Wikipedia

Search results

Friday, February 10, 2012

Poverty and Identity Crisis-Article-30


पहिचानको संकट र गरिबी

राज्यमा व्याप्त गरिबीका लागि को जिम्मेबार हुन्छन त भनी कसैले प्रश्न गर्ने हो भने सबैले सजिलै गरी दिने उत्तर हो, सरकार। गरिबीका लागि सरकार नै दोषी हो भन्नका लागि धेरै चिन्तन र विश्लेषण पनि गर्नु पर्दैन, सजिलै भन्न सकिन्छ। हुन पनि धेरैले यो विषयलाई यसरी नै बुझेका छन पनि। तर के सरकार मात्रै जिम्मेबार हुन्छ त त्यस किसिमको समस्या (गरिबी) देशमा भित्र्याउन र विस्तार गर्नका लागि? यो विषय वर्तमानको समयमा ज्यादै गंभिर हुँदै गएको छ र त्यसकारण पनि सबैले यो विषयलाई ज्यादै महत्व दिएर हेर्नु पर्ने भएको छ।
देशलाई गरिब तुल्याउनमा सरकारको भूमिका महत्वपूर्ण हुन्छ नै र यसमा दुई मत हुन सक्तैन तर सरकारलाई मात्र यसका लागि पूर्ण रुपमा जिम्मेबार ठहर्याउन सकिंदैन। सरकारलाई प्रभावित गर्ने विभिन्न तत्वहरुको पनि उत्तिकै ठूलो भूमिका हुन्छ राष्ट्रलाई गरिब तुल्याउनमा।
सरकारलाई प्रभावित गर्ने विभिन्न तत्वहरु मध्ये अहिले भने जातीयता, साम्प्रदायिकता, क्षेत्रीयताको नारा चर्काएर देशलाई जहिले पनि अस्थिरताको स्थितिमा राख्न खोज्ने स्थानीय, क्षेत्रीय वा राष्ट्रिय नेतृत्वको चर्चा गर्न खोजिएको हो। यस किसिमका नेतृत्वहरुले आफ्नो लाभका लागि मुलुकमा ल्याएका त्यस किसिमका नाराहरुले उनीहरुलाई त फाइदा हुन्छ तर देशबासीहरुले त्यसको मूल्य आफ्नो जिवनकालसम्म चुकाएर मात्र पुग्दैन आउने पीढीले समेत चुकाउनु पर्ने हुन्छ। ज्यादै ठूलो रक्तपातको स्थिति भोगेर तथा गरिबीको डर लाग्दो दलदलमा भास्सिएर लामो समयसम्म त्यसको मूल्य चुकाउनु पर्दछ। र अहिले त्यस किसिमको मूल्य अफ्रिका महादेशका धेरै राष्ट्रहरुले बढी चुकाउनु परि रहेको छ र कहिलेसम्म चुकाउनु पर्ने हो भन्न सकिने स्थिति समेत छैन। अफ्रिका महादेशका धेरै राष्ट्रहरु झन झन गरिबीको दलदलमा भाँस्सिंदै छन, ती राष्ट्रहरुमा साधन र स्रोतहरुको प्रचुरता भएता पनि। विकासका सम्भावनाहरु उच्च भएता पनि।
अफ्रिकी मुलुक सुडानमा क्षेत्रीयताको नारा यति जोडले घन्क्यो कि मुलुकले त्यसलाई थाम्न सकेन, र  सुडान टुक्रियो। देशबासीले सिंगो मुलुकलाई दुई भागमा विभाजित गरेर क्षेत्रीय वैमनष्यताको मूल्य चुकाउनु पर्यो। हालै नाइजेरियामा भएको रक्तपात पूर्ण जातीय दंगाले धेरै दिनसम्म मानिसको ध्यान आकर्षित गरेको थियो। सिरियाको राजनीति कुन दिशा तर्फ लाग्ने हो? त्यहाँका राष्ट्रपति बसार अल-असद सत्ताबाट बाहिर जाने छन वा उनी सत्तामा रहेर नै कुनै नया किसिमको समिकरणको निर्माण भएर त्यहाँ जारी हिंसापूर्ण आन्दोलन मथ्थर होला अहिले भन्न सक्ने स्थिति आइ सकेको छैन तर जातीय कलहका संकेतहरु भित्र भित्र देखा पर्न थालि सकेका छन। रवान्डाले करिब ८ लाख मानिसको ज्यान दिएर जातीय वैमनष्यताको मूल्य चुकाउनु परेको थियो। 
जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताका नाराहरु वन डढेलो जस्तो ज्यादै छोटो समयमा चारैतिर फैलिने मात्र होइन त्यस किसिमका नाराहरुले मानिसलाई हिंसा गर्न समेत उक्साउने गर्दछन। विभिन्न समुदाय बीच समन्वय कायम गरी बसेको समाज छोटो समयमा नै द्वन्द ग्रस्त हुन पुग्दछ। के कस्ता कुराले समाजलाई फाइदा वा बेफाइदा हुन्छ भन्ने सोंच्ने तर्फ नलागि व्यक्ति छिटै प्रतिसोधको मनस्थितिमा पुग्दछ, क्षेत्रीयता, जातीयता, साम्प्रदायिकता जस्ता मनोविज्ञानले आक्रान्त भए पछि। व्यक्तिले आफ्नो गरिबी वा शोषणको लागि जिम्मेवार अर्को समुदायलाई देख्न थाल्छ र त्यो समुदायसँको व्यवहारलाई सत्रुतामा रुपान्तरीत गर्दछ।  समाजिक सद्भाव डर लाग्दो गरि खल्बलिन्छ। छोटकरीमा भन्नु पर्दा, समाजिक समन्वय खल्बलिए पछि, अति शान्त स्वभावको व्यक्ति पनि हिंसा गर्न उत्प्रेरित हुन्छ। मानवीय यो कमजोरीलाई नेतृत्व वा  अगुवाहरुले बुझेका हुन्छन र त्यसकारण त्यस्ता नारा हरुलाई आफ्नो हितमा घन्क्याउन थाल्छन। जबकी त्यस किसिमका नाराहरुले आम गरिबहरुको जिवनलाई सुखमय बनाउनमा कुनै किसिमको भूमिका खेल्दैनन्। लामो समयको द्वन्द र कलहले गरिबहरु झन झन गरिब हुँदै जान्छन। द्वन्दग्रस्त देशले विकास गरेको उदाहरण बिरलै भेट्न सकिन्छ। बरु द्वन्दग्रस्त देशका जनता डरलाग्दो भोकमरीको सिकार हुन वा  शरणार्थी बनेर अर्को देशमा जान बाध्य भएका छन। यसरी, जनतालाई झन झन गरिब बनाउने कारक तत्वको रुपमा जातीयता, क्षेत्रीयता, साम्प्रदायिकताको भावन स्थापित हुँदैछ। 
विश्लेषकहरुले के भन्न थालेका छन भने अब आउने समयमा यो विश्वलाई अशान्त पार्ने, वैमनष्यताको भुमरिमा धकेल्ने र युध्द गर्न उकास्ने यदि कुनै तातो विषय छ भने त्यो हो जातीयता, सामप्रदायिकता, क्षेत्रीयताका नाराहरु, अर्थात पहिचानका मुद्दाहरु। यी नारा वा मुद्दाहरुले मानिसहरुलाई छिटै उमाल्ने कुशलता र क्षमता दुबै राख्दछन। मानिसहरुले चालै नपाइ त्यस किसिमका नाराहरुद्वारा सृजना गरिएका द्वन्दमा आफूलाई सामेल गराउने छन। मानिसहरुले समन्वयकारीको समाजको स्थापनामा भन्दा तिमी यो जातिको म त्यो जातिको, तिमी यो समुदायको म त्यो समुदायको, तिमी यो क्षेत्रको म त्यो क्षेत्रको भन्ने मुद्दालाई बढी जोड दिने छन र परिणाम स्वरुप राष्ट्रहरु ताजा द्वन्दमा प्रवेश गर्ने छन एकतिर भने अर्कोतिर वहुसंख्यक व्यक्तिहरु निरपेक्ष गरिबीको रेखा भन्दा झनै तल झर्ने छन। यी मुद्दाहरुबाट सृजना भएका द्वन्दहरुले गर्दा विकासशील राष्ट्रहरु डर लाग्दो गरिबीको भूमरिमा पर्ने छन।
यो विश्वमा एउटा त्यस्तो समय थियो जुन बेला राजा महाराजाहरु आफ्नो राष्ट्रको सीमाना विस्तार गर्न युद्ध गर्थ्ये र त्यस्ता युद्धको मूल्य लाखौ जनताले आफ्नो ज्यान दिएर चुकाउनु पर्थ्यो। त्यस पछि एउटा अर्को त्यस्तो समय आयो जुन समयमा एउटा राष्ट्रका नेताहरुले आफूलाई विश्व रंगमंच मा शक्तिसाली देखाउन अर्को राष्ट्र माथि आक्रमण गर्थ्ये। र त्यस्तो युद्धको मूल्य पनि लाखौ मानिसले आफ्नो ज्यान दिएर चुकाउनु पर्थ्यो। फेरि अर्को एउटा त्यस्तो समय आयो जुन समयमा  विश्वका विभिन्न राष्ट्रहरु सिद्धान्तका आधारमा दुई खेमामा बिभाजित भए। एक थरि प्रजातान्त्रिक खेमामा बसे भने अर्को थरि समाजवादी वा वामपन्थी खेमामा। विश्व यसरी विभाजित भएर बसेको समयमा पनि ठूला ठूला रक्तपातपूर्ण द्वन्दहरु भए।   ती द्वन्दहरुका असरको रुपमा करोडौ मानिसहरुको ज्यान गयो।
अब, वर्तमानको समयमा भने, लाखौ मानिसलाई युद्धमा धकेल्ने शक्तिको रुपमा पहिचानको संकट देखिन थालेको छ। जातीयता, क्षेत्रीयता, सामप्रदायिकता जस्ता विषयहरु, जुन पहिचानसँग सम्वन्धित छन, ले समन्वय कायम गरेर बसेको समाजलाई द्वन्दतिर लाग्न उत्प्रेरित गरि रहेका छन्। के कस्ता तरिकाहरु अवलम्वन गरेर गरिबीबाट मुक्ति पाउन सकिन्छ भन्दा पनि पहिचानको मुद्दालाई समाजले महत्व दिन थालेको छ। तर एउटा कुरा निश्चित के छ भने, जुन सुकै समाजमा पनि, जनतालाई गरिबीको दलदलबाट बाहिर निकाल्ने कुनै शक्ति छ भने त्यो हो द्वन्दरहीत समाज, समन्वकारी समाज। पहिचानको संकट र गरिबीको बीचमा कुनै सम्बन्ध छैन। पहिचानको संकटको सम्वन्ध केवल मनोविज्ञानसँग मात्र छ, अर्थतन्त्रसँग छैन। अहिले आम गरिबहरुलाई चाहिएको हो, डर लाग्दो गरिबीबाट उन्मुक्ति। परिवारका सबै सदस्यहरु सँगै बसेर, शान्तिपूर्वक दुई छाक ढुक्क खान सँग पाउने स्थितिको सुनिश्चितता।

विश्वराज अधिकारी

No comments:

Post a Comment