Thursday, December 29, 2011

Credit Management - Poverty and Economics - 17


साख व्यवस्थापन

साख व्यवस्थापन (Credit management) ले पनि गरिबीसँग सरोकार राख्दछ। गरिबी कम पार्नमा साख व्यवस्थापनको  भूमिका महत्वपूर्ण रहेको पाइएको छ। साख व्यवस्थापन अन्तर्गत क्रय शक्ति (Purchasing power) पनि पर्ने हुनाले यहाँ क्रय शक्तिको बारेमा चर्चा गर्न खोजिएको छ।
क्रय शक्ति र साख दुई अलग अलग विषय वस्तुहरु हुन। तर यी दुई विषयहरुको बीचमा घनिष्ट सम्बन्ध छ। क्रय शक्तिले व्यक्तिमा रहेको क्रय क्षमता दर्शाउँछ।  आफ्नो आर्थिक आम्दानी वा तरलताको आधारमा व्यक्तिले कुन किसिमले कतिसम्म खर्च गर्न सक्छ भन्ने कुरा व्यक्तिको क्रय शक्तिमा भर पर्दछ। आफ्नो क्रय शक्ति अनुसार नै व्यक्तिले जिवन निर्वाह गर्नका लागि आवस्यक पर्ने विभिन्न वस्तु तथा सेवाहरु बजारबाट खरिद गर्दछ। क्रय शक्ति जति बढी भयो त्यति नै व्यक्तिले उपभोगका लागि बढी वस्तु तथा सेवाहरुको माग गर्दछ।
यसै गरी व्यक्तिले कारोबारी जिन्दगीमा आफ्नो आर्थिक छवि बजारमा कस्तो बनाएको छ भन्ने कुरा उसले आर्जन गरेको साखबाट देखिन्छ। व्यक्तिले आर्जन गरेको साखले गर्दा उसलाई बजारबाट ऋण लिन सजिलो हुन्छ। आफूसँग तत्काल पैसा नभए पनि कस कसलाई कति कति भुक्तानी गर्नु पर्नेछ तिनलाई त्यसै अनुसार भुक्तानी गर्न उसलाई सजिलो हुन्छ। यसै गरी अनेक कसिमका उपभोग्य सामाग्रीहरु उधारोमा खरिद गरेर आफ्नो तरलता अनुसार एक महिना भित्र, एक वर्षभित्र वा आफूलाई अनुकूल पर्ने लामो सयम भित्र तिनको भुक्तानी गर्न सक्छ। यसरी व्यक्तिको बजारमा साख जति राम्रो भयो त्यति नै उसलाई ऋण प्राप्त गर्न तथा उधारोमा सामानहरु खरिद गर्न सजिलो हुन्छ।
नेपालमा कुनै पनि व्यक्तिले कस्तो साख आर्जन गरेको छ भन्ने कुराको निगरानी गर्ने न त कुनै संस्था छ न त व्यवस्थित रुपले कुनै व्यक्तिको साखको मूल्यांकन गर्न कार्य नै गरिन्छ। कुनै व्यक्तिले कति कति को को ( विभिन्न संस्थाहरु) संग कुन कुन मितिमा ऋण लियो र उक्त ऋणको भुक्तानी कसरी गर्यो। यसै गरी कुनै व्यक्तिले कहाँ कहाँ (पसलहरु) बाट उधारोमा सामानहरु खरिद गर्यो र तिनको भुक्तानी कसरी गर्यो। ऋण वा उधारो भुक्तानी गर्ने क्रममा सम्पूर्ण रकम भुक्तानी गर्यो वा केही रकम भुक्तान नै गरेन। गरिएको भुक्तानी पनि नियमित वा अनियमित थियो। यस्ता कुराहरुको अभिलेख राख्ने र तिनको मूल्याकंन गर्ने कार्य साख व्यवस्थापन अन्तर्गत गरिन्छ। अमेरिका क्यानाडा, बेलायत र साथै अन्य थुपै विकसित मुलुकहरुमा व्यक्तिको साखको निगरानी तथा मूल्याकंन गर्ने संस्थाहरुको स्थापना गरिएको हुन्छ र ती संस्थाहरुको निगरानी र मूल्याकंनको आधारा कुनै पनि व्यक्तिलाई ऋण लिन, उधारोमा सामन खरिद गर्न सजिलो हुन्छ। व्यक्तिको साखको मूल्याकंन तथा अनुगमन गर्ने संस्थालाई क्रेडिट ब्युरो भन्ने गरिन्छ। यस्तो संस्थाले गरेको अनुगमन तथा मूल्यांकनको आधारमा नै कुनै पनि व्यक्तिले कति सम्म ऋण पाउन सक्ने वा कति हदसम्मको उधारो पत्र (Credit card) पाउन सक्ने भन्ने कुराको निर्धारण हुन्छ। कुनै व्यक्तिले केवल आफ्नो आर्थिक क्षमता अनुसार मात्र ऋण लिएको छ र ऋणको भुक्तानी पनि तोकिएको समयमा सन्तोषजनक किसिमले गरेको छ। यसै गरी विभिन्न संस्था वा पसलहरुबाट उधारोमा सामानहरु खरिद गरेको छ र तिनको भुक्तानी पनि तोकिएको समयमा सन्तोषजनक किसिमले गरेको छ भने उक्त व्यक्तिको साख इतिहास (Credit history ) राम्रो, विश्वसनीय वा प्रभावकारी हुँदै जान्छ। तर यसको विपरित यदि व्यक्तिले आफ्नो आर्थिक क्षमता अनुसार ऋण लिएको छैन, आम्दानी भन्दा बढी ऋण लिएको छ। उधारोमा सामान खरिद गर्दा आफ्नो आर्थिक क्षमता भन्दा बढीको सामान खरिद गरेको छ। ऋण र उधारोको भुक्तानी समयमा गरेको छैन भने उसको साखको इतिहास राम्रो हुँदैन। र साख राम्रो न भएमा ऋण लिन वा उधारोमा सामान खरिद गर्न व्यक्तिले अनेक समस्याहरुको सामना गर्नु पर्ने हुन आउँछ। त्यस कारण व्यक्तिले जहिले पनि आफ्नो साख राम्रो बनाउने प्रयत्न गर्दछ किनभने उसलाई थाहा हुन्छ उसको साख खराब भएमा ऋण लिन, उधारोमा सामान खरिद गर्न उसलाई गार्हो हुन्छ भन्ने कुरा। उधारो पत्रको राम्रो प्रचलन रहेको मुलुकहरुमा वहुसंख्यक व्यक्तिहरुले लत्ता कपडा, घर घरायसी सामान, यातायात सेवा, खाद्यान्न लगायत कम्प्युटर, वासिङ्ग मेसिन, फ्रिज अदि र कारसम्म पनि उधारो पत्रले नै खरिद गर्छन। सामानहरु खरिद गर्दा व्यक्तिहरुले नगदको प्रयोग ज्यादै कम मात्रामा गर्छन। यसरी उधारो पत्रले एकातिर सामान खरिदलाई सजिलो पारिदिन्छ भने अर्कोतिर व्यक्तिले आफूसँग तत्काल पैसा नभए पनि आफूलाई आवश्यक पर्ने सामान जुन सुकै बेला पनि खरिद गर्न सक्छ र त्यसरी उधारोमा खरिद गरेको सामानको मूल्य उधारो पत्रले तत्काल भुक्तानी गरिदिएको हुनाले उसले किन्ना साथ भुक्तानी गर्नु पर्ने चिंता लिइ रहनु पर्दैन।
व्यक्तिसँग तत्काल पैसा नभए पनि उधारो पत्रले व्यक्तिमा क्रय शक्ति सृजना गरिदिन्छ जसले गर्दा व्यक्तिले सजिलैसंग आफूलाई आवश्य परेका सामानहरु उधारो पत्रद्वारा खरिद गर्न सक्छ। र यसबाट दुईबटा फाइदा हुन्छ। पहिलो त, व्यक्तिले खल्तिमा पैसा नभएता पनि उसले भोकै बस्नु (यदि होटलमा खाने गरेको छ र होटलले उधारोमा सामान दिंदैन) पर्ने स्थिति आउँदैन। दोस्रो, ग्राहकको खल्तिमा पैसा तत्काल नभएता पनि बिक्रेता (होटल) ले सजिलै ग्राहकलाई सामान बिक्री गर्न सक्छ किनभने बिक्रेताले  आफ्नो सामानको मूल्य तत्काल उधारो पत्रको माध्यमाबाट ग्राहकबाट प्राप्त गर्दछ। यसरी, तत्काल ग्राहकसँग पैसा नभएता पनि र बिक्रेताले उधारोमा बिक्री गर्न नखोजेता पनि उधारो पत्रले खरिद र विक्री दुवै कार्य सम्भव गराई दिन्छ। र अर्को शब्दमा भन्ने हो भने विना भुक्तानी बजारमा माग र आपूर्ति हुने सहज स्थिति उधारो पत्रले सृजना गरिदिन्छ। यसरी उधारो पत्रले तत्काल पैसा नहुनेहरुमा पनि क्रय शक्ति सृजना गरिदिन्छ।
कुनै पनि मुलुकमा, धनीहरुको सीमित संख्यालाई छाडेर वहुसंख्यक जनताको आर्थिक स्थिति हेर्ने हो भने उनीहरुको आर्थिक स्थिति बलियो नरहेको सहजै देख्न सकिन्छ। अर्थात उनीहरुको हातमा जुन बेला पनि नगद हुन सक्तैन। तर एक निश्चित समयपछि भने उनीहरुको हातमा आम्दानी प्राप्त हुन आउँछ। कामदार वा कर्मचारी हो भने तोकिएको समय पछि ज्याला वा तलबको रुपमा आम्दानी प्राप्त हुन आउँछ भने कृषक हो भने तोकिएको समय पछि वा फसल काटे पछि आम्दानी प्राप्त हुन आउँछ। तर तोकिएको समय पछि आम्दानी आउनु भन्दा पहिले भने उनीहरुको हात खाली हुन्छ। अर्थात यो समयमा उनीहरुसँग पैसा हुँदैन र क्रय शक्ति क्षिण रहेको हुन्छ। यसरी क्रय शक्ति क्षिण रहेको बेला उनीहरुले आवश्य परेका सामानहरु खरिद गर्न विभिन्न समस्याहरुको सामान गर्न पर्दछ, एक निश्चित समयपछि उनीहरुसँग आम्दानी हुने स्थिति हुँदा हँदै पनि। उधारो पत्रले यो स्थितिको अन्त्य गरिदिन्छ। उधारो पत्रले गर्दा व्यक्तिले आफूसँग तत्काल पैसा नभएता पनि आवश्य सामाग्रीहरु खरिद गरेर पछि जब आम्दानी प्राप्त हुन्छ क्रेडिट कार्ड कम्पनीलाई भुक्तान गर्न सक्छ। यसरी, उधारो पत्रले व्यक्तिसँग तत्काल पैसा नभएता पनि उसमा क्रय शक्ति सृजना गरिदिन्छ र उसलाई अभावको स्थितिमा भोकै बस्नु पर्ने दयनीय अवस्थाबाट उन्मुक्ति दिन्छ।  
उधारो पत्र भनेको के हो र यो कसरी जारी हुन्छ?

विश्वराज अधिकारी

No comments:

Post a Comment