लागत
उत्पादन र बिक्री लागतले पनि क्रेताको क्रयशक्तिमा महत्वपूर्ण प्रभाव पार्ने गर्दछन्। उत्पादन र बिक्री लागतलाई कम पारेर बजारमा वस्तु तथा सेवा उपलब्ध गराउने हो भने थुप्रै गरिब जनताहरुको पहुँचसम्म धेरै वस्तु तथा सेवाहरुलाई पुर्याउन सकिन्छ। उत्पादन र बिक्री लागत कम पार्न नसकिएको कारणले पनि अनेकौ गरिब नेपाली परिवारहरुले महँगोमा सामानहरु खरिद गर्नु परेको छ। उत्पादन र बिक्री लागत वृद्धि हुँदा यिनले उपभोक्ताहरुलाई मात्र समस्या उत्पन्न गराउँदैनन् साथै उत्पादक र बिक्रेतालाई पनि समस्या उत्पन्न गराउँछन किनभने उत्पादन र बिक्री लागत चर्को हुनासाथ वस्तु तथा सेवाको बिक्री मूल्य वृद्धि हुन पुग्छ र त्यस्ता वस्तु तथा सेवाहरु उपभोक्ताहरुले खरिद गर्न कम गर्छन जसले गर्दा बिक्री कम हुन गई उत्पादक र बिक्रेता दुवैको मुनाफ प्रभावित हुन पुग्छ। अर्थात उनीहरुको बिक्रीमा ह्रास आएर मुनाफामा पनि ह्रास आउँछ। त्यसकारण चर्को उत्पादन लागत सामान्य गरिब जनताको हितमा त छैन छैन, यो उत्पादक, बिक्रेता वा व्यापारीहरुको हितमा पनि छैन।
तर प्रश्न उठ्छ उत्पादन एवं विक्री लागतलाई कम कसरी पार्ने त? उत्पादन तथा बिक्री लागत कम पार्ने अनेक उपायहरु छन्। ती उपायहरुको प्रयोग गरेर उत्पादन एवं बिक्री लागत घटाउन सकिन्छ।
विकसित मुलुकका खुद्रा भण्डारहरुले आफूले बिक्री गर्ने सामानहरुको मूल्य सस्तो पार्न प्राय: प्रत्यक्ष रुपमा उत्पादकसँग खरिद गर्छन। आफूले बिक्री गर्ने सामान खरिद गर्नका लागि विभिन्न मध्यस्थहरु, जस्तै थोक बिक्रेता, डिलर आदिको प्रयोग गर्दैनन्। यसै गरी, खुद्रा भण्डार वा बिक्रेताहरुले गोदाममा धेरै दिनका लागि बिक्री गर्ने पुग्ने किसिमबाट सामान पनि राख्दैन जसले गर्दा इनभेन्ट्री लागत (Inventory cost) कम हुन पुग्छ। कतिपय खुद्रा भण्डारहरुले संगठन भित्र यस्तो संचार व्यवस्था स्थापना गरेका हुन्छन जसले गर्दा उनीहरुले क्रतालाई सामान बिक्री गर्ने बितिक्कै त्यसको जानकारी उत्पादकले पाउँछ। उत्पादकले आफ्नो सामान त्यो खुद्रा भण्डारबाट बिक्री भएको थाहा पाउन साथ त्यतिकै बराबरको सामान खुद्रा भण्डारलाई आपूर्ति गर्नका लागि तयार पारेर राख्छ। अर्थात उत्पादकले खुद्रा भण्डारको प्रत्येक दिनको बिक्री परिणाम अनुसार आफ्नो उत्पादन तालिका बनाउँछ। त्यतिकै अनुमानको भरमा बस्तु उत्पादन गरेर गोदाममा थुपारेर राख्दैन। र गोदाममा आवश्यक मात्रामा मात्र वस्तु राखेर गोदाम लागतलाई कम पार्दै वस्तुको मूल्य सस्तो पार्ने प्रयास गर्दछ।
विकसित मुलुकका खुद्रा भण्डारहरुमा कैसिएर (cashier) वा बिक्रय कर्मचारीहरुलाई क्यास रजिष्टर (cash register) दिइएको हुन्छ, बिक्री कार्य सम्पन्न गर्नका लागि। जब क्रेताहरु सामान खरिद गरेर त्यसको मूल्य भुक्तान गर्न बिक्रय कर्मचारी समक्ष आउँछन, बिक्रय कर्मचारीहरुले बस्तुमा अंकित गरिएको मूल्य क्यास रजिष्टरबाट सक्यान गरेर थाहा पाउँछ र क्रेताले खरिद गरेका सम्पूर्ण वस्तुहरुको मूल्य क्यास रजिष्टरबाट नै जोडेर भुक्तानीका लागि आग्रह गर्दछ। एउटा क्रेताले (अनेक किसिमको) चालिस पचास वटा सामान खरिद गरेको भएता पनि तिनको मूल्यको हिसाब छोटो समय (पन्द्र या बिस मिनट) मा नै गरेर बिक्रय कर्मचारीले बिक्री कार्य सम्पन्न गर्दछ। यसरी क्यास रजिष्टरको माध्यमबाट एकातिर बिक्री लागत कम पार्न सकिन्छ भने अर्कोतिर सयौं ग्राहकलाई हजारौ किसिमका सामानहरु छोटो समयमा बिक्री गर्न सकिन्छ। त्यति मात्र होइन, जब बिक्रय कर्मचारीले क्रेताले खरिद गरेको सामानको मूल्य प्राप्त गर्न उक्त सामानलाई क्यास रजिष्टरमा सक्यान गर्दछ, तब क्यास रजिष्टरले सो समानको मूल्य यति हो, यति पैसा क्रेतासंग लिनु पर्ने हो भन्ने कुराको जानकारी मात्र दिँदैन, साथै त्यो सामानको उत्पादकलाई समेत तिम्रो यो सामान यो परिणामा बिक्री भयो भन्ने जानकारी बिक्री हुनासाथ दिन्छ (यदि त्यस्तो व्यवस्था गरिएको छ भने) जसले गर्दा उत्पादकलाई सोही परिणाम (बिक्री भएको) मा बस्तु उत्पादन गरेर आपूर्तिका लागि तयार पार्न सजिलो हुन्छ।
क्यास रजिष्टरले खुद्रा भण्डारबाट बिक्री हुनासाथ त्यसको जानकारी उत्पादकलाई दिने कार्य मात्र गर्दैन साथै विभिन्न किसिमका तथ्यांक राख्ने कार्य पनि गर्दछ। क्यास रजिष्टरले एक दिनमा कुन कुन सामान कति कति परिमाणमा, कुन मूल्यमा, क-कसलाई (यदि क्रेडिट कार्डले खरिद गरिएको छ भने त्यसको नम्बरको आधारमा) बिक्री गरिएको र क्रेताहरु कुन कुन क्षेत्रका थिए, महिनामा कति पटक खरिद गर्न आए, खास गरी कुन सामान बढी मात्रामा खरिद गरे जस्ता कुराहरुको पनि तथ्यांक राख्दछ। यस्ता तथ्यांकहरुले बिक्री कार्य प्रभावकारी बनाउने र साथै बिक्री लागत कम पार्ने कार्य पनि गर्दछन्।
नेपालमा पनि बिक्री एवं उत्पादन लागत कम पार्न अनेक किसिमका तरिकाहरुको अबलम्बन गर्न सकिन्छ। उत्पादन र बिक्रय लागत कम पार्ने सन्दर्भमा बीरगंजको मिना बजारमा बिक्री गरिने तरकारीलाई एउटा छोटो उदाहरणको रुपमा लिएर हेर्न सकिन्छ। यदि बीरगंजका तरकारी बिक्रेताहरु, जो स्वयं उत्पादक हुन, उनीहरुले आफ्नो उत्पादन स्थल ( खेत वा बारी) बाट नै तरकारी बिक्री गर्ने हो भने तरकारीका उत्पादकहरुले बिक्री लागत कम पारेर सस्तोमा उपभोक्ताहरुलाई तरकारी उपलब्ध गराउन सक्छन। यसरी, तरकारी उत्पादन स्थलबाट नै बिक्री गर्ने हो भने त्यसलाई बजारसम्म ल्याउनु पर्दन भने अर्कोतिर गोदाममा राख्दा कुहिएला भन्ने डर पनि हुँदैन। क्रेताहरु तरकारी खरिद गर्न उत्पादन स्थलसम्म नै पुग्ने हुनाले उनीहरुले ताजा तरकारी खरिद गर्न पाउँछन। बिक्रेताहरुले पनि माग अनुसार बारी वा खेतबाट (टिपेर वा झिकेर) नै तरकारीको आपूर्ति गर्न सक्छन। यस कार्यबाट क्रेताहरु दुई भागमा बिभाजित हुन पुग्छन। त्यो कसरी भने, जोसँग राम्रो आम्दानी छ तर फुर्सतको समयको अभाव छ भने त्यस्तो व्यक्ति बजारमा पुग्छ, तरकारी खरिद गर्नका लागि। तर जोसंग राम्रो आम्दानी छैन र फुर्सतमा पनि छ भने त्यस्तो व्यक्ति तरकारी खरिद गर्न तरकारी उत्पादकको खेत वा बारीसम्म पुग्छ र सस्तोमा खरिद गर्छ। तर उत्पादकले पनि खेत वा बारीसम्म आएर खरिद गर्ने क्रेताहरुलाई सस्तोमा तरकारी उपलब्ध गराउनु पर्दछ। यी उत्पादकहरुले यो मूल्यमा आफ्नो खेत वा बारीबाट यस्ता तरकारीहरु बिक्री गरिरहेका छन भन्ने कुराको जानकारी स्थानीय एफ एम रेडियो स्टेसनहरुले दिएमा क्रेताहरुले सजिलै थाहा पाउँछन, कहाँ के के तरकारी कुन मूल्या बिक्री भइरहेको छ भन्ने कुरा । शुरुको अवस्थाम रेडियोहरुले निशुल्क विज्ञापन गरेर उत्पादकहरुलाई सहयोग गर्नु पर्दछ। यस्तो किसिमको विज्ञापन प्रभावकारी भइ उत्पादकहरुको सामाग्री बढी बिक्री हुन थाले पछि स्वेच्छाले नै उत्पादकहरु पैसा तिरेर विज्ञापन गराउन थाल्छन जसले गर्दा रेडियो स्टेशनहरुको पनि आम्दानीमा वृद्धि हुन पुग्छ। रेडियो स्टेशनहरुले पनि यस्ता कुराहरु, जसले गरिब जनताको आर्थिक स्तर माथि उकास्नमा मदत पुर्याउछ, लाई महत्व दिनु पर्दछ नेताहरुको आर्थिक रुपमा अनुत्पादक भाषण वा वक्तव्यहरु प्रशारण गर्नु भन्दा। मुलुकलाई अहिले गरिबीबाट उन्मुक्ति दिने उपायहरु चाहिएको छ, नेताहरुको अनुत्पादक भाषणहरु भन्दा।
झिना मसिना यस्ता कुराहरु जुन सुन्दा महत्वपूर्ण लाग्दैनन तर तिनीहरुले मुलुकको गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन। अहिले विकसित कहलिएका मुलुकहरुले यस्ता झिना मसिना कुराहरुमा ध्यान दिएर नै आर्थिक समृद्धिका सिखर चुम्न सफल भएका हुन। अर्थ तन्त्रका ठूला ठूला, लामा लामा सिद्धान्तहरु भन्दा यी नै झिना मसिना कुराहरुले महत्व राख्छन आर्थिक विकासको प्रार्म्भिक चरणमा।
विश्वराज अधिकारी
No comments:
Post a Comment