मुआब्जा
‘यस ठाउँका केही पुराना घरहरु भत्किएपछि यो ठाउँको विकास मात्र होइन यो सडक पनि
पहिलेभन्दा ज्यादै फराकिलो हुनेछ। तीनवटासम्म कार जीपहरु एकै पटक कुद्न सक्ने छन्
यो सडकमा। तर तपाँइहरु ज-जसको घर यो सडक फराकिलो पार्न भत्काइनेछ, ले प्रशस्तै
क्षतिपूर्ति पाउनुहुनेछ। अर्थात अधिग्रहण गरिएको जग्गाको मुआब्जा बढी भन्दा बढी
दिइनेछ’ कार्यालय अगाडि उभिएकाहरुतिर हेर्दै एक
सरकारी अधिकारीले यस्तो घोषणा गरे अनि मुआब्जा पाउनेहरुको सकारात्मक प्रतिक्रियाको
प्रतीक्षा गर्न थाले।
सरकारी अधिकारीको यस्तो घोषणा सुनेपछि मुआब्जा पाउने मध्येको एकले अप्रशन्न
हुँदै ती अधिकारीलाई प्रश्न गर्यो ‘सर, मेरो घर पनि भत्किने भएको छ यो सडक चौडा गर्ने क्रममा। मेरो घर भत्किए पछि म यहाँबाट अवस्य पनि विस्थापित
हुनेछु। शहरको मुटु मानिने अति व्यस्त व्यापारिक यो ठाउँबाट उठेर पुछार तिर घर
बनाउनु पर्नेछ मैले, यो शहरको। शहरको मध्य भागबाट उठीबास भएर पुछार तिर जानुलाई
विकास भएको कसरी मानौ मैले? अनि यो ठाउँको विकासबाट कसरी मेरो विकास भयो र? अर्को
कुरा, यो स्थानमा रहेको मेरो घर भत्किए पछि शहरको मुटु मानिने ठाउँबाट मेरो बास
सदाका लागि उठ्ने छ। यति मात्र होइन, यो शहरको मुटुमा मेरो घर छ भनी मैले भन्न
पाउने अधिकार पनि समाप्त हुनेछ सदाका लागि। मेरो घर शहरको मुटुमा छ भनी मैले
भन्न पाउने अधिकार मैले प्राप्त गर्ने मुआब्जा भन्दा धेरै बढी मात्र होइन अमूल्य नै
छ। त्यसकारण मैले कसरी क्षतिपूर्ति बढी पाएँ? मेरो यो क्षतिको पूर्ति कहिल्यै हुन
सक्तैन। होइन त? कि मैले बुझ्न नसकेको हो?’
मुआब्जा दिइने घोषणाबाट अप्रशन्न भएको त्यो व्यक्तिको भनाइ सरकारी अधिकारी तथा
मुआब्जा पाउने अन्यहरुले पनि बुझेको जस्तो भने देखिएन।
No comments:
Post a Comment