के यूरोजोन रहला?
यूरो, यूरोपका विभिन्न राष्ट्रहरुको एक साझा मुद्रा हो। सदस्य वा आवद्ध राष्ट्रहरुको बीचमा हुने व्यापारलाई सरल पार्न तथा एक अर्कालाई सहयोग पुर्याएर अन्तरार्ष्ट्रिय व्यापारबाट बढी लाभ प्राप्त गर्न विभिन्न राष्ट्रहरु मिलेर यूरोको विकास गरेका हुन, यूरोजोनको स्थापना गरेका हुन। यूरोलाई साझा मुद्राको रुपमा स्वीकार गर्ने (सदस्य) राष्ट्रहरुको समूहलाई यूरोजोन (Eurozone) भन्ने गरिन्छ अथवा यूरोलाई साझा मुद्राको रुपमा स्वीकार गर्ने विभिन्न राष्ट्रहरु समाविष्ट एक क्षेत्र नै यूरो क्षेत्र हो । औपचारिक रुपमा भने यूरोजोनलाई यूरो क्षेत्र (Euro area) पनि भन्ने गरिन्छ। यूरोजोन एक आर्थिक तथा मौद्रिक सँघ हो। केहीको भनाईमा भने यो मुलत मौद्रिक सँघ हो किनभने यसले सदस्य राष्ट्रहरुको मौद्रिक नीतिलाई बढी प्रभाव पार्ने गर्दछ।
यूरोजोनको स्थापना १ जनवरी १९९९ मा भएको थियो। अष्ट्रिया, बेल्जियम, साइप्रस, इस्टोनिया, फिनलैण्ड, फ्रान्स, जर्मनी, ग्रिस, आयरलैण्ड, इटाली, लग्जेमबर्ग, माल्टा, निदरलैण्डस्, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया, र स्पेन गरी १७ राष्ट्रहरु यूरो जोन भित्र पर्दछन। यूरो जोनका लागि मौद्रिक नीतिको निर्धारण गर्ने कार्य यूरोपियन केन्द्रिय बैंक (European Central Bank) ले गर्दछ। यूरोपियन केन्द्रिय बैंकको मुख्य कार्य मुद्रा स्फिर्ति (Inflation) लाई नियन्त्रणमा राख्नु हो। लण्डनले आफूलाई विश्वको वीत्तिय राजधानीको रुपमा स्थापित गराउन प्रयास गरि रहेता पनि संयुक्त अधिराज्यले भने यूरोजोनमा आफ्नो उपस्थिति जनाएको छैन। यूरोपका, आर्थिक रुपमा शक्तिसाली राष्ट्रहरु मध्ये संयुक्त अधिराज्य पनि एक भएता पनि संयुक्त अधिराज्यले आफूलाई यूरो जोनबाट बाहिर नै राखेको छ।
यूरोजोन अहिले चर्चामा छ र चर्चामा रहनुको कारण हो यसको भविष्यलाई लिएर व्यक्त गर्न थालिएको चिंता। खास गरी ग्रिस, आयरलैण्ड र पोर्चुगलमा देखा परेको ऋण संकट (Debt crisis) ले गर्दा यूरोजोनको भविष्य माथि प्रश्न चिन्ह खडा गर्न थालिएको छ।
धेरै विश्लेषकहरुले यूरोजोन वा यूरो भविष्यमा समाप्त भएर जाने भन्दै छन। केहीको बिचारमा १७ मुलुक (यूरोजोन भित्रका देश) हरुका लागि एउटै वीत्तिय व्यवस्थाले प्रभावकारी किसिमले काम गर्न सक्तैन र त्यस कारण यूरोको भविष्य सुनिश्चित देखिंदैन। । हुन पनि विभिन्न राष्ट्रहरुको आ-आफ्नो किसिमको आर्थिक अवस्था हुन्छ र सोही अनुसार राष्ट्रहरुले वीत्तिय एवं मौद्रिक नीति आ-आफ्नो राष्ट्रका लागि तयार पारेका हुन्छन।
केही विश्लेषकहरु के भन्छन भने यूरोजोनको स्थापना गर्दा यस समूहमा आवद्ध हुने ती राष्ट्रहरु जो तुलनात्मक रुपमा अन्य भन्दा कमजोर आर्थिक स्थितिमा रहेका थिए, बाँकी राष्ट्रहरु जतिकै फाइदा प्राप्त गर्न सक्षम हुने छन भन्ने अपेक्षा गरिएको थियो तर त्यस्तो भएन। यूरोजोनको स्थापनाबाट तुलनात्मक रुपमा आर्थिक रुपमा सबल रहेका, यूरोजोन भित्रका राष्ट्रहरुले बढी फाइदा उठाए, कमजोर आर्थिक स्थिति भएका यूरो जोनका राष्ट्रहरु झनै ऋण समस्याको दल दलमा भास्सिंदै गए।
केही विश्लेषकहरुको भनाई के छ भने युरो समाप्त हुँदैन। यूरोजोनका दुई अति ठूला अर्थ तन्त्र भएका राष्ट्रहरु- जर्मनी र फ्रान्सले यूरोलाई जोगाउन नया नया ठोस प्रयासहरु गर्ने छन।
यूरोजोन अहिलेको जस्तो विस्तारित अवस्थामा नै रहने छैन। केही राष्ट्रहरु यूरोजोनबाट बाहिर आउने छन, र आफ्नो मुद्रालाई प्रचलनमा ल्याउने छन्। ग्रिस जस्ता ऋण संकटले सताइएका राष्ट्रहरु यूरो जोनबाट बाहिर आउने प्रवल सम्भावना छ। यस्तो विश्वास गर्ने विश्लेषकहरु पनि धेरै छन।
हरेक राष्ट्रको आ-आफ्नै किसिमको आर्थिक स्थिति हुन्छ र यसै गरी आयको स्रोत पनि पृथक पृथक किसिमको हुन्छ। कुनै राष्ट्र उद्योगमा बढी निर्भर रहेको हुन्छ भने कुनै पर्यटनमा। यसै गरी कुनै राष्ट्रले निर्यातलाई बढी महत्व दिएको हुन्छ भने कुनैले राष्ट्रिय व्यापारलाई। कुनै राष्ट्रले कृषिलाई पनि उद्योग जत्तिकै महत्व दिएको हुन्छ। यस प्रकार राष्ट्रको आफ्नो मौलिक आर्थिक स्थिति फरक फरक हुन्छ र सोही अनुसार राष्ट्रले आफूलाई अनुकूल हुने किसिमको अर्थ व्यवस्था निर्माण गरेको हुन्छ। र कुनै पनि राष्ट्रले आफ्नो अर्थ व्यवस्थाको आधारमा मुलुकको लागि आवश्यक वीत्तिय एवं मौद्रिक नीति तयार पारेको हुन्छ। आफ्नो देशको मौद्रिक नीति अनुसार नै कुनै पनि राष्ट्रले आफ्नो देशको मुद्रासँग अन्य देशको मुद्रा कुन दरमा विनिमय गर्ने भन्ने कुराको निर्धारण गरेको हुन्छ। विदेशी मुद्रा विनियम दर कुनै पनि राष्ट्रले आफ्नो आर्थिक स्थिति अनुसार तय गरेको हुन्छ। यस परिप्रेक्ष्यमा हेर्न हो भने यूरोजोन भित्र पर्ने राष्ट्रहरु फरक फरक आर्थिक स्थितिका भएका हुनाले यस जोन भित्रका राष्ट्रहरुले एउटै मुद्रा (यूरो) दीर्घकाल सम्म प्रयोगमा ल्याउन सक्नु सम्भव देखिंदैन।
तुलनात्मक रुपमा कमजोर आर्थिक स्थिति भएका यूरोजोन भित्रका राष्ट्रहरुले त निर्यात बढाउनका लागि आफ्नो मुद्राको मूल्य अन्य विदेशी मुद्रा (हालका यूरोजोन भित्रका मुद्रा लगाएत) हरुको मूल्यको तुलना मा कम पार्नु पर्ने हुन्छ। यो स्थितिलाई हेर्दा त झन, यूरो (यूरोजोन) दीर्घ कालसम्म रहला भन्ने कुराको सुनिस्चितता गर्न सकिंदैन।
विश्वराज अधिकारी
No comments:
Post a Comment