आर्थिक समस्याहरु धेरैहदसम्म समाधान गरेर बैदेशिक रोजगारीले लघुकालका लागि परिवारमा खुसी ल्याएको देखिएता पनि व्यक्ति तथा परिवारको लागि दीर्घकालमा भने यो लाभदायक हुन सक्तैन। यसै गरी राष्ट्रले रेमिटेन्सबाट ठूलो मात्रमा वैदेशिक मुद्रा प्राप्त गरेता पनि वैदेशिक रोजगारीले पार्ने सामाजिक असरहरुसंग राष्ट्रले प्राप्त गर्ने वैदेशिक मुद्राको तुलना गर्दा वैदेशिक रोजगारी खासै फाइदजनक नरहेको सहजै अनुमान गर्न सकिन्छ। फरक यति मात्र हो कि वैदेशिक रोजगारीले पार्ने असरहरु लामो समय पछि मात्र समाजमा देखा पर्छन।
यो सृष्टिमा हरेक प्राणीले आफ्नै किसिमको मौलिक विषेशता बोकेको हुन्छ। जस्तै चराहरु झुण्डमा उड्छन। भेंडाहरु बथानमा हिँड्छन। कमिलाहरु पंक्तिवद्ध समूहमा यता उता गर्छन। अर्थात सृष्टिमा यस्ता थुप्रै जिवहरु छन जसलाई, समूह चाहिन्छ, समाज चाहिन्छ। मानिस पनि त्यस्तै जिवहरु मध्येको एक हो। मानिसलाई परिवार चाहिन्छ। मानिसलाइ समाज चाहिन्छ। आफ्नो परिवेश चाहिन्छ। मानिसलाई परिवारबाट प्रेम, ममत्व चाहिन्छ। समाजबाट प्रेम, ममत्व चाहिन्छ। अब्राहम मस्लोको मानवीय आवश्कताका तहहरुमा पहिलो भौतिक ( भोजन, निद्रा, मैथुन आदि ) आवश्यकताहरु पर्दछन। दोस्रो सुरक्षा ( शरिर, परिवार, सम्पत्ति आदिको) आवश्यकताहरु पर्दछन। यसै गरी तेस्रो प्रेम ( परिवार, प्रियजन, मित्र आदिको) आवश्यकताहरु पर्दछन। अब्राहम मस्लोका अनुसार यी आवश्यकताहरुको पूर्तिद्वारा मात्र मानिसलाई सन्तुष्ट राख्न सकिन्छ।
वैदेशिक रोजगारीको क्रममा लामो समयसम्म व्यक्ति परिवार र समाजबाट पाइने प्रेम र ममत्वबाट टाढा हुँदा ऊ धेरै किसिमका मानसिक समस्याहरुको सिकार हुन सक्छ। नेपालमा उपलब्ध रहेको वैदेशिक रोजगारीमा, खास गरी जापान, दक्षिण कोरिया, मलेशिया र अरब तथा मध्यपूर्वका देशहरुमा जाँदा नेपाली कामदारहरु एक्लै जानु पर्ने स्थित छ, परिवार लग्न सकिने सुबिधा छैन। ती देशहरु नेपालबाट भौगोलिक रुपमा पनि निकै टाढा भएको हुनाले छोटो समयमा स्वदेशतिर विदा मनाउन आउन सक्ने स्थिति रहेको पनि देखिंदैन। वैदेशिक रोजगारीको कारणले एकतिर व्यक्ति एक्लो भएर परिवार,समाजबाट लामो सममसम्म टाढा रहनु पर्ने बाध्यता छ भने अर्कोतिर रोजगारीका लागि विदेश पुगेको व्यक्तिको परिवार र मुख्य गरी पति/ पत्नीहरु आफ्ना प्रियजनहरु बाट लामोसम्म सम्म छुट्टिएर एक्लो बस्नु पर्ने अनिवार्यता छ।
परिवारसँग वा पति पत्निसँग र पत्नी पतिसँग बस्न पाउनु सुबिधा होइन, यो अनिवार्य आवश्यकता हो। पति र पत्नी बीचको सम्बन्ध केवल भावनात्मक मात्र हुँदैन, शारिरीक पनि हुन्छ। र दुबै पक्षलाई एक अर्काको निरन्तर सामिप्यता चाहिन्छ। परिवारसँग सँगै बस्न पाउने स्थितिको अभावमा समाजमा अनेक किसिमका समस्याहरु देखा पर्न सक्छन र देखा परिरहेका छन पनि, नेपाली समाजमा। केवल आर्थिक सम्पन्नताले मात्र समाजमा समृद्धि आउन सक्तैन। समाजमा समृद्धि आउनका लागि सामाजिक समस्याहरुको पनि सम्बोधन भएको हुनु पर्दछ। यस किसिमका सामाजिक समस्याहरुको समाधान बेलैमा गर्न नसकिएमा समाजमा यौन अपराधहरु बढ्ने, परिवारहरु टुक्रिने, बाल बालिकाहरु अभिभावकहरुको मायाबाट लामो समयसम्म बंचित हुनु पर्ने, पर निर्भरता बढदै जाने, सन्तुलित परिवारको विकासमा बाधा पुग्ने जस्ता स्थितिहरु समाजमा गंभिर समस्याका रुपमा देखा पर्ने छन्।
माथि उल्लेख गरिएका तथ्यहरुले वैदेशिक रोजगारीले समाजमा पार्ने प्रतिकूल प्रभाव बारे मुख्य रुपमा प्रष्ट्याउन खोजेका छन। वैदेशिक रोजगारीले राष्ट्रको आर्थिक विकासमा पनि कम प्रतिकूल प्रभाव पार्दैन। वैदेशिक रोजगारीले गर्दा देशबासीहरुले आफ्नो श्रम, सिप र ज्ञानको उपयोग आफ्नो देशमा गर्न पाउँदैन र फलस्वरुप देशको विकासको गति सुस्त हुन पुग्छ। हुन पनि, कुनै पनि देशको विकास त्यसै देशका नागरिकहरुले गर्ने हो। वैदेशिक रोजगारीले, अर्कोतिर, आयका लागि निरन्तर रुपमा अर्को राष्ट्रमा भर पर्नु पर्ने स्थितिको विकास समेत गर्दछ। विदेशबाट प्राप्त भएको आम्दानी खर्च गरेर जिविका चलाउने परिपाटी बस्ने हुनाले व्यक्तिहरु आफ्नै देशमा विभिन्न किसिमा वस्तु वा सेवाहरुको उत्पादन गरेर रोजगारी र आय श्रृजना गर्ने पट्टि लाग्दैनन्। र यसले गर्दा उत्पादनको क्षेत्र झन झन साँघुरिदै जान्छ। रोजगारीका अवसरहरु पहिलेभन्दा झन कम हुँदै जान्छन्।
यस लेखको आशय यो पनि होइन कि वैदेशिक रोजगारीमा जानु हुँदैन। वैदेशिक रोजगारीमा जानु त पर्दछ तर केवल लघु कालका लागि मात्र, दीर्घकालका लागि भने होइन। वैदेशिक रोजगारी राष्ट्रिय बेरोजगारीको उत्तम समाधान होइन पनि। लघु कालिक वैदेशिक रोजगारीबाट प्राप्त भएका पूँजी, सिप र ज्ञानलाई स्वदेशको विकासमा लगानी गर्नु पर्दछ। यस्तो गरिएमा मात्र देशको सर्व पक्षिय आर्थिक विकास गर्न सकिन्छ र राष्ट्रिय रोजगारीको क्षेत्रलाई फराकिलो तुल्याउन सकिन्छ। तर मुख्य रुपमा भन्ने हो भने देशको वर्तमान आर्थिक स्थितिले गर्दा रोजगारीका लागि विदेश धाउनु पर्ने अनिवार्यता भएको हो। र लघु कालमा यसबाट फाइदा देखिन आएको पनि हो। निष्कर्ष त के हो भने देश भित्र नै उद्योग, व्यापारको विकास गरेर लगभग सम्पूर्ण देशबासीले देश भित्र नै रोजगारी पाउने अवस्था श्रृजना गर्न पर्दछ। स्वेच्छाले मात्र तर बाध्यतामा रोजगारीका लागि विदेश जानु पर्ने स्थितिलाई क्रमिक रुपमा समाप्त पार्दै लानु पर्दछ। देशमा रोजगारीको क्षेत्र फराकिलो पार्न सरकारको मुख ताक्ने पराम्परागत बानीमा हामीले सुधार ल्याउनु पर्दछ र हरेक नागरिकले आ-आफ्नो क्षमता अनुसार आफ्नो क्षेत्रमा रोजगारी सृजना गर्ने प्रयास गर्नु पर्दछ। यस्तो गर्न सकिएमा मात्र वैदेशिक रोजगारीबाट समाज र राष्ट्रलाई पर्ने प्रतिकूल प्रभावबाट जोगाउन सकिन्छ।
विश्वराज अधिकारी
No comments:
Post a Comment