अन्तरार्ष्ट्रिय श्रम बजारमा नेपाली कामदारहरुको मागमा वृद्धि भएर ठूलो संख्यामा नेपालीहरु विदेशतिर प्रस्थान गरेको स्थिति सुखद लागेता पनि त्यो स्थिति दीर्घकालका लागि सुखद भने होइन। वैदेशिक रोजगारीबाट रार्ष्ट्रिय बेरोजगारी समस्या कम भएको तथा व्यक्ति एवं परिवारको आयमा वृद्धि हुन पुगेको देखिएता पनि दीर्घकालमा यसले राष्ट्रलाई फाइदा भने पुर्याउँदैन।
वैदेशिक रोजगरबाट लघु कालिक रुपमा फाइदा त देखिन्छ तर त्यो फाइदाको तुलना दीर्घ कालिक रुपमा राष्ट्रलाई पर्ने प्रतिकूल असरसँग गर्दा वैदेशिक रोजगारी सोंचे जति उत्पादक नरहेको धारणा सहजै निर्माण गर्न सकिन्छ। खास गरी वर्तमानमा जुन किसिमले नेपाली जनशक्ति विदेशतिर पलायन भइरहेको छ त्यसले त झन नेपाली समाज गंभिर हुने पर्ने स्थिति सृजना गरिदिएको छ। तर प्रश्न उठ्छ भविष्यमा जटिल रुपमा देखा पर्न सक्ने यो समस्याको गंभिरतालाई कसले बुझिदिने? सरकारले, समाजले वा व्यक्ति व्यक्तिले?
गत जेठमा ४० हजार ४ सय ६१ नेपालीहरु रोजगारीका लागि विदेश प्रस्थान गरेको तथ्यांकबाट देखिन्छ। गत जेठमा रोजगारीका लागि जाने नेपालीहरुको यो संख्यालाई हाल सम्मको नै सर्वाधिक उच्च संख्या मानिएको छ। चालु आर्थिक वर्षको ११ महिनामा रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या ३ लाख १० हजार १ हुन पुगेको छ। गत आर्थिक वर्षमा भने रोजगारीका लागि विदेशिने नेपालीहरुको संख्या २ लाख ९४ हजार ९४ रहेको थियो। माथिको तथ्यांक हेर्दा रोजगारीका लागि विदेश जाने नेपालीहरुको संख्या क्रमिक रुपमा वृद्धि हुने स्थितिमा रहेको देखिन्छ। अझै, अध्ययनका लागि विदेशतर्फ लाग्ने विद्यार्थीहरुको सख्यालाई पनि समावेस गर्ने हो भने प्रत्येक वर्ष मुलुक छाड्नेहरुको संख्या झनै उच्च हुन आउँछ। प्रत्येक वर्ष अध्ययनका लागि विदेशी भूमिमा प्रवेश गर्नेहरुको संख्या पनि उल्लेखनीय छ। तर स्थिति यस्तो न हुनु पर्ने हो। देशको राजनीतिमा भएको परिवर्तन र अर्थ नीतिमा आएको खुकुलोपनाले देशको आर्थिक विकास भारत र चिन जस्तो द्रुत गतिमा भएर रोजगारीको क्षेत्रको व्यापक विस्तार हुनु पर्ने हो। देशको राजगारीको स्थिति यस्तो हुनुमा को जिम्मेवार छ भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ, उल्लेख गरिरहनु पर्ने आवश्यकता देखिंदैन।
कुनै पनि देशबाट रोजगारीका लागि विदेश जानु नौलो विषय भने होइन। विकासशील त के विकसित मुलुकका नागरिकहरु समेत रोजगारीका लागि विदेशतिर लाग्छन। तर नेपालबाट जुन संख्यामा, जस्तो कार्य वातावरण र जति पारिश्रमिक पाउने किसिमले नेपालीहरु विदेशतिर काम गर्न गइरहेका छन त्यो भने विस्तारै चिंताको विषय हुन थालेको छ। तुलनात्मक रुपमा कम पारिश्रमिक, जोखिमपूर्ण काम, भौगोलिक प्रतिकूलता, परिवारसंग लामो समयसम्म छुट्टिएर बस्नु पर्ने बाध्यता, महिला कामदारहरु माथि हुने यौन शोषण आदि जस्ता समस्याहरुले गर्दा वैदेशिक रोजगारी नेपालीहरुका लागि थप लाभ वा रहर नभई बाध्यतामा उठाउनु पर्ने जोखिम बन्दै गएको छ र कतिपय अवस्थाम त ज्यादै प्रतिउत्पादक हुन थालेको छ। हुन त सबै वैदेशिक रोजगारीको क्षेत्रमा माथि उल्लेख गरिएको तथ्य लागू नहुन सक्छ। तर सुरक्षित र लाभदायक वैदेशिक रोजगारीको औसर भने तुलनात्म रुपमा ज्यादै कम नेपाली कामदारहरुले पाएको देखिन्छ।
चीन, भारत, भियतनाम, दक्षिण कोरिया, ब्राजिल, ताइवान, मलेशिया जस्ता देशहरुमा भने नेपालको भन्दा फरक स्थिति देखिएको छ। यी देशहरुबाट वैदेशिक रोजगारीका लागि आएका, खास गरी अति दक्ष र दक्ष, कामदारहरु रोजगारीका लागि अब स्वदेशमा नै राम्रो अवसर भएको र तुलनात्मक रुपमा पारिश्रमिक पनि राम्रो (प्राप्त तलबबाट खर्च कट्टा गर्दा राम्रो बचत हुने स्थिति) रहेकोले स्वदेशतिर फर्कदैछन। सूचना प्रविधिमा भारत र उत्पादन (Manufacturing) को क्षेत्रमा चिनले कम समयमा गरेको उल्लेख्य प्रगतिले गर्दा यी दुई राष्ट्रहरुमा रोजगारीको क्षेत्र फराकिलो मात्र भएको छैन साथै विदेशमा रहेका यी दुई मुलुकका नागरिकहरुलाई स्वदेशको रोजगारीले आकर्षित पनि उत्तिकै गरिरहेको छ।
भारत, चिन, दक्षिण कोरिया, भियतनाम लगाएत अन्य केही देशहरुमा प्रतिभा पलायन जस्तो समस्यामा सुधार भई प्रतिभा संचयको स्थिति देखिएको छ। रोजगारीका लागि विकासशील मुलुकबाट विकसित मुलुकमा आएका थुप्रै दक्ष जन शक्तिहरु स्वदेशतिर फर्किने क्रममा तिब्रता आएको र साथै विदेशमा कार्यरत व्यक्तिहरु पनि स्वदेश फर्किन इच्छुक रहेको विभिन्न अनुसन्धानबाट देखिन आएको छ। तर नेपालको स्थिति भने बिपरित छ। कामका लागि अहिले पनि नेपालीहरु ठूलो संख्यामा पलायन हुँदैछन्। यो स्थितिका लागि केवल गुट र फुटमा व्यस्त रहेका नेताहरु, शक्तिलाई मात्र उदेश्यको केन्द्रित बिन्दु बनाउने राजनैतिक दलहरु र आयु लम्ब्याउने खेलमा मग्न सरकारहरुलाई मात्र दोष दिएर हुँदैन। राष्ट्र निर्माणमा आधार स्तम्भको भूमिका निर्वाह गर्ने यी पक्षहरुबाट अपेक्षाकृत कार्य हुन नसकिरहेको परिप्रेक्ष्यमा राष्ट्रको विकासका लागि सामान्य जनताहरु नै अग्रसर हुने पर्ने देखिएको छ। आफ्नो गाउँ वा शहरलाई केन्द्रबिन्दु बनाएर त्यहाँका स्थानीय जनताहरु नै आ-आफ्नो ठाउँको विकासमा जुट्नु परेको छ। आ-आफ्नो राजनैतिक विचारधारालाई एकतिर पन्छ्याएर आफ्नो ठाउँको विकास गर्न टुट फुट होइन एक जुट हुनु परेको छ।
वैदेशिक रोजगारीले पार्ने प्रतिकूल प्रभावलाई खास गरी कामदारले विदेशमा एक्लै र लामो समयसम्म परिवारसँग छुट्टिएर बस्नु पर्ने स्थितिको सन्दर्भमा विश्लेषण गर्न खोजिएको छ। वैदेशिक रोजगारीले पार्ने प्रतिकूल प्रभावहरु थुप्रै भएता पनि मोटामोटी रुपमा ती प्रभावहरुलाई तीन भागमा विभाजित गरेर अध्ययन गर्न सकिन्छ। वैदेशिक रोजगारीले दीर्घकालमा मुख्य गरी रार्ष्ट्रिय आर्थतन्त्र, समाज एवं परिवार तथा व्यक्तिगत मनोविज्ञानमा प्रतिकूल प्रभाव पार्न सक्ने देखिन्छ।
राष्ट्रको चौतर्फी विकास गर्नका लागि जुन सुकै मुलुकलाई पनि विभिन्न किसिमका जन शक्तिहरुको आवश्यकता पर्दछ। विभिन्न व्यक्तिहरुको रचनात्म विचार एवं क्रियाशीलताले गर्दा नै राष्ट्रको आर्थिक प्रगति हुने गर्दछ। अर्थात व्यक्ति व्यक्तिको योगदानबाट राष्ट्रको आर्थिक विकास हुन्छ। ठूलो संख्याम जन शक्ति विदेशतिर प्रस्थान गर्ने हो भने त्यो कार्यले राष्ट्रले आवश्यकता अनुरुपको जन शक्तिको माग पुरा गर्न सक्तैन। एकातिर राष्ट्रले राष्ट्रिय माग अनुरुपको जन शक्ति प्राप्त गर्न सक्तैन भने अर्कोतिर देशका प्रतिभाहरु विदेशतिर पलायन भएकोले राष्ट्रले तिनको प्रतिभाको उत्पादक काममा उपयोग गर्न पाउँदैन। नेपालबाट अदक्ष्य, अर्ध दक्ष्य, दक्ष्य र अति दक्ष्य गरी सबै किसिमका जन शक्तिहरु विदेश प्रस्थान उन्मुक रहेकाले नेपालमा प्रतिभा पलायनको समस्या झनै उच्च देखिएको छ। प्रतिभा पलायन भन्नाले केवल उच्च शिक्षा हासिल गरेकाहरु विदेशतिर जाने मात्र भन्न खोजिएको होइन। अशिक्षित वा सामान्य पढेलेखेका व्यक्तिहरु पनि प्रतिभाका भण्डार हुन सक्छन यति उनीहरुलाई खास किसिमको औसर र हौसला दिने किसिमको सामाजिक वातारण दिने हो भने।
विश्वराज अधिकारी
No comments:
Post a Comment