वातावरण
‘यो पाकडको रुखलाई काटेर खतम पार्नुपर्छ, राखेर बनाउनु छैन अब यसलाई भूतप्रेतको डेरा’ योगेन्द्रले उपस्थित व्यक्तिहरुतिर ज्यादै क्रोधित मुद्राले हेर्दै भन्यो अनि अरुको सकारात्मक प्रतिक्रियाको प्रतीक्षा गर्न थाल्यो पनि, आफ्नो उक्त प्रस्तावमाथि।
‘सडकको बीचोबीच रहेको यो रुख गुण्डा आबाराहरुको लागि खेल्न सुरक्षित ठाउँ हुन पुगेको छ। मेरो बस चले अहिले टाँगीले काटेर ढालिदिन्थे’ नन्दलालले रुखतिर हेर्दै घृणा मिश्रित स्वरमा भन्यो।
‘काका तिम्रो विचार के छ यस बारेमा? बर्सौ देखिको यो रुखलाई खत्तम पारिदिने रे! यो रुख यो गाउँको चिन्हासी होइन?’ गाउँका प्रौढहरुमध्ये एक सुकदेवतिर हेर्दे लालबाबुले प्रश्न गर्यो।
‘मलाई के मतलब यो रुखदेखि? जसको टोलमा पर्छ यो रुख उनीहरुले नै बिचार गरुन् यसको बारेमा। मलाई के मतलब, न उधको लेना न माधोको देना’ पाकडको रुखतिर उदासी मुद्राले हेर्दै सुकदेवले भन्यो।
थुप्रै मान्छेहरु भेला भएर के बिषयमा वादविवाद गर्दैछन् भनी थाहा पाउने प्रयास गर्दै प्रेमलाल त्यहाँ आयो। छलफलको विषयवस्तु थाहा पाएपछि ऊ पनि कुर्लियो ‘यो पाकडको रुखलाई अब एक छिन पनि राख्नु ठीक छैन। चराचुरुङ्गीहरु आई बस्छन् अनि नजीकैमा रहेको मेरो बारीको सबै बाली खाइदिन्छन।’
प्रेमलालको यस्तो भनाइबाट उत्तेजित हुँदै एक युवक आफ्नो घरतिर हतारिँदै लमक्यो, बन्चरो लिन। बाटोमा, नजीककाहरुले मात्र सुन्ने गरी बडबडायो उसले ‘यो रुखको छायाँले गर्दा मेरो बारीमा राम्रो गरी तरकारी फल्न सकेको छैन्। अति राम्रो बेला छ अहिले यो रुख काट्ने। अहिले नै दुई टुक्रा पार्नुपर्छ यो अजङ्गको रुखलाई।’
रुख काट्ने सम्बन्धमा उपस्थित व्यक्तिहरुको प्रतिक्रिया सुनेर भीडको छेउमा उभिएको सिकिन्दर ज्यादै खुसी भयो अनि मुसुमुसु हाँस्यो पनि। इँट पोल्न दाउरा अति आवश्यक थियो, अब उसको त्यो आवश्यकता पूरा हुने भयो भनी सन्तुष्ट भयो। फेरि मुसुमुसु हाँस्यो, उसले रुख काट्ने सम्बन्धमा निर्माण गरेको जनमत एकमत हुन थालेकोमा।
विश्वराज अधिकारी
No comments:
Post a Comment