Friday, January 20, 2012

Problems in French Economy - Article 27


फ्रान्सको अर्थतन्त्र

फ्रान्सको अर्थतन्त्रमा पनि समस्या देखिन थालेको छ। यूरोपमा बलियो अर्थतन्त्र मानिएका दुई राष्ट्रहरु- जर्मनी र फ्रान्स मध्ये फ्रान्सको अर्थतन्त्रमा पनि समस्या देखिनु यूरोपको लागि सुखद समाचार भने होइन। यूरोपका ठूला अर्थतन्त्रहरु मध्ये अहिले जर्मनीको मात्र आर्थिक स्थिति बलियो अवस्थामा छ। जर्मनी, फिनलैण्ड, निदरलैण्डस् र लक्जमबर्गले मात्र आफ्नो  रेटिंगलाई AAA मा कायम राख्न सकेका छन। Standard and Poor (S&P) को रेटिंग अनुसार फ्रान्स, अष्ट्रिया, माल्टा, स्लोभाकिया र स्लोभेनियाको रेटिंग एक नच (notch) ले तल झरेको छ भने इटाली, स्पेन, पोर्चुगल र साइप्रसको दुई नचले। S&P, संयुक्त राज्य अमेरिका स्थिति एक यस्तो  मूल्यांकन संस्था (rating agency) हो जसले कम्पनी, राष्ट्र र आर्थिक सेवाहरुको आर्थिक विश्वशनियता ( creditworthiness)  को मूल्यांकन गर्दछ।  
यूरोपकै सबै भन्दा ठूलो अर्थ तन्त्रको रुपमा रहेको जर्मनी, यूरोपको खस्किंदो आर्थिक स्थितिबाट प्रभावित हुन सक्तैन भनी ऊ ढुक्क हुने अवस्था पनि छैन। यूरोपका अधिकांस राष्ट्रहरुमा देखिएको आर्थिक समस्याले जर्मनीलाई पनि बिस्तारै प्रभाव पार्न सक्छ। सन् २०१० को तथ्यांक अनुसार जर्मनीमा ७.१ प्रतिशत बेरोजगारी रहेको थियो भने सरकारी ऋण कुल गार्यहस्थ उत्पादन (GDP) को ८३.२ प्रतिशत।
अहिले भने चर्चामा फ्रान्स रहेको छ किनभने S&P को रेटिंग अनुसार फ्रान्सको रेटिंग AAA  बाट AA+ मा झरेको छ। फ्रान्सले पाएको यस्तो रेटिंगबाट यहाँ लगानी गर्नेहरुलाई केही ससंकित हुने स्थितिमा भने अवस्य पुर्याउने छ।
हुनत फ्रान्सको आर्थिक स्थिति अन्य यूरोपेली राष्ट्रहरु भन्दा राम्रो छ तर त्यहाँ बढ्दै गरेको बेरोजगारी, अर्थतनत्रमा देखिएको प्रतिस्पर्धात्मक क्षमताको अभाब, उत्पादनमा कमी, जनताको खस्किंदो आर्थिक अवस्था जस्ता समस्याहरुले गर्दा धेरै फ्रान्सेलीहरुमा राष्ट्रको आर्थिक स्थिति प्रति चिन्ता देखिन थालेको छ। फ्रान्सको आर्थिक वृद्धि दर अहिले लगभग शून्य प्रतिशत छ। यसै गरी बेरोजगारी ९..९ प्रतिशत छ, जुन १२ वर्षमा सबै भन्दा बढी हो। र सरकारले ठोस आर्थिक कार्यक्रमहरु नल्याउने हो भने बेरोजगारी अझै बढ्ने अनुमान गरिएको छ। फ्रान्सको खस्किंदो आर्थिक स्थितिले राष्ट्र भित्र त प्रतिकूल प्रभाव पर्ने नै छ साथै फ्रान्सले यूरोपेली यूनियन भित्र बनाएको  आर्थिक शक्तिको छवि पनि प्रभावित हुने देखिन्छ। यूरोपेली यूनियनलाई अहिले दुई राष्ट्रहरु- जर्मनी र फ्रान्सले नेतृत्व प्रदान गरि रहेको मानिएको छ। फ्रान्सको आर्थिक स्थितिमा तिब्र गतिमा सुधार न आएमा फ्रान्सलाई यूरोपेली यूनियनको नेतृत्वकर्ताहरु मध्येको एकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन आइ यसलाई यूनियनको एक समस्या ग्रस्त राष्ट्रको रुपमा हेर्न थालिने छ।
फ्रान्सको AA+ को रेटिंगले राष्ट्रपति निकोलस सारकोजीको राजनैतिक भविष्य पनि प्रभावित हुने देखिन्छ। फ्रान्सको आउँदो चुनावमा राष्ट्रपतिले कडा प्रतिस्पर्धाको सामना गर्नु पर्ने छ किनभने उनको कार्यकालमा फ्रान्समा बेरोरगारी, जिवन यापन लागत, ऋण जस्ता महत्वपूर्ण क्षेत्रहरु सुधार हुन नसकेको र आर्थिक अनिश्चितता बढेको भन्न थालिएको छ।
के कारणहरुले फ्रान्सको आर्थिक स्थितिलाई खस्किंदो आवस्थामा पुर्याए त? यो प्रश्न आफैमा महत्वपूर्ण छ। केही व्यक्तहरुको भनाईमा फ्रान्सको खस्किंदो आर्थिक स्थितिका लागि राष्ट्रको अर्थतन्त्रमा राज्यको चाहिने भन्दा बढी नियन्त्रण, कर प्रणाली, कार्य समय ( 35-hour workweek) जस्ता पक्षहरु जिम्मेबार छन। राष्ट्रको अर्थतन्त्रमा राज्यको बढ्दो भूमिकाले गर्दा फ्रान्सको प्रतिस्पर्धात्मक क्षमतामा अपेक्षित मात्रामा वृद्धि हुन सकि रहेको छैन। विश्लेषकहरुको बिचारमा फ्रान्सको आर्थिक स्थितिमा तिब्र गतिमा सुधार ल्याउन राष्ट्रको अर्थतन्त्रलाई ज्यादै लचिलो र उदार तुल्याउन आवश्यक छ। यस्तो गरेमा यसको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न सकिने छ। तर राष्ट्रपति सारकोजीका आलोचकहरु फ्रान्सको आर्थिक स्थिति यस्तो हुनुमा राष्ट्रपतिको कार्यकाललाई नै जिम्मेबार ठहर्याउँदै छन।
खासमा अहिले पुरै यूरोप एक किसिमले आर्थिक मन्दीको स्थितिमा छ। र यस्तो हुनुका केही कारणहरु पनि छन। यूरोपका धेरै राष्ट्रहरुले पहिले नियन्त्रित अर्थ अर्थतन्त्र (कम्युनिष्ट व्यवस्था) अँगालेका थिए र त्यो समयको कार्य प्रणाली र आर्थिक नीतिहरुलाई अहिले पनि उनीहरुले पूर्ण रुपमा त्याग्न सकेका छैनन्। यस बाहेक यूरोपमा अहिले पनि त्यस्ता राष्ट्रहरु छन जसले राष्ट्रिय अर्थतन्त्रबाट समाजवादका धेरै नीतिहरु लाई झिक्न सकेका छैन र त्यस्ता राष्ट्रहरुले राष्ट्रिय अर्थतन्त्रमा राज्यको भूमिकालाई जति कम पार्नु पर्ने हो त्यति कम पार्न सकेका छैनन् पनि। साथै थुपै यूरोपेली राष्ट्रहरुले वर्तमान विश्व परिस्थिति अनुरुप राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक तुल्याउन सकेका छैनन। उनीहरुको आर्थिक नीति तथा कार्यक्रमहरु अहिले पनि परम्परागत किसिमका छन।
वर्तमान विश्व परिस्थिति, खास गरी आर्थिक जगतमा, यति प्रतिस्पार्धात्मक छ कि कुनै पनि राष्ट्रले आर्थिक प्रगति हासिल गर्न राष्ट्रिय अर्थतन्त्रलाई ज्यादै प्रतिस्पार्धात्मक तुल्याउन आवश्यक छ। राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक तुल्याउन लचिलो र उदार अर्थ नीति ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई पनि अझै बढानु पर्ने देखिन्छ। र यसका लगि उद्योगी तथा व्यापारीहरुलाई व्यापार गर्नका लागि प्रोत्साहित गर्ने मात्र होइन उनीहरुलाई नया नया किसिमका व्यापारहरुको विकास गरेर  थप रोजगारी औसरहरु सृजना गर्न उत्प्रेरित गर्नु पर्दछ। वर्तमान युग ज्ञानको युग हो। आर्थिक क्षेत्रमा त झनै ज्ञानको उपयोग व्यापक किसिमले भइ रहेको छ। गुगल, फेसबुक, एमेजन डट कम जस्ता ठूला ठूला व्यापारिक संस्थाहरु नया नया व्यापारिक ज्ञानका उपज हुन। यूरोपेली राष्ट्रहरुले राष्ट्रिय अर्थतन्त्रलाई खस्किंदो स्थितिबाट माथि उकास्न तथा द्रुततर गतिमा आर्थिक प्रगति गर्न नया नया किसिमका आर्थिक नीति तथा कार्यक्रमहरु ल्याउनुका साथै तिनको प्रभावकारी किसिमले कार्यान्वयन गर्न पनि उत्तिकै आवश्यक छ। अहिलेको यो अति प्रतिस्पार्धात्मक बजार संस्कृतिमा पर्मरागत अर्थ नीतिहरुले काम गर्न सकि रहेका छैनन र सक्तैनन पनि। व्यापारमा सफलता हासिल गर्न प्रत्येक पल नया नया किसिमका त्यस्त व्यापारिक योजनाहरु ल्याउने बारे सोंच्नु पर्यो जुन प्रतिस्पर्धात्क होस र सफल पनि हुन सकोस।  अर्थतन्त्रलाई केवल लचिलो तुल्याएर मात्र हुँदैन। यो कुरा यूरोपेली राष्ट्रहरुले मनन गर्न आवश्यक छ।  

विश्वराज अधिकारी

No comments:

Post a Comment