Friday, January 13, 2012

Problems in Nigeria - Political or Financial - Article 26


नाइजेरियाको समस्या- आर्थिक कि राजनैतिक?


अफ्रिकी राष्ट्र नाइजेरियाले अहिले दुई किसिमका तर भिन्न भिन्न प्रकृतिका समस्याहरुको सामना गर्नु परि रहेको छ। एउटा आर्थिक समस्या, जुन इन्धनको मूल्य सँग सम्बन्धित छ। सरकारले इन्धनका लागि दिएको अनुदान हटाएको छ। र सरकारको यो कदमबाट इन्धनको मूल्य दोब्बरले बढेको छ। सरकारले इन्धनका लागि दिएको अनुदान हटाउनाले इन्धनको मूल्यमा अत्यधिक वृद्धि भएको छ र जनताले त्यसको व्यापक बिरोध गरि रहेका छन। सरकारको उक्त निर्णयको बिरोधमा भएका प्रदर्शनहरुमा अहिले सम्ममा पन्द्र भन्दा बढी व्यक्तिहरुको ज्यान गई सकेको छ भने सयौंको संख्यामा व्यक्तिहरु घाइते समेत भएका छन।
अर्को राजनैतिक समस्या, जुन सामाजिक सद्भाव सँग सम्बन्धित छ। नाइजेरियाका विभिन्न क्षेत्रहरुमा दुई समुदाय- इस्लाम र क्रिस्चियनहरु बीच भएका झडपहरुमा बीस भन्दा बढी व्यक्तिहरुको ज्यान गइ सकेको छ। १६ करोड ७० लाख (सन् २०११ को अनुमान अनुसार) जन संख्या भएको नाइजेरियामा करीब करीब आधा जन संख्या इस्लाम धर्म मान्नेहरु छन् भन्ने त्यतिकैको संख्यामा क्रिस्चियन धर्म मान्नेहरु छन। कतिपय व्यक्तिहरुको बिचारमा नाइजेरियामा खलबलिएको जातीय सद्बावको कारण धार्मिक नभएर, आर्थिक हो। उनीहरुको बिचारमा देशमा व्याप्त आर्थिक असमानता र गरिबीले गर्दा जनतामा असन्तोष छ र त्यो असन्तोषले जातीय दंगाको रुप लिएको हो। नाइजेरियामा अहिले पनि वहु संख्यक व्यक्तिहरुको दैनिक आम्दानी २ डलर भन्दा कम छ। स्रोत र साधनले व्याप्त नाइजेरिया राजनैतिक अनिश्चितता र भ्रष्टाचारका कारण अपेक्षित किसमले विकास पथमा दौडिन सकि रहेको छैन।
वर्तमानमा भने अपेक्षित किसिमले नाइजेरियाले आर्थिक प्रगति गर्न सकिरहेको छैन र यसका लागि राष्ट्रपति गुडलक जोनाथन र उनको सरकार जिम्मेबार रहेको छ। यस्तो विश्वास गर्नेहरु पनि धेरै छन। उनीहरुको बिचारमा राष्ट्रपति जोनाथनमा अनुभवको कमी छ जसले गर्दा उनले देशमा रहेका विभिन्न शक्ति समूरहरुको बीचमा राम्रो सम्वन्य कायम गरी देशलाई आर्थिक प्रगतिको दिशा तर्फ दौडाउन सकि रहेका छैनन्।
पश्चिम अफ्रिकामा अवस्थित नाइजेरियाको पूर्वमा चाड र क्यामेरुन पर्दछन भने पश्चिममा बेनिन पर्दछ । यसै गरी उत्तरमा नाइजर पर्दछ। मुख्य गरी तीन ठूला जातीय समुदारहरु- हाउसा, लोगो र ओरुबा बसोबास रहेको नाजेरिया जन संख्याको हिसाबले अफ्रिका महादेशको सबै भन्दा ठूलो  देश हो। जन संख्याको हिसाबले नै विश्वको सातौ ठूलो देश पनि हो। मिश्रित अर्थ तन्त्र अंगालेको यो राष्ट्रले वीत्त, संचार, यातायात, स्टोक एक्सचेन्ज आदि जस्ता क्षेत्रहरुमा राम्रो प्रगति गरेको मानिन्छ। नाइजेरिया संयुक्त राज्य अमेरिकाको ठूलो ब्यापारिक साझेदार पनि हो । संयुक्त राज्य अमेरिका सँगको व्यापारमा यसले ब्यापार बचत समेत गरेको छ। संयुक्त राज्य अमेरिकाबाट नाइजेरियाले ठूलो मात्रामा आयात मात्र गर्दैन साथै लगानी पनि उत्तिकै भित्र्याएको छ। नाइजेरियामा सबै भन्दा बढी वैदेशिक लगानी संयुक्त राज्य अमेरिकाको रहेको छ। अन्तरर्ष्ट्रिय मुद्रा कोषको प्रक्षेपण (सन् १९११) अनुसार यो राष्ट्रले ८ प्रतिशतले आर्थिक वृद्धि गर्ने भनिएको छ। साउथ अफ्रिका पछि नाइजेरियालाई अफ्रिकाको दोस्रो ठूलो अर्थ तन्त्र मानिन्छ। आउने वर्षहरुमा यो मुलुकले तिब्र गतिमा आर्थिक विकास गर्ने विश्वास समेत गरिएको छ।
साधन र स्रोतको पर्याप्तता भएता पनि  विगतमा राजनैतिक उथल पुथल, सैनिक शासन, भष्ट्राचार, अदक्ष प्रशासन जस्ता समस्याहरुले गर्दा तिब्र गतिमा आर्थिक प्रगति गर्न नसकेको  नाइजेरियाले अब, प्रजातन्त्रको पुनर्वहाली पछि, तिब्र गतिमा आर्थिक विकास गर्ने अपेक्षा गरिएको छ।
विश्वमा तेल उत्पादन गर्ने ठूला राष्ट्रहरु मध्ये नाइजेरियाको स्थान १२ औ र तेल निर्यात गर्ने राष्ट्रहरु मध्ये ८ औ पर्दछ र यसै गरी विश्वमा बढी तेल भण्डार रहेका राष्ट्रहरुमा यसको स्थान १० औ रहेको छ।
नाइजेरियाले उपलब्ध रहेका थुप्रै स्रोतहरुको अझै व्यापक उपयोग गर्न सकेको छैन। देशमा उपलब्ध रहेका प्राकृतिक गैस, कोइला, बक्साइट, टेन्टालिट, सुन, टिन, फलाम, लाइमस्टोन, नियोबियम, लिड, जिन्क जस्ता खनिज स्रोतहरुको ब्यापक उपयोग गर्ने हो भने नाइजेरियाले तिब्र गतिमा आर्थिक प्रगति गरेर देशमा व्याप्त रहेको गरिबी कम पार्न सक्ने विश्वास गरिएको छ।
नाइजेरियाले ज्यादै प्रगति गरेको अर्को एउटा क्षेत्र पनि छ र त्यो हो फिल्म उद्योग। फिल्म उद्योगबाट यो मुलुकले राम्रो आम्दानी प्राप्त गरि रहेको छ। नाइजेरियामा उत्पादन भएका फिल्महरुले अन्तरार्ष्ट्रिय बजार पाएका छन। खास गरी, अफ्रिकी मुलुकहरुमा र साथै अफ्रिकी आप्रवासीहरु रहेका यूरोपेली मुलुकहरु नाइजेरियाली फिल्महरु निकै लोकप्रिय छन।
देशलाई आर्थिक समृद्धिको दिशा तर्फ डोर्याउने मुख्य अभिभारा भने राजनैतिक नेतृत्वको हो। राजनैतिक नेतृत्व सक्षम र इमान्दार भएमा देशले तिब्र गतिमा आर्थिक प्रगति गर्दछ तर नेताहरु स्वार्थी र शक्ति लोलुप भएमा मुलुकमा साधन र स्रोतहरुको पर्याप्तता भएता पनि राष्ट्रले आर्थिक प्रगति गर्न गार्हो पर्दछ। र त्यसको उदाहरणको रुपमा नेपाललाई पनि लिन सकिन्छ। नेपालको जस्तै स्थिति नाइजेरियामा पनि छ। यो मुलुकले पनि, स्रोत र साधनको पर्याप्तता भएता पनि अपेक्षित मात्रामा प्रगति गर्न सकि रहेको छैन। राजनैतिक नेतृत्व मुलुकलाई आर्थिक समृद्धिको दिशा तर्फ डोर्याउन सक्षम देखिएका छैन। नाइजेरियामा अहिले देखिएका राजनैतिक तथा आर्थिक समस्याहरुलाई कुशलतापूर्व सामाधान गरी देशलाई आर्थिक समृद्धिको दिशातर्फ डोर्याउन राष्ट्रपति गुडलक जोनाथन र उनको सरकार कति सक्षम हुने हो आउने समयहरुले देखाउने छन।
९ लाख २३ हजार ७ सय ६८ वर्ग किलोमिटरमा फैलिएको नाइजेरिया अक्टोबर १, १९६० मा बेलायतको उपनिवेशबाट मुक्त भएको थियो। सन् २०११ को अनुमान अनुसार नाइजेरियाको कुल गार्यहस्थ उत्पादन (PPP), डलरमा, ४१५.१३२ बिलियन र प्रति व्यक्ति आय, डलरमा २,५८९ रहेको उल्लेख गरिएको पाइन्छ।


विश्वराज अधिकारी 

No comments:

Post a Comment