Thursday, December 15, 2011

Rwanda - Poverty and Economics - 15



रवान्डा 



सामाजिक सद्भावको अभावमा ठूलो आर्थिक, भौतिक र मानवीय क्षति बेहोर्ने राष्ट्रहरु मध्ये एक रवान्डा पनि हो। पूर्वी अफ्रिकाको एक सानो र निर्धन देश, रवानडामा, सन् १९९४ मा भएको जातीय नर संघारमा करिब ८ लाख ५० हजार मानिसको हत्या भएको उल्लेख गरिएको छ। सन् १९९४ को अप्रिल ६ देखि मध्य जुलाईसम्म, लगभग १०० दिन मात्र चलेको सो जातीय सफाया (Genocide) ले अति नै निर्ममतापूर्वक ज्यादै ठूलो संख्यामा मानिसको हत्या गरेको थियो। केही संस्थाहरुले त मृत्यु हुनेहरुको संख्या ५ देखि १० लाखसम्म वा कूल जनसंख्याको २० प्रतिशत रहेको अनुमान गरेका छन्।
जातीय दंगा वा जातीय प्रतिसोधको मनोविज्ञान अति नै डर लाग्दो हुन्छ किनभने जातीय दंगामा ज्ञानीहरुले पनि विवेक गुमाउने परिस्थिति दंगाले सृजना गरिदिएको हुन्छ भने अपराधीहरुले आफ्नो स्वार्थ पूरा गर्न जातीय प्रतिसोधको नाममा सजिलै सामान्य जनतालाई उकासेर लुटपाट गराउन सक्छन्। जातीय दंगामा कुनै खास एक जातिको पक्षमा लाग्न सामान्य मानिसलाई सजिलै उत्प्रेरित गर्न सक्छन् आफ्नो स्वार्थ पूरा गर्नेहरुले। त्यसैले जातीय दंगामा मानिस विवेकहीन हुने मात्र होइन उचित र अनुचित छुट्याउन नसक्ने स्थितिमा पुगेर हृदयहीन हुन पुगेका हुन्छन्। र यस्तै भयो रवान्डामा।
समाचारहरुमा जति चर्चा हुनु पर्थ्यो त्यति नभएको अर्को एक अति नै डर लाग्दो घटना रवान्डामा भएको थियो र त्यो थियो महिलाहरुको अति नै डरलाग्दो किसिमबाट बलत्कार। रवान्डामा भएको त्यो जातीय नरसंघारमा २ लाख ५० हजारदेखि ५ लाखसम्म महिलाहरु बलात्कृत भएको अनुमान गरिएको छ। ठूलो संख्यामा गरिएको यौन हिंसामा महिलाहरुलाई एकल वा सामुहिक रुपमा बलत्कार गर्नुका साथै बलत्कार पछि हत्या पनि गरिएको थियो। कतिपय घटनाहरुमा त बलत्कार मात्र होइन महिलाहरुलाई उनीहरुको संवेदनशील अंगमा लठ्ठी र बन्दुकले घोचेर चरम यौन यातना समेत दिइएको थियो भनी समाचारहरुमा उल्लेख गरिएको पाइन्छ। बलत्कार गरिएका महिलाहरुबाट जन्मिएकाहरुको संख्या २० हजार रहेको अनुमान गरिएको छ। धेरै बलात्कृत महिलाहरु अहिले पनि मनोवैज्ञानिक आघातबाट पीडित छन्। कतिपय महिलाहरु बलात्कृत हुँदा एच आई भि (HIV) संक्रमित भएका थिए र त्यस्तो कार्य यौन हिँसा फैलाउनका लागि जाना जान गरिएको भनी उल्लेख गरिएको पाइन्छ। एच आई भि संक्रमित हुटु पुरुषहरुद्वारा  महिलाहरुलाई बलात्कार गराउनु जातीय सफायाका लागि प्रयोग गरिएको एक हतियारको रुपमा रहेको भनी धेरैले विश्वास गरेका छन्। अर्थात बलत्कारलाई पनि जातीय सफाया गर्ने एक हतियारको रुपमा प्रयोग गरिएको थियो। जातीय दंगा कति डर लाग्दो हुन सक्छ भन्ने कुरा अनुमान यो घटनाबाट पनि लगाउन सकिन्छ।
यसरी मच्चाईको डरलाग्दो यौन हिँसामा अल्प संख्यक टुट्सीहरु महिलाहरु पिडित हुन पुगेका थिए भने पिडकहरु थिए हुटुहरु। र यस्तो यौन हिँसामा हुटु मिलिसा समूह, अन्य सामान्य नागरिक, रवान्डा आर्म फोर्सका सेनाहरु, सेना, राजनैतिक व्यक्ति एवं कर्मचारीहरु सामेल भएका थिए।
जातीय नर संघार अति नै डर लाग्दो किसमिले भएको थियो, रवान्डामा। जातीय नर संघारमा संलग्न भएका हुटुहरुले उनीहरुको त्यस्तो कार्यमा सहयोग नगर्ने हुटुहरुको नै पनि हत्या गरेका थिए।
रवान्डामा मुख्य गरी हुटु (८८%) र  टुट्सी (११%) जातीय समूहरुको बसोबास रहेको छ। सन् २००८ जुलाईको अनुमान अनुसार यहाँको जन संख्या करिब १ करोड २ लाख थियो। यहाँका ९३.५ जनता क्रिसचियन छन् भने मुस्लिम ४.६ र परम्परागत अफ्रिकन ०.१ प्रतिशत छन्। वहुसंख्यक जनता कृषिमा आश्रित भएता पनि हाल रवान्डाले उद्योग र व्यापारको क्षेत्रमा पनि प्रगति गरेको छ र प्रति व्यक्ति आय पनि पहिले भन्दा वृद्धि भएर अहिले ५१० यू यस डलर (२००९ को अनुमान) पुगेको छ। कृषि उत्पादनमा मुख्य गरी चिया, कफि, केरा, आलु, लाइभस्टक आदि छन भने औद्योगिक उत्पादनमा सिमेन्ट, बियर, हल्का पेय पदार्थ, साबुन, फर्निचर, टेक्सटाइल, सिगरेट, फर्मासुइटिकल्स आदि छन्।
धार्मिक सद्भावको अभाव, जातीय दंगा, सामुदाय-समुदाय बीच कलह, राजनैतिक शक्तिका लागि खिचातानी आदि जस्ता समस्याहरुले गर्दा निर्धन राष्ट्रहरु झनै निर्धन भएको र विकासको पथमा लम्केका राष्ट्रहरु पनि त्यस किसिमका समस्याहरुले गर्दा गरिबीको दिशा तर्फ फर्केको उदाहरण थुप्रै छन। यस प्रकार विभिन्न राष्ट्रहरुको इतिहास हेर्न हो भने ती राष्ट्रहरुले छिटो आर्थिक प्रगति गरेको देखिन्छ जसले राष्ट्रमा सामाजिक, धार्मिक सद्भाव कायम गरेका छन र शक्तिका लागि राजनैतिक खिचातानीमा समय बरबाद गरेका छैनन्।
सामाजिक सद्भाव कायम गरी राष्ट्रको आर्थिक विकास गर्ने मुख्य जिम्मेवारी सामान्य जनताको हो। हुन त यो जिम्मेवारी सरकारको हो तर सरकारहरुले त्यो जिम्मेवारी बोध गर्नुको साटो केवल आफूलाई शासक ठान्छन र शक्तिको खेलमा मग्न हुन पुग्छन्। र यस्तो अभ्यास मुख्य गरी गरिब राष्ट्रहरुमा र व्यापक मात्रामा हुन्छ। त्यसकारण, गरिब राष्ट्रहरुको सन्दर्भमा, गरिबीबाट मुक्ति पाउन सामान्य जनताले नै सक्रिय प्रयास गर्नु पर्दछ र प्रत्येक नागरिकले आफ्नो गाउँ वा शहरको आर्थिक विकासका लागि  के कस्तो योगदान गर्न सक्ने हो त्यस किसिमको योगदान गर्न तत्पर रहनु पर्दछ। नेपालको सन्दर्भमा, गरिबीबाट छुटकारा पाउने हो भने प्रत्येक नागरिकले विभिन्न किसिमका मतभेदहरु त्यागेर, राजनैतिक आस्थाका आधारमा विभाजित नभएर, एउटा वर्गले अर्को वर्गलाई सत्रुको रुपमा हेर्न परिपाटिको अन्त्य गरी अशल सामाजिक सद्भाव कायम गर्न आवश्यक छ। यस्तो गर्न सकेमा मात्र नेपालमा आर्थिक समृद्धि ल्याउन सकिन्छ। तर यदि हामी बिभिन्न किसिमका मतभेदहरुमा अल्झिएर सामाजिक सद्भाव खलबल्याउनमा नै ब्यस्त रहने हो र समन्वयको वातावरण सृजना गरी राष्ट्रको आर्थिक विकासमा केन्द्रित न हुने हो भने हामीले आर्जन गरेको पीडादायी गरिबी आउने पुस्ताको नाममा नामसारी गर्नु बाहेक केही गर्न सक्ने छैनौ।

विश्वराज अधिकारी 

1 comment:

  1. जातीय राज्य को कुरा ले हाम्रो देश लाई पनि रुवान्डा को बाटो मा डोर्याई रहेको महसुस हुदै छ |

    ReplyDelete