Friday, January 12, 2024

Meaning and Importance of Clean Economy-Article-437

 सफा अर्थ व्यवस्था के हो र किन आवश्यक छ?

यो देश त्यो देश भनेर हामी बाँडिए तापनि र यो मेरो देश, त्यो तिम्रो देश भनेर हामी विभाजित भए तापनि हामीमाथिको आकाश एउटै छ। पृथ्वी एउटै छ। विश्व–वातावरण एउटै छ।

यो पृथ्वीको उपभोग र रक्षा गर्ने सन्दर्भमा हामी सबै एउटै हौं। हामीबीच कुनै पनि किसिमको विभाजन छैन। यस पृथ्वीको रक्षाप्रति सबैको दायित्व समान छ।

जुनसुकै देश र जहाँबाट पनि हामीले गर्ने क्रियाकलापले सम्पूर्ण पृथ्वीलाई प्रभावित गर्छ। सम्पूर्ण विश्व–वातावरणलाई प्रभावित गर्छ। तर यो कुराको बोध भने बल्ल अहिले आएर भएको छ। जनस्तरमा होइन, केवल सरकारस्तरमा बोध भएको छ। तर यस्तो बेला बोध भएको छ, जब स्थिति चिन्ताजनक अवस्थामा पुगेको छस सङ्कटको नजीक पुगेको छ।

यदि हामीले परम्परागत ऊर्जा (Fossil Fuel– petroleum products, coal, natural gas) प्रयोग गरि नै रहने होस छिटै धनी हुन अनेक देशले परम्परागत ऊर्जा ठूलो परिमाणमा प्रयोग गरि नै रहने हो भने अनेक किसिमका प्राकृतिक समस्या उत्पन्न भएर यो पृथ्वीमा प्राणी बस्न सक्ने अवस्था लोप हुनेछ। पृथ्वीकै पनि विनाश हुनेछ। मानव सभ्यता समाप्त हुनेछ। विज्ञहरू यस्तै भविष्यवाणी गर्देछन्। हाम्रो पौराणिक कथाहरूले भन्ने ‘प्रलय’ यही हुनेछ। पाकिस्तानमा हालै आएको बाढी, क्यालिफोर्नियाको जङ्गलमा लागेको आगो, क्यानाडाको जङ्गलमा लागेको आगो, मावी (हवाई) को आगलागी, यस्ता अनेक प्राकृतिक विपद्हरू पृथ्वीको तापक्रम बढ्नुसँग जोडिएका छन्। अर्थात् पृथ्वी अत्यधिक तातेर त्यस्तो भएको हो।

जब सन् १९४० देखि पृथ्वीको ताप मापन गर्न थालियो त्यस बेलादेखि अहिले (सन् २०२४) सम्म, सन् २०२३ को वर्ष सर्वाधिक तातो हुन पुगेको पाइयो। एक सय वर्ष पहिले पृथ्वी जति तातेको थियो त्यसको तुलनामा अहिले पृथ्वी अति नै तातेको पाइयो। सन् २०२३ को मेदेखि डिसेम्बरसम्मको अवधि–दुई सय दिन पृथ्वी अति तातेको मापन गरिएको छ। यसरी पृथ्वी तात्ने क्रम बढ्नु राम्रो होइन। यसमा नियन्त्रण अति आवश्यक छ। हामीले अहिले प्रयोग गर्ने ऊर्जा, परम्परागत ऊर्जाको विसर्जनले यो पृथ्वी अभूतपूर्व किसिमले तातिरहेको छ।

पृथ्वीको तापक्रम बढ्नु अब कुनै एक देशको मात्र चिन्ता रहेन। यो हरेक देशको चिन्ता हुन पुगेको छ। यो पृथ्वीमा बस्ने हरेक व्यक्तिको चिन्ता हुन पुगेको छ।

परम्परागत ऊर्जाको खपत कुनै पनि देशमा, सर्वाधिक बढी त्यस देशको अर्थ व्यवस्थाले गर्दछ। उद्योग र व्यापारमा सर्वाधिक ऊर्जा खपत हुन्छ। अहिले विश्व अर्थ व्यवस्था ऊर्जामैं आश्रित हुन पुगेको छ। विश्व अर्थ व्यवस्थालई ऊर्जाले गति दिएको छ। ऊर्जको प्रयोग नहुने हो भने कुनै पनि देशको अर्थ व्यवस्था रोकिन पुग्छ। अर्कोतिर सबै देशले प्रयोग गर्ने ऊर्जा भने, मुख्यरूपमा, एउटै छ। सबै देशले अहिले ठूलो परिमाणमा परम्परागत ऊर्जा, त्यसमा पनि बढी, जीव–अवशेष ऊर्जा (Fossil Fuel) प्रयोग गरिरहेका छन्। अनि परम्परागत ऊर्जाको अति प्रयोगले हाम्रो साझा पृथ्वीलाई तताइरहेको छ।

पृथ्वीको तापक्रम बढ्न नदिन र मानव सभ्यता जोगाउन हामीले हाम्रो वा प्रत्येक देशको अर्थ व्यवस्थाको प्रकृतिमा नै परिवर्तन गर्नुपर्ने स्थिति उत्पन्न भएको छ। परम्परागत ऊर्जामा आश्रित रहेको राष्ट्रिय एवं विश्व अर्थ व्यवस्थालाई अब सफा अर्थ व्यवस्थामा रूपान्तरित गर्नुपर्ने भएको छ। अर्थ व्यवस्थालाई ‘सफा अर्थ व्यवस्था’ मा रूपान्तरण गर्न अब ढिलो गर्नुहुँदैन। यस्तो किसिमको माग अब चारैतिरबाट उठ्न थालेको छ।

सफा अर्थ व्यवस्था भनेको के हो?

कुनै पनि (देशको) अर्थ व्यवस्थाले केवल सफा ऊर्जा प्रयोग गर्नु सफा अर्थ व्यवस्था हो। परम्परागत ऊर्जाको स्थानमा पुनःनवीकरणीय ऊर्जा प्रयोग गर्नु सफा अर्थ व्यवस्था हो। सफा अर्थ व्यवस्थाको अवधारणले वायु ऊर्जा, सौर्य ऊर्जा, जैव ऊर्जा, जलविद्युत्जस्ता पुनःनवीकरणीय ऊर्जाको उत्पादन र प्रयोगमा जोड दिन्छ। अर्को शब्दमा भन्दा सफा अर्थ व्यवस्थाले पृथ्वीको अस्तित्व रक्षालमा जोड दिन्छ। वायु ऊर्जा, सौर्य ऊर्जा, जैव ऊर्जा, जलविद्युत् आदि सफा ऊर्जा हुन्। यिनको प्रयोगले परम्परागत ऊर्जाले जस्तो पृथ्वी तात्दैन।

सन् २०५० सम्म विश्व अर्थ व्यवस्थालाई परम्परागत ऊर्जा अर्थ व्यवस्थाबाट सफा अर्थ व्यवस्थमा रूपान्तरण गर्न विश्वभरिबाट माग गरिएको छ। कतिपय देशले सन् २०५० सम्म आफूलाई सफा अर्थ व्यवस्थामा रूपान्तरित गर्ने भनी राष्ट्रिय नीति नै बनाइसकेका छन्। जर्मनी, फ्रान्स आदिले सन् २०५० सम्म परम्परागत ऊर्जाको प्रयोग बन्द गर्ने भनी घोषणासमेत पनि गरिसकेका छन्।

के सफा अर्थ व्यवस्थामा रूपान्तरित हुन सम्भव छ?

सम्भव पनि छ र असम्भव पनि छ। सम्भव यस कारणले छ कि पृथ्वीलाई अति तात्नबाट जोगाउनुको विकल्प छैन। हामीले परम्परागत ऊर्जाको प्रयोग यसरी नै गरिरहने हो, विकल्पको खोजी नगर्ने हो भने पृथ्वी तातेर यो पृथ्वीबाट मानव सभ्यता नै समाप्त हुन पुग्छ। यस कारणले अब सबै राष्ट्रले सफा अर्थ व्यवस्थमा रूपान्तरित हुने विषयलाई महत्व दिनेछन् र दिनु पनि पर्छ।

असम्भव यस हुनाले छ कि छोटो अवधिमा यो गर्न सकिंदैन। यसका लगि लामो अवधि चाहिन्छ। त्यसकारण छोटो अवधिमा सफा अर्थ व्यवस्थामा रूपान्तरित हुन सम्भव छैन, लामो अवधिमा भने सम्भव छ। इराक, इरान, साउदी अरेबिया, रूस, युनाइटेड अरब इमिरेट्स यस्ता राष्ट्रहरू हुन् जसको अर्थ व्यवस्था परम्परागत ऊर्जा उत्पादन र बिक्रीमा निर्भर छ। साउदी अरेबियाले पेट्रोलियम पदार्थ उत्पादन बन्द गर्ने हो भने त्यस देशको अर्थ व्यवस्थामा नै ढल्न सक्छ। परम्परागत ऊर्जामा आश्रित रहेका देशहरूलाई सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन वर्षौ लाग्न सक्छ। यो कारणले गर्दा पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन सजिलो छैन।

चीन, भारतजस्ता नव धनाढ्य देशहरूको अर्थ व्यवस्था पूर्णरूपमा परम्परागत ऊर्जको प्रयोगमा निर्भर रहेको छ। परम्परागत ऊर्जाको प्रयोगले नै यी राष्ट्रहरूलाई छोटो समयमा धनी हुन सघाएको हो। चीन र भारतले धनी हुने सुरमा आफ्ना अनेक शहरलाई अति प्रदूषितसमेत पारेका छन्। सन् २०२३ को तथ्याङ्क अनुसार भारतको दिल्ली, कोलकाता तथा मुम्बई र चीनको शेयाङ र हाङजु विश्वका दस अति प्रदूषित शहरमध्ये पर्न पुगेका छन्। चीन, भारत जस्ता नवधनाढ्य हुन खोज्ने राष्ट्रहरूलाई पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन केही समय लाग्नेछ। अर्कोतिर यिनीहरूले प्रयोग गर्ने ऊर्जाको विसर्जनबाट पृथ्वी झन्झन् तातिरहेको छ।

विकासशील राष्ट्रहरूलाई पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन समय लाग्नेछ। हुन पनि सफा अर्थ व्यवस्थामा रूपान्तरित हुन सजिलो छैन। इन्डोनेशिया, ब्रजील, दक्षिण अफ्रिका आदिले पनि सफा अर्थ व्यवस्थमा रूपान्तरित हुन समस्या बेहोर्नुपर्नेछ।

स्थिति अर्कोतर्फ यस्तो छ कि सफा अर्थ व्यवस्थामा हरेक देशले आफूलाई रूपान्तरित गर्नु अनिवार्य छ। पृथ्वी तात्नु अब कुनै एउटा देशको समस्या नभएर विश्वभरिका राष्ट्रहरूको साझा समस्या हुन पुगेको छ। कुनै पनि देश सफा अर्थ व्यवस्थामा रूपान्तरित हुनुको विकल्प छैन। ढिलो वा चFँडो रूपान्तरित हुनु नै पर्छ।

धर्ती माताले भन्दैछिन्–“तिमीहरूको धनी र सुविधासम्पन्न हुने सपना र क्रियाकलापले मलाई अति तातो पारेर मेरो अस्तित्व नै समाप्त हुने स्थितिमा पु-यायो। तर याद राख, मेरो अस्तित्व समाप्त भएमा तिमीहरूको अस्तित्व पनि समाप्त हुनेछ ।” पृथ्वीलाई अति तात्नबाट जोगाउनु अब प्रत्येक विश्व– नागरिकको कर्तव्य हुन पुगेको छ।

विश्वराज अधिकारी

akoutilya@gmail.com

प्रतीक दैनिकमा प्रकाशित: Friday, January 12, 2024

https://eprateekdaily.com/2024/01/11/61143/

 

No comments:

Post a Comment