समय सुहाउँदो
केही हप्ता पूर्व मात्र गाउँबाट शहर पसेको एक युवकले आग्रह शैलीमा भन्यो ‘दाइ, म बागबजारबाट चढेर यहाँ (कोटेश्वर) सम्म आएको, पैसा कता खस्यो, बस भाडा
दिन असमर्थ छु’।
त्यो युवकको कुरा सुनेपछि अति क्रुद्ध हुँदै कन्डक्टरले व्यङ्ग्यवाणी प्रहार
गर्यो ‘पैसा दिने इच्छा छैन, दस वटा बहाना …………। सोझै, पैसा दिन्न भने भइ हाल्यो नि ………..’।
कन्डक्टरको प्रतिक्रियाबाट आफ्नो बेइज्जती भएको ठानी त्यो युवकले स्पष्टिकरण
पेश गर्यो ‘साँच्चै भनेको दाइ, ममाथि विश्वास
गर्नुहोस, मैले कहिले कसैको एक पैसा खाएको छैन र झूठो पनि बोलेको छैन’।
आफू सज्जन भएको थप प्रमाण पेश गर्न त्यो युवकले फेरि भन्यो ‘हेर्नुहोस, मैले तपाइँको मिनीबसको नम्बर टिपेको छु, आज त भ्याउँदिन तर भोलि
भने जसरी पनि ल्याएर भाडा भुक्तान गरी छाड्छु, कुनै पनि हालतमा बांकी राख्दिन’। यति भनेर त्यो युवक आफ्नो गन्तव्यतिर हतारिँदै लाग्यो।
त्यो मिनीबसको ड्राइभरले पछाडितिर हेर्दै सोध्यो ‘कान्छा, त्यसले भाडा दियो?’
अहँ, दिएन सालेले, भन्छ पैसा हरायो रे’ कन्डक्टरले उत्तर दियो।
ड्राइभर गर्जो ‘उल्लू, मान्छे
हेरेर चढाउनु पर्छ नि’।
कन्डक्टरले स्थितिलाई सामान्य देखाउन भन्यो ‘त्यस्तो त कहिले काहीँ भइनै हाल्छ नि, दाइ। पैसा साँच्चिकै हराएको पनि हुन सक्छ
नि त्यसको’। कन्डक्टरको प्रतिक्रिया सुनेपछि
ड्राइभरले गाडी अगाडि बढायो।
बागबजार बसपार्क पुगेर भाडा दिन असमर्थ त्यो युवकले एक ड्राइभरलाई सोध्यो ‘दाइ ०००१ नम्बरको मिनीबस कतै देख्नुभयो? एकदिन त्यो बस चढ्दा पैसा हराएर भाडा
तिर्न सकेको थिइन, त्यै तिर्न भनी आएको’।
अगाडिको मिनी बसलाई हेर्दै त्यो युवकले फेरि भन्यो ‘हो, ऊ, ठीक त्यस्तै मिनी बस थियो। पैसा दिन नसकेको भोलिपल्ट देखि नै खोज्दैछु।
आज सात दिन भयो खोजेको’।
त्यो युवकले भन्ने क्रम जारी नै राख्यो ‘हुन त दाइ , बिसौ ड्राइभर कन्डक्टरहरुलाई
भेटेर सोधिसकेँ त्यो मिनी बसको बारेमा, कसैले पनि भन्न सकेन। बरु मैले भेटेका
ती बिसौले हाँसेर भने तिमी या त द्वापर युगको धर्मराज युधिष्ठिर हौ या त सत्य
हरिश्चन्द्र। बाबु, यो त कलियुग हो। कलियुग भनेको थाहा छ? भाडा नतिरेर यात्रा
गर्नेहरुको सङ्ख्या यहाँ कम छैन, त्यो पनि यो शहरमा। बाबु भाडा नतिर्नु कुनै ठूलो
अपराध होइन। ठूला-ठूलाले पनि गर्छन यस्तो काम’।
भरखरै भेटेको ड्राइभर हेर्दै त्यो युवकले फेरि भन्यो ‘तर म त कसैको एक पैसा पनि राख्न चाहन्न’।
युवकले लगाएको बेलिबिस्तार सुनेपछि त्यो ड्राइभरले व्यङ्ग गर्यो ‘भरखरै शहर पसे जस्तो छ, गाउँबाट कहिले आएको? धेरै भए जस्तो छैन?’।
ड्राइभरले फेरि भन्यो ‘पाँच रुपैयाँ
बाँकी भाडा तिर्न पाँच सय खर्च नगर। मलाई त भन्यौ –भन्यौ, अरुलाई यो कुरा नभन्नू, सुनेभने पाखे , उल्लू भन्ने छन्’।
त्यो युवक ड्राइभरको कुराबाट प्रभावित भएको पटक्कै देखिएन।
पाँच वर्षपछि
त्यो युवक मिनीबस चढेर यात्रा गरिरहेको थियो, उसले देख्यो आफू चढेको मिनीबस
ठीक त्यही मिनीबस रहेछ। ड्राइभर पनि उही। कन्डक्टर पनि ठीक त्यही , जसलाई भाडा
भुक्तान गर्न बाँकी थियो। बसयात्रा समाप्त गरेर ओर्लने क्रममा त्यो युवकसँग
कन्डक्टरले भाडा माग्यो ‘खोइ ……….कहाँबाट ……..हो ….. भाडा .....?’
कन्डक्टर तिर हेर्दै त्यो युवकले खल्तीभित्र हात हाल्यो अनि भन्यो ‘खोइ दाइ, पैसा त कता हराएछ। भयो अब ……….। के गर्ने लौ? कहाँ-कहाँ जानु थियो ……..’। भाडा नपाउने देखेपछि कन्डक्टरले गाडी अगाडि बढाउन बसमा हिर्काएर ड्राइभरलाई
सङ्केत दियो। मिनी बसबाट ओर्लेर पेटीमा उभिएको त्यो युवक मुसुमुसु हाँस्दै थियो,
पैसा खल्तीमा भएर पनि आफूले भाडा भुक्तान नगरेकोले।
विश्वराज अधिकारी
No comments:
Post a Comment