गल्ती कस्को?
सीता दिदीले फेरि भन्नु भयो ‘पहाडबाट आएको एक वर्ष जति निकै दुख भयो।
घरबाट ल्याएको पैसाले नै जसरी तसरी गरेर चलायौ, पैंचो सापट पनि गरौ। तर यो चियाको
पसल खोले पछि भने निकै हल्का भयो। खाने खर्च कसरी पुर्याउने, डेरा भाडा कसरी
तिर्ने भन्ने समस्या रहेन। बाबु एक वर्षको थियो, पढाउने खर्च, स्कूल
पठाउने टन्टा त्यस्तो केही पनि थिएन। तर एउटा समस्या भने थियो, त्यो के भने जति
कमायो त्यो सबै खान र बस्न मै खर्च हुन्थ्यो, बचतको नाममा एक पैसा पनि हुन्थ्येन
हातमा।’
‘तर जब पसल नया बानेश्वरमा सारे, पहाडबाट आएको दुई वर्ष पछिको कुरा हो
यो, बगलामुखी माताको कृपा हो यो सब, चिया पसल निकै चल्न थाल्यो। हामी दुई जनाले
भ्याई नभ्याई भए पछि दुई वटा काम गर्ने एकै चोटी राख्यौ, आफ्नै गाउँ तिरका, चरिकोट
छेउछाउका। अलिकति पैसा पनि जम्मा पारे, भक्तपुरतिर जग्गा किन्ने सुरमा।’
म चुप लागेर सीता दिदीको कुरा सुन्दै थिए। दिन भरि कोठामा बस्दा बस्दा
दिक्क लागेर साँझ पर्नै आँट्दा एक छिन बाहिर निस्केको थिए। यता उति घुम्दै फिर्दै
पस्न पुगेको थिए म सिता दिदीको चिया पसलमा, अर्थात पवित्र भण्डारमा। दिउँसो क्याम्पस
पढाउन पनि गएको थिन, त्यो दिन। अरूण सरलाई आग्रह गरेको थिएँ मेरो क्लासलाई पनि
गाभेर क्लास लिदिनु होला भनेर।
त्यो दिन संयोग पनि कस्तो परेको थियो भने ग्राहकहरुको भीड पट्क्कै
थिएन पवित्र भण्डारमा। म बाहेक एक दुई जना थिए, तर तिनीहरु पनि कोठाको पुछार तिर
थिए। त्यो स्थितिले पनि सिता दिदीसँग कुरा गर्न सजिलो पारि दिएको थियो। म
काउन्टरको छेउकै टेबलमा भएकोले हाम्रो कुरा अरुले सुन्लान भन्ने पीर सीता दिदीले
लिनु परेको थिएन।
सीता दिदीले भन्नु भयो ‘वहाँ, मेरो श्रीमान, यो चिया पसलमा खुब रमाउनु
भएको थियो। दिन भरि चिया पसलमा नै बस्नु हुन्थ्यो। साथी भाई नाता गोता सबै, वहाँको
लागि यै चिया पसल थियो। कहिले म काउन्टरमा बस्थ्ये कहिले वहाँ। एक जना बेला बेलामा
किचेनतिर जानु पर्थ्यो त्यसैले। तर कहिले हामी सँगै पनि बस्थ्यौ काउन्टरमा। काम
गर्ने केटाहरुले काम गरेको हेर्यो, बस्यो। दिन भरि बढी समय गफ गरेर नै बित्थ्यो। राति
होटल बन्द गरेर हामी सँगै डेरामा जान्थ्यौ, फेरि भोलि पल्ट विहान पनि सँगै आउँथ्यौ
होटल खोल्न। काम गर्ने केटाहरालाई पनि कोठाको व्यवस्था गरि दिएका थियौ। कुनै समस्या थिएन त्यस्तो। दिन राम्रो गरि
चलिरहेको थियो। तर अचानक के भयो……..
त्यस्तो …………? कसरी वहाँको मन फेरियो त्यसरी, मैले प्रष्ट गरी
बुझ्न सकेको छैन।’
मैले आश्चर्य मान्दै प्रश्न गरे – किन, के भयो र त्यस्तो, हँ दिदी?
सीता दिदीले केवल एक वाक्यमा जबाफ दिनु भयो ‘वहाँ आजकाल मसँग बस्नु हुन्न। न्युरोड
तिर कोठा लिनु भएको छ, उतै बस्नु हुन्छ।’
मैले आश्चर्य मान्दै भने- तपाँईको श्रीमान तपाँई सँगै बस्नु हुन्न र?
सीता दिदीले टाउको हल्लाएर मात्रै सँगै नबसेको संकेत गर्नु भयो। मैले पुन: प्रश्न
गरे- किन नि?
‘के थाहा किन नबसेको होला सँगै’ छोटो उत्तर दिनु भयो वहाँले। कति भयो
त्यसरी बसेको? मेरो प्रश्नले फेरि पछ्यायो। सीता दिदीले भन्नु भयो ’१४। १५ वर्ष।’
मेरो बाइफ, करूणासँग सीता दिदीको अलि बढी नै घनिष्टता भएकोले मलाई
सीता दिदी समक्ष त्यस्त प्रश्नहरु राख्न केही सजिलो भएको थियो। हुनत सीता दिदी र
वहाँको श्रीमान बीच कस्तो सम्बन्ध छ भन्ने कुरा करुणालाई थाहा हुनु पर्ने हो। उनले
मलाई नभनेको पनि हुन सक्छ। अर्को कुरा, करूणाले पेटमा नै राख्न सक्छिन धेरै
कुराहरु। उनको त्यस्तो बानी छ पनि।
मैले सीता दिदीलाई फेरि प्रश्न गरे- अनि यत्रो वर्षदेखि एक्लो बस्दै
आउनु भएको छ? वहाँले छोटो उत्तर दिनु भयो ‘एक्लै नबसेर के गर्ने त?’ तर फेरि केही
सम्झे झै गर्नु भयो अनि भन्नु भयो ‘त्यसो त बाबु यता उति हिंडेको छैन, ऊ मसँगै
बस्छ। छोरा मेरो निकै भलादमी छ। क्याम्पसमा पढछ। बाबु जस्तो छैन, बटारिएको।’ यति
भनेर सीता दिदी चुप लाग्नु भयो। सीता दिदी चुप लागे पछि हामी बीच कुराकानी भएन, वातावरण एकै छिन शान्त रह्यो।
एकै छिन पछि स्वरमा केही उदासीनता थप्दै सीता दिदीले भन्नु भयो ‘खै, बाबु
चाइनेलाई पनि के भन्नु बडारिएका छन् भनेर। मान्छे त त्यस्ता होइन, छुट्टिएर बस्ने
खालका, तर के भयो खोइ…………… कुन्नी ………………..के?’
मैले आश्चर्य मान्दै प्रश्न गरे- दिदी, तपाँईको श्रीमान पहिले कस्तो
हुनु हुन्थ्यो, त। मेरो प्रस्नको उत्तर दिन मतिर हेर्नु भयो अनि वहाँले भन्नु भयो
‘मैले अघि नै भनि हाले नि, यो पसल छाडेर कतै जानु हुन्थ्येन। जहिले पनि यै पसलको
वरिपरि, अनि मेरो छेउ छाउ मात्र रहनु हुन्थ्यो। जे गर्नु पर्यो मलाई सोध्नु
हुन्थ्यो। मलाई नसोधी बिरलै कुनै काम गर्नु हुन्थ्यो। वहाँको मुखमा नै हुन्थ्यो,
सीता फलानोले यसो भन्यौ, बुझ्यौ। सीता
फलानोले त्यसो भन्यो। मैले यसलाई यस्तो भनि दिए, सीता। मैले त्यसलाई त्यस्तो भनि दिए,
सीता। यो कसरी गर्ने सिता? त्यो कसरी गर्ने सिता? कहिले काहिँ त झर्को पनि
लाग्दथ्यो, कस्तो मान्छे होला, अलिकति पनि
आँट गर्न नसक्ने, आफैले निर्णय गर्न न जान्ने वहाँको त्यस्तो बानी देखेर। कुनै पनि
कुरा गर्नु भन्दा पहिले मसँग सोध्नै पर्ने, जे कुरा पनि सुनाउनु पर्ने, मलाई। यसो
आफैले पनि आँटेर गर्न सक्नु पर्छ नि, कहिले काहिँ त, केही
कुरा। यसो बहादुरी देखाउन सक्नु पर्छ नि। तर फेरि यो सम्झेर मख्ख पर्थ्ये, कति
माया गरेको होला मेरो बुढाले मलाई। आफ्नो हरेक गति बिधिमा बुढाले मलाई संलग्न
गराउन खोजेको देखेर भूँइमा खुट्टा नै
हुन्थ्येन मेरो, कहिले काहिँ, बुझ्नु भयो।’
सिता दिदीले फेरि भन्नु भयो ‘मैले धेरै किच किच नगरेको भए त्यस्तो
हुन्थ्येन होला। वहाँको मति अहिले जस्तो हुन्थ्येन कि…………..। मुन्टो बटारेर यसरी छुट्टिएर बस्थेनन् कि……………..।’
मैले सीता दिदीको भनाइ पूरा
हुन नदिइ बीचमा काट्दै भने- के त्यस्तो किच किच गर्नु भयो र दिदी, तपाँईले। अलि
गंभिर हुँदै सिता दिदीले भन्नु भयो ‘हामी सँगै हुँदा, हामी यो होटलमा सँगै बस्दा, म जहिले पनि वहाँलाई
भन्ने गर्य्ये ‘चियाको पसल थापेर नै जिन्दगी बिताउने बिचार गर्नु भएको छ कि क्या हो, तपाँईले? यो चियाको
पसल त म हेरी हाल्छु नि। तपाँईले चाँहि, यसो कुनै नयाँ व्यापार गर्नुस न। यसो,
न्युरोड तिर सानो तिनो पसल खोल्नु भए हुन्छ नि, फोरेन गुडको। लुगा फाटोको पसल। खुब
नाफा हुन्छ भन्छन लुगा फाटोको पसलमा। एउटा व्यापार तपाँईले, एउटा मैले हेरे भने,
व्यापार पनि दुइटा हुन्छ अनि नाफा पनि उत्तिकै………….। तर यो चिया पसलको
भरमा कत्ति बस्नु सँधै भरि।’
सीता दिदीले फेरि भन्नु भयो ‘वहाँ मेरो अगाडि पर्नु भयो कि म कराउन
शुरु गर्थ्ये र न्युरोड तिर पसल खोल्न भन्थे। दिनमा दसौं चोटी भन्थ्ये, एक चोटी
दुई चोटी हो र? तर वहाँ केही बोल्नु हुन्थ्येन। केवल चुप लागेर सुन्नु हुन्थ्यो
मात्र। रिसाउनु हुन्थेन पनि। तर पछि त मेरो बानी कस्तो पर्यो भने जुन सुकै बेला,
जहाँ पनि, वहाँ मेरो अगाडि पर्यो कि म कराई हाल्थ्ये र न्युरोडमा पसल खोल्न किच
किच गर्न थाल्थ्ये। पछि त मैले वहाँलाई केही गर्न नसक्ने, आँट नभएको, हुत्तिहारा
पनि भन्न थाले। र भन्ने हो भने एक किसिमले मलाई झर्को लाग्थ्यो वहाँलाई देखेर,
वहाँ जुन बेला पनि मेरो नजिक भएकोमा म खुसी हुनुको सट्टा।’
सीता दिदी भन्दै हुनु हुन्थ्यो म सुन्दै थिएँ। सीता दिदीले भन्नु भयो
‘मेरो नजरमा वहाँ केही गर्न नसक्ने, लाछी, हुत्तिहारा प्रमाणित भइ सक्नु भएको
थियो। तर मैले वहाँलाई पसल खोल्नका लागि दवाव दिने क्रमलाई भने तोडेको थिन। मैले
धेरै किच किच गरेकोले वहाँमा एउटा नया बानीको विकास भएको थियो र त्यो बानी के थियो
भने रिसाउने। वहाँ रिसाउन पनि थाल्नु भएको थियो, मैले जहिले पनि किच किच गर्दा।
कति चोटी भन्नु पनि भयो पनि, हेर सीता जहिले पनि एउटै कुरा झिकेर किच किच नगर।
मलाई दिक्क लागि सक्यो, सक्तिन म अब सहन तिम्रो सँधैको यो किच किच, एक दिन दुइ
दिनको हो र यो। मलाई झर्को लागे हिँडि दिन्छु कतै अनि थाहा हुनेछ। होइन, कति पैसा
चाहिएको हो तिमीलाई? यो पलसको आम्दानीले खान बस्न जति पनि पुगेको छ। अब धनै
थुपार्ने कुरा गर्ने हो भने यो देशको करोड पति व्यापारी …………..लाई पनि पैसाले पुगेको छैन। करोडौले न पुगेर
अरबौ, अरबौले नपुगेर खरबौं कमाउन गलत सही काम गरि रहेका छन, मानिसहरु। तर तिमीले
सँधै पैसाका लागि यस्तै, यसै गरि किच किच गर्ने हो भने………………………………म सहन सक्तिन अनि देखाई दिँउला……………………………तिम्रो ……………….अनि थाहा होला। वहाँको त्यस्ता कुराहरु सुनेर म डराएकी थिए। त्यस्तो
सोझो कहिले न रिसाउने मान्छे त्यसरी रिसाएको देखेर आश्चर्य पनि लागेको थियो मलाई।’
मेरो अगाडि रहेको गिलासमा चिया सकिएको एक घण्टा भन्दा बढी भइ सकेको
थियो। त्यो खाली गिलासतिर हेर्दै सीता दिदीले भन्नु भयो ‘ए बाबु, ए महिला, सरलाई
अर्को एउटा चिया ल्याई देउ त।’ एकै छिन पछि ती सहायकले चिया ल्याइ दिए। म चिया खान
थाले। सीता दिदीले चलिरहेको कुराकानीको क्रमलाई अगाडि बढाउँदै भन्नु भयो ‘एक चोटी,
एक दुई दिन वहाँ यो होटलबाट हराउनु भयो, मैले सोधिन पनि राति राति कहाँ कहाँ क-कसको
घरमा बस्नु भयो भनेर। मेरो कुरा वहाँले नखाएको देखेर मेरो मगज नै खलबलिएको थियो,
के गर्नु त्यस्तो बेलामा कुरा सुरा। तर त्यसरी हराएको चार पाँच दिन पछि वहाँले
मलाई आश्चर्यमा पार्नु भयो। मलाई भन्नु भयो- सीता मैले न्युरोडको खिचापोखरीमा पसल
खोल्ने सबै ब्यवस्था मिलाई सकें नि। तिमीलाई भनेको थिन, तिमीलाई छक्क पार्ने बिचार
थियो, मेरो। मेरो ठूलो सपना साकार भयो। ठूलो सपना थियो मेरो, न्युरोडमा पसल खोल्ने,
लुगाफाटोको पसल। अहिले बच्चाका लुगाहरु मात्र राख्ने बिचार छ। पछि भने सबै किसिमको
सामान राख्ने, बिक्री बढ्दै गयो भने।’
म शान्त भएर सीता दिदीको कुरा सुन्दै थिएँ। सीता दिदीले भन्नु भयो ‘वहाँले
न्युरोडमा पसल खोल्नु भयो। पसल निकै चल्न थाल्यो पनि। तर न्युरोडमा पसल खोले पछि
भने वहाँको अनेक किसिमका मान्छेहरुसँग संघत हुन थाल्यो। अनेक किसिमका केटाहरु साथी
थिए, अनेक किसिमका केटीहरु पनि। मैले त के देख्नु, म त जुन बेला पनि यै चिया पसलमा
हुन्थ्ये तर अरु देख्नेहरुले भन्थ्ये। न्युरोडमा पसल खोले पछि त एकै छिन का लागि
भए पनि यो चिया पसलमा बस्न छाड्नु भयो, वहाँले। वहाँ राति यता आएको बेला कहिले
कांहि त्यस्तै संयोग परेर एकै छिन यो चिया पसलमा बस्नु पर्दा अति नै अपठ्यारो माने
जस्तो गर्नु हुन्थ्यो। बस्नु परे भने काउन्टरमा बस्नुको साटो छेउको कुर्सीमा,
ग्राहक बस्ने कुर्सीमा बस्नु हुन्थ्यो अनि ग्राहकसँग पैसा आफूले न लिएर यी सगयोगी
भाईहरुलाई लिन लगाउनु हुन्थ्यो र हिसाब किताब पनि उनीहरुले नै गर्थ्ये। एक चोटी
त्यस्तै परेर वहाँ यो पसलमा बसिरहेको बेला एउटा सुटेड बुटेड केटा वहाँको नजिक आयो
अनि भन्यो ‘हरि सर, हजूरको चिया पसल हो कि क्या हो? जबाफमा वहाँले भन्नु भयो होइन,
म त चिया खान आएको मात्र हो यो पसलमा, मेरो त न्युरोडमा ठूलो पसल छ, फौरेन गुडको।
म वहाँले न देख्न सक्ने गरी अलि पर थिएँ, त्यहींबाट वहाँले त्यस्तो भनेको सुने,
मैले।
एक छिन रोकिएर सीता दिदीले फेरि भन्नु भयो ‘पछि पछि त वहाँ यो चिया
पसलमा बस्ने त के यता, घरमा आउन समेत छाड्नु भयो। उतै बस्न थाल्नु भयो। जति केटाहरु
साथी थिए त्यतिकै केटीहरु पनि। मौज मस्ती खान पिन खुब हुन थाल्यो रे वहाँको
कोठातिर। म दुई चार चोटी न्यरोड गए, वहाँको पसलमा बसें पनि केही बेर। तर, जति चोटी
त्यो पसलमा जाँदा पनि मलाई हप्काउनु भयो, अनेक किसिकमा गाली गलौज समेत गर्नु भयो,
बिना कुनै कारण। एक चोटी भन्नु भयो पनि-जाउ बस, आफ्नो त्यो चिया पसलमा अनि सफा गर
दिनभरि ती गिलासहरु। तर यहाँ नआउ मलाई किच किच गर्न। म त छक्क नै परे मसँग त्यसरी
बिना कुनै कारण रिसाएको देखेर, त्यस्तो व्यवहार गरेको देखेर। त्यस पछि वहाँलाई
भेट्न जान मन लागेन मलाई। त्यस पछि म वहाँलाई भेट्न गएको छैन पनि, वहाँ पनि आउनु
भएको छैन यता। बाबु, उमेश कहिले काहिं भेट्न जान्छ तर मलाई भन्छ आज बालाई भेट्न
गएको थिएँ भनेर। हाम्रो त दशैमा पनि भेट घाट हुँदैन। वर्षौ भई सक्यो हाम्रो भेट
घाट नभएको। मलाई त आफ्नो यै चिया पसल रमाइलो लाग्छ। चिया पसल यथार्थमा एउटा सिनेमा
हल जस्तो हो, हरेक किसिमका मान्छे आउँछन यहाँ। चोर देखि साधुसम्म। नेतादेखि कार्य
कर्तासम्म। अपराधीदेखि पुलिससम्म। इमान्दार देखि बेइमानसम्म। गुन्डादेखि कहलिएका
भलादमी सम्म। कमाउ देखि बेरोजगारसम्म। मगन्ते देखि लखपतिसम्म। कलाकारदेखि नाम
चलेका पत्रकारसम्म। थरि थरि का मान्छे आउँछन। आपसमा गफ गर्छन। आपसमा गफ गर्दा
सुनाउँछन आफ्नो आफ्नो राम कहानी। धेरैका धेरै किसिमका कुराहरु, राम कहानीहरु सुन्न
पाइन्छ। म, उनीहरुतिर ध्यान नदिएको जस्तो गर्छु, उनीहरुको कुरा सुन्दा। तर मेरो
ध्यान र कान भने उनीहरु तिर नै हुन्छ, हेराइ अर्कोतिर भए पनि। कतिसँग त दोहरो चिना
जानी छ। कतिलाई म मात्र चिन्छु उनीहरुले मलाई नचिनेता पनि। उनीहरुको कुराकानीबाट
उनीहरु के काम गर्छन्, घरमा को को छ, कसको कस्तो समस्या छ, सब थाहा हुन्छ मलाई। यी
सबै कुराहरुले गर्दा मलाई यो काम अति मन परेको छ। कहिले काहि यहाँ आउने ग्राहकहरु
त मलाइ मेरो परिवार हुन जस्तो लाग्छ र उनीहरुको खुसीमा खुसी उनीहरुको दुखमा दुखी
हुन समेत मन लाग्छ, मलाई।
चिया पसलमा केन्द्रित रहेर सीता दिदीले चलाइ रहेको कुराकानीको क्रमलाई
मैले तोड्न चाहेँ। मैले सन्दर्भँ नै परिवर्तन गर्ने खोजे अनि भने- सीता दिदी, एउटा
कुरा सोध्छु नरिसाउनु होला है त। तपाँईहरु- पति पत्नीको सम्बन्ध यसरी दुध फाटे झै
फाटेको छ। त्यस्तो सुमधुर सम्बन्धलाई फाटेको दुध झै बनाउने को होला जस्तो लाग्छ
तपाँईलाई, मुख्य रुपमा, तपाँई कि तपाँईको श्रीमान?
सीता दिदीले भन्नु भयो ‘गल्ति कस्को भन्ने, मेरो कि वहाँको, खै?
विश्वराज अधिकारी
Published in'Nepal Weekly on Sunday, January 22, 2011
http://www.ekantipur.com/nepal/article/?id=3257
Published in'Nepal Weekly on Sunday, January 22, 2011
http://www.ekantipur.com/nepal/article/?id=3257
No comments:
Post a Comment