पूँजीवाद र गरिबी
पूँजीवादको विपक्षमा वकालत गर्नेहरुको संख्याभन्दा निकै गुणा
बढी संख्यामा पूँजीवादको पक्षमा वकालत गर्नेहरुको रहेको पाइन्छ। पूँजीवादको
विपक्षमा वकालत गर्नहरुसँग आफ्नै किसिका तर्कहरु छन् उनीहरुको त्यस किसिमको अडानका
लागि। यसै गरी पूँजीवादको पक्षमा वकालत गर्नहरुसँग पनि आफ्नै किसिमका तर्कहरु छन्
उनीहरुको त्यस किसिमको अडानका लागि। तर यहाँ प्रश्न के उठ्छ भने, यथार्थमा कसको
अडान ठीक हो त? राष्ट्रको समग्र आर्थिक विकासका लागि पूँजीवाद ठिक हो अथवा होइन?
के पूँजीवाद वा पूँजीवादी अर्थ व्यवस्थाले राष्ट्रको गरिबी निवारण गर्नुको साटो
उल्टो गरिवी वृद्धि गर्दछ? के पूँजीवादले मुलुकमा गरिब र धनिक बीचको दूरीलाई झनै
फराकिलो पार्दछ?
पूँजीवादी व्यवस्था उपयुक्त वा अनुपयुक्त भन्नु भन्दा पहिले
यो व्यवस्था अँगालेर राष्ट्रहरुले प्रगति गरे वा गरेन भनी आर्थिक मूल्याँकन एवं
विश्लेषण गर्नु उपयुक्त हुन्छ। यो व्यवस्था अँगालेर यदि वहुसंख्यक राष्ट्रहरु धनी
भए, त्यहाँका निर्धन जनताहरुले ठूलो संख्यामा बेरोजार भएर वस्नु परेन, जिवन यापन
लागत (Living costs) आकासिएन र गरीबहरुको
संख्यामा व्यापक कमी आयो भने पूँजीवादले गर्दा समग्र राष्ट्रको आर्थिकविकास भयो र त्यसैले
यो व्यवस्था उपयुक्त छ भनी निश्चित रुपमा भन्नु पर्ने हुन्छ।
विभिन्न राष्ट्रहरुले गरेको आर्थिक प्रगति, त्यहाँका सामान्य
जनताको आर्थिक जिवन स्तरमा आएको सुधार, ती राष्ट्रहरुमा भएको बेरोजगारहरुको
संख्यामा व्यापक कमी जस्ता आर्थिक सूचकाङ्कहरुलाई केलाएर हेर्दा पूँजीवादी अर्थ
व्यवस्थाले कुनै पनि राष्ट्रको आर्थिक जिवनमा सकारात्मक प्रभाव पारेको प्रष्ट हुन
आउँछ। विश्वका वहुसंख्यक विकासशील राष्ट्रहरु अहिले पूँजीवादी अर्थ व्यवस्था
अँगालेर राष्ट्रलाई गरिबीको कुचक्रबाट बाहिर निकाल्न कम्मर कसेर लागेका छन्। कुनै
बेला आफूलाई समाजवादी अर्थ व्यवस्थाको कट्टर समर्थक मान्ने र देशवासीलाई आवश्यक
पर्ने सियोदेखि हवाई जहाजसम्म आफ्नै देशभित्र उत्पादन गर्ने (पूँजीवादमा सम्पूर्ण
वस्तु आफ्नै देश भित्र उत्पादन गर्न सम्भव हुँदैन) लक्ष्य राख्ने भारत अहिले
पूँजीवाद अँगाल्ने राष्टहरुको पंक्तिमा महत्वपूर्ण स्थानमा छ। यसै गरी, कुनै
समयमा, विश्व अर्थ व्यवस्थादेखि आफूलाई अलग थलग राखी, राज्य नियन्त्रित (समाजवादी
वा साम्यवादी?) अर्थ व्यवस्था द्वारा मुलुकको आर्थिक विकास गर्न कटिवद्ध र त्यति
मात्र होइन, पूँजीवादलाई गरिब जनताको शोषकको रुपमा प्रस्तुत गर्ने चिन अहिले
पूँजीवाद अँगाल्ने राष्ट्रहरुको पंक्तिमा अग्र स्थानामा छ। चिनमा हाल भइरहेका
आर्थिक क्रियाकलापहरुले यस कुराको पुष्टि गर्दछ। चिन अहिले सस्तोमा वस्तु निर्यात
गर्ने देश मात्र होइन विकसित राष्ट्रहरुलाई पूँजी निर्यात गर्ने देश समेत भएको छ।
संयुक्त राज्य
अमेरिका, बेलायत, जर्मनी, जापान, क्यानाडा जस्ता राष्ट्रहरुले त पूँजीवादी अर्थ
व्यवस्थाको अँगालेर चमत्कारी किसिमले आर्थिक प्रगति गरेको तथ्य हाम्रो सामु प्रष्ट
नै छ।
निजीकरण, विश्व व्यापारमा संलग्नता, राष्ट्रिय मुद्रा एवं
वित्तिय बजारमा खुकुलोपन, बजार साझेदारी( European Union, NAFTA, Asian ) जस्ता तरिकाहरु अपानाएर विश्वका अनेक राष्ट्रहरु पूँजीवादी
अर्थ व्यवस्थाको फाइदा लिन एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन। हुन त कतिपय राष्ट्रहरुले
आफूलाई पूँजीवादी राष्ट्र भन्न रुचाउँदैन उनीहरुले पूँजीवादी अर्थ व्यवस्था
अँगिकार गरेता पनि। र यसको उदाहरणका लागि भारत र चिनलाई लिन सकिन्छ। भारत र चिनले
आफूलाई पूँजीवादी राष्ट्र नभनेता पनि यी
राष्ट्रहरुले अवलम्बन गरेका आर्थिक नीतिहरुलाई केलाएर हेर्दा यी राष्ट्रहरुले
पूँजीवाद अँगिकार गरेको प्रस्ट हुन आउँछ।
निजीकरण अहिले निकै प्रचलित भएको छ। निजीकरणद्वारा
राष्ट्रको आर्थिक विकास गर्ने लक्ष्यका साथ विश्वका अनेक राष्ट्रहरुले राज्यद्वारा
नियन्त्रित संगठनहरु निजी क्षेत्रलाई विक्री गरेको थुप्रै उदाहरण देख्न सकिन्छ।
केही उदाहरण यस प्रकार छन्। सन् २००४ मा पाकिस्तानले हबिब बैंकको ठूलो अंश निजी
क्षेत्रलाई बिक्री गर्यो। सन २००४ मा जापानले वेस्ट जापान रेल्वे कम्पनी निजी
क्षेत्रलाई बिक्री गर्यो। भारतले पनि ओ यन जि सि ( ONGC- तेल अनुसन्धान तथा उत्पादन गर्न कम्पनी) मा रहेको अंश निजी क्षेत्रलाई सन्
२००४ मा बिक्री गर्यो। सन् २००४ मा युक्रेनले एक स्टिल कम्पनी निजी क्षेत्रलाई
बिक्री गर्यो। सन् २००४ मा जर्मनीले राष्ट्रको ठूलो खुद्रा बैंक- पोस्ट बैंक
निजीकरण गर्यो। यसै गरी, सन् २००५ मा टर्कीले टर्क टेलकमको ५५ प्रतिसत अंश निजी
क्षेत्रलाई हस्तान्तरण गर्यो। सोही वर्ष फ्रान्सले Electricite’de France (EDF) को ३० प्रतिशत अंश निजी क्षेत्रलाई बिक्री
गर्यो। सन् २००६ मा चिनले इन्डस्ट्रियल एण्ड कमर्सियल बैंक अफ चाइना निजी
क्षेत्रलाई बिक्री गर्यो। पोलैण्डले, सन् २००९ मा, Tauron Polska Energia निजी क्षेत्रलाई बिक्री गर्ने योजना रहेको
उल्लेख गरेको थियो।
निजीकरणलाई पूँजीवादको एक अंशको रुपमा लिइने हुँदा माथिको
उदाहरणबाट धनी राष्ट्रहरु मात्र होइन विकासशील राष्ट्रहरु पनि देशको आर्थिक विकास
गर्नका लागि पूँजीवादको दिशा तर्फ लम्केको प्रस्ट हुन आउछ।
पूँजीवादी अर्थ व्यवस्थाद्रारा विकासशील राष्ट्रले पनि
अकल्पनिय किसिमले आर्थिक प्रगति गर्न सक्छ भन्ने कुराको उदाहरणको रुपमा चिनलाई लिन
थालिएको छ। हुन पनि चिनको आर्थिक विकासले त्यस कुराको पुष्टि गर्दछ। चिन मात्र होइन,
एशिय, दक्षिणी अमेरिका लगाएत अफ्रिकाका थुप्रै राष्ट्रहरु अहिले पूँजीवादी अर्थ
व्यवस्थामा प्रवेश गरिरहेका छन।
एउटा अर्को कटु यथार्थ के पनि छ भने पूँजीवाद सबै किसिमका
आर्थिक समस्याहरुको समाधान भने होइन। र पूँजीवाद आफैमा पनि एउटा समस्या हो यदि
यसको प्रगोग राष्ट्रमा उपयुक्त किसिमले हुन सकेन भने। पूँजीवाद औषधी हो – बढी खाए
भने शरिरलाई हानी पुर्याउने, तर बिरामी परेको बेलामा खानै पर्ने, नखाई नहुने।
अर्को उदाहरणको रुपमा, पूँजीवाद घोडा हो। यो घोडालाई लगामद्वारा नियन्त्रित गर्ने
हो भने यसले तिब्र गतिमा दौडेर गन्तव्यमा पुर्याउँछ तर लगामद्वारा नियन्त्रित गर्न
नसक्ने हो भने यसले खाल्डोमा लगेर खसाउँछ।
विश्वराज अधिकारी
No comments:
Post a Comment