Wikipedia

Search results

Thursday, February 16, 2012

Functions of Money-Poverty and Economics-24


 मुद्राका कार्यहरु

मुद्राले निम्न कार्यहरु गर्दछ। १ विनिमयको माध्यम (Medium of exchange): मुद्रा विनिमयको माध्यम हो। यसले भुक्तानीको माध्यमको कार्य पनि गर्दछ। वस्तु वा सेवा विनमय गर्ने एक सर्व स्वीकार्य माध्यमको रुपमा मुद्रालाई लिने गरिन्छ। अर्थात मुद्राले सर्व स्वीकार्यता प्राप्त गरेको हुन्छ। आजभोलि प्रचलनमा भने बढी मात्रामा कागजी मुद्रा रहेको पाईन्छ। कागजी मुद्राको आफ्नो मौलिक मूल्य नभएकोले यसको विश्वसनियतालाई सुनिश्चित गर्न केन्द्रिय सरकार कागजी मुद्राको मूल्यका लागि जमानत बसेको हुन्छ। इतिहासका विभिन्न काल खण्डहरुमा अनेक किसिमका वस्तुहरुलाई मुद्राको रुपमा प्रयोग गरिएको पाइन्छ। माटो, कौडी, कछुवाको हाड, गाई, गोरु, सुंगुर, घोडा, भेंडा, चिया, सुर्ति, ऊन, नून, फलाम, तामा, काँस, चाँदी, सुन, पित्तल, कागज, छाला, तास आदिलाई मुद्राको रुपमा प्रयोग गरिएको पाइन्छ। २ मूल्यको मापन (Measure of value): मुद्राद्वारा वस्तुको विनिमय मूल्य मापन गरिन्छ। कुनै पनि वस्तुको विनिमय गर्दा त्यो वस्तुको विनिमय मूल्य कति हो वा विनिमय गर्दा त्यो वस्तु दिए वापत अर्को वस्तु कति (परिणाम वा इकाईमा) प्राप्त गर्न सकिन्छ भन्ने कुराको निर्धारण मुद्राद्वारा हुने गर्दछ। उदाहरणका लागि, यदि कुनै एक कलमको मूल्य दस रुपियाँ छ भने त्यस कलमको विनिमय मूल्य मुद्राको दस इकाई हो भनी बुझ्न सकिन्छ। यसै गरि, यदि एउटा कुनै पुस्तकको मूल्य बीस रुपैयाँ छ भने त्यो पुस्तक र कलमको विनिमय गर्दा त्यो पुस्तको मूल्य दुई कलम बराबर हो भनी बुझ्न सकिन्छ। मुद्राको आफ्नै मूल्य स्थिर रहेको अवस्थामा मुद्रालाई वस्तु वा सेवाको उपयोगिता मापन गर्ने एक माध्यमको रुपमा लिने गरिन्छ। ३ समयान्तर भुक्तानीको मापदण्ड (Standard of deferred payment): मुद्राले भविष्यमा गरिने भुक्तानीको मापदण्डको कार्य पनि गर्दछ। वर्तमानमा गरिएको खरिदको भुक्तानी भविष्यमा गर्दा कति गर्ने, वर्तमानमा लिएको ऋणको भुक्तानी भविष्यमा कत्ति गर्ने जस्ता कुराहरुको निर्धारण गर्ने कार्य मुद्राले गर्दछ। उदाहरणका लागि, यदि कुनै व्यक्तिले वर्तमानमा कसैसँग एक हजार रुपैयाँ लिएको छ भने एक वर्ष पछि उक्त व्यक्तिले ऋण दिनेलाई कत्ति फर्काउने भन्ने कुराको निर्धारण मुद्राले सजिलो पारिदिन्छ। कुनै पनि सम्पत्तिको मूल्य भविष्यमा कम बढी हुन सक्छ।
 त्यस्तो मूल्यान्तरलाई मुद्रामा आंकलन गर्न सकिन्छ। 
४ मूल्यको संग्रह (Store of value): मुद्राले मूल्य अथवा क्रय शक्तिलाई संचित गर्ने कार्य पनि गर्दछ। अर्थात मुद्राद्वारा वस्तु वा सेवाको मूल्य संचित गर्न सकिन्छ। वस्तुहरु संचित गर्न सकिंदैन किनभने ती नाशवान हुन्छन। तर तिनको मूल्यलाई मुद्रामा रुपान्तरण गरेर मुद्राको रुपमा राख्दा तिनको मूल्यलाई सजिलै गरी संचित गर्न सकिन्छ। उदाहरणका लागि, यदि कुनै श्रमिकले कुनै तरकारी उत्पादकको खेतमा एक दिन काम गरे बापत दस किलो काउली ज्यालाको रुपमा पाएमा उक्त श्रमिकले आफ्नो एक दिनको परिश्रमको मूल्यको रुपमा पाएको दस किलो काउली केही दिन मै उपभोग गर्नु पर्ने बाध्यता हुन्छ किनभने काउली नाशवान वस्तु हो। तर मुद्राको पयोगले गर्दा उक्त श्रमिकले आफ्नो उक्त एक दिनको परिश्रमको मूल्य मुद्रामा प्राप्त गरेर उसले आफ्नो श्रमको मूल्य सजिलै गरी संचित गर्न सक्छ।
मुद्राका विषेशताहरु
मुद्राका विषेशताहरु निम्न अनुसार रहेको पाइन्छ। टिकाउ: मुद्रा टिकाउ हुन्छ। यसलाई लामो समयसम्म संचित गरेर राख्न सकिन्छ। कुनै खास कारणले गर्दा सरकारले खारेज गरेको अवस्था बाहेक मुद्रामा जुन बेला पनि त्यसको तोकिएको मूल्य बराबरको विनिमय गर्ने क्षमता रहेको हुन्छ। विभाजन: मुद्रालाई विभाजित गर्न सकिन्छ। ठूलो इकाई ,सानो इकाई गरी विभिन्न इकाईमा मुद्रालाई विभाजन गरिएको हुन्छ। मुद्रालाई विभाजन गरिएको हुनाले नै विभिन्न मूल्यका वस्तुहरुको भुक्तानी मुद्राद्वारा सजिलै गर्न सकिन्छ। स्थानान्तरण: मुद्रालाई सजिलै एक ठाउँबाट अर्को ठाउँ पुर्याउन सकिन्छ। कुनै वस्तु वा सेवाको मूल्यको रुपमा रहेको मुद्रा सजिलैसँग एक ठाउँबाट अर्को पुर्याउन सकिने हुनाले यसको प्रयोगमा व्यापकता आएको हो। नक्कल गर्न नसकिने: केही अपवादलाई छाडेर कुरा गर्ने हो भने, मुद्राको कसैले सजिलैसंग नक्कल गर्न सक्तैन। कसैले घरमा मुद्रा छाप्न सक्तैन। अर्कोतिर, मुद्रा छाप्ने कार्य सरकारमा सुरक्षित हुन्छ र यो कार्य सरकार बाहेक अरुले गर्न निषेधित गरिएको हुन्छ। व्यापक प्रयोग: मुद्राको प्रयोग व्यापक मात्रामा भएको पाइन्छ। आधुनिक अर्थ व्यवस्थाको यो एक अति महत्वपूर्ण आधार स्तम्भ हो। त्यस कारण हरेक राष्टले अनिवार्य रुपमा मुद्राको प्रयोग गरेको पाइन्छ।  
आधुनिक अर्थ व्यवस्थामा मुद्राले सर्वधिक सहयोग भने पूँजीलाई पुर्याएको देखिन्छ। मुद्राले गर्दा पूँजी निर्माण गर्न, पूँजी वृद्धि गर्न, पूँजी स्थानान्तरण गर्न, पूँजीको वहुपक्षिय प्रयोग गर्न सजिलो भएको छ। यसै गरी मुद्राले राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय व्यापार पनि ज्यादै सजिलो पारिदिएको  छ।

विश्वराज अधिकारी

No comments:

Post a Comment