बुढिया
‘बौनी बुढिया, छोराहरुलाई पन्जाब पठाउँदिनौ धन कमाउन? गजबको कमाई हुन्छ रे, बुटाई पन्जाबबाट फर्किँदा रेडियो र घडी ल्याएको थियो। दुई तोला सुन, अनि माथिबाट दस हजार नगद, त्यो पनि भारु। यो गाउँका कति जनालाई पुर्याइसक्यो उसले पन्जाब।’
मास्टर साहेबद्वारा विवरण सहितको प्रश्न सुनेर एकै छिन उत्तर खोज्ने प्रयास गरी त्यसपछि बौनी बुढियाले जवाफ दिई ‘आ पठाउँदिन पन्जाब ओन्जाब, बरु भोकै बसौला तर ओभानोमा बसौला’ (‘भोकै बसे पनि सबै जना सङ्गै बसौला’ तराईको केही क्षेत्रमा प्रचलित एक भनाई)।
‘सम्पत्तिको नाममा त्यो एउटा घर छ र त्यो पनि फुस (खर) को। त्यसमाथि चार जना छोराहरु। तिनीहरुको बिहेबारी भएपछि कसरी बस्छेउ एउटै घरमा, ए बौनी बुढिया?’ मास्टर साहेबले प्रश्न गर्नु भयो।
‘जस्तो पर्ला त्यसै गरी टर्ला, सबैको दाता रामले बिचार गर्लान नि। यो घरलाई नै चार भाग लगाई दिउँला। मेरो के, कुनैको पिढीमा सुतौला’ भविष्यप्रति बेवास्ता प्रदर्शित गर्दै बौनी बुढियाले भनी।
त्यहाँ उपस्थित व्यक्तिहरुले मास्टर साहेबको सल्लाहलाई बौनी बुढियाले अर्थहीन ठानेकोमा आश्चर्य प्रकट गरे।
एक व्यक्तिले अलि क्रोधित मुद्रामा भन्यो पनि ‘बन्दर जाने अदरखका सबाद’।
अर्को पनि बोल्यो ‘यो सँग कुरा गर्नु बेकार छ, मास्टर साहेब। कसैले नमागेसम्म के सल्लाह दिनु। यसको मगजमा यत्रो ठूलो कुरा अटाउँदैन। मान्छे पनि सानो कदको, मगज पनि त्यस्तै, धतत्तेरीका।’
उपस्थित सबै व्यक्तिहरु गलल्ल हाँसे। वाकयुद्धमा यसरी मास्टर साहेबको विजय तथा बौनी बुढियाको पराजय भएको थियो। पाँच वर्ष पछिको कुरा हो, बौनीको घर छेउ जिम्दार मालिकको खरिहानमा पन्चैति हुँदै थियो।
मुखिया साहेबले भने ‘बौनी बुढिया, तिम्रो भन्नु पर्ने के के कुराहरु छन् , आफ्नो सिकायत पन्चभलादमीहरुलाई खुलस्त पार।’
‘कामधाम गर्न नसक्ने मेरा नालायक छोराहरु स्वास्नीको कुरामा लागेर मलाई आजभोलि संधै पिट्न आउँछन्। भन्छन् मैले सम्पत्ति लुकाएको छु रे। मसँग दुई सेरको चाँदीको हँसुली छ। कान्छो भन्छ - मैले सबै गर गहना जेठोलाई दिएँ। उसलाई केही नदिने हो भने राति सुतेको बेलामा घाँटी थिचेर जै सियाराम बोलाई दिन्छु रे। जेठोले भन्छ - मैले कान्छोलाई काखीच्यापेको छु रे। म उसँग बसेको हुनाले उसको र मेरो एउटै पेट छ। म बुढी, राँड मुस्मातसँग के नै छ र। यो उमेरमा पनि बनी मजदुरी गर्छु। मेरा छोराहरु नालायक ………………………….।’
बौनी बुढियाको पछिल्लो वाक्यलाई पूरा हुन नदिई साँहिलो छोरा करायो ‘मर्ने बेलामा यो बुढियाको मति भ्रष्ट भए जस्तो छ। जे जति गहना गुरिया छ सबैलाई बराबर भाग लगाई दिए हुँदैन?’
बौनी बुढियाको कान्छो छोरा गर्ज्यो ‘आराम बिराममा दबा दारु मैले गरेको छु, के को बराबर भाग लगाउनु?’
माहिलो छोराले कान्छोको भनाइमा हो भन्दै आफ्नो सहमति जाहेर गर्यो।
कान्छो फेरि करायो ‘मेहनताना हेरेर मात्र भाग लगाउनु पर्दछ। खंसी बकरी ऐकेधोकरी गर्न पाइँदैन। पन्चभलादमीहरु, सई सरदारहरु म सबैको अगाडि हात जोड्छु सही न्याय पाउनका लागि।’
‘चुप लागेर बस। यो तिमीहरुको हो मनपर्दो झगडा गर्नलाई। पन्चभलादमीहरुले सबै कुरा थाहा पाए। अब तिमीहरुले बढी बोले भने एकदम ठीक हुने छैन। अब के गर्नु पर्ला झगडु काका?’ मुखिया साहेबले झगडुतिर हेर्दै भने।
बौनी बुढियासँग गहना भएको हामीलाई कुनै खबर छैन र हामीले देखेका पनि छैनौ। यदि भए पनि त्यो बुढियाको मरदले बनाई दिएको हो। त्यो बुढियाको सम्पत्ति हो। उसलाई जे इच्छा लाग्छ त्यो गरोस्। आइन्दा यो बुढिया माथि कुनै छोराले हात उठाएमा ठीक हुने छैन’ मुखिया साहेबले फैसला सुनाए।
मुखिया साहेबले उपस्थित सबैले सुन्न सक्ने गरी सोधे ‘पन्चभलादमीहरुको यसमा के राय छ?’
सबैले ‘ठीक छ, मनासिब हो’ भन्दै फैसला प्रति आ-आफ्नो स्वीकृति जाहेर गरे।
छोराहरु भने फैसलाबाट रुष्ट देखिए।
यसरी बौनी बुढियाको घरायसी मतभेद हुरीमै सीमित भएर आँधीमा परिणत हुन पाएको थिएन।
मास्टर साहेबको घरमा हुलाकीले चिठ्ठी होइन खुसीको पुलिंदा नै ल्याएको थियो। प्रसङ्गबस, बिनाप्रसङ्ग अथवा प्रसङ्ग मिलाउने गरी व्यक्ति तथा अवस्था अनुरुप मास्टर साहेबले आफ्नो पाँच छोराहरु अमेरिकावासी भएको सुनाउनु भयो।
‘नेपालको आम्दानीले के हुन्छ? बच्चाहरुको दूध खर्च त निस्किदैन। पाँचै छोराहरुको आम्दानी जोड्ने हो भने कति हुन्छ? थाहा छ बिन्देश्वर, पच्चिस लाख। सबैको आफ्नै घर आफ्नै कार। कार राख्नु त त्यहाँ साधारण कुरा। यहाँ साइकल राखे जस्तो’ मास्टर साहेबले आफ्नो हरबाह बिन्देसरलाई खुलस्त पार्नु भयो।
बिन्देसरले बोभिंदै सोध्यो ‘हामी त्यहाँ जान मिल्दैन, मास्टर साहेब?’
‘है चपाट, त्यहाँ हलो छ र? तैले जोत्ने। त्यो पनि तँ जस्तो लिख लोढा पढ पथ्थर’ मास्टर साहेबलाई सोधिएको प्रश्न खोसेर दिलचनले बिन्देसरलाई जबाफ दियो।
दिलचनको उत्तर सुनेर बिन्देसर उदास भयो, बैललाई कुटी हाल्न जान उसलाई अल्छी लाग्यो। मास्टर साहेबले बोल्ने कार्य जारी नै राख्नु भयो ‘बुझिस् दिलचन मेरा छोराहरुले इज्जत राखे। नपढलान र हलो जोत्नुपर्ला भन्ने कत्रो पिर थियो मलाई? गाउँ मै कुहिने हो कि भन्ने चिन्ताले सताएको थियो। अहिले सब एक से एक प्रोफेसर, डाक्टर इन्जिनियर।’
मास्टर साहेबको कुरामा दिलचनले थप्यो ‘मास्टर साहेब जस्तो परिवार यो जिल्लामा नै छैन। हेमन महतोको सयौ बिघा जग्गा भएको के काम? छोराहरु हलो समातेर गोरुको पुच्छर निमोठ्दै आँओ आँओ गर्छन। सबै अनपढ, चपाट।’
दिलचनको भनाई सकिए पछि मास्टर साहेबले बिन्देसरतिर हेर्दै भन्नु भयो ‘बिन्देसर खैनी उइनी छ? ख्वा न दिलचनलाई। दरबाजामा आएको मानिसलाई खाली नै पठाउँछस?’ दिलचनको वाणी मिठो खिर झै मास्टर साहेबको पेट भित्र पसेको थियो। संसारको प्रत्येक मनुष्यलाई आफ्नो प्रशंसा अति नै मन पर्ने तथ्यको अपवाद मास्टर साहेब पनि बन्न सक्नु भएन।
‘मास्टर साहेब कुनै मालिस उलिस छैन? छ भने पाउँ न। मेरो आमा जङ्गल दाउरा बटुल्न गएकी कसरी हो लड्न पुगिन। हातमा नराम्रो गरी चोट लागेको छ’ बौनी बुढियाको कान्छो छोराले हतारिँदै रुन्चे स्वरमा भन्यो।
‘त्यति राम्रो मालिस त छैन, यो एउटा मालिस छ, लगाई दिनु सञ्चो होला’ मास्टर साहेबले भन्नु भयो।
बौनी बुढियाको जेठो छोरा पनि आइपुग्यो त्यहाँ अनि भन्यो ‘मेरो आमाको हात नराम्रो गरी सुनिएर आएको छ, के गर्नु पर्ला मास्टर साहेब।’
‘ए त्यस्तो भयो, त्यसो हो भने बीरगंज नै पुर्याउनु पर्दछ, यता होला जस्तो मलाई लाग्दैन’ दुख मिश्रित स्वरले मास्टर साहेबले जबाफ दिनु भयो।
मास्टर साहेबको सल्लाह अनुसार बौनी बुढियाका चारबटै छोराहरु आमालाई लिएर बीरगंज तिर हिंडे।
एक वर्ष पछिको कुरो हो मास्टर साहेब अचानक बिरामी पर्नु भयो। घरमा वहाँको परिवारका अन्य सदस्यहरु थिएनन्।
‘म यकिनका साथ भन्न त सक्तिन, तर जहाँसम्म लक्षण हेरेर भन्ने हो भने मास्टर साहेबलाई इन्सेफेलाइटिस भए जस्तो छ। नसके बीरगंज सके त काठमाडौ नै पुर्याउनु बेस होला’ गाउँको कम्पाउण्डर दिनदयाल झाले भने।
मास्टर साहेबको जिरतिया मोहन मिसिरले दिन दयालको सल्लाहमा प्रतिक्रिया जागेर गरे ‘मेरो, खेतको धान काट्ने बेला भएको छ। मैले बीरगंज जान मिल्दैन। राम्रो गरी धानको थान्को मान्को नलगाए वर्षभरि के खानु र के अर्को वर्षको खेतीका लागि राख्न? यति ठूलो परिवार पाल्नु भनेको ठट्टा हो? बरु धुपलाल माझी गए हुन्छ। शहर पनि देख्न पाउँछ। तिम्रो त फकत एउटी आमा ………………..। बाल न बच्चा निन परे अच्छा।’
धुपलाल माझीले तत्काल नै प्रतिक्रिया जाहेर गरे ‘जिरतियाले कस्तो अमिल्दो कुरा गरेका होला? लकबाले मारेको आमालाई एक्लै छाडेर म जाँउ खुब, शहर घुम्न। हत, अजब रे जमाना। गाउँघरमा के भन्छन्, त्यसको अलिकति भए पनि परवाह गर न हो।’
जिरतियाको अनुहारमा बिरक्ति देखियो तर बिरक्तिएको अनुहारमा बेदनाको झल्को ल्याउने अभिनय गर्दै उनले भने ‘यो स्कुलको पिउनलाई मास्टर साहेबसँग पठाउनु पर्दछ। मास्टर साहेबलाई केही परे यसले न हेरे कसले हेर्ने? मास्टर साहेबलाई हेर्नु पर्ने दायित्व बोकेको पहिलो व्यक्ति पनि त यो नै हो। यसले नगरे अरु कसले गर्ने?’
मेरो घरबाली दुई जिउकी छ। आज हो कि भोलि? यस्तो ……..? यस्तो बेलामा छाडेर गए, त्यसले के भन्छे, गाउँका मान्छेहरुले के भन्ने छन्?’ गाउँको स्कुलको पिउन किसोरीले बाध्यता प्रकट गर्यो।
‘बलदेव महरा, तिमी नै गई देउ न। हेर, मास्टर साहेबको म जिरतिया सिबाए यहाँ कोही पनि छैन। दाजुभाइहरु भए पनि काठमाडौमा होलान। बाँकी सबै वहाँका सन्तान विदेशमा छन्। कसरी, कसलाई बोलाउने, के गरौ? हेर, दया गर। दुख परेको बेलामा टाढाको आफन्त भन्दा नजिकका छिमेकी काम लाग्छन, भन्छन’ जिरतियाले नम्र भएर अनुरोध गरे।
‘बाजा बजाउन मैले हजारमा सट्टा बाँधेको छु। पर्सी नै बजाउनु छ। एक हजार बैना पनि लिइसकेको छु। बिहा हो कि पूजा हो राम्रो गरी थाहा छैन तर जसरी भए पन आउनु। यदि नआए ठीक हुने छैन भनी धम्क्याएको छ उसले’ बलदेव महराले विवशता प्रदर्शित गर्यो।
साथमा जाने कोही मान्छे नपाएसम्म बैद्यजीलाई गुहार गर्ने टुङ्गोमा पुगेर मास्टर साहेबलाई बीरगंज पठाउने प्रकरणले विश्राम लियो। मास्टर साहेबलाई खासै फाइदा हुन नसकेता पनि भोलिको सम्भावना ‘बीरगंज जाने’ लाई उपयोग गर्न सकिने, आशाले तेलको काम गरेको थियो निभ्न थालेको बत्तीमा र त्यही आशले मास्टर साहेबलाई बाँच्न थप उर्जा प्रदान पनि थियो। मास्टर साहेबले बेलाबेलामा भन्ने गर्नु हुन्थ्यो पनि ‘आशा बलबति राजन् शल्यौ जयति पाण्डवम …………….. ।’
आंगनमा ओछ्याइएको चटाईमा मास्टर साहेब सुतिरहेको बेला बौनी बुढियाले वहाँलाई देखेर प्रसन्न मुद्रामा भनी ‘मास्टर साहेब मेरा छोराहरु पन्जाब जान तयार भए नि, आउने पूर्णिंमामा पन्जाबतिर लाग्छन्। बल्ल बल्ल तयार भए। त्यो पनि दसवटा कथा कहानी सुनाए पछि। तर पनि मलाई संका छ। तिनीहरुलाई तपाईको अगाडि ल्याइदिन्छु, एकचोटी राम्रो गरी सम्झाई दिनुहोस् न। पन्जाब गएर धन कमाए पछि अलिकति भए पनि मति फिर्ला। मसँग घरी घरी अंश माग्ने काम छाड्लान। धन आए पछि बुद्धि पनि आउला नि।’
मास्टर साहेब सार्है सिकिस्त भएको बौनी बुढियालाई थाहा थिएन। देखेपछि मात्र थाहा पाई। नजीक पुगेर भनी ‘मास्टर साहेब, तपाँईलाई सन्चो रहेनछ। आराम गर्नुहोस्। तपाँईलाई निको भए पछि सल्लाह माग्न आउँला।’ यति भनेर बौनी बुढिया उठी।
उठ्न थालेको देखेपछि मास्टर साहेबले उसलाई बस्न आग्रह गर्नुभयो। बौनी बुढिया बसी। अलि नजीक आउन हातले इशारा गर्नु भयो मास्टर साहेबले। बिस्तारै भन्नु भयो ‘छोराहरुलाई पन्जाब नपठाउनु है। भोकै बस्छौ तर सबै जना एकै ठाउँमा बस्छौ भनी तिमीले भनेको एकदमै ठीक रहेछ। तिमीले यो कुरा मलाई धेरै वर्ष पहिले नै भन्नु पर्ने थियो। धेरै वर्ष पहिले सुनेर त्यसको अर्थ बुझ्न पाएको भए ……………… तर के गर्नु, आफू नमरी स्वर्ग देख्न पाइँदैन। म भन्दा पनि ठूलो शिक्षक त तिमी पो रहिछौ। नमरी नै स्वर्ग देख्यौ।’
यति भनी सिध्याए पछि मास्टर साहेबको पहेंले अनुहार मा आँसुको वर्षा भयो। मास्टर साहेब रोएको देखेर बौनी बुढिया पनि रोइ। मास्टर साहेबले छोराहरुलाई पन्जाब नपठाउन भनेकोमा निकै आश्चर्य चकित पनि भई। बिस्तारै आफूले मात्र सुन्ने गरी बोली ‘मास्टर साहेबले छोराहरुलाई पन्जाब पठाउन मलाई किन सल्लाह नदिएको होला? पहिले पहिले त निकै पठाऊ पठाऊ भन्नु हुन्थ्यो। मैले नै नमानेको। खोइ के हो? केही बुझ्न सकिएन। मान्छेहरुले भनेको ठीकै रहेछ - म मान्छे कदको पनि सानो मगज पनि सानो।’
मास्टर साहेबले एकटकले बौनी बुढियालाई हेर्नु भयो।
बौनी बुढियाले आँखाको आँसु पुछ्दै भनी ‘केही सहयोग चाहिए भन्नु होला मलाई, तेतिका छोराहरु भएको के काम?’
छेउमा बसेको जिरतिया मोहन मिसिरले बौनी बुढियाको कुरामा आश्चर्य तथा खुसी प्रकट गर्दै मास्टर साहेबको अनुहारमा हेरे अनि त्यसपछि भने ‘ल अब भोलि नै बीरगंज जाने’। मोहन मिसिरको कुरा सुनेपछि मास्टर साहेबको पँहेलो अनुहारमा अलिकति लाली पोखियो।
घर फर्केपछि छोराहरुतिर हेर्दै बौनी बुढियाले भनी ‘ ए सुनेउ तिमीहरुले पन्जाब जानु हँदैन। कमाएर घर फर्किदा बाटोमा चोर डाँकुहरुले सखाप पारि दिन्छन्। ज्यानै मार्न पनि बेर लगाउँदैनन् रे।’ छोरा बोहारीहरुले बौनी बुढियालाई धेरै बेरसम्म हेर्या हेर्यै गरे।
विश्वराज अधिकारी
No comments:
Post a Comment