Wednesday, January 10, 2024

Terrifying Postmodernism Part 21

 

उत्तर आधुनिक युगको त्रासदी

२१

समाजमा अति जातिवादी सोंच

यो उत्तर आधुनिक युगमा जातीवादको नेता, कार्यकर्ता र जनता समेतबाट पनि विरोधीहरूको सफाया गर्न एक बलियो हतियारको रुपमा  अति प्रयोग हुनेछ। साथै यसको ठूलो मात्रमा राजनीतिक क्षेत्रमा दुरुपयोग पनि हुनेछ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने त अहिले जातीको आधारमा अनेक संगठनहरूको निर्माण नै भएका छन्। नेपालमा भएको २०४६ सालको आन्दोलनले त जातीवादलाई निकै प्रश्रय नै दियो। परिणाम स्वरूप अनेक जातीय संगठनको पनि स्थापना भयो। पुष्पकमल दहालको नेतृत्वमा भएको अति रक्तपातपूर्ण संघर्ष, जसलाई ‘माओवादी जनयुद्ध’ को संज्ञा दिइएको थियो र जुन २०५२ देखि २०६३ सालसम्म चल्यो, ले जातीवादी नारालाई सामाजिक मान्यता नै दियो। माओवादी संघर्षले नेपालीहरूलाई जातीको आधारमा विभाजित हुन प्रेरित गर्यो। जातीको नामको आधारमा प्रदेशको नाम राख्ने समेत आह्वान गर्यो। उत्प्रेरित समेत गर्यो। नेपालमा पहिलो पटक कुनै राजनीतिक संगठन वा नेता (पुष्पकमल दाहाल) ले जातीवादको नारा दिएर समाज विभाजित गरेको र सरकार कमजोर पारेको, र यस्ता काम गरेर शक्ति र सत्तामा पुगेको पहिलो उदाहरण थियो, त्यो। जातीयताको नारा चर्काएर पुष्पकमल दाहाल शक्तिमा पुगेक थिए, प्रधान मन्त्री भएका थिए, आफ्नो दलको अध्यक्ष भएका थिए, आफ्नो दलको नेतृत्वमा सरकार समेत बनाएका थिए। दाहाल अहिले पनि, ३४ वर्षदेखि आफ्नो दलको प्रमुख हुँदै आएका छन्।

जातीवादको कुरा गर्दा जति पटक पनि उदाहरण दिन सकिने घटना हो रवान्डाको जातीय नरसंहार। सन् १९९४ मा भएको उक्त जातीय सफाया केवल सय दिन जति (अप्रिल ७ देखि जुलाई १५) चलेको थियो तर केवल १०० दिन जति मात्र चलेको त्यो जातीय सफायाले करिब ८ लाख ब्यक्तिहरूको ज्यान निर्मम तरिकाले लिएको थियो। दुई जातीय समूह हुटु र टुट्सी बिच भएको त्यो जातीय सफायामा हुटु समूहले टुट्टसी समूहका ८ लाख ब्यक्तिहरूको हत्या गरेको थियो। हुटुहरूले करिब ५ लाख टुट्टसी महिलाहरूको सार्वजनिक किसिमले बलत्कार गरेका थिए। बलत्कार पछि हत्या गरेका थिए। आधुनिक इतिहासमा रवान्डाको जातीय नरसंहारलाई ठूला ठूला नरसंहार मध्ये एक तथा अति भयानक किसिमको मानिन्छ। थोरै समयामा धरै व्यक्तिहरूको हत्या भएको हिसाबले हेर्ने हो भने यो पहिलो ठूलो नरसंहार हुनु पर्छ।

अहिले त्येही हुटु र टुट्सी समूह देश भित्र मिलेर बसेका छन्। रवान्डामा कुनै झगडा छैन। हत्या, हिंसा छैन। तर विगतमा किन भयो हत्या हिंसा? किनभने विगतमा केही स्वार्थी व्यक्ति वा नेताहरूले आफ्नो राजनीतिक स्वार्थका लगि एउट जातीय समूहलाई अर्को जातीय समूहका सदस्यहरूको हत्या गर्न उकासेका थिए। जातीयताको नाममा जनता केही ब्यक्तिहरू स्वार्थ पूर्तिका लागि उपयोग भएका थिए।

विगतमा पनि अत्यधिक ठूला ठूला र डरलाग्दा एवं अति हिंसक जातीय नरसंहारहरू भएका छन्। ती मध्ये केही यसप्रकार छन्।

इण्डोनेसियामा भएको नरसंहार

सन् १९६५ देखि १९६६ सम्म इण्डोनेसियामा भएको नरसंहारमा करिब १२ लाख ब्यक्तिहरूको हत्या भएको थियो। कम्युनिष्ट समर्थकहरूलाई खोजेर हत्या गरिएको त्यो नरसंहारमा गरवानी महिला, ट्रेड युनियनका सदस्यहरू, जाभाका मुस्लिम समुदायका सदस्यहरू, जातीय चिनियाहरूको हत्या भएको थियो।

बङ्गलादेश नरसंहार

बङ्गलादेश पाकिस्तानबाट छुट्टिनु पूर्व विश्व मानचित्रमा पूर्वी पाकिस्तानको नामले परिचित थियो। त्यसबेला हालको पाकिस्तानलाई पश्चिमी पाकिस्तान र हालको बङ्लादेशलाई पूर्वी पाकिस्तान भन्ने गरिन्थ्यो।

उहिलेको पूर्वी पाकिस्तान र अहिलेको पाकिस्तान वा उहिलेको पश्चिमी पाकिस्तान र अहिलेको बङ्गलादेश बिचमा भएको युद्दमा ठूलो जातीय नरसंहार भएको थियो। उक्त युद्धमा पाकिस्तानी शेनाले गरेको जातीय सफायामा ३ लाख पूर्वी पाकिस्तानी वा हालको बङ्गलादेशका नागरिकहरू अथवा बङ्गालीहरूको ज्यान गएको थियो। केही ले ३० लाखको ज्यान गएको पनि भन्ने गरेका छन। जातीय सफाया गर्ने उद्देश्यका साथ अहिलेको बङ्लादेश भित्र प्रवेश गरेका पाकिस्तानी सेनाहरूले क्रूर एवं पासविक किसिमले बङ्गलादेशीहरूको हत्या गरेका थिए। पाकिस्तानी शेना एवं बङ्गलादेश भित्र रहेका पाकिस्तानी समर्थकहरूले हत्या मात्र होइन बङ्गलादेशी महिलाहरूको बलत्कार समेत गरेका थिए। ४ लाख बङ्गलादेशी महिलाहरूको बलत्कार गरेका थिए। पाकिस्तानी शेनाहरूले कतिपिय महिलाको स्तन काटेका थिए भने कतिपय महिलाको गुप्तांगमा बन्दुको संगिनी रोपेका थिए। २५ मार्च १९७१ देखि १६ डिसेम्बर १९७१ सम्म, आठ महिना, दुई हप्ता ६ दिन चलेको तो जातीय सफायाबाट जोगिन हजारौंको संख्यामा बङ्गलादेशीहरू शरणार्थी भएर नेपाल पनि आएका थिए।

तत्कालीन पाकिस्तानको अधिनमा रहेको पूर्वी पाकिस्तान, पछि बङ्गलादेश कहलियो, ले पाकिस्तानबाट स्वतन्त्र हुन ठूलो संघर्ष गरेको थियो। त्यो स्वतनत्रता संघर्ष दबाउन पाकिस्तानको सेना हालको बङ्लादेश भित्र प्रवेश गरेको थियो। पाकिस्तानी सेनाले तत्कालीन पाकिस्तानी सरकार प्रमुखको आदेशमा जातीय सफाया गरेको थियो।

कम्बोडिया नरसंहार

कम्बोडिया नरसंहारमा खमेरुजहरूले २० लाख मानिसहरूको हत्या गरेका थिए। हत्या गरिएकामा चाइनिज कम्बोडियन, भियतनामी कम्बोडियन, क्रस्चियन कम्बोडियन, मुस्लिम कम्बोडियन, बौद्ध धर्माबलम्बी कम्बोडियन, एवं कम्बोडियन बुद्धिजीविहरू थिए। त्यसबेला ‘कम्पुचिया कम्युनिष्ट पार्टी’ का सदस्यहरूलाई खमेरुज भन्ने गरिन्थ्यो। त्यस किसिमको नरसंहार गर्ने कार्य तत्कालीन कम्बोडियाका सरकार प्रमुख पोलपोटले गरेका थिए। उनको आदेशमा नै यति ठूलो नरसंहार भएको थियो। कम्युनिष्ट नेता पोलपोटलाई यति ठूलो नरसंहार गर्न चीन र तत्कालीन चीनिया प्रशासक माओ जेदुंगले सहयोग गरेका थिए। कम्बोडिया नरसंहार १७ अप्रिल १९७५ मा प्रारम्भ भएर ७ जनबरी १९७९ मा समाप्त भएको थियो। विश्लेषक एवं जानकारीहरू कम्बोडिया नरसंहारलाई पनि एक किसिमको जातीय सफाया नै मान्दछन।

१९८४ सिख जातीय दंगा

सानो स्तरमा तर अति नै निर्मम किसिमले जातीय सफाया आधुनिक भारतमा पनि भएको थियो। जातीय दंगा गर्नेहरूले मुख्य गरी भारतको दिल्लीमा खोजि खोजि सिखहरूको हत्या गरेका थिए। सार्वजनिक स्थलमा सबैले देख्न सक्ने गरी सिखहरुको ज्यान लिएका थिए। दंगा गर्नेहरू मुख्य रुपमा हिन्दुहरू भएको भनिएता पनि मुसलमानहरू पनि दंगामा समाविष्ठ भएको र उनीहरूले पनि सिखहरूको हत्या गरेको समाचारहरूले खबरमा प्रकाशित गरेका थिए।

किन भयो जातीय दंगा?

भारत भित्रको पञ्जाव राज्य सहित अन्य क्षेत्रहरूलाई गाभेर छुट्टै राष्ट्र ‘खालिस्तान’ स्थापनाको माग गर्ने खालिस्तान-आन्दोलनका नेता जरनैल सिंह भिण्ड्रानवाले आफ्ना सयौं समर्थकहरूलाई साथमा लिएर पञ्जाब राज्यको  अमृतसर सहरस्तित स्वर्ण मन्दिर परिसर (श्री हरमन्दिर साहेब) मा लुकेको खबर पाए पछि भारत सरकारले भिण्ड्रानवाले सहित उनका समर्थकहरूलाई आत्मसम्पर्पण गर्न आदेश दिएको थियो। पटक पटकको आदेस भिण्ड्रानवालेले नमाने पछि भारतको तत्कालीन  प्रधान मन्त्री इन्दिरा गाँधीले स्वर्ण मन्दिरमा शैन्य कार्यवाही गर्न आदेश सेनालाई दिएकी थिन। त्यो कार्यवाहीलाई ‘अपरेसन ब्लयु स्टार’ भनिएको थियो। अपरेसन ब्लुस्टारमा भिण्ड्रानवाल, उनका समर्थक, सुरक्षाकर्मी तथा सर्वाधारण सहित गरी १० हजार भन्दा बढी ब्यक्तिहरूको ज्यान गएको थियो। अपरेशन ब्लु स्टारमा अति प्रशिक्षित भारतीय शेना समूहले ठूलो शैन्य कार्यवाही गरेको थियो। अमृतसर स्थित स्वर्ण मन्दिरमा जुन १, १९८४ देखि जुन ८, १९८४ मा भएको भीषण शैन्य कार्यवाहीलाई भारतको इतिहासमा ‘अपरेसन ब्लु स्टार’ भन्ने गरिन्छ। अपरेसन ब्लु स्टार,’ जुन इन्दिरा गाँधीको अदूरदर्शि एवं जिद्दीबानीले गर्दा भएको थियो, ले भारतको राजनीतिलाई लामो समयसम्म नराम्रो गरी प्रभावित गर्यो।

अपरेसन ब्लु स्टार पछिको स्थिति

तत्कालीन प्रधानमन्त्री इन्दिरा गाँधीको आदेशमा भारतीय शैनिकले आफ्नो आस्थाको केन्द्र र अति पवित्र धार्मिक स्थल अमृतसर स्थित स्वर्ण मन्दिर भित्र प्रवेश गरेर शैन्य कार्यवाही गरेको स्थितिलाई भारतभरिको सिख समुदायले आफ्नो धर्मको नै अनादार गरेको रुपमा लियो। सिख समुदायका ठूला राजनीतिक, सामाजिक, धार्मिक नेताहरू लगायत सामान्य सिखहरू पनि इन्दिरा गाँधीबाट अतिनै रुष्ट भए। संयोग यस्तो पनि पर्यो कि इन्दिरा गाँधीका अंगरक्षकहरु सिखहरू नै थिए। र उनीहरू पनि इन्दिरा गाँधीको त्यो कार्य (स्वर्ण मन्दिरमा शैन्य कार्यवाहीको आदेश) बाट अति नै क्रुद्ध थिए। इन्दिरा गाँधीबाट बदला लिने योजनमा थिए।

सन् १९८४, अक्टुबर ३१ का दिन इन्दिरा गाँधीको निवासमा इन्दिरा गाँधीका दुई अंगरक्षकहरू बेयन्त सिंह र सत्वन्त सिंहले गोली प्रहार गरी उनको हत्या गरे। ती दुई सिख अंरक्षकहरू इन्दिरा गाँधीका विश्वासपात्रहरू थिए। तर अमृतसर घटना पछि ती अंगरक्षकहरू इन्दिरागाँधीबाट अति नै क्रुद्ध भएका थिए। आफ्नो धर्म र तिर्थस्थलको इन्दिरा गाँधीले अनादर गरेको भन्दै उनको हत्या गरेर बदला लिने उद्देश्यमा थिए।

इन्दिरा गाँधीको हत्या पछिको स्थिति

इन्दिरा गाँधीको हत्या पछि, सो हत्याको बदला लिन भारत भरिनै तर मुख्य गरी दिल्लीमा सिख समुदाय बिरुद्ध ठूलो ठूलो हत्या, हिंसा, लुटपाट आगजनीको श्रृंखला आरम्भ भयो। अन्य विभिन्न ब्यक्ति एवं संस्थाहरू पनि उक्त जातीय हिंसामा संलग्न भएता पनि भारतीय राष्ट्रिय कांग्रेसका नेताहरू नै सो हत्या र हिंसाको श्रंखलामा प्रमुख रुपमा संलग्न रहेको पाइयो।

दिल्ली लगायत भारतका अन्य क्षेत्रमा, उक्त जातीय दंगामा सरकारको तथ्यांक अनुसार २ हजार ८ सय सिख सुमदायका सदस्यहरूको हत्या भएको भनिएता पनि स्वतन्त्र संस्थाहरूले उक्त भयानक जातीय हत्यामा ८ देखि १७ हजार सिखहरूक हत्या भएको उल्लेख गरेका छन्। जातीय दंगा गर्नेहरूले हत्या मात्र गरेनन, ठूलो मात्रामा सिखहरूको घर, पसलबाट धन, सम्पत्ति आदि पनि लुटपाट गरेका थिए। घरभित्र पसेर, बाटोमा घेरेर, परिबारको बिचमा रहेका, गरि अनेक स्थानबाट जातीय दंगा गर्नेहरूले सिखहरूलाई खोजी खोजी उनीहरूलाई कुटेर, हथियार प्रहार गरेर, मट्टितेल हालेर हत्या गरेका थिए। ठूलो संख्यामा महिला एवं युवतीहरूको बलत्कार गरेका थिए। बलत्कार पछि हत्या गरेका थिए। कतिपय सिखहरूको शरीरमा एसिड पनि हालेका थिए।

समग्रमा भन्ने हो भने ठूलो संख्यामा प्रदर्शनकारीहरूले विभत्स किसिमले सिखहरूको हत्या गरेका थिए। सिखहरूको हत्या गर्नेहरूमा हिन्दुहरूको ठूलो संलग्नता रहेको भनिएता पनि मुख्य रुपमा भने भारतीय राष्ट्रिय कांग्रेसका ठूला नेता, कार्यकर्ता एवं समर्थकहरू थिए।

सन् १९८४ मा भारतका सिखहरूमा माथि भएको हत्या हिंसाको श्रृखलालाई जातीय नरसंहार नभएर ठूलो मात्रामा भएको मानवीय अधिकारको हनन घटना भन्नेहरू पनि छन। तर पनि खोजी खोजी केवल सिखहरूको मात्र हत्या गरिएकोले यो घटनालाई जातीय नरसंहार भन्नेहरू पनि छन्। त्यो घटनाबाट बिरक्त भएर हजारौ सिखहरूले भारत छाडे। विश्वका अनेक राष्ट्रहरूमा पुगेर स्थाइ बसोबास आरम्भ गरे।

उत्तर आधुनिक युगमा समाजमा अति नै जातीवादी सोंच हुनेछ। सङ्घर्षहरू हुनेछ। युद्दहरू हुनेछ। बाठा, चलाक, स्वार्थी एवं नेताहरूले आफ्नो स्वार्थ पूर्तका लागि जातीयताको नारा झन चर्को पार्ने छन्।   

No comments:

Post a Comment