Thursday, January 26, 2012

Standardization-Poverty & Economics-21

स्तरियता

स्तरियता प्रदान गरेर पनि वस्तुलाई सस्तो तुल्याउन सकिन्छ। स्तरियता भनेको वस्तुलाई नाप, तौल, आकार, रंग, सजावट आदिको आधारमा विभाजित गर्नु वा छुट्यानु हो। वस्तुलाई बिक्री गर्नु पूर्व नै आकार, तौल, रंग आदिको आधारमा विभाजित गरिएको छ भने त्यस्तो कार्यले गर्दा छोटो समयमा बढी परिमाणमा बिक्री गरेर बिक्री लागत कम पार्न सकिन्छ र परिणामस्वरुप वस्तु तुलनात्म रुपमा सस्तो हुन पुग्छ। बिक्री गर्न बिक्रेतालाई र खरिद गर्न क्रेतालाई कति समय लाग्छ त्यसबाट पनि वस्तुको मूल्य प्रभावित हुने गर्दछ। समयको पनि मूल्य हुन्छ। उदाहरणका लागि यदि कुनै तरकारी बिक्रेताले बजारमा आलु बिक्री गरिरेहेको छ र उसले खरिद गर्न आउने प्रत्यके व्यक्तिलाई आलु  माग अनुसार तत्काल तौल गरेर दिने गरेको छ भने निश्चय पनि त्यस किसिमको बिक्री कार्यले बढी समय लिन्छ। बिक्रेताले बिक्री गर्न र क्रेताले खरिद गर्न बढी समय खर्च गर्नु पर्ने हुन्छ। तर यस्तो कार्यको ठीक बिपरित यदि बिक्रेताले बिक्री गर्नु पूर्व नै आलुलाई बिभिन्न तौल (क्रेताहरुले माग गर्ने तौल) अनुसारको झोलामा राखेको छ र खरिद गर्न आउनेलाई उनीहरुले माग गरेको तौल अनुसार बिक्री गर्दछ भने यस्तो कार्यले बिक्रेता र क्रेता दुबैलाई फाइदा हुन्छ किनभने खरिद-बिक्रीमा लाग्ने समय बचत हुन पुग्छ।
खरिद र बिक्री गर्न लाग्ने समयलाई कम पारिएको एउटा महत्वपूर्ण उदाहरणको रुपमा संयुक्त राज्य अमेरिका र संसारकै सबै भन्दा ठूलो खुद्रा बिक्री भण्डार वालमार्ट (Wal Mart) लाई लिन सकिन्छ। वालमार्ट संयुक्त राज्य अमेरिकाको एक यस्तो ठूलो खुद्रा भण्डार हो जहाँ दैनिक आवश्यकताका लगभग सम्पूर्ण सामाग्रीहरु एउटै छत (एउटै भवन भित्र) मुनी खरिद गर्न सकिन्छ। वालमार्ट भित्र पसे पछि तरकारी, फलफुल, कपडा, माछा मासु, फर्निचर, बिजुलीका सामान, कम्प्युटर, खाद्य सामाग्री, दहि दुध मख्न, जुत्ता चप्पल, घडी, तयारी गर गहना, विभिन्न औजार, साइकल, पकाउने खाने भाँडा, स्टेस्नरी आदि खरिद गर्न सकिन्छ। मोटर मर्मत गर्नै र गाडीमा इन्धन भर्ने  सुबिधा समेत पिन वालमार्टको क्षेत्रभित्र नै प्राप्त गर्न सकिन्छ। वालमार्टको उद्देश्य नै एउटै छत मुनि दैनिक आवश्यकताका सम्पूर्ण सामाग्रीहरु क्रेताहरुलाई उपलब्ध गराएर उनीहरुको समयको बचत हुने वातावरण सृजना गर्नु रहेको देखिन्छ।  
वालमार्ट अमेरिकाको प्राय: हरेक शहरमा देख्न सकिन्छ। र हरेक शहरमा वालमार्टको भवन एउटै किसिमको हुन्छ। भवन एउटै किसिमको भएकोले केवल भवन हरेर पनि त्यो वालमार्टको भवन हो भन्ने टाढाबाट नै चिन्न सकिन्छ। त्यति मात्र होइन, जुन सुकै शहरको वालमार्ट भएता पनि सामानहरु बिक्रीका लागि व्यवस्थित किसिमले (सजाएर) राख्ने भन्ने कुरामा समानता हुन्छ। उदाहरणका लागि यदि एउटा शहरको वालमार्टमा पस्ने बित्तिकै एक किसिमको सामान राखिएको देखिन्छ भने अर्को शहरको वालमार्टमा पनि पस्ने बित्तिकै त्येही सामान राखिएको देख्न सकिन्छ। यसरी सामान राख्ने कार्यलाई स्तरियता प्रदान गरिएको हुनाले वालमार्ट भित्र पस्ने बित्तिकै खरिद गर्न आइरहने मान्छेलाई कुन सामान कता राखिएको छ भन्ने कुरा थाहा हुन्छ र उसले सजिलैसँग आफूले खरिद गर्न चाहेका सामानहरु कार्टमा राखेर चेक आउट ( पैसा भुक्तान गर्ने काउन्टर) तिर जान सक्छ। यसरी हेरक सामानको एउटा पूर्व निर्धारि ठाउँ भएकोले क्रेतालाई आफूले चाहेको सामान कम समयमा छनौट गरेर खरिद गर्न सजिलो हुन्छ भने बिक्रेताले पनि कम समयमा थुप्रै सामानहरु बिक्री गर्न सक्छ किनभने बिक्रेताले प्रत्येक क्रेतालाई सामान देखाउनु पर्दैन। सामानहरु व्यवस्थित किसिमले राखिएको हुनाले क्रेताहरुले आफैले सामानहरु छनौट गरेर भुक्तानी काउन्टरसम्म ल्याई पुर्याउँछन।
बिक्री कार्यमा लाग्ने समयलाई जति छोटो पार्न सक्यो क्रेता र बिक्रेता दुबैलाई त्यतिकै फाइदा हुन्छ। बिक्रेताको बिक्री लागत कम हुन पुगेकोले उसले वस्तुको मूल्य कम पार्न सक्छ जसले गर्दा क्रेताले सस्तोमा सामान खरिद गर्न पाउने वातावरण सृजना भएर क्रेताले केही सस्तोमा सामान प्राप्त गर्न सक्छ। बिक्रेताले पनि छोटो समयमा धेरै र कम बिक्री लागतमा सामान बिक्री गर्ने औसर पाएकोले उसले थप मनुफा प्राप्त गर्न सक्छ। विभिन्न किसिमका लागतहरु कम पारेर वस्तुको मूल्यलाई सस्तो पार्ने कार्यमा कुशलता प्राप्त गरेको हुनाले वालमार्टले अमेरिकामा सस्तोमा सामान विक्री गर्ने भण्डारको रुपमा प्रसिद्धि पाएको छ।
वस्तु उत्पादन, बितरण, बिक्री जस्ता कार्यलाई स्तरियता प्रदान गरेर वस्तुको मूल्यलाई कम पारी विभिन्न वस्तुहरु सस्तोमा उपभोक्ताहरुलाई उपलब्ध गराउन सकिन्छ। सेवाको क्षेत्रमा पनि स्तरियताको प्रयोग गरेर सेवाको मुल्यलाई कम पारी उपभोक्ताहरुलाई सस्तोमा सेवा उपलब्ध गराउन सकिन्छ। उदाहरणको रुपमा, सैलुनहरुले साधारण कैची प्रयोग गर्नुको साटो स्वचालित कैची (मेसिन) प्रयोग गरेर कपाल काट्न लाग्ने समयलाई छोट्याएर सस्तोमा सैलुन सेवा उपलब्ध गराउन सक्छन। स्वचालित कैचीमा कति छोटो कपाल काट्ने भनी एटजस्ट गर्न सकिने भएकोले कपाल काट्ने व्यक्तिले ग्राहकको अनुरोध अनुसारको लामो छोटो कपाल काटी दिन सक्छ। यसरी  कपाल काट्ने कार्यलाई (लामो छोटोको आधारमा) स्तरियता प्रदान गरेर कपाल काट्ने व्यक्तिले कम समयमा धेरै जनाको कपाल काटेर थप आम्दानी प्राप्त गर्न सक्छ। स्तरियताले गर्दा कपाल काट्ने व्यक्तिको कम समय लागेकोले उसले तुलनात्मक रुपमा केही सस्तोमा ग्राहकलाई कपाल काट्ने सेवा उपलब्ध गराउन सक्छ। र यसबाट उपभोक्तालाई फाइदा पुग्न जान्छ।
स्तरियताको प्रयोग गरेर पनि वस्तुको उत्पादन एवं विक्री लागत कम पारी उपभोक्ताहरुलाई सस्तोमा वस्तु एवं सेवा उपलब्ध गराउन सकिन्छ। विकसित मुलुकहरुले आवश्यक हरेक क्षेत्रमा स्तरियताको प्रयोग गरेको पाइन्छ। विकसित मुलुकहरुमा, यहाँ सम्म कि, रेष्टुरेन्टहरुमा पनि स्तरियताको प्रगोग गरिएको हुन्छ। चैन रेष्टुरेन्टहरु हो भने एउटा शहरमा रहेको रेष्टुरेन्ट (भवन) मा जुन रंग र सजावटको प्रयोग गरिएको छ अर्को शहरमा रहेको रेष्टुरेन्टमा पनि त्यसै किसिमको रंग र सजाबट प्रयोग गरिएको हुन्छ र उपलब्ध गराइने खाद्य साम्राग्रीहरु पनि लगभग एकै किसिमका हुन्छन, जसले गर्दा त्यस किसिमको रेष्टुरेन्ट खोज्ने र सामाग्री रोज्ने कार्यमा अलमल नभई ग्राहकको समय बचत हुन पुग्छ। अहिले व्यस्त समयमा समय पनि पैसा सरह नै हो। समयको बचत हुनु पनि आम्दानी नै हो।

विश्वराज अधिकारी

No comments:

Post a Comment