Tuesday, January 17, 2012

The Successful Candidate - Nepali short story - Abhinaya - 25



सफल उम्मेदवार


अन्तरवार्ता लिने क्रम सकिएपछि  अन्तरवार्ता लिनेमध्येका एक, जो अन्तरवार्ता लिने सङ्गठनका प्रमुख पनि थिए, ले अन्तिम उम्मेदवारको सम्बन्धमा आफ्नो धारणा यस प्रकार राखे हाम्रो यो नयाँ उत्पादन बजारमा बढी भन्दा बढी बिक्री गर्न सक्ने क्षमता वा योग्यता यो अन्तिम उम्मेदवारमा मात्रै हुन सक्छ। बजार प्रबन्धक पदमा यो युवकलाई छनौट गर्नु उपयुक्त होला
सङ्गठन प्रमुखको कुरा सुनेपछि अन्तरवार्ता लिन बसेका अन्य कर्मचारीहरु आश्चर्यचकित भए। त्यो अन्तिम उम्मेदवारले सोधिएका अधिकांस प्रश्नको उत्तर गलत दिएको आफ्नै कानले उनीहरुले सुनेका थिए। आफूहरु त्यो अन्तिम उम्मेदवारलाई छनौट गर्ने पक्षमा नरहेको प्रदर्शित गर्न मुहारमा अप्रशन्नताको भाव अलि बढी नै पोखे।
त्यो युवकलाई छनौट गर्ने आफ्नो निर्णय सही रहेको बोध गराउन सङ्गठनका प्रमुखले यस किसिमको तर्क पेश गरे त्यो युवक अर्थात अन्तिम उम्मेदवारले दिएको लगभग सम्पूर्ण उत्तरहरु गलत थिए भन्ने कुरा मलाई राम्रो थाहा छ। तर उसले गलत उत्तर पनि आत्मविश्वासका साथ सही लाग्ने गरी भन्दा ती गलत उत्तरहरु सही प्रतीत भइरहेका थिए। अर्थात गलत कुरालई पनि सही लाग्ने गरी भन्ने दक्षता देखें मैले त्यो चतुर युवकमा। आजभोलि त्यस्तै मान्छेका कुरा धैरेले पत्याउँछन् पनि। त्यो अन्तिम उम्मेदवारभन्दा पहिले अन्तरवार्ता दिने एक व्यक्ति अति नै जानकार जस्तो देखिन्थ्यो र योग्य पनि। सोधिएका सम्पूर्ण प्रश्नहरुको उसले एकदम सही-सही उत्तर अति सभ्य र शिष्ट शैलीमा दियो। ती उत्तरहरु सुन्दा लाग्दथ्यो ती सही छैनन् गलत छन्। आजकालका मान्छेले त्यस्ताको कुरा पत्याउने गर्दैनन। त्यसकारण हाम्रो यो नयाँ उत्पादनको बजारीकरण गर्न त्यो अन्तिम उम्मेदवार सफल हुनेमा मलाई रत्ति पनि शङ्का छैन। यो जमानामा यस्तै मान्छे सफल हुन्छ पनि। मलाई त शत्प्रतिशत यो मान्छे  उचित लागेको छ। तपाइँहरुलाई भने कस्तो लाग्यो कुन्नि?’
त्यो अन्तिम उम्मेदवारको सम्बन्धमा आफ्ना प्रमुखले भनेका थप कुराहरु सुनेर अन्तरवार्ता लिन बसेका अन्य सबै कर्मचारीहरु केही बेर हाँसे अनि एक अर्कालाई केही बेर हेरे पनि। हाँसिरहेकै क्रममा उनीहरुले एकै चोटी भने सरको निर्णयमा हाम्रो सहमति छ। निर्णय समय सुहाउँदो भएकोले त्यसमा विवाद गर्ने ठाउँ नै रहेन, सर।

विश्वराज अधिकारी

No comments:

Post a Comment