बाले त्यो गाउँको स्कूलमा पढाउनु हुन्थ्यो त्यसकारण त्यो गाउँमा हाम्रो अस्थाइ बसोबास थियो। त्यो गाउँबाट सदरमुकाम गौरसम्म पुग्न एकदिन पुरै हिड्नु पर्दथ्यो । लगभग दस कोषको यात्रा पुरा गरेर गौर पुगेपछि कुनै उपलब्धी नै हासिल भए झै हुनथ्यो त्यो बेला जुन बेला अहिले झै चन्द्रनिगापुर र गौर बिच मोटर गाडीहरु गुड्थेनन्। दिउँसो गौरका लागि हिड्दा भने राति बास बस्नु पर्दथ्यो कुनै गाउँमा। त्यो दिन हामी घरबाट ढिलो हिडेको हुनाले एउटा गाउँमा बास बसेका थियौ। घरदेखि दुइचार कोषको छेउछाउको कुनै गाउँमा। कुन गाउँमा बसेका थियौ त्यो चाँहि याद भएन। तर बास भने एउटा मठमा बसेका थियौ। मठको जोगीको नाम थियो रामदाश महराजजी।
जाडोको समय भएको हुनाले हामी सवै जना महराजजीले बालेको रामधुनी ताप्दै थियौ। बा त्यो मठमा बसेको बेला अबेर रातिसम्म महराजजीसंग कुराकानि गर्नु हुन्थ्यो। बा र रामदास महाराजजी बिच कुराकानि शुरु भयो। त्यो दिनको कुराकानी बाबाट सुरु भयो। बाले सोध्नु भयो ‘महराजजी एउटा कुरा भन्नुस त , मानिस जोगी किन बन्छन?’
बाले त्यो दिन बेग्लै किसिमको प्रशंग सुरु गर्नु भयो। बाको त्यो प्रस्नले महराजजीलाइ अलि असहजको स्थितिमा पुर्याएको जस्तो लाग्यो। उनले भने ‘मास्टर साहेब, मानिसले धेरै किसिमका प्रश्न सोध्छन मसंग तर आजसम्म कसैले मलाइ यस्तो प्रश्न सोधेको छैन। तपाँइले सोधिहाल्नु भयो। सोधिनै सकेपछि भन्न त पर्यो नै मैले।’
‘खासमा मानिस किन जोगी बन्दछन मलाइ थाहा छैन । जोगीहरुसंगको त्यति बढि सम्पकर्मा छैन् म। प्राय: मठमा नै बस्छु दिनभरि। साँझ ठाकुरजीको आरतीमा घडिघण्टा डोलायो। भोग लगायो। राति सुत्यो। बिहान भएपछि नित्य पूजापाठ सुरु हुन्छ। जिन्दगी यसै गरी गुज्रिरहेको छ। गुजारी रहेको छु। म भण्डाराहरुमा पनि त्यति जान्न। जोगी मान्छे, धनसम्पत पनि छैन। महाजन विष्णुदयालले सिधा पठाइ दिन्छन हरेक साझ त्यहि काफि छ बाँच्नलाइ भगवानको कृपाले। अहिलेसम्म जम्मा एउटा तिर्थस्थल पुगेको छु। काशीमा विश्वनाथबाबाको दर्शन गरेर यो जिबन धन्य भयो ।’
आफुले सोधको उत्तरतिर कुरा नमोडिएर अन्तलागेको हुनाले त्यसलाइ छोट्याउन बाले महराजजीलाइ स्मरण गराउनु भयो ‘महराजजी तपाँइले त मानिस जोगी किन बन्दछन भनि सुनाउन थाल्नु भएको थियो नि।’
महराजजीले तत्काल प्रसंग परिवर्तन गर्दै भने ‘ मैले अघिनै भने म जोगीहरुको त्यति सम्पकर्मा छैन ।त्यैपनि एउटा जोगी जो मेरो नजीकको सम्पकर्मा आएको थियो उसैको बारेमा भन्छु। उसले आफ्नो बारेमा जे भनेको थियो कथाको रुपमा त्यही सुनाउँ छु। त्यो कथाले मानिस किन जोगी बन्दछन् बुझ्न सजिले होला तपाँइलाई’।
महराजजीले भन्न आरम्भ गरे ‘म जुन जोगीबाबाको कथा भन्न गइरकेको छु उसका पाँच जना दाजुभाइ थिए रे। सर्लाही जिल्लको कुनैगाउँमा घर थियो । बङमती नदीको किनारमा थियो उसको गाउँ । पाँच सात बिघा जमिन थियो। राम्रो खुसहाली थियो घरमा । कुनै कुराको तकलिफ थिएन। पाँचै भाइको बिआह भएको थिएन। उब्जाउ खेत भएकोले उब्जनी पनि खूब हुनथ्यो । धान मकै गँहु खुब फल्थ्यो। पर्व, न्यौता पेहानि, लत्ता कपडा , बाँकी खर्चा ओर्चा सव काटेर बचत हुन्थ्यो। सय मन भन्दा बढी धान बेच्न पुग्दथ्यो। तर एकचोटी बङमती नदीमा आएको दाहारले सबकुछ बरबाद गरिदियो। महलको मान्छे सडकमा आएको जस्तो भयो। समुच्चा खेतमा बालु पाटिगयो। एकरातको दाहारले उब्जाउ खेत बालुको रेत बन्यो। बालुको रेतमा कुनै बाली लाग्न सकेन अर्कोतिर कर्जा चढन थाल्यो साल बेसालि। बालुपाटेको समुच्चा खेत बेचेर पनि टाउकोमा चढेको कर्जा चुक्ता हुन सकेन। जोगीबाबाको बाबु कर्जा सधाउन एउटा धनिकको घरमा बस्नु पर्यो, मनेजर बनेर’।
‘अर्कोतिर पाँच बरिष भित्रमा पाँचै भाइको बिआह भयो। घरमा खर्चीको कमी त्यसमाथी पन्ध्र सोह्र जनको परिवार, हरेक दिन मतलव बेमतलवमा झगडा हुनथाल्यो त्यो जोगीबाबाको घरमा। उसको जेठो दाजु दुष्ट प्रवृतिको थियो रे। दोकान खोलेको थियो, आम्दानी ठीकै भएकोले दोकानलाइ एकलौटी बनाउन जहिले पनि बिनाकुनै कारण नै झगडा गर्थ्यो। त्यसको घरबाली चाँहि भलादमी थिइ। अर्कोतिर मझिला भाइ केही ठिक थियो तर मझिली भौजी भने एकदम बदमास। इण्डियाको ढेङ बरगिनियोको आसपासको कुनै गावँको थिइ ,जहिले पनि आफ्ने नहिराको धाक लगाउने। मेरो नहिरामा यस्तो छ त मेरो नहिरामा उस्तो छ। मेरो बाबुको लाखौको बेपार छ, यिनिहरु जस्तो कौडी कंगाल हो? हामी उच कुल खानदानको हो । उसको भनाइ जहिले पनि के हुन्थ्यो रे भने – पिया सुनर हम सुनरी गावँके लोग बनरा बनरी। जोगी बाबाको चाँहि गौरको आसपासको कुनै गावँमा बिआह भएको थियो। जोगीबाबाको मेहरारु बहुत असकतिया ,कामधाम न गर्ने ,कामचोर किसिमको थिइ। खाली फरमाइस मात्र गर्न जानेको । यो ल्याइदेउ उ ल्याइदेउ भन्ने मात्रै। आफ्नो मरदलाइ भलबुरा भन्नु सिबाय गर्ने अरु केही काम थिएन उसको। जहिले पनि कमाउन जान्दैनस, अकिल छैन , नामर्द होस, बम्मड छस मात्र भन्ने आफ्नो घरबालालाइ।’
‘जोगीबाबाले भने अनुसार उसको घरमा हरेक दिन झगडा हुन थाल्यो। कहिले भाइ भाइ मा त कहिले सास पुतोहमा। कहिले एउटा पुतोहको अर्को संग। कहिले देबर भौजीमा त कहिले बाब बेटामा। घर घर रहेन लडाइ गर्ने ठाउँ भयो, एकदम अखडा जस्तो। बुढो बाबुलाइ सम्हाली सक्नु भएन सबलाइ अल्गा अल्गी गरिदिए। सम्पत्तीको नाममा एउटा घर थियो, खपडाको चौपार ,त्यसैमा पाँच भाग लाग्यो। बाब र मतारी जोगीबाबाको भागमा परेका थिए। बाप र मतारी ले नै भनेका थिए – म छोटकासंग बस्छु। यो अलि सिधासाधा र कमजोर छ। दया र मया बाला पनि। अरु सबै त छन् खाली एक नम्बरको मतलबिया। जोगी बाबालाइ यो सवै देखेर ज्यादै दुख लागिरहेको थियो। मनमा बैराग पनि उठिरहेको थियो। सबै भाइ मिलेर वसेको उनि देख्न चाहन्थे। सवैको मुखमा हाँसो होस भन्ने उनको चाहना थियो। दुइ दिनको जिनगी लाइ लडाइ झगडा गरेर के बिताउनु। कति लालचि बन्ने धन सम्मपतका लागि। धन सम्मत आफ्नो आफ्नो भागको कुरा हो। भागमा जति लेखेको हुन्छ त्यति नै पाइन्छ। अफ्रात धन भए पनि मर्ने बेलामा छातिमा हालेर लग्न मिल्दैन । सव त यहि छुट्छ। जान्छ सिर्फ खाली हात। मान्छे नाङ्गो आएको हुन्छ नाङ्गो नै जान्छ।’
‘जोगीबाबाले भने अनुसार त्यस्तो उब्जाउ खेत बालुको रेत बनेको उनको बाबुको कलेजामा तिर जस्तो रोपिएको थियो। त्यो चिन्ताले थलायो बुढ्बालाइ। दुइ बरिष थला परेर त्येही चौकिमा दम तोडिदिए बुढ्बाले जुनमा थला परेका थिए। दुइ बरिष एक कदम नहिडेर नै प्राण छुट्यो। जोगीबाबाको बाबुले भन्थे रे- चिन्ता से चतुराइ घटे दुखसे घटे सरिर । उनको जिनगिमा त्यो भनाइ एकदम ठिक भयो।’
‘मरद मरे पछि घरबालीलाइ बहुत एक्लो लाग्दो रहेछ। एक्लो लागेपछि अनेक बिरामी ले पनि घेर्न थाल्छ। मरदको चिन्तामा बुढियाको पनि देह गल्न सुरु भयो। एकै बरिष भित्रमा प्राण छुट्यो बुढियाको पनि। पुगिन भगवानको घरम आफ्नो मरदलाइ भेट्न।
कमाएर दुइचार पैसा राखेको भए बाप मतारीको इलाज हुन सक्थ्यो। आफुले कमाउन नसकेकोले नै बाब मतारी परमधाम पुगेको लाग्न थाल्यो जोगीबाबालाइ। आफुलाइ निकम्मा ठान्न थाल्यो उसले। गरिरहेको हरबाही पनि ठिकसंग गर्न मनलागेन। यसै बिच जोगीबाबाको पहिलो सन्तानको रुपमा एउटा छोरा भयो। तर के गर्नु जनम भएको सात दिन भित्रमा जान गयो वौआको। धेरैले भने कुनै डाइन जोगिनको नजर गुजर लागेको हो। कुनै कुटनी बुढियाले चिवाइ गइ। तर कम्पाउडर साहेबको भनाइ अनुसार जाडाको समय, लत्ता कपडाको राम्रो व्यवस्था हुन सकेन, खानपिनको पनि त्यस्तै कमि, बच्चालाइ निमोनियो भयो र त्योहि निमोनियाले बच्चको प्राण उडिगयो।’
‘पहिलेदेखि टुटेको जोगीबाबाको मन बच्चाको मृत्युले झन छिया छियो भयो। बच्चाको मौतको लागि घरबालीले उसैलाइ दोषी ठहर गरी र कोस्न थाली- दुइ पैसा कमाएर हातमा राखेको भए बौआको अकालमा जान जानेथिएन नि। तिम्रो मर्दानगी यस्तै रहन हो भने यो घर उजिआउनेबाला छैन।’
‘बडा मुस्कील मस्कीलले जोगीवाबाको गुजर बसर भइरहेको थियो। त्यसैबिचमा उसको अर्को छोरा भयो। छोरा दुखम सुखम बढिरहेको थियो तर एक दिन जोगीबाबाको सिरमा ठन्का गिर्यो। उसको घरबाली छमहिनाको लाल बौआलाइ छाडेर भागी। कहा गइ कुनै पत्ता चलेन। घरबाट भागेको छ महिना पछि थाहा भयो नहिरामा बसेकी छ भनेर। तर जोगीबाबा बोलाउन गएन मेहरारुलाइ। जेठकी भौजीले छोरा हेरदिएकोले बनी बनिहारी गर्न सक्यो उसले। अरु भाइ भौजाइले भने कुनै दया मया देखाएनन्, सब थिए एक नम्बरको मतलबिया। धन सम्पतका लागि जहिले पनि मारामार गर्ने। जिनगी बडा मुस्कीलले गुज्रिरहेको थियो उसको।’
‘घरपरिवारको स्वार्थी बुध्दि र मेहरारुको त्यस्तो व्यबहार देखेर जोगीबाबाको मनमा बैराग उठ्न थाल्यो रे। दुनिया स्वार्थीहरुको भिड लाग्न थाल्यो। उसलाइ लाग्यो- कपडेके अन्दर सव नङ्गे है।’
‘एकदिन जेठकी भौजी सिवाए अरु कसैलाइ थाहा नदिएर घरछाडि हिड्यो जोगीबाबा। छोरा पनि भौजीकै जिम्मा लगायो। दुइचार दिन चक्कर काटेर पुग्यो पिपरामठ र त्येही मठमा भेट भयो मेरो त्यो जोगिबाबासंग।’
भनिरहेको कथा सकिएपछि रामदासमहराजजी बातिर फर्किए अनि भने ‘ माष्टर साहेब रात धेरै गुज्रिसकेको छ ,आ तपाँइले भोरबैमा हिडनु छ गौरका लागि ,त्यसैले अब सुत्न जाऔ। तपाँइ दुइ बाबु छोरा यै मडैयामा सुत्नुहोस, यो धूनी नजिक। दुइबटा धन रजाइ छ एउटमा सुत्नु होला आ अर्को चाँहि ओढनु होला। म चाँहि मन्दिर भित्र सुत्छु ठाकुरजीको पाउमा।
बाले पनि भन्नु भयो ‘ल त सुतौ। बडका भोरमै निस्कन्छौ गौरका लागि। बिहानै अड्डा पुगेर दुपहर सम्ममा काम तमाम गर्न सके समय बाकि रहिजान्छ घरजानका लागि। स्कूलको कामले गर्दा घर जान नपाएको नौ दस महिन भइसक्यो।’
हामी सुत्ने तरखरमा थियौ। बाहिर भने कुनैबेला स्याल कुनैबेला कुकुर कराउने क्रम सुरु भएको थियो। कुनबेला मलाइ निद्रा पर्यो थाहा भएन।
भोलि पल्ट बडका भौरमै गौरका लागि हिडन तयार भयौ। बाले मन्दिरको नजिकबाट भन्नु भयो’ माहराजजी , हामी हिडन थाल्यौ। फेरि गौर आउदा यतै बास बसौला।’
बाको भनाइ सकिन पाएको थियन मन्दिर भित्रबाट आबाज आयो ‘ पखनुस मास्टर साहेब म पनि तपाइहरुसंगै जान्छु।’
बाले आस्चर्य मान्दै सोध्नु भयो ‘ कहाँ?’
महराजजीले जवाफ दिए’ गौर’।
बाले फेरि सोध्नु भयो ‘ राति धुनीताप्दा केहि पनि भन्नु भएन त जाने बारे? रात भरिमै कसरी गौर जाने बिचार आयो दिमागमा?’
जोगीबाबा मन्दिरबाट बाहिर आए। बाको नजिक पुग्दै बिस्तारै भने ‘ मास्टर साहेब , तपाँइसंग के कुरा लुकाउनु, राति तपाँइलाइ जुन कथा सुनाएको थिए त्यो कथाको जोगीबाबा म नै हुँ । घर छाडेर हिडेको पुग नपुग सत्र बरिष भयो। मेरो छोरा पनि लगभग सोर्ह बरिषको भएको होला। मोच दारी आएर पठ्ठा जुआन भइसकेको होला। बडा हेर्न मनलागिरहेको छ त्यसलाइ। आ घरबालीलाइ पनि । रात भरि सुत्न सकेको छैन तिनीहरुलाइ सम्झेर ।’
बाले स्मरण गराउने किसिमले सोध्नु भयो ‘तपाँइको घरबाली त नहिराम छिन् होइन र महाराजजी? जोगीबाबाले शान्त स्वरमा भने ‘ एक बार उसको नहिरा पनि जान्छु।’
बाले पुन प्रश्न गर्नु भयो ’नहिरामा नभएर कहि अर्को बिआह गरेको भए नि?’
बाले सोधेको यो प्रश्नको जबाफमा जोगीबाबाले केही भन्न सकेनन्। शान्त बसे।
केहि क्षण पछि लामो सांस फेर्दै भने ‘तैपनि भेट्छु त्यसलाइ। छोरालाइ जिम्मा लगाइ दिन्छु ,त्यसको। आखिर त्यसैको कोखको बच्चा हो । मया दया त होला नि’?’
जोगीबाबाले भन्ने क्रम जारि राखे ‘मास्टर साहेब, गौरको काम सकाएर आजै घर फर्किनु हुन्छ होइन? म पनि तपाँइसंगै गौर जान्छु र तपाँइ सगै फर्किन्छु। तपाँइको घर सुदामा होइन? मेरो घर पनि त्यै गावँको आसपासमा हो ।’
जोगीबाबाको कुरा सकिए पछि बाले सोध्नु भयो ‘ अनि, मठतिर फर्किनु हुन्छ कि हुन्न, महाराजजी?’
जबाफमा जोगीबाबाले केवल छोटो प्रतिक्रिया ब्यक्त गरे ‘खोइ हेरौ।’
विश्वराज अधिकारी
No comments:
Post a Comment