Thursday, January 5, 2012

Credit Card - Poverty and Economics - 18


उधारो पत्र

उधारो पत्र (Credit card) एक किसिमको नगद नै हो। यसले नगदले झै कार्य गर्दछ। यसको प्रयोगले गर्दा एकातिर पैसा नभएको बेलामा पनि आफूलाई आवश्यक परेका सामाग्रीहरु खरिद गरेर आफूसँग पैसा भए पछि त्यसको भुक्तानी गर्न सकिन्छ र अभावको स्थितिमा बस्नु पर्देन भने अर्कोतिर पैसाको खाँचो परेका बेला योसँग वा उसँग सापट्टी लिनु पर्देन। यसै गरी बिक्रेताहरुले पनि तत्काल खल्तिमा पैसा नभएका ग्राहकहरुलाई पनि सामान बिक्री गरेर आफ्नो बिक्रीको परिणाममा वृद्धि गर्न सक्छन्। र आफ्नो बिक्रीलाई नियमित र भरपर्दो तुल्याउन सक्छन।
उधारो पत्रको प्रयोगले गर्दा, उधारोमा सामान बिक्री गरे पछि त्यसको भुक्तानी पाइन्छ कि पाइँदैन भन्ने चिंता बिक्रेताले लिनु पर्दैन। उधारो पत्रको आधारमा  सामान बिक्री गर्दा बिक्रेताले सामान बिक्री गर्ने बितिक्कै त्यसको भुक्तानी नपाए पनि दुइ चार दिन पछि भने अवश्य पाउँछ। बिक्रेताले आफ्नो सामानको मूल्य क्रेडिट कार्ड कम्पनीबाट पाउँछ र क्रेडिट कार्ड कम्पनीले पछि बिक्रेतालाई जति भुक्तानी गरेको हो त्यति रकम क्रेताबाट प्राप्त गर्दछ।
 उधारो पत्र वा क्रेडिट कार्ड, क्रेडिट कार्ड कम्पनीहरुले जारी गरेका हुन्छन र क्रेडिट कार्ड जुन सुकै व्यक्तिले पनि प्राप्त गर्न सक्छ। क्रेडिट कार्डको प्रयोग गरेर आफूले जति रुपैयाँका सामानहरु विभिन्न पसलहरुबाट खरिद गरेको हो त्यति रुपैयाँ तोकिएको समयमा क्रेडिट कार्ड कम्पनीलाई बुझाउने हो भने आफूले खरिद गरे जतिको रकममा ब्याज भुक्तानी गर्नु पर्दैन। तर तोकिएको समय भन्दा ढिलो गरि भुक्तानी गरेमा भने ब्याज तिर्नु पर्दछ। र ब्याजको दर पनि फरक फरक किसिमको हुन्छ। प्राय: जसको क्रेडिट इतिहास (Credit history) राम्रो छ वा जसले क्रेडिट कार्ड कम्पनीले तोकेको समयमा भुक्तानी गरेको छ र रकम बाँकी राखेर भुक्तानी गर्दै नगर्ने गरेको छैन भने उसले कम ब्याज तिर्नु पर्छ। तर जसले तोकेको समयमा क्रेडिट कार्ट कम्पनीलाई भुक्तानी गरेको छैन र रकम बाँकी राखेर ढिलो गरि भुक्तानी गरेको छ भने उसले बढी ब्याज तिर्नु पर्ने हुन्छ। यसरी, जसको क्रेडिट हिस्ट्री राम्रो छ उसले ३ या ४ प्रतिसत ब्याज तिर्नु पर्ने हुन सक्छ भने जसको क्रेडिट हिस्ट्री राम्रो छैन उसले १५ देखि २० प्रतिसत ब्याज तिर्नु पर्ने हुन सक्छ। यो केवल एउटा उदाहरण मात्र हो। कति ब्याज लिने भन्ने कुरा प्राय: क्रेडिट कार्ड कम्पनीमा भर पर्दछ। यसरी, सबै क्रेडिट कार्ड प्रयोगकर्ताले एउटै दरमा ब्याज तिर्नु पर्ने हुँदैन। जसको आर्थिक व्यवहार (तोकिएको समयमा भुक्तानी गरेको छ, भुक्तानी नै नगर्ने गरेको छैन) राम्रो छ उसले कम ब्याज तिर्नु पर्छ भने उत्तिकै रमकका लागि आर्थिक व्यवहार राम्रो नहुनेले बढी तिर्नु पर्छ। यसरी, कोसँग कति ब्याज लिने भन्ने कुराको निर्धारण क्रेडिट कार्ड कम्पनीले व्यक्तिको आर्थिक व्यवहारको आधारमा गर्दछ। यसबाट राम्रो आर्थिक व्यवहार गर्नेलाई फाइदा पुग्छ किनभने उसले राम्रो आर्थिक व्यवहारको कारणले गर्दा कम ब्याज दरको क्रेडिट कार्ड पाउन सक्छ। धेरै अवस्थाहरुमा, क्रेडिट कार्डले व्यक्तिहरुलाई आर्थिक व्यवहार राम्रो पार्न उत्प्रेरित गर्ने कार्य गर्दछ। र आर्थिक व्यवहार राम्रो पारेर क्रेडिट कार्डबाट निकै किसिमका फाइदाहरु लिन सकिन्छ पनि। क्रेडिट कार्ड कम्पनीहरुले २०० मूल्य देखि २५,००० वा सो भन्दा बढी मूल्यका क्रेडिट कार्डहरु पनि  व्यक्तिहरुलाई जारी गरेका हुन सक्छन। विभिन्न देशहरुमा, त्यहाँका मुद्रामा, विभिन्न क्रेडिट लिमिट(मूल्यका)का क्रेडिट कार्डहरु जारी गरिएको हुन सक्छन।
उधारो पत्रले नगदलाई विस्तारै विस्थापित गर्देछ। विकसित मुलुकहरुमा ग्राहकहरुले नगदमा खरिद गरेको ज्यादै कम देखिन्छ। हुन पनि उधारो प्रत्रद्वारा जुन सुकै किसिमको भुक्तानी गर्न सकिन्छ। बसको भाडा होस, वा क्याम्पसको फि, क्रेडिट कार्डद्वारा भुक्तान गर्न सकिन्छ।  यसै गरी सिनेमा हलको टिकट होस वा गाडी पार्किङ्ग गरेको शुल्क, क्रेडिट कार्डद्वारा भुक्तान गर्न सकिन्छ। तरकारी, फलफूल, घरघरायसी सामान लगाएत फ्रिज, कारसम्म पनि क्रेडिट कार्ड प्रयोग गरेर खरिद गर्न सकिन्छ।
क्रेडिट कार्डले नगदको सुरक्षा पनि गर्छ किनभने क्रेडिट कार्डको प्रयोग गरेर नगद बोक्नु पर्ने झंझट लिनु पर्दैन। पैसा बोक्दा चोरी हुने, त्यो हराएको खण्डमा आर्थिक क्षति बेहोर्नु पर्ने जस्ता बाध्यताहरुको अन्त्य पनि गरिदिन्छ क्रेडिट कार्डले। क्रेडिट कार्ड हराए वा चोरी भएमा  पैसा हराए वा चोरी भए जस्तो  क्षति बेहोर्नु पर्दैन पनि। किनभने क्रेडिट कार्ड हराए वा चोरी भएमा, तत्काल जुन क्रेडिट कार्ड कम्पनीबाट सो क्रेडिट कार्ड जारी गरिएको हो त्यसलाई खबर गरिदिएमा उसले उक्त क्रेडिट कार्डबाट हुने भुक्तानी तत्काल नै रोकिदिन्छ।
नेपालमा उधारो पत्र वा क्रेडिट कार्डको प्रयोग गरेर गरिबहरुको क्रय शक्तिमा वृद्धि ल्याउन सकिन्छ। खल्तिमा पैसा नभएको समयमा पनि सामान खरिद गर्ने सक्ने स्थितिमा उनीहरुलाई पुर्याउन सकिन्छ। यस्तो गरेर बहुसंख्यक नेपालीहरुलाई दयनीय गरिबीको स्थितिबाट बाहिर ल्याउन सकिन्छ। तर यहाँ प्रश्न उठ्न सक्छ के गरिबीहरुले खरिद गर्ने पसलहरुलाई क्रेडिट कार्डको प्रयोग गर्ने सक्ने स्थितिमा पुर्याउन सकिन्छ? के नेपालका क्रेडिट कार्ड कम्पनी वा  बैंकहरुले आम नेपाली जनताहरुले प्रयोग गर्न सक्ने कम मूल्य (क्रेडिट लिमिट) का क्रेडिट कार्डहरु उपलब्ध गराउन सक्छन? यी प्रश्नहरुको उत्तर के हो भने वर्तमान युग ज्ञानको युग हो पूँजीको होइन। नेपालका ठूला ठूला व्यापारिक प्रतिष्ठानहरुले आँट गर्ने हो भने नेपालमा पनि क्रेडिट कार्डको प्रयोगलाई गरिबहरुको पहुँचसम्म पुर्याउन सकिन्छ। नेपालका गरिबहरुसम्म क्रेडिट कार्ड पुर्याउने जिम्मेवारी तपाँई उद्योगपति तथा व्यापारीहरुको नै हो। यस्तो कार्य गरेर नेपालको गरिबी कम पार्नमा तपाँइहरुले महत्वपूर्ण योगदान पुर्याउन सक्नु हुन्छ। सक्ताका लागि हारा लुछ गरिरहेका राजनैतिक नेताहरुबाट के नै अपेक्षा गर्न सकिन्छ र?

विश्वराज अधिकारी

No comments:

Post a Comment