चालिस वर्ष पहिले म पाच कक्षामा पढदा एउटा कथा रघुबीर मास्टर साहेबले हामीलाई सुनाउनु भएको थियो। त्यतिबेला त्यो कथा मैले केवल समय बिताउने कथाको रुपमा सुनेको थिएँ, बुझेको भने थिन। अब भने त्यो कथा बुझ्दै छु। कथा यस्तो थियो –
सोमरियाले आँखा रातो रातो पारी आफ्नो पति बलदेवतिर हेर्दै भनी ‘मलाई किचकिच गरेको पट्कै मन पर्दैन। जे कुरामा पनि किचकिच। अब त अति भयो। जहिले पनि किचकिच गर्ने तिम्रो बानी छुटेन भने ………….म ……’।
सोमरियाको कुराले बलदेवलाई झनै उत्तेजित पार्यो। पत्नीको भन्दा चर्को आवाजमा भन्यो ‘के गर्छेस, बढी से बढी भागेर जालिस नहिरा। कि यो उमेरमा पनि उढरने बिचार छ, कसैसँग? सरम धरम सब छोडेर। दु लैकाको मतार भएर पनि त्यस्तो गर्ने बिचार छ भने गर, रोक्नेबाला छैन म। घरि घरि अब बोलाउन जानेबाला पनि छैन म तेरो नहिरामा। थाकी सके। कति जाने बोलाउन? अस्तिको पटक पनि म बोलाउन जाने पक्षमा थिन। तर के गर्नु, मेरो कुनै जोर चल्न सकेन मतारीको अगाडि। मतारीले भन्न थाली – जा जसरी पनि बोलाएर ल्या, बहुअरीबालीलाई। पोल्हाइ फुस्लाइ गरेर भए पनि। परे नेहोरा भाँति गर्न पनि बाँकी नराख्नु। के गर्ने, बौआहरु सफासफी टुगर जस्तो भएका छन्, मतारलाई नदेखेर’।
बलदेवले प्रस्तुत गरेको पत्नी पटक पटक भागेर जाँदा पनि बोलाउनु पर्ने विवसता सहितको कारणलाई सोमरियाले पनि आफ्नो पक्षमा पार्दै भनी ‘यै बौआहरुको मुख हेरेर त म पनि फर्किन्छु, तिम्रो व्यवहारले त…….। कहिले फर्केर आँउथिन यस्तो…….. । बस्थे सँधै नहिरामा नै। जहाँ गए पनि आफ्नै हात उठाएर खाने हो भने के को चिन्ता के को फिकरी। नहिरा जो बेटी ससुरा जो जाँगर चला बेटी कतहुँ खो’।
सोमरियाको कुरा सुनेपछि बलदेव एक छिन चुप लागेर बस्यो। आफ्नो अगाडि रहेको कठौत माथिको पिट्नालाई हेर्यो केही बेर आँखा रातो रातो पार्दै। केही क्षण भने कुनै बेला पिट्नातिर कुनै बेला पत्नीतिर हेर्यो। केही क्षण त्यस्तो गरेपछि मुन्टो बटार्यो पिढीतिर पत्नी बसेको ठाउँमा अनि करायो ‘बसैर खाने बिचार थियो भने किन बिआह नगरेको धनीकसँग, कोठाबालासँग। म जस्तो टुटल मडैयामा बस्ने हरबाह चरबाहसँग किन गरेको? बेकारमा दुख पाउन ……….’।
बलदेवको कुराले घिउमा आगोको काम गर्यो। घिउ पाएपछि ज्वाला आगो माथि आए झै सोमरियाको रीस पनि ज्वाला बनेर निस्को उसको मुखबाट। बलदेवको भन्दा चर्को स्वरमा कराउँदै भनी ‘फँसाइदिए नि तिम्रै पिउसाले मलाई यस्तो जालमा। बनाइ दिए धोबीका कुत्ता, घरका न घाटका । कान भरिदिएका थिए। मति फिरिगयो मेरो बापमतारीको पनि, उनैको कुरामा लागेर। मति नफिरोस पनि कसरी? सधै आएर भन्थ्ये – लडका बडा कमासुत छ, आ बढिया सोभावको पनि। त्यस्तो कुनै अलम उलम पनि छैन। गाँजा भाँगमा त कहिले एकचोटी हातसम्म पनि हालेको छैन। देहमा अलिकति पनि आसकत ओसकत छैन। चार सेर बनिहारी गरेर आफ्नो बालबच्चा सजिलै पाल्न सक्छ’।
यति भनेर सोमरियाले आँगनमा राखेको घैलातिर हेरी। केही मात्र पानी बाँकी रहेको त्यो घैला काग त्यसमाथि बसेर उड्दा घोप्टिन पुगेको थियो। उसले त्यो घैलालाई त्यस्तो अवस्थामा देखेर पनि उठाइन। घैलाको छेउमा बसी कराइरहेको काग लाई पनि अरु दिनको जस्तो न त हिर्काइ नै न त कुनै गाली नै गरी मुझौसा, जुअन्ढाहा भनेर ।
केही क्षणदेखि शान्त भइ बसेको बलदेवलाई सोमरियाका अघिका ती कुराहरुले उत्तेजीत पारे। बसेकै ठाउँबाट हात लम्क्यायो कठौत छेउमा रहेको पिटना लिन। तर किन हो हात पछाडि तान्यो र केवल गर्ज्यो ‘तेरो मुख धेरै चल्न थाल्यो, हजामको छुरा जस्तो। कहाँ कहाँका कुराहरु ल्याउन थालिस। कुराका पेटारी धेरै न खोल, आ न निकाल बिषैला साँपहरु त्यसबाट। चाहिने भन्दा बढी बोले भने निकाली दिन्छु तेरो त्यो एक हात लामो जिभ’।
सोमरियाले बलदेवको कुराको वास्ता नगर्दै आँगनतिर हेरेर फतफताई ‘यस्तो पनि कही मरद मानुष हुन्छ, जे गरे पनि किचकिच। फोरन हाल्न मात्र अलिकति तेल किन्नु पर्यो, धान बेचेर त्यो पनि उसलाई सोध्नु पर्ने। सिधरी ल्याएको थियो गाउँमा बेच्न, टोलाका सबैले किने, मलाई पनि अलिकति किन्न मन लाग्यो, किने, किन उसलाई नसोधी किनेको भनी त्यसमा पनि किचकिच। होइन हरेक कुरा उसलाई सोध्नु पर्ने। मेरो मतारीले दिएको एउटा पाठी , पालपोस गरेर ठूलो बनाए, त्यसबाट जन्मेको खसी बेचेर गहना बनाउन खोजे, बेच्न पाइन। अस्ति डुमरिया बजार गएको थिएँ बौआहरुका लागि कटु किने , किन किनेको भनी त्यसमा पनि किचकिच। होइन कति किचकिच। अरुको घरमा भने, हेर त पल्टुआबाली कहाँ, जे कुरा माग्नु परे पनि पल्टुआबालीसँग माग्नु पर्दछ। उसैसँग सोध्नु पर्दछ। जाबो आगो मागे पनि उसको मरदले भन्छ – पल्टुआबालीलाई भनन्। त्यस्तो पो हुनु मरद मानुष भएर। घरभित्रको काम त जनीजातले हेर्न पाउनु पर्छ। त्यस्तो काममा पनि किचकिच, हत। हुँदा हुँदा अब भोलि तरकारीमा कति तेल हाल्ने त्यो पनि सोध्नु पर्ने होला। कति चामल हाल्ने भात पकाउन, त्यो पनि सोध्नु पर्ने होला। यस्तो सोभाव त कसैमा देखेको थिइन। मेरो नहिरामा त……………….’।
पति पत्नी बीचको झगडा लामो समयसम्म चल्यो। बलदेवकी आमाले दुबैलाई गाली नगरेको भए दुबै बीचको झगडा कतिसम्म चल्ने थियो भन्न सक्ने स्थिति थिएन किनभने हार्ने पक्षमा दुबै थिएनन्। झगडामा विजय दुबैको प्रतिष्ठाको बिषय बनेको थियो। अझै बलदेवलाई त आफू तल परौला भन्ने विषेश डर थियो।
दिउँसो कलउ सबैले एकअर्का सँग नबोलेर नै खाए। त्यति मात्र बोले सम्वादका लागि जति बोल्न आवश्यक थियो। आमाले पनि छोरा बोहारी बीच सहज किसिमबाट वार्तालाप गराउने प्रयास गरिन। आफूले पनि उनीहरुसँग सहज किसिमले बोल्न खोजेको चेष्टा प्रस्तुत गरिन। कलउ खाएपछि बलदेव कसैलाई केही नभनी घर बाहिर निस्क्यो। आमाले छोरा जङ्गलतिर दाउरा लिन गएको अनुमान गरी। सोमरिया पनि पति निस्केको एकै छिन पछि निस्की। उसले पनि कता जान थालेको हो केही पनि बताइन। तर उसको हातमा रहेको डेली र हँसुवा भएकोले बाख्रीलाई घाँस लिन गएको अनुमान सहजै किसिमबाट गर्न सकिन्थ्यो।
गोधुलिसाँझभन्दा पहिले नै फर्क्यो बलदेव टाउकोमा दाउराको भारी बोकेर। तर बहुअरीबाली भने फर्किन। एक पहर रात बित्यो त्यै पनि बहुअरीबाली फर्किन। त्यतिबेला सम्म पनि नआएकोले बहुअरीबाली फेरि माइत भागेकी अनुमान आमा छोरा दुबैले सहजै किसिमले गरे। तर बोलाउन जाने बारेमा भने दुबैले केही कुरा गरेनन्। केटा केटीहरुले पनि आमालाई खोजेनन् हजुरामाले फसल्यङ्ग फुसलुङ्ग पारेकी हुनाले।
भोलि पल्ट बिहान, पनपिआइ खाने बेलामा बलदेवकी आमाले क्रोध मिस्रित भावमा छोरातिर हेर्दै भनी ‘अब एक चोटी जा बौआ, म नेहोरा गर्छु तेरो, गइ दे। त्यस पछि फेरि भागे भने चाँहि नजानु बोलाउन। बहअरीबाली बसोस सँधै नहिरामा नै। तर यो एक चोटी र अन्तिम चोटी चाँही गइदे। मेरो कुरा मानेर होइन कि यी बौआहरुको मुख हेरेर।
आमाको अनुरोधको अगाडि केही जोर चलेन बलदेवको। ऊ जान तयार भयो बहुअरीबालीलाई बोलाउन। तर जाँदा एक रात अर्को गाउँमा रहेको फुफाको घर हुँदै मात्र जान्छु भनी आमा समक्ष प्रस्ताव राख्यो। आमाले छोराको प्रस्तावमा हँ न केही नबोली मौनम स्वीकृति लक्षणम् प्रदर्शित गरी।
ससुराली पुगेपछि बलदेवले थाहा पायो बहुअरीबाली त्यहाँ नपुगेको। बरु ससुराले उल्टो प्रश्न गरे ‘दमाद एक्लै आउनु भयो? आ बालबच्चा ……………. ? कुशल मँगल त……….. ?’
बलदेवले हाँस्दै उत्तर दियो ‘मैले त यहीँ होली भनेर लिन आएको ठगवामतारीलाई, घरबाट त हिँजै साँझमा हिँडेकी,कहाँ गइ त? हिँजै साँझमा यहाँ आइपुग्नु पर्ने होइन र’?
यति भनेर पत्नी कहाँ गएको हुन सक्छे भनी घोरियो बलदेव। ज्वाइ घोरिएको देखी केही बोल्न मात्र के खोजेका थिए ससुरा शिउपुजन, छोरी आँउदै गरेको देखे। सोमरिया आँगनमा पुगेकी मात्र के थिइ उसलाई बाबु र पति दुबैले एकसाथ प्रश्न गरे ‘हिँजै आउनु पर्ने थियो’?
सोमरियाले बाबु र पति दुबैलाई पालै पालो गरी हेरी। एक छिन चुप लागी। ती दुबैले उसलाई आश्चर्य भावले हेर्दै थिए। सोमरियाले बाबुतिर हेर्दै भनी ‘हिँजै आउँथे तर के गर्नु, बाटोमा मामीलाई भेटे, मामीले आफ्नो घर हिँडन एकदम जोड गर्नुभयो, जान्न भन्नै सकिन, के गर्ने मामीसँगै गएँ, वहाँको घर’।
बाबुले आश्चर्य मान्दै सोधे ‘मामीसँग कहाँ भेट भयो नि’?
सोमरियाले जबाफ दिइ ‘मामी डुमरिया बजारबाट आँउदै हुनुहुन्थ्यो, बजार गरेर, गाँवबाट म बाहिर निस्के पछि देखे वहाँलाई बरहमथाननिर पिपरको गाछीतल। राती वहाँकै घरमा बसे। बिहान पनपिआइ खाएर हिँडेको, छिटै आइपुगेँ।
सोमरियाले बलदेवतिर हेरी, ज्यादै सामान्य भावले। र केही बोलिन पनि। बलदेवले पनि सोमरियाको मुहारमा हेर्यो त्यस्तै भावले। उसले पनि सोमरियासँग बोलेन। दुबैको मुहारमा क्रोध रहेको भाव रत्ति पनि झल्केन। सोमरियाको मुहारमा देखिएको भावले लाग्दथ्यो उसले पतिसँग सोधिरहेको होस – घरको हाल खबर कस्तो छ? बलदेवको मुहारमा पनि त्यस्तै किसिमको प्रश्न सुचक भाव झुल्केको थियो।
राती सुत्ने बेलामा दुबै बीच सामान्य कुराकानी मात्र भयो। दुबै बीच कुनै विवाद भएन। अति सौहार्दता पनि देखिएन। रात सामान्य किसिमले बित्यो।
भोलि बिहान पति पत्नी दुबै घर जान निस्के। आँगनमा ती दुबैलाई देखेपछि बाबुले छोरीतिर हेर्दै आश्चर्य मानेर सोधे ‘किन यति चाँडै जान थालेको, हँ, सोमरिया? दुइचार दिन बसेको भए हुन्थ्यो। दमादलाई जान दिएर तँ दुइचार दिन बसेको भए हुन्थ्यो’।
यति भनेर बाबुले छोरीको त्यसपछि ज्वाइको मुहारमा हेरे। ज्वाइको मुहारमा उनको प्रस्तावप्रति सकारात्मक वा नकारात्मक कुनै किसिमको भाव नरहेको अनुमान ससुराले सहजै गरे।
सोमरियाले आफू छिटै जानु परेको कारणको औचित्य प्रष्ट्याउँदै भनी ‘होइन, बाबु, केटाकेटीहरुले खोजिरहेका होलान मलाई। रीसको बेगलाई रोक्न सकिन, हिँडे तिनीहरुलाई छाडेर। कसैलाई केही पनि नभनेर, निस्के घरबाट एकदम चोर जस्तो’।
पत्नीको कुरा सुनेर बलदेव हाँस्यो एक छिन सम्म। बलदेवको ससुरा पनि हाँसे। ती दुबै हाँसेको देखेर सोमरिया पनि हाँसी र हाँस्दै बाबु र पति दुबैलाई पालै पालो गरी हेरी । समसामयिक त्यो घटनालाई सबैले सामान्य बनाउन खोजे झै प्रतीत भयो।
लमहा नदी पार गर्दासम्ममा पति पत्नी दुबै खुलिसकेका थिए। बिगतको घटनामा नअल्झिएर अन्य कुराहरुमा नै केन्द्रित थिए ती दुबै। तर एकै छिन पश्चात चलिरहेको वर्तमानको प्रशंगमा परिवर्तन ल्याउँदै सोमरियाले पुरानो कुरा कोट्याउँदै सोधी ‘यो पटक त मलाई गाली गलौज गरेनौ नि, पहिले जस्तो? नहिरामा पनि केही भनेनौ, देख्ने बितिक्कै, किन’?
पत्नीको कुरा सुनेपछि एकै क्षण केही पनि बोलेन बलदेव। सोमरिया पनि चुप लागेकी थिइ। केही बेरदेखि कायम रहेको मौनतालाई तोड्दै बलदेवले भन्यो ‘एक चोटीको लागि माफ गरिदिएँ। अब त्यस्तो नदोहरिएला पनि, होइन त’?
सोमरियाले प्रश्नको जबाफ दिन ।एक छिन केही नबोलेर केबल अगाडिको बाटोलाई हेरी मात्र रही। बलदेबले फेरि भन्यो ‘तैले पनि त जिद गरिनस् नि, एक चोटी पनि तेरो मुखबाट घर जान्न भनेर निस्केन, बरु फटाफट तयार भइस घर जान्छु भन्दै, किन’?
दुबै लामो क्षणसम्म केही पनि नबोली हिँडि मात्र रहे। केवल आफू अगाडिको दृश्यलाई मात्र हेरे। दुबै अतीतको सम्झनामा हराइ झै लागद्थ्यो। मौनताको त्यो सिलसिलालाई सोमरियाले नै तोडी र हाँस्दै भनी ‘अस्ति राति मामीको घरमा चैनसँग कहाँ सुत्न पाउनु, रातभर हुँडरहो मच्चिरह्यो। मामा मामीको बीचमा साँझमा शुरु भएको झगडा बडका भोरसम्म चलिरह्यो। हाम्रो मामा त बडका भारी कसाइ पो रहेछन्। बेमतलबको झगडा शुरु गरे मामीसँग। गाली गलौज मात्र हो पिट्न पनि थाले। हातले, खुट्टाले पनि। मामी त्यति जोडले रुँदा पनि कोही आएन झगडा छोडाउन। मैले पनि मामालाई रोक्न सकिन। तिनमनको पहलमान जस्तो देह भएको मान्छेलाई म एक्लैले कसरी रोक्न सक्नु? एउटा पडोसिया त आएको पनि थियो, झगडा छुटाउन, तर उसको मौगीले हात तानेर पुर्याइ उसको आफ्नो घरतिर। त्यो झगडा छुटाउन आउन नै दिन उसले आफ्नो मरदलाई। बरु उल्टो आफ्नो मरदलाई गाली गर्दै भनी – रे मरद मौगी के झगडा फरिआए जाए से लबरा। कोही पनि आएन छुटाउन। पछि त लाठीले पनि हिर्काए, मोटो बाँसको लाठीले। मामीले टाउको दुबै हातले नछोपेको भए फोडिदिन्थ्ये सायद कपार सपार। हाम्रो मामा त बडका भारी पापी पो रहेछन्, एकदम अधर्मी , सफासफी दयमया नभएको सैतान, डाँकु। मामी त एकदम सिधा साधा बाँस जस्तो, बदमास, त हरामी मामा नै हो। धन्य मामी त्यस्तो पराछुतसँग पनि बस्न सकेको।
यति भनेर सोमरिया एक छिन सान्त भइ। पतिले थाहा नपाउने गरी उसको मुहारतिर हेरी पुलुक्क। पत्नी धेरै बेर शान्त रहेको देखी उतिर हेर्दै बलदेवले भन्यो ‘म पनि कहाँ सुत्न पाउनु, अस्तिको राति चैनसँग। सुत्न पनि पाइन आ घटना पनि देखे, बडका भारी गजबको’।
पतिको कुरा सुनेपछि सोमरियाले आश्चर्य मान्दै प्रश्न गरी ‘आफ्नै घरमा पनि किन सुत्न सकेनौ रात भर, आ के त्यस्तो चिज देख्यौ गजबको’?
बलदेवले पत्नीतिर हेरेर हाँस्दै भन्यो ‘म पनि त रामबचन फुफाको घर गएको थिएँ, यहाँ आउनु भन्दा पहिले। एकरात त्यहाँ बसेर भोलि पल्ट यहाँ आएको। राति फुआ र फुफा बीच पनि कम झगडा भएन’।
सोमरियाले व्यग्रता प्रदर्शन गर्दै भनी ‘के भयो त्यस्तो छिटै खुलस्त पार न’।
बलदेवले भन्यो ‘फुफाले फुआको चानीको हँसुली बन्हकी राखिदिएका रहेछन्। कटहरिया बजारको कुनै कपडा दोकानमा। बस त्यही हँसुली थियो कारण त्यो झगडाको। फुफाले पनि बन्हकी नराखेर के गरुन, महाजनको करजा चढेको थियो कपारमाथि। पानी परेन, एक बुन्द पनि। रौदीले गर्दा रोपेको धान जरेर भयो खत्तम, उल्टा करजा चढ्यो शीरमा। त्यै करजा तिर्न फुफाले फुआको हँसुली बन्हकी राख्नु परेको थियो। फुआको कहनाम कि मेरो हँसुली नै किन बन्हकी राखेको, अरु चिज किन नराखेको। रात भर चल्यो त्यो घर झगडा’।
यति भनिसके पछि बलदेवले सोमरियाको मुखमा पुलुक्क हेर्यो। केही क्षण पत्नीको मुहारमा झल्किएको भावको अध्ययन गर्ने प्रयास गर्यो। सोमरिया शान्त देखिएकी थिइ। बलदेवले पत्नीतिर हेर्दै भन्यो ‘ओह, हाम्रो फुआ, सफासफी डाँकु जस्तो। एकदम दयामया नभएको, बिषैला साँप जस्तो, रहि रहि फोँफ काढने। फुफाले एक थपड हिर्काउँदा फुआले दस थपड। फुफाले एक लाठी त फुआले दस लाठी। केही छिन त झगडा शान्त भएको थियो। तर त्यो चुरइन फुआको करतुतले गर्दा फेरि झगडा शुरु भयो’।
सोमरियाले प्रश्न गरी ‘कसरी’?
बलदेवले भन्यो ‘फुआले पिँढिया चलाएर हिर्काइन, फुफाको टाउकोमा, चोटले कपार फुटेर खुन बहन थाल्यो। मैले हल्ला गरेर बोलाए अडोसिया पडोसियाहरुलाई। फुआका दुइवटा छोराहरुले त हेरी मात्र रहेका थिए टुकुर टुकुर। गर्न सकिरहेका थिएनन् केही पनि, मतारीको डरले। अडोसिया पडोसियाहरुले छोडाए पछि मात्र छुट्यो त्यो झगडा’।
पतिको कुरा सुनिसकेपछि सोमरियाले प्रश्न गरी ‘फुफाले पनि फोडेनन् कपार सपार फुआको’?
बलदेवले शान्त स्वरमा जबाफ दियो ‘कहाँ हुनु हाम्रो फुफा त्यो चुरइन फुआ जस्तो। एकदम सिधा साधा छन सफासफी गाइ जस्तो, हाम्रो फुफा। चपाट त हाम्रो फुआ नै हो। आफ्नो खुन भएर के गर्नु, खराबलाई खराब नै भन्नु पर्छ। इमान धरम छोड्नु हुँदैन। फुफाले त्यस्तो नराम्रो केही पनि गरेनन् चंडालिन फुआलाई’।
वार्तालाप गर्दा गर्दै पति पत्नीले आफ्नो घरको आँगनमा प्रवेश गरे। आँगनमा प्रवेश गरेपछि बलदेवले भन्यो ‘कुरामा यति व्यस्त भइयो कि एक कोष जमीन कटेको ज्ञान नै भएन। उसको भनाइमा सोमरियाले पनि शीर हल्लाएर सहमति जनाइ। दुबैले बसेर केही क्षण विश्राम गरे। केही स्मरण भएझै गरी सोमरिया चुल्होतिर लागी। बलदेव हिँड्यो मचानमा राखेको दाउरा लिन।
ती दुबैको, बाँकी सबैको दिनचर्या चल्न थाल्यो पूर्ववत। धेरै समयसम्म उनीहरु बीच फेरि झगडा भएको भने सुनिएन।
विश्वराज अधिकारी
विश्वराज अधिकारी
No comments:
Post a Comment