Wikipedia

Search results

Wednesday, August 17, 2011

लेख - ६ कहाँ पुर्याउने हो यो अति अस्तित्व बोधले

एउटा समय थियो (लगभग सन् १९४६ देखि १९९१ सम्म) जुन समयमा सित युद्ध व्यवहारमा त थियो नै चर्चामा पनि उत्तिकै थियो। र त्यो समयमा विश्व दुई खेमामा बिभाजित थियो। एउटा खेमामा कम्युनिष्ट राष्ट्रहरु थिए भने अर्कोंमा गैर कम्युनिष्ट वा प्रजातन्त्रवादीहरु। तत्कालिन विश्व त्यस किसिमको सित युद्धको दलदलमा फंसेको हुनाले विश्व अर्थ व्यवस्थामा उल्लेख्य प्रगति हुन सकेन। विभिन्न राष्ट्रहरुले विकासका लागि आवश्यक पूर्वाधारहरु भएता पनि आफ्नो क्षमता अनुसार प्रगति गर्न सकेनन्। र त्यसरी प्रगति गर्न नसक्नुको कारण थियो कम्युनिष्ट राष्ट्रहरुमा उत्पादनका साधनहरुमाथि राज्यको नियन्त्रण हुनु वा उत्पादनका साधनहरुले आफ्नो क्षमता र कुशलताको भरपुर उपभोग गर्न नपाउनु। कम्युनिष्ट राष्ट्रका सरकार वा नीति निर्माताहरु देशलाई आर्थिक रुपमा समृद्ध पार्ने विभिन्न उपायहरु सोंचेर तिनलाई लागु गर्नुको साटो कम्युनिष्ट व्यवस्था र सरकारलाई कसरी टिकाइ राख्ने मै केन्द्रित हुन्थ्ये जसले गर्दा आर्थिक विकासका लागि गर्नु पर्ने चिंतन र पहल दुबै ओझलमा पर्न जान्थ्ये। परिणामस्वरुप ती राष्ट्रहरु जो पहिले कम्युनिष्ट व्यवस्था वा सरकारद्वारा नियन्त्रित थिए अहिले प्रजातान्त्रिक भइसक्ता पनि आर्थिक विकासमा सबालमा तुलनात्क रुपमा पछाडि पर्न गएका छन, अपवादका लागि चिन र एक दुई राष्ट्रलाई छाडेर भन्ने हो भने। हुन त अहिले चिनमा कम्युनिष्ट व्यवस्थको अवशेष मात्र बाँकि छ त्यो पनि केवल राजनैतिक क्षेत्रमा। आर्थिक क्षेत्रमा, चिनमा अहिले पूँजीवादी अर्थ व्यवस्थाको नै बर्चस्व छ। चिनले चमत्कारी किसिमले आर्थिक प्रगति गर्नुको कारण पनि उसले अंगिकार गरेको पूँजीवादी अर्थ व्यवस्था नै हो भन्ने तर्कलाई मान्ने अर्थ शास्त्रीहरुको  संख्या धेरै छ।
सित युद्ध कालमा गैर कम्युनिष्ट राष्ट्रहरु, खास गरी ती राष्ट्रहरु जो आर्थिक रुपमा निकै समृद्ध थिए, ले पनि आफ्नो क्षमता अनुसार आर्थिक प्रगति गर्न सकेनन् र क्षमता अनुसारको आर्थिक प्रगति गर्न नसक्नुको कारण थियो विश्व दुई खेमामा बिभाजित भएकोले अन्तरार्ष्ट्रिय बजारको आकार सानो हुनु र व्यापारमा विभिन्न किसिमका समस्याहरु देखा पर्नु। हुन त त्यो बेलामा अन्तरार्ष्ट्रिय व्यापारको विकास गर्नका लागि  विभिन्न राष्ट्रहरु बीच सहमति भई GATT ( General Agreement on Tariffs and Trade) मा, सन् १९४७ हस्ताक्षर भएको थियो। तर कम्युनिष्ट राष्ट्र र कम्युनिष्ट बिरोधी राष्ट्रहरु बीच सम्बन्ध राम्रो नभएकोले अन्तरार्ष्ट्रिय व्यापारको विकासमा GATT ले अपेक्षित भूमिका खेल्न सकेन।  सन १९९५ मा विश्व व्यापार संगठनको स्थापना पछि भने अन्तरार्ष्ट्रिय व्यापारको विकासमा केही तिब्रता आयो। विश्व ब्यापार संगठनको स्थापनाले दुई राष्ट्रहरु बीच व्यापार हुँदा उत्पन्न हुने समस्याहरु समाधान गर्नमा र ब्यापार बाधाहरु (Trade barriers) कम पार्नमा महत्वपूर्ण भूमिका खेल्यो। विश्व ब्यापार संगठनको स्थापना हुँदासम्ममा विश्वका धेरै राष्ट्रहरुबाट कम्युनिष्ट अर्थ व्यवस्थाले बिदा बारी लिइ सकेको थियो। सन १९८९ मा नै पूर्वी युरोपका देशहरुमा कम्युनिष्ट सरकार  बिरोधी आन्दोलनहरु शुरु भइसकेका थिए। रोमानिया बाहेक पोलैण्ड, हन्गेरी, पूर्वी जर्मनी, बुल्गेरिया, चेकोस्लोभाकियामा बिना कुनै हिंसा कम्युनिष्ट शासनको समाप्ति भएको थियो। सोभियत यूनियनको बिखन्डन भने सन १९९१ को अन्ततिर भएको थियो र रुस सहित १४ राष्ट्रहरु – अरमेनिया, अजरबाइजान, बेलारुस, इस्टोनिया, जर्जिया, काजाकिस्तान, किर्गिजस्तान, लाटभिया, लिथुआनिया, मलडोभा, ताजिकिस्तान, तुर्कमेनिस्तान, युक्रेनको जन्म भएको थियो।
विभिन्न राष्टहरुमा राज्य नियन्त्रित वा कम्युनिष्ट अर्थ व्यवस्थाको समाप्ति र उदार अर्थ व्यवस्थाको प्रादुर्भाव, विश्व व्यापार संगठनको स्थापना, व्यापारमा आधुनिक सूचना प्रविधि (इन्टरनेट, कम्प्युटर, सफ्टवेयर आदि) को व्यापक प्रयोग, डटकम व्यापारको विस्तार जस्ता परिस्थितिहरुले गर्दा अन्तरार्ष्ट्रिय व्यापारको तिब्र रुपमा विकास भई राष्ट्रहरुले राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय व्यापारबाट अधिक्तम फाइदा उठाउने अपेक्षा गरिएको छ। र त्यस्तो हुने संकेत देखिएको छ पनि। तर हाल आएर राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय व्यापारको विकासमा एउटा नया समस्या देखा पर्न थालेको छ र त्यो समस्या हो अति अस्तित्व बोध। हुन त यो समस्या एकदमै नौलो भने होइन, पुरानै नै हो तर अहिले यो समस्याले चर्को रुप लिन थालेको छ, नया रुपमा प्रस्तुत भएर।
म यो धर्मको ऊ त्यो अर्को धर्मको, म यो क्षेत्रको त्यो फरक क्षेत्रको, म यो समुदायको त्यो अर्को समुदायको, म यो जातको त्यो अर्को जातको जस्ता अति अस्तित्व बोधले गर्दा मानिसमा मिलेर बस्ने भावना क्रमिक रुपमा ह्रास हुँदैछ र समय समयमा नयाँ नयाँ किसिमका राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय समस्याहरुले जन्म लिइ रहेका छन्। मिलेर बस्ने भावना मानिसमा क्रमिक रुपमा ह्रास हुनु राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय अर्थ व्यवस्थाको विकासमा ठूलो समस्याको रुपमा देखा पर्न थालेको छ। यो समस्या विश्वका धेरै राष्ट्रहरुमा देखिएको छ। एशियामा चिन, भारत, पाकिस्तान, अफगानिस्तान लगाएत अन्य थुप्रै राष्ट्रहरुमा यो समस्या देखिएको छ भने अफ्रिकामा त यो समस्या झनै गम्भिर रुपमा प्रस्तुत भएको छ। आपसी सद्वावको अभावमा वर्षौको मारकाट पछि सुडान टुक्रिएर ( ९ जुलाई २०११) दुई ओटा राष्ट्र भएको छ। सन १९९४ मा करिब ८ लाख मानिसको ज्यान जाने गरी भएको जातीय सफायाको घाउ रवान्डाले अझै बिर्सिसकेको छैन। ३० वर्षको युद्ध पछि सन् १९९३ मा एरिट्रिया इथोपियाबाट छुट्टिएर छुट्टै राष्ट्र बनेको थियो। सुडानको बिभाजनले अफ्रिकाका विभिन्न राष्ट्रहरुमा बिभाजित हुन चाहने मनोविज्ञानलाई बल पुग्ने छ भनी  अनुमान गरिंदै छ भने नाइजेरिया, आइभोरी कोष्ट, कन्गोमा बिभाजनको नारा चर्किने हो कि भनी चिंता गर्न थालिएको छ। अति अस्तित्व बोधको समस्या यूरोपमा पनि उत्तिकै छ, कम छैन। युगोस्लाभियामा सन १९९१ देखि १९९५ मा मच्चिएको युद्धले करिब १ लाख ४० हजार मानिसको ज्यान मात्र लिएन युगोस्लाभिया टुक्रिएर विभिन्न राष्ट्रहरुको जन्म समेत भयो। हालै नर्वेमा भएको हिंसा पूर्ण घटना, जसमा ७० जना जतिको मृत्यु भुएको थियो, लाई पनि अति अस्तित्व बोधको एउटा कडिको रुपमा लिन सकिन्छ। नर्वे जस्तो शान्त देशमा त्यस किसिमको घटना हुनुलाई आश्चर्यको रुपमा लिइएको छ र अति अस्तित्व बोधले थप चुनौतिहरु सृजना गर्ने भय समेत व्यक्त गर्न थालिएको छ।
अति अस्तित्व बोध विश्व अर्थ व्यवस्थाको विकासमा चुनौतिको रुपमा देखा पर्न थालेको छ। यो समस्याले विश्व अर्थ व्यवस्थालाई सित युद्धले भन्दा पनि बढी प्रतिकूल प्रभाव पार्ने संकेत दिन थालेको छ।  
नेपालमा पनि अति अस्तित्व बोधको समस्या चर्को रुपमा प्रस्तुत हुने हो कि भनी सोंच्नु पर्ने स्थिति आएको छ। अहिले मनोवैज्ञानिक रुपमा नेपालीहरु विभिन्न चिराहरुमा विभाजित छन। तर यसरी विभाजित हुन राष्ट्रको आर्थिक विकासका लागि ज्यादै प्रतिकूल स्थिति हो। राष्ट्रको आर्थिक विकासका लागि व्यक्तिहरु बिच आपसी सद्भाव हुन नितान्त आवश्यक छ। विभिन्न क्षेत्र, विभिन्न समुदाय, विभिन्न धर्मका व्यक्तिहरु बीच मनोमालिन्य होइन एकता हुन जरुरी छ।
प्रत्येक व्यक्ति आ-आफनो अस्तित्व प्रति सचेत हुनु उपयुक्त नै हो तर अति सचेत हुनु भने उपयुक्त होइन। र यसै गरी अति अस्तित्व बोधलाई विवादका नयाँ नयाँ कारण बनाएर कलह भित्र्याउनु पनि राम्रो होइन। एकले अर्काको अस्तित्वलाई स्वीकार गर्दै मिलेर बस्नु नै आर्थिक विकासको पहिले आवश्यकीय तत्व हो। यो तथ्य हामीले समयमा नै मनन गर्न आवश्यक छ।

विश्वराज अधिकारी

No comments:

Post a Comment