हर्न अफ अफ्रिका भन्नाले चार राष्ट्रहरु- इरिट्रिया, जिबुटी, इथोपिया र सोमालिया, को समूह भन्ने बुझिन्छ। संसारभरिमा सबै भन्दा बढि ऊट हर्न अफ अफ्रिकामा रहेको विश्वाश गरिन्छ। राजनैतिक र आर्थिक दुबै किसिमले अस्त ब्यस्त राष्ट्र सोमालिया हर्न अफ अफ्रिकाको दोस्रो ठूलो राष्ट्र हो, जन संख्याको हिसाबले। सन् २०१० को अनुमान अनुसार सोमालियाको जन संख्या ९३ लाख ५९ हजार रहेको उल्लेख गरिएको छ। सन् १९९१ मा गृह युद्व शुरु भएदेखि सोमालियाको धेरै क्षेत्रहरुमा केन्द्रिय सरकारको नियन्त्रण छैन र त्यो गृह युद्धले ३ लाख ५० हजारदेखि १० लाख सोमालीहरुको ज्यान लिएको अनुमान गरिएको छ। यसै गरी गृह युद्ध शुरु भएदेखि हालसम्ममा लाखौ सोमालीहरु सर्णार्थीको रुपमा विदेसिएका छन्। र ३ लाखभन्दा बढी आन्तरीक रुपमा विस्थापित भएका छन्। सन् २००९ को अन्तसम्ममा ६ लाख ७८ हजार सोमालीहरु सर्णार्थीको रुपमा यु यन यच सि आर को संरक्षणमा थिए। अफगानीस्तान र इराक पछि यु यन यच सि आरको निगरानी वा संरक्षणमा रहेको सोमाली सर्णार्थीको संख्यालाई युद्ध प्रभावित सर्णार्थीको रुपमा सर्वाधिक उच्च संख्या मानिन्छ।
अन्तरार्ष्ट्रिय समुदायद्वारा मान्यता प्राप्त सोमालियाको संक्रमणकालिन (Transitional) सरकारको नियन्त्रण देशको केवल सानो भागमा मात्र छ। विश्वका अति निर्धन राष्ट्रहरु मध्ये एक सोमालियालाई असफल राष्ट्रको रुपमा लिनु का साथै यसलाई अधिक हिँसा हुने राष्टको रुपमा पनि हेर्ने गरिन्छ। अफ्रिकाको पूर्वमा अवस्थित सोमालियाको उत्तर पश्चिममा जिबुटी पर्दछ भने दक्षिण पश्चिममा केन्या पर्दछ। यसै गरी गल्फ अफ एडेन र यमन उत्तरमा र पूर्वमा इन्डियन ओसन पर्दछ। इथोपिया भने पश्चिममा पर्दछ। सोमालियाको समुद्री तटलाई अफ्रिका महादेशभरिमै लामो मान्ने गरिन्छ। सोमालियाको यो ठूलो सम्पत्ति नै हो भने पनि हुन्छ।
केही विद्वानहरुको मतमा प्रचिन कालमा सोमालिया संसारकै मुख्य बजारको रुपमा रहेको थियो। सोमालियाको व्यापार एशियादेखि यूरोपसम्म फैलिएको थियो र खास गरी भारतसँगको व्यापार निकै राम्रो थियो। अहिले, यस्तो गृह युद्धको स्थितिमा पनि सोमालिया ठूलो मात्रमा सुगन्धित पदार्थ निर्यात गर्ने राष्ट्रहरु मध्ये एक पर्दछ। यति मात्र होइन, सोमालियाले आफ्नो लामो फैलिएको समुद्री तटको फाइदा उठाएर सस्तोमा घरेलु पशु (Livestock) तथा मासु विदेशमा निर्यात गर्ने प्रयास गरिरेहको छ। कृषि नै मुख्य राष्ट्रिय आयको स्रोत रहेको सोमालियामा रेमिटेन्स पनि राष्ट्रिय आयको बलियो स्रोत हुन थालेको छ। बेला बेलामा हुने उथल पुथल र गृह युद्धका कारण विदेशिएका सोमालीहरुले ठूलो परिमाणमा स्वदेशमा रकम पठाउने गरेका छन। कुल गार्यहस्थ उत्पादनको ६५ प्रतिशत कृषि क्षेत्रबाट प्राप्त हुन्छ र कुल जनसंख्याको लगभग ६५ प्रतिसतले रोजगारी पनि कृषिबाट नै पाएका छन्। देशको कुल निर्यातमा ५० प्रतिशत हिस्सा घरेलु पशु एवं मासुको रहेको छ। सोमालियामा व्यापारको राम्रो सम्भावना रहेकोले अरब र गल्फका राष्ट्रहरु लगानी गर्न इच्छुक त छन तर त्यहाँ मच्चिरहने हिँसाले गर्दा लगानी गर्न डराइ रहेका छन्।
सोमालियाको मुख्य समस्या भनेको त्यहाँ भइरहेन कलह, हिँसा र मारकाट हो। अहिले पनि देशका विभिन्न क्षेत्रहरुमा सोमालियाको केन्द्रिय सरकारको नियन्त्रण छैन भने केहीले स्वायत्त क्षेत्र घोषणा गरेका छन्। आपसी विश्वास, मेलमिलाप र समन्वयको अभावमा सोमालियाले अनवरत कलह एवं हिँसाको समस्या मात्र बेहोर्नु परेको छैन साथै ती अनेक किसिमका कलह र हिँसाले गर्दा मुख्य आयको स्रोत कृषि प्रभावित हुन पुगेको छ र परिणाम स्वरुप यो देशले अहिले भोकमरीको ठूलो समस्या बेहोर्नु परेको छ। सोमालियाको दक्षिणी भाग भोकमरीबाट नराम्रो गरी प्रभावित भएको छ र भोकमरीबाट हजरौ मानिसको ज्यान गइसकेको छ। सोमालियाको यो भोकमरीलाई संयुक्त राष्ट्र संघले अति खराब मानवीय संकट भनी घोषणा गरेको छ। सोमालियाको खाद्य समस्या नौलो भने होइन, विगत २० वर्षदेखिको हो। संयुक्त राष्ट्र संघीय अधिकारीका अनुसार भोकमरीको समस्या कम पार्न दुई महिना भित्रमा US $300 मिलियन आवश्यक पर्नेछ।
सोमालिया अहिले विभिन्न समस्याहरुको भूमरीमा परेको छ। तर सबै समस्याको मुल कारण भने समन्वय र सद्भावको अभाव हो। समन्वय र सद्भावको अभाबले गर्दा देशको सरकार कमजोर छ, प्रभावकारी किसिमले काम गर्न सकिरहेको छैन। सरकार काम चलाउ किसिमको भएकोले भ्रष्टाचार पनि उत्तिकै छ। कमचलाउ सरकारले भोकमरीको समस्यालाई व्यवस्थित किसिमले समाधान गर्न सकिरहेको छैन। सरकारको ध्यान मुख्य गरी बढ्दो मारकाटलाई कसरी रोक्ने तर्फ नै केन्द्रित हुन पुगेको छ। सन् १९९१ देखि, जब गृह युद्ध शुरु भयो, मोहम्द सियद बारेको सरकार अपदस्त भयो, सोमालियाले बलियो सरकार पाउन सकेको छैन। सोमालियाको गृह युद्ध र भोकमरीले त्यहाँका जनतालाई पिरोली रहेकै समयमा अर्को समस्या थपिएको छ र त्यो समस्या हो समुन्द्री लुटेराहरुको। सोमाली समुन्द्री लुटेराहरुले अहिले सम्ममा हजरौ व्यक्तिहरुलाई बन्दी बनाएर, अपहरण गरेर लाखौ फिरौति असूल उपर गरिसकेका छन। अन्तरार्ष्ट्रिय समुन्द्री कार्यालय (International Maritime Bureau) ले सोमाली तटीय क्षेत्रलाई संसारभरि मै खतरनाक जल क्षेत्रको रुपमा उल्लेख गरेको छ। सन् २००८ मा सोमाली समुन्द्री लुटेराहरुले ४० ओटा पानी जहाज कब्जा गरेर US$ ५ लाखदेखि २० लाखसम्म फिरौति असुल उपर गरेका थिए। साधारण माछा मार्नेहरुको तुलनामा यी लुटेराहरु धनी छन। विलासी जिवन निर्वाह गर्न सक्षम छन। त्येति मात्र होइन, यिनीहरुले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा स्वायत्त घोषणा गरिएको सोमली क्षेत्र पन्टलैण्डमा आर्थिक कारोबार पनि गरिरहेका छन् भनी समाचारहरुमा उल्लेख गरिएको पाइन्छ।
आपसी समन्वय र सद्भावको अभावमा देश कुन स्थितिमा पुग्छ भन्ने कुरा हामलाई सोमालियाको स्थितिले छर्लङ्ग पार्छ। स्रोत, साधन र इच्छा शक्ति हुँदा हुँदै पनि नेपालले किन विकास गर्न सकिरहेको छैन भन्ने यथार्थ सोमालियाको हिँसा, मारकाट र समन्वयको अभावबाट प्रष्ट हुन आउँछ। देशमा व्याप्त मारकाट र हिँसाको प्रभाव सामान्य जनताको जिवनमा कुन किसिमले र कहिलेसम्म परिरहन्छ भन्ने कुरा पनि प्रष्ट हुन आउँछ।
विश्वराज अधिकारी
No comments:
Post a Comment