Friday, December 2, 2011

Problems Deepening in Syria - Article - 20


गहिरिँदै छ सिरियामा संकट


यसै वर्षको फ्रेब्रुअरी, मार्चबाट शुरु भएको सिरियाको जन असन्तोष आठ नौ महिना बिति सक्दा पनि सकारात्मक समाधानका साथ किनारा लाग्न सकेको छैन। उल्टो त्यहाँका जनताका लागि आँउदा दिनहरु थप कष्टकर हुने संकेत देखिएको छ। अन्तरार्ष्ट्रिय संस्था तथा विभिन्न राष्ट्रहरुले सिरिया माथि लगाएको आर्थिक तथा अन्य किसिमका प्रतिबन्धहरुले त्यहाँका जनताको जिवन थप कष्टकर हुने आशंका व्यक्त गर्न थालिएको छ। हुनत प्रतिबन्ध लगाउनेहरुले सिरियाली सरकारलाई जनताको आबाज सुन्नका लागि अझ बढी बाध्य पार्न का लागि त्यस किसिमको प्रतिबन्ध लगाउनु परेको भनी प्रष्ट पारेका छन तर पनि त्यस किसिमको प्रतिबन्धबाट जनता नै बढी प्रभावित हुने तथ्य अन्य राष्ट्रहरुमा त्यस किसिमबाट लगाइएको प्रतिबन्धबाट प्राप्त अनुभवले देखाएको छ। संयुक्त राष्ट्र संघिय मानवाधिकार उच्च आयोग (United Nations High Commission for Human Rights) को अनुमान अनुसार सिरियाको जन आन्दोलनमा सरकारी सेनाको कार्यवाहीमा परेर अहिले सम्ममा ३,५०० व्यक्तिहरुले ज्यान गुमाई सकेका छन। तर केही निकाएहरुको भनाईमा भने मारिनेहरुको संख्या ४,००० भन्दा बढी पनि हुन सक्छ। सिरियाली सरकारले अहिले  मुलुक भित्र रहेर स्वतन्त्र किसिमले समाचार पठाउन विदेशी पत्रकारहरुलाई एक किसिमले रोक नै लगाएको छ। संचार माध्यमहरु माथि कडा निगरानी तथा नियन्त्रण  राखिएको हुनाले त्यहाँ हुने घटनाहरुको स्वतन्त्र किसिमले पुष्टि हुन सकि रहेको छैन।
यसै बीच, संयुक्त राष्ट संघबाट जारि गरिएको प्रतिवेदनमा सिरियाली सुरक्षा बलले सरकार बिरोधी प्रदर्शनकारीहरु माथि कार्यवाही गर्दा डर लाग्दो किसिमले मानवाधिकारको उलंघन (Gross violation of human rights) गरेको उल्लेख गरिएको छ। मानवाधिकार उलंघनमा, बिना सूचना मनोमानी किसिमले गिरफ्तारी, बलपूर्वक बेपत्ता, यातना, यौन अपराध, बाल अधिकार हनन जस्ता घटनाहरु रहेको उल्लेख गरिएको छ। अर्कोतिर भने, बढी स्वतन्त्रता र राष्ट्रपति बसार अल-असादको सत्ता बहिरगमनको माग गर्दै सिरिया भरि फैलि रहेको जन बिद्रोहलाई राष्ट्रपति बसार अल-असादको सरकार जन बिद्रोह मान्न तयार छैन र यसरी फैलिरहेको जन असंन्तोषलाई केवल केही आतंकारीहरुको हिंसक कार्यवाही हो भन्दै छ।
बसार अल-असादको सरकारमाथि भने शान्तिपूर्वक गृह कलहको समाधान खोज्न दिन प्रति दिन अन्तरार्ष्ट्रिय दबाब बढि रहेको छ। अरब लिगले सरियामाथि आर्थिक प्रतिबन्ध लगाएको छ र यस्तो प्रतिबन्ध सो लिगले भरखरै मात्र लगाएको हो। आफ्नै जनता माथि त्यस किसिमको बल प्रयोग गर्नबाट सिरियाली सरकारलाई रोक्न आर्थिक नाकाबन्दी लगाउनु परेको भनी लिगले उल्लेख गरेको छ। यूरोपियन यूनियन र संयुक्त राज्य अमेरिकाले यस अघि नै सिरिया माथि प्रतिबन्ध लगाई सकेका छन। अरब लिगले सिरियाको सदस्यतालाई निलंबन समेत गरेको छ। विश्वका अनेक नेताहरुले राष्ट्रपति असादलाई सत्ताबाट बहिर्गमन गरेर समाधानको राम्रो निकास दिन चौतर्फी दबाब दिरहेका छन।
जन बिद्रोहको समाधान शान्तिपूर्वक  तरिकाबाट गर्नुको साटो त्यसलाई दबाउन अत्यधिक बलको प्रयोग गरिकोमा त्यसको बिरोध स्वरुप सिरियाको नजिकको छिमेकी तथा ठूलो व्यापारी साझेदार टर्कीले पनि सिरियामाथि विभिन्न किसिमका प्रतिबन्धहरुको घोषणा गरेको छ। टर्कीले आर्थिक कारोबारहरुमा रोक लगाउने, आफ्नो भूमि भएर हतियार जान न दिने , भ्रमणमा रोक लगाउने जस्ता कदमहरु चालिने उल्लेख गरेको छ।
सिरिया झन झन एक्लो हुँदै गइ रहेको छ, जनताको आबाजलाई बलपूर्वक दवाइ रहेको परिप्रेक्ष्यमा, विश्व राजनीतिबाट। रुस र इरान बाहेक विश्व जनमत लगभग सिरियाको विपक्षमा रहेको छ, सिरियाको राजनैतिक संकटलाई प्रभावित गर्न सक्ने सक्तिहरुको लेखा जोखा गर्ने सन्दर्भमा। यस्तो स्थितिमा पनि राष्ट्रपति बसार अल-असादले सिरियामा कुनै किसिमको सकारात्मक परिवर्तन गर्ने संकेत दिएका छैनन। कतिपय राजनैतिक विश्लेषकहरु राष्ट्रपति असादलाई राजनैतिक रुपमा त्यति सक्षम मान्दैन। केहीले त के सम्म पनि भनेका छन भने राष्ट्रपति असादको ठाउँमा अन्य कुनै नेता भएको भए अहिले सम्ममा पछि हटेर, समाधानको बाटो खोज्ने कार्यमा सहयोग पुर्याई सकेका हुन्थ्ये। सत्ताबाट सजिलै बाहिरिन्थ्ये, जसरी होस्नी मुबारक बाहिरिए, इजिप्टको सत्ताबाट। कतिपयको भनाइमा त असाद राष्ट्रपति हुने नै थिएनन यदि उनको दाजु बसेलको कार दुर्घटनामा मृत्यु नभएको भए। किनभने उनलाई नै राष्ट्रपति बनाउने किसमबाट तयार पारिएको थियो। तर पिता हाफेज अल-असाद र दाजुको मृत्युले गर्दा बसार अल-असाद राष्ट्रपति हुने अवस्थामा पुगे, उनको अनुकूल वातावरण सृजना भएर। राष्ट्रपति बसार अल-असादले ब्रिटेनमा मेडिसिन विषय अध्ययन गरेर ओपथाल्मोलोजीमा डिग्री लिएका हुन। डाक्टर असादले पछि मात्र राजनीतिमा प्रवेश गरेका हुन।
राजनीतिमा जहिले पनि शक्ति-केन्द्रमा बस्ने भन्दा शक्ति-केन्द्रको वरि परि बस्नेहरु बढी शक्तिसाली हुन्छन र फाइदा पनि बढी उनीहरुले नै लिन्छन। शक्ति-केन्द्रमा बस्नेले आफ्नो शक्ति परित्याग गर्न खोजे पनि शक्ति-केन्द्रको वरि परि बस्ने हरुले त्यसरी शक्ति परित्याग गर्न दिँदैनन् किनभने शक्ति सन्तुलन बिग्रेमा आफूहरु शक्तिसाली हुन नसक्ने भयले सताउँछ उनीहरुलाई। शक्ति-केन्द्रको वरि परि बस्नेहरुले आफ्नो अनुकूल व्यक्ति शक्ति-केन्द्रमा ल्याउन चाहन्छन यदि कुनै किसिमको उथल पुथल देश भित्र भएमा। तर यदि उनीहरुले आफू अनुकूलको व्यक्ति शक्ति- केन्द्रमा ल्याउन नसकेमा भने वर्तमानमा, शक्ति-केन्द्रमा रहेको आफ्नो अनुकूलको व्यक्तिलाई मुलुकमा भइ रहेको उथल पुथल दबाउन  शक्तिको प्रयोग कठोरताका साथ प्रयोग गर्न उकसाउँछन। शक्ति-केन्द्रको वरि परि बस्नेहरु दुबै स्थितिमा प्राय फाइदामा नै रहन्छन। उथल पुथल भएर देशमा शत्ता परिवर्तन भएमा नियन्त्रणको क्रममा भएका अपराधको दोषी शक्ति- केन्द्रलाई देखाउँदै आफूहरु सजिलै संग पन्छिन्छन्। र यदि उथल पुथलबाट आफूहरुले चाहेको व्यक्ति शक्ति-केन्द्रमा आएमा शक्ति-केन्द्रको वरि परि बस्नेहरु पुन शक्तिसाली हुन्छन र शक्तिको आनन्द लिन्छन। यसरी उनीहरु दुबै परिस्थितिमा वा दुबै किसिमको परिवर्तनमा घाटामा रहँदैनन। सिरियामा पनि यो स्थिति न होला भन्न सकिँदैन। शक्ति-केन्द्रको वरि परि बस्नेहरुले राष्ट्रपति असादलाई पछि न हट्न र जन बिद्रोहलाई कठोरताका साथ बलपूर्बक दबाउन सल्लाह एवं दबाब दुबै दिरहेका हुन सक्छन।

विश्वराज अधिकारी
Published in prateekdaily on Dec 1, 2011
http://www.prateekdaily.com/2011/12/blog-post_5512.html?utm_source=BP_recent

No comments:

Post a Comment