Wikipedia

Search results

Wednesday, August 17, 2011

लेख - ५ किन उपेक्षित छ समाजमा सानो व्यापार

नेपाली समाजमा सानो व्यापारलाई व्यक्ति, समाज र सरकार तिनै पक्षहरुबाट उपेक्षा गरिएको तथ्य नौलो होइन। विगतमा पनि उपेक्षा गरिएको थियो र वर्तमानमा पनि उपेक्षा गर्ने परिपाटि कायम नै छ। हुनत त सानो व्यापारलाई समाजले नै बढी उपेक्षा गरेको हो। सानो व्यापारलाई हेर्ने पर्मपरागत सामाजिक दृष्टिकोणमा अहिलेसम्म पनि परिवर्तन आउन सकेको छैन। जबकी कुनै पनि देशमा रोजगारीको क्षेत्र विस्तार गर्नमा सानो व्यापारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। रोजगारीको क्षेत्र विस्तार गर्नमा सानो व्यापारको भूमिका महत्वपूर्ण भएको हुनाले नै विकसित राष्ट्रहरुमा ‘सानो व्यापार प्रशासन’ को स्थापना गरिएको हुन्छ। सानो व्यापार प्रशासनले साना व्यापारीहरुलाई व्यापार गर्न सल्लाह र जानकारीहरु दिने मात्र होइन सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउनुका साथै अनुदान दिने व्यवस्था समेत गरेको हुन्छ। सानो व्यापार प्रशासनले साना व्यापारीहरुलाई नियन्त्रित र निर्देशित गर्ने होइन बरु सहयोगीको भूमिका निर्वाह गरेको हुन्छ।
सानो व्यापार वा सानो व्यापारी भन्नाले स्थानीय स्तरमा सानो पूँजीबाट व्यापार संचालन गर्ने व्यक्ति वा संस्था बुझिन्छ। सानो व्यापारबाट प्राप्त आयले संचालक प्राय: ठूलो पूँजीको मालिक  हुन त सक्तैन तर उक्त आयले सामान्य किसिमको जिवन निर्वाहका लागि आवश्यक पर्ने आम्दानी जुटाउन सक्षम भने हुन सक्छ। सानो व्यापार स्वरोजगारको ठूलो स्रोत पनि हो।
नेपालको सन्दर्भमा सानो व्यापारलाई सरकारको सहयोग त आवश्यक छ नै साथै समाजको सहयोग पनि उत्तिकै आवश्यक छ। सर्व प्रथम त सानो व्यापारलाई समाजले इज्जत दिनु पर्यो। दोस्रो सानो व्यापार फष्टाउने किसिमका व्यवहारको विकास समाजमा हुनु पर्यो। सानो व्यापार फष्टाउने किसिमका व्यवहारहरु मध्येको एक व्यवहार हो रेष्टुरेन्ट तथा होटलमा खान खाने परिपाटि। ठूलो संख्यामा व्यक्तिहरुले होटलमा खाजा तथा खाना खाने गर्नाले एकातिर होटल व्यवसायको विस्तार हुन्छ, संचालकहरुले आय आर्जन गर्ने मौका पाउँछन भने अर्कोतिर होटल तथा रेष्टुरेन्ट संचालन गर्न विभिन्न किसिकमा जनशक्तिहरुको आवश्यकता पर्ने हुनाले धेरै व्यक्तिहरुले रोजगारी पाउँछन।
लागत कुशलता (Cost efficiency) को दृष्टिकोणले एक वा दुई व्यक्तिले घरमा पकाएर खानु भन्दा होटलमा खानु सस्तो पर्न आउँछ। त्यति मात्र होइन, व्यक्तिले घरमा पकाउँदा उसले श्रम लगानी गर्नु पर्दछ तर होटलमा खाँदा पकाउनका लागि श्रम लगानी गर्नु पर्देन र लगानी गर्नु पर्ने त्यो श्रम बचत हुन पुग्छ र यसरी बचत हुन आएको श्रमलाइ उसले अन्य उत्पादक कार्यमा खर्च गर्न सक्छ। अर्कोतिर होटलहरुले धेरै ग्राहकहरु आएको कारणले, जति ठूलो परिणाममा खाना तयार पार्छन् त्यतिनै खाना तयार पार्न पर्ने आउने लागत कम भएर जान्छ। र यसरी ठूलो संख्यामा व्यक्तिहरुले होटल वा रेष्टुरेन्टमा खाने गर्नाले होटल र रेष्टुरेन्टहरुको संख्यामा वृद्धि मात्र हुँदैन साथै उनीहरुको बीचमा ग्राहक आकर्षित गर्न प्रतिस्पर्धा भएर ग्राहकहरुले सस्तोमा खाना खान पाउने वातावरण समेत सृजना हुन्छ।
विकसित राष्ट्रहरुमा ठूलो संख्यामा व्यक्तिहरुले होटल वा रेष्टुरेन्टहरुमा  खाने गर्दछन। दिउँसोको खाना त प्राय: सबैले घर बाहिर, होटल वा रेष्टुरेन्टतिर नै खान्छन। रेष्टुरेन्टहरुले पनि ग्राहकहरुलाई आकर्षित गर्न विभिन्न किसिमका सुबिधाहरु उपलब्ध गराएका हुन्छन। जस्तै, ग्राहकहरुले आफ्नो घर बा आफू बसेको ठाउँबाट फोन गरेर वा इन्टरनेटबाट अर्डर गरेर रेष्टुरेन्टबाट खाना मगाउन सक्छन्। यसै गरि रेष्टुरेन्टमा पुगेर, भित्र बसेर पनि खान सक्छन् वा आफ्नो गाडी भित्र बसेर नै रेष्टुरेन्टको झ्याल नजिकबाट अर्डर गरेर झ्यालबाट नै खान लिएर,  आफ्नो गाडीमा बसेरै नै पनि खाना खान सक्छन् वा आफूलाई मन लागेको ठाउँमा लगेर खाना खान सक्छन्। गाडीमा बसरे नै खाना अर्डर गर्न र लिन पाउने सुबिधालाई ड्राइभ थ्रु ( Drive - through ) भन्ने गरिन्छ। ग्राहकहरुलाई सजिलो पारिदिन तथा उनीहरुको  समय बचत गरिदिन धेरै रेष्टुरेन्टहरुले ड्राइभ थ्रु सेवा उपलब्ध गराएका हुन्छन।
रेष्टुरेन्ट वा होटलमा खानुलाई मनोरंजनको रुपमा पनि लिने गरिन्छ। सप्ताहन्त (Weekend) वा विदा मनाउन वा रमाइलो गर्न पनि धेरै मानिसले रेष्टुरेन्टमा खाने गर्दछन। घर बाहिर, आफूलाई मन पर्ने विभिन्न किसिमका खानाहरु खाएर पनि मानिसले रमाइलो गर्दछन। विभिन्न स्थान वा संस्कृतिका खानाहरु खाएर पनि मानिसलाई रमाइलोको अनुभूति हुन्छ। अझै, कुनै स्थान वा रेष्टुरेन्टले त खास किसिमको खाना उपलब्घ गराउनमा प्रसिद्धि नै पाएको हुन्छ।
राष्ट्रिय आय वितरण (National income distribution) लाई सन्तुलित बनाउने धेरै उपायहरु छन। अर्थात धेरै तरिकाहरुद्वारा हुने ( have) हरुको हातमा रहेको पैसा नहुने (have not) हरुको हातमा पुर्याउन सकिन्छ। सम्पन्नहरुको हातमा रहेको पैसा बिपन्नहरुको हातसम्म पुर्याउने विभिन्न तरिकाहरुमध्ये एक हो सानो पूँजीमा संचालित होटल वा रेष्टुरेन्ट व्यवसाय। सरकार एवं समाजले यस किसिमका साना व्यवसायहरु संचालन गर्न सहयोग पुर्याउनु पर्दछ। यस किसिमका व्यवसायहरुको विस्तार गर्न सकिएमा रोजगारीको क्षेत्र पनि विस्तारित हुन पुग्छ र सम्पन्नहरुको हातमा रहेको पैसा बिपन्नहरुको हातमा पुग्छ।
राष्ट्रलाई धनी तुल्याउन देशका उद्योगी, व्यापारीहरु धनी हुन जति आवश्यक छ त्यतिकै उनीहरुको हातमा रहेको आम्दानी मध्येको केही अंशलाई गरीबहरुको हातमा पुर्याउन विभिन्न तरिकारहरुको अवलम्बन गर्न आवश्यक छ। विभिन्न तरिकाहरुद्वारा हुनेहरुको हातमा रहेको आयलाई नहुनेहरुको हातमा पुर्याउन सकिन्छ। रोजगारीका विभिन्न अवसरहरुको सृजना गर्न सकिन्छ। यस अर्थमा गरिबहरुको हातमा आय आउने वातावरण सृजना गर्न हुनेहरु वा धनीहरुले त झन होटल वा रेष्टुरेन्टहरुमा खाना खानमा जोड दिन आवश्यक देखिन्छ। वाहिर खान खाने संस्कृतिको विस्तार एवं विकासमा बल पुर्याउनु पर्ने देखिन्छ।
ठूलो लगानीमा संचालन भएका विसाल उद्योगहरु, ठूला ठूला व्यापार गृहहरु, सरकारी कार्यालयहरु आदिले मात्र रोजगारी दिन्छन र त्यस्ता ठूला संस्थाहरुमा काम गर्नु प्रतिष्ठाको विषय हुन्छ र साना साना व्यापारहरु गर्नु वा त्यस्ता साना साना व्यापारिक संस्थाहरुमा काम गर्दा प्रतिष्ठा प्राप्त नहुने सोंचाई राख्नु जस्ता चिंन्तनहरुबाट नेपाली समाजले मुक्ति पाउन आवश्यक छ, नेपालमा सानो व्यवसायलाई सम्मान दिन र रोजगारीको क्षेत्र विस्तार गर्न।

विश्वराज अधिकारी

No comments:

Post a Comment