Thursday, January 19, 2012

Online Shopping-Poverty & Economics-20



अन लाईन खरिद


जसरी कुनै एक फर्मुला प्रयोग गरेर कुनै एक जटिल हिसाब बनाउन सकिन्छ त्यसै गरि कुनै एक खास किसिमको कार्य गरेर वा योजना लागू गरेरे मुलुकको गरिबी निबारण गर्न सकिंदैन। गरिबी निबारणका लागि एकै पटक थुप्रै किसिमका कार्यहरु गर्नु पर्दछ। गरिबी निबारणका लागि गरिने थुप्रै तरिकाहरु मध्ये एक हो बिपन्न जनताले प्रयोग गर्ने सामानहरुको मूल्य कम पार्नु। वस्तु तथा सेवाको खरिद-बिक्रीमा इन्टरनेटको प्रयोग गरेर आम जनताले प्रयोग गर्ने वस्तु तथा  सेवाहरुको मूल्य कम पार्न सकिन्छ।
आम जनताले प्रयोग गर्ने वस्तु तथा सेवाको मूल्य कम पार्नमा इन्टरनेटले पनि ज्यादै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। इन्टर नेटको प्रयोगद्वारा खरिद लागत, विक्री लागत, भण्डार लागत तथा अन्य किसिमका लागतहरु कम पार्न सकिन्छ। अमेरिका, क्यानाडा लगायत थुप्रै धनी अर्थतन्त्र भएका देशहरुमा खरिद-बिक्रीका लागि व्यापक मात्रामा इन्टरनेटको प्रयोग भएको पाइन्छ। अमेरिकामा साना तिना घर घरायसी सामानदेखि कम्प्युटर, इलेक्ट्रोनिक सामान, लुगाफाटो, खेलौना, पुस्तक आदिसम्म खरिद एवं बिक्री गर्नका लागि इन्टरनेटको ठूलो मात्रामा प्रयोग भएको पाइन्छ। खास गरी पुस्तकको खरिद-बिक्रीमा त इन्टरनेटको प्रयोग व्यापक मात्रामा भएको देख्न सकिन्छ। इबे, अमेजन डट कम जस्ता अनलाइन सामानहरु बिक्री गर्ने संस्थाहरुले त पुस्तक लगायत अन्य थुप्रै किसिमका वस्तुहरु बिक्री गर्नमा अमेरिकामा प्रसिद्धि नै कमाएका छन्।
नया र पुराना पुस्तकहरु खरिद-बिक्री गर्न तथा पुस्तक भाडामा लिन-दिन पनि इन्टर नेटको व्यापक मात्रामा प्रयोग भएको पाइन्छ। अनलाइन(Online) पुस्तक खरिद गर्दा क्रेताले पसलसम्म जान नपर्ने, केवल अनलाइन अर्डर गरेर डेबिट वा क्रेडिट कार्डद्वारा पुस्तकको मूल्य अनलाइन नै भुक्तानी गरेर पुस्तक आफ्नो घरमा नै पाउन सक्ने तथा विक्रेताले पनि पुस्तक बिक्री गर्नका लागि पसल नखोले पनि हुने अर्थात घरमा वा अन्य कुनै स्थानबाट बिक्री गर्न सक्ने हुनाले स्वभाविक रुपमा क्रेतालाई क्रय लागत र बिक्रेतालाई बिक्री लागत कम पर्न जान्छ।
धनी देशहरुमा, खास गरी छिटै नाश हुने बाहेक अन्य टिकाउ किसिमका वस्तुहरु बिक्री गर्नका लागि पसल (Store) हरुले नै पनि इन्टर नेटको प्रयोग गर्दछन्। कतिपय अवस्थाहरुमा त पसलमा पुगेर खरिद गर्दा केही महँगो पर्ने र त्यसको ठिक बिपरित अनलाइन खरिद गर्दा सस्तो पर्ने हुन आउँछ।
अन लाइन बिक्री गर्दा बिक्रेतालाई जति सजिलो र कम खर्चिलो हुन्छ त्यतिकै सजिलो र कम खर्चिलो क्रेतालाई पनि हुन्छ। बिक्रेताले सजिलै गरी आफ्नो वेबसाइट (Website) द्वारा विभिन्न वस्तुहरुको प्रदर्शन गरेर, तिनको मूल्य एवं डिस्काउन्ट लगाएत अन्य किसिमका सुबिधाहरुको घोषण ( एक वर्ष वा तोकिएको अवधि भित्रमा सम्पूर्ण रकम भुक्तान गरेमा ब्याज नलाग्ने, क्रेताको घरसम्म सामान पुर्याउन लाग्ने खर्च बिक्रेताले ने बेहोर्ने आदि आदि) गरेर सामानहरु कम बिक्री लागतमा बिक्री गर्न सक्छ भने क्रेताले पनि विभिन्न पसलहरुको वेभसाइटमा हेरेर आफूलाई चाहिने वस्तुको मूल्य अन्य विभिन्न पसलहरुले देखाएका मूल्यहरु बीच तुलना गरेर, जसले सस्तोमा वा क्रेताले खोजेको मूल्यमा बिक्री गर्ने घोषण गरेको छ त्यस पसलबाट खरिद गर्न सक्छ।
इन्टरनेटले महत्वपूर्ण योगदान पुर्याएको अर्को क्षेत्र हो बैकिङ्ग कारोवार। इन्टरनेटले बैकिङ्ग कारोबारलाई अकल्पनीय किसिमले सजिलो पारिदिएको छ। इन्टरनेटको प्रयोगले गर्दा घरमा नै बसेर रकम बैंकमा जम्मा गर्न वा कसैलाई भुक्तानी गर्न सकिने भएको छ भने नगद आफूसँग बोकेर हिँड्नु नपर्ने भएकोले कारोबार पनि उत्तिकै सुरक्षित र सजिलो हुन पुगेको छ। कतिपय अवस्थामा त  व्यक्तिले नगद देख्न नपाएर नै (उसले कतैबाट भुक्तानी पाउने र उसले विभिन्न ठाउँहरुमा खर्च गर्ने) लेनदेन कार्य सम्पन्न हुन पुग्दछ। उदाहरणका लागि कुनै व्यक्तिले जब आफूले कार्य गरेको संगठनबाट पारिश्रमिक पाउँछ, त्यसरी पारिश्रमिक दिने संगठनले उक्त व्यक्तिलाई दिने रकम उक्त व्यक्तिको बैंक खातामा अनलाइन जम्मा गरिदिन्छ। यसरी आफ्नो खातामा पारिश्रमिक जम्मा भए पछि उक्त व्यक्तिले आफूले भुक्तानी दिनु पर्ने विभिन्न पक्षहरुलाई आफ्नो बैंक खाताबाट अनलाइन भुक्तानी गर्दछ। यस प्रकार अनलाइन लेनदेन कार्य गर्दा एकातिर लेनदेनको अभिलेख सजिलैसँग राख्न सकिन्छ भने अर्कोतिर कारोबार लागत ( Transaction cost) कम हुन पुग्छ।

इन्टरनेटको प्रयोग गरेर आफ्नो घरमा नै बसी वा बैंकमा नपुगेरै पनि आफूसँग रहेको चेक आफ्नो बैंक खातामा जम्मा गर्न सकिन्छ। घरमा नै बसेर इन्टरनेटद्वारा चेक बैंकमा जम्मा गर्दा व्यक्तिले आफूसँग रहेको चेकको डिजिटल फोटो खिच्नु पर्दछ र त्यसरी खिचेको चेकको फोटो आफ्नो बैंकलाई इन्टरनेटद्वारा पठाउनु पर्दछ। स्मार्टफोन (मोबाइल वा सेल फोन) हरुमा फोटो खिच्न क्यामरा, इन्टरनेट, जि पि यस आदि जस्ता सुबिधाहरु उपलब्ध गराइएको हुन्छ। सेल फोनको प्रयोगद्वारा व्यक्तिले आफूसँग रहेको चेकको फोटो आफ्नो खाता भएको बैंकलाई पठाउन सक्छ। बैंकले इन्टरनेटद्वारा चेक प्राप्त गरे पछि जसले त्यसरी चेक पठाएको हो उसको खातामा रकम जम्मा गरिदिन्छ। र त्यसरी चेक पठाउने व्यक्तिले अनलाईन आफ्नो बैंक खाता हेरेर आफूले पठाएको चेकबाट आफ्नो खातामा रकम जम्मा भए नभएको थाहा पाउँछ।
हवाई यात्राका लागि गरिने टिकट खरिद कार्यलाई  इन्टरनेटले त झनै सजिलो पारिदिएको छ। आफूलाई कुन एयरलाइन्सको हवाई टिकट चाहिएको हो त्यो एयरलाइन्सबाट घरमा नै बसेर टिकट खरिद गर्न सकिन्छ र टिकट पनि अनलाइन प्राप्त गर्न सकिन्छ। हवाई टिकटको भुक्तानी पनि डेबिट वा क्रेडिट कार्डद्वारा टिकट बिक्री गर्ने एजेन्ट वा सम्बन्धित एयरलाइन्सलाई  घरबाट नै गर्न सकिन्छ। एयरलाइन्सहरुले यसरी हवाई टिकट अनलाइन बिक्री गर्दा बिक्री लागत कम पार्न सक्छन र हवाई टिकटहरु सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराउन सक्छन। एयरलाइन्सहरुले त्यसरी बिक्री लागत जोगाएको हुनाले क्रेताहरुले सस्तोमा हवाई टिकट खरिद गर्ने औसर प्राप्त गर्छन।
यस प्रकार इन्टरनेटको प्रयोगद्वारा बिक्री लागत कम पारेर क्रेताहरुलाई तुलनात्मक रुपमा सस्तोमा वस्तु वा सेवा उपलब्ध गराउन सकिन्छ।  

विश्वराज अधिकारी

No comments:

Post a Comment