच चलाएर जहिले पनि शक्तिशाली भएर बस्ने स्थितिमा हुन सक्तैनन। एउटै परिवारका सबै व्यक्तिहरुको बौद्धिक क्षमता समान किसिमले संधै प्रखर हुन्छ भन्ने कुराको कुनै ग्यारंटी छैन। अवस्य पनि भिन्नता हुन्छ र त्यो भिन्नता ज्यादै ठूलो पनि हुन सक्छ। यसरी नेताहरुबाट हुने आर्थिक अनुशासनहीनताले दीर्घकालमा उनीहरुलाई पनि उत्तिकै बेफाइदा हुने देखिन्छ जुन वर्तमानमा सामान्य जनताहरुलाई भइ रहेको छ। यो यथार्थ राजनैतिक नेतृत्वले बुझेको जस्तो लाग्दैन र यदि बुझेका छन भने पनि यो विषयलाई गंभिरताका साथ नेतृत्वले लिएको जस्तो देखिंदैन। यो विषयले दीर्घकालिन रुपमा असर पार्छ। स्थानीय, जिल्ला, अंचल लगाएत राष्ट्रिय स्तरसम्मका सबै नेताहरुले यो तथ्यलाई मनन गर्न आवश्य छ। 
राजनैतिक नेतृत्वले क्षणिक स्वार्थलाई छोडेर आफ्नो परिवार, जनता र देशको विकासका लागि आर्थिक अनुशासनमा ध्यान दिने हो भने देशमा एउटा यस्तो स्वस्थ परम्पराको विकास हुन्छ जसमा सबैले समान किसिमबाट विकास गर्ने औसर पाउँने छन। बलियाहरुले मात्र उपलब्ध स्रोत र साधनहरुको अत्यधिक उपभोग गर्न पाउने कुप्रथा समाप्त भएर जानेछ। एउटा स्वस्थ परम्पराको विकासमा नेतृत्वले जोड दिने हो भने सामान्य जनताको हित त हुन्छ नै साथै उनीहरुकै सन्तानहरुको भविष्य पनि सुखद हुन पुग्छ। यो तथ्यलाई राजनैतिक नेतृवले गंभिरताका साथ लिन आवश्यक छ। तर, वर्तमानमा जस्तो आर्थिक अव्यवस्थाको स्थिति छ त्यसलाई नै नेताहरुले निरन्तरता दिने हो भने उनीहरुले आफ्नो क्षणिक सुखको अभिवृद्धि त गर्ने छन तर आफ्ना सन्तानहरुको सुख समृद्धिलाई धरापमा पार्ने छन। नेताहरुका आउने पुस्ताले आर्थिक अनुशासनहीनता परिणाम भोग्न निश्चय पनि बाध्य हुने पर्ने छ, वर्तमानमा नेताहरु सुखी देखिएता पनि। 
विकसित राष्ट्रका नेतृत्वहरुले आर्थिक अनुशासनको महत्वलाई राम्रो गरि बुझेका छन। उनीहरु राष्ट्रमा सबल व्यवस्था स्थापना गर्न सफल भएका छन। आर्थिक अनुशासनलाई ज्यादै महत्व दिएक छन। विकसित राष्ट्रहरुमा सरकार कमजोर भएता पनि, सरकार छिटो छिटो परिवर्तन भएता पनि वा सरकारको निर्माण जस्तो दलको सहभागितामा भएता पनि जनताले पाउने सेवाहरु कुनै पनि किसिमले प्रभावित हुन पाउँदैनन। राज्यले जनताप्रतिको आफ्नो दायित्व निर्वाध रुपले पूरा गरि रहेको हुन्छ। त्यस्तो हुन सक्नुको मुख्य कारण राम्रो आर्थिक अनुशासनद्वारा सबल व्यवस्था निर्माण गर्नु हो। निष्कर्षमा भन्नु पर्दा विकासित राष्ट्रहरुले आर्थिक विकास चमत्कारी किसिमले गर्नुको मुख्य कारण आर्थिक अनुशासन नै हो। र यो तथ्य नेपालका नेताहरुले गंभिरताका साथ लिन आवश्यक छ।

विश्वराज अधिकारी


Published in Prateekdaily.com on Friday, February 03, 2012
http://www.prateekdaily.com/2012/02/blog-post_3275.html

No comments:

Post a Comment