Wednesday, January 10, 2024

Terrifying Postmodernism Part 20

 उत्तर आधुनिक युगको त्रासदी

२०

उग्र राष्ट्रवादको प्रयोग

उत्तर आधुनिक युगमा राष्ट्रवाद नेताहरूको लागि चुनावमा मत संख्या वृद्धि गर्ने औजारको रुपमा प्रस्तुत हुनेछ। राष्ट्रवादको नारा चर्काएर नेताहरुलाई चुनाव मा विजयी हुन र सत्तामा पुग्न सजिलो हुनेछ। उत्तर आधुनिक युगमा सत्ताको शिखरसम्म पुग्न राष्ट्रवादलाई नेताहरूले भर्यांगको रुपमा प्रयोग गर्ने छन। उत्तर आधुनिक युगमा राष्ट्रवादको नारा अतिनै लाग्ने छ।  

राष्ट्रवाद आफैमा एक ज्यादै जटिल विषय भने अवश्य हो।

आर्थिक भ्रष्टाचार गरेर देशलाई गरिब पार्ने भ्रष्टाचारी नेता एवं ब्यापारी राष्ट्रवादी हुन्छ वा हुँदैन? यदि एक ज्यादै आर्थिक भ्रष्टाचारी ज्यादै राष्ट्रवादी छ भने उसको त्यो राष्ट्रवादलाई के भन्ने? सँधै सत्तामा रहने किसिमले जहिले पनि अनेक धाँधली गरेर चुनाव जित्ने र देशको राजनीतिलाई आफ्नो वरपर घुमाउने ब्यक्ति राष्ट्रवादी हो वा अराष्ट्रवादी? देश र जनतालाई आर्थिक रुपमा तन्नम पारेर करोडपति हुने व्यापारी राष्ट्रवादी हो वा अराष्ट्रवादी? रोगजारीको अभावमा विदेश पुगेर त्यहाँ बसेता पनि सदा स्वदेशको भलो सोंच्न ब्यक्ति राष्ट्रवादी हो वा स्वदेशमा बसेर अनेक राजनीतिक दाउँपेंच अपनाएर सदा शक्ति र पदमा रहने नेता राष्ट्रवादी हो? राष्ट्रवादको परिभाषा दिनका लागि उपरोक्त प्रश्नहरूको उत्तर खोज्नु पर्ने हुन्छ।

कुनै ब्यक्ति कुनै देशमा जन्म्यो तर युवा अवस्थामा अर्को देशमा पुग्यो र अहिले ऊ त्यो देशको नागरिक छ भने उसको राष्ट्रियता कुन देशको हुने हो? जन्मेको देशको वा बसिरहेको देशको?  

राष्ट्रियताको कुरा गर्दा राष्ट्रको उत्पत्तिको बारेमा पनि कुरा गर्नु पर्ने हुन्छ। सोझो अर्थमा भन्ने हो भने राष्ट्रको उत्पत्ति राजाहरूले गरेका हुन्। महत्वाकांक्षीहरूले गरेका हुन्। बालशालीहरूले गरेका हुन्। शासन वा  राज्य गर्न सजिलो हुनेछ भनेर उनीहरूले राष्ट्रको सृजना गरेर हुन्। प्रशासनिक दृष्टिले कार्य सञ्चालन गर्न सजिलो हुनेछ भनेर राष्ट्रको सीमा निर्धारण गरेका हुन्। अन्य देशहरू सङ्ग युद्ध गर्दा विजय प्राप्त होस, आफ्नो पक्षमा सबै देशबासीहरूले युद्ध गरुन भनेर नै राजाहरूले राष्ट्रवादको नाराको उत्पत्ति गरेका हुन्।

एक सामान्य नागरिकलाई बाँच्नको लागि किन चाहियो राज्य? संसार भरिका सबै नागरिकहरू शान्तिपूर्व बस्ने हो भने के राष्ट्र चाहिएला? र सबै भन्दा महत्वपूर्ण प्रश्न के हो भने के एक सामान्य नागरिक राष्ट्रवादबाट बढी लाभांदित भएको छ? वा अहलेका आधुनिक राजा, महाराजहरू राष्ट्रवादबाट बढी लाभांदित भएका छन? सांसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख आदि के आधुनिक राजा, महाराजा होइनन? पहिलेका राजाझै के यी आधुनिक राजा, महाराजाहरू पनि जनताले तिरेको करमा बाँचेका छैनन त? यिनीहरूले पनि त हामीले दिएको कर खाएर हामी माथि नै शासन गरेका छन, पहिलेका राजा, महाराजाझैं। छैनन त? यी आधुनिक र प्रचीन राजा बिच के अन्तर छ त?

क्षेत्रफलद्वारा ब्यक्त गरिने राष्ट्र र राष्ट्रवाद बाट सामान्य जनता भन्दा बढी नेताहरू लाभांदित भएका छन्।

राष्ट्रवादको परिभाषा ज्यादै जटिल भएकोले नै हामीलाई यो शब्द बुझ्न कठिन भएको हो। एउटा अर्को उदाहरण हेरौ, राष्ट्रवाद शब्द कति कठिन छ भन्ने कुरा बुझ्ने सन्दर्भमा। एउटा ब्यक्ति क भन्ने दैशमा जन्मेर युवा अवस्थामा ख भन्ने देशमा आयो। उक्त ब्यक्ति क भन्ने देशमा केवल २० वर्ष बस्यो तर ख भन्ने देशमा ६० वर्ष बस्यो वा बसिरहेको छ। ऊ क र ख, दुबै देशको नागरिक हो। ६० वर्ष बसेको देशप्रति उसको कुनै राष्ट्रवादी चिन्तन छैन। २० वर्ष बसेको देशलाई उ आफ्नो देश मान्दछ। उसको यस्तो राष्ट्रवाद वा क देशप्रति उसको राष्ट्रवाद उचित हो? राष्ट्रवाद को आधार के हुनु पर्ने हो? बसाईको अवधि? जन्म? वा भावना?

जीवन ठूलो कि राष्ट्रवाद?

मानिसको लागि राष्ट्र बनेको हो वा राष्ट्रको रक्षाको लागि मान्छे जन्मेको हो? जीवनभरि राष्ट्रका लागि युद्ध गर्ने? वा राष्ट्र भन्ने विषयलाई गौड मानेर शान्तिपूर्वक जीवन यापन गर्ने? यस्ता प्रश्नहरुको महत्व आफ्नै किसिमको छ।

फिलिस्तिनी र इजराइलीहरू बिच पटक पटक अनेकौ युदधहरू भइसके। पटक पटकको युदधमा, दुबै पक्षका हजारौं नागरिकहरूको ज्यान गइसकेको छ। राष्ट्रवादी भावनाले यी दुबै राष्ट्रका नागरिकहरूलाई शान्तिपूर्व बस्न दिएको छैन। प्राणी- प्रवृतीको अध्ययन गर्ने हो भने प्राणीहरूको प्रवृति बाँच्न पाउनु हो। प्राणीहरूको उत्पत्ति यस पृथ्वीमा बाँच्नक लागि भएको हो। प्रत्येक प्राणीले एक जीवन-चक्रभरि बाँच्न खोजेको हुन्छ। रोग, ब्याधि, दूर्घटना बाट जोगिएर लामो आयु बाँच्न खोजेको हुन्छ। बाँच्न पाउनु मानिसको पहिलो र सर्वाधिक महत्वपूर्ण आवश्यकता हो भने राष्ट्र हुनु र राष्ट्रको निर्माण गर्नु मानिसको दोस्रो आवश्यकता हो।     

के झेलेनेस्कीको राष्ट्रवाद उचित हो?

अति राष्ट्रवादी कहलिएका वर्तमान (सन् २०२३ यो पुस्तक तयार पार्दा) युक्रेनी राष्ट्रपति झेलेनेस्कीको राष्ट्रवाद के राष्ट्रवाद हो? हो भने, त्यस्तो राष्ट्रवाद के गर्नु जुन राष्ट्रवादको जगेर्ना गर्न देशको सम्पूर्ण जनसंख्याले मृत्युवरण गर्नु पर्छ। यदि युद्ध गर्दा गर्दै युक्रेनका सबै नागरिकहरूको मृत्यु भएमा युक्रेनको जमिनमाथि कसले गर्व गर्ने मेरो राष्ट्र हो भनेर, को को उपस्थित हुने हो त्यहाँ हामी राष्ट्रवादी हो भनेर? जनता नै नभएको देश कही राष्ट्र हुन्छ? अनि राष्ट्रियता बोध गर्ने व्यक्तिहरू नै छैनन भने केको राष्ट्रवाद?

झेलेनेस्कीको प्रशासनले युक्रेनी युवाहरूलाई बलपूर्वक शेनामा भर्ति गराइरहेको छ र रसियाली शेनासङ्ग युदध गर्न युधभूमि पठाइ रहेको छ। झेलेनेस्की-प्रशासनको यस्तो कार्यबाट भयभीत भएर सयौं युवाहरू युक्रेन छाडेर अन्य देशतर्फ भागिरहेका छन। युक्रेनी युवाहरू यसरी ज्यान जोगाउन अन्य राष्ट्रहरू तर्फ किन लागेका होलान? राष्ट्रवादलाई सर्वोपरि मानेर किन युक्रेन भित्र बसेर रसियाली शेनासङ्ग युद्ध गरेका होलान? जिउ, ज्यानको अगाडि राष्ट्रवाद केही होइन भन्ने कुरा युक्रेनको यो घटनाले पुष्टि गर्दैन र? यो घटनालाई मध्यनजर गर्दा सुरक्षित भएपछि मात्र वा सुरक्षित अवस्थामा मात्र मानिसहरूलाई राष्ट्रवाद प्रिय हुँदो रहेछ भन्ने कुराको के पुष्टि हुँदैन?

भ्लादमिर पुटिनको राष्ट्रवाद सही?

राष्ट्रवाद सक्कली र नक्कली दुबै किसिमको हुने रहेछ। कसरी? रसियाको वर्तमान राष्ट्रपति भ्लादमिर पुटिनको राष्ट्रवादले यस कुराको पुष्टि गर्दछ। रसियाको गौरवको रक्षा गर्ने उद्देश्यका साथ युक्रेनसङ्ग युद्ध गरेको भन्ने सन्देश जुन पुटिनले दिइरहेका छन त्यो सन्देशमा (पुटिनको सन्देश भित्र) उनको राष्ट्रवाद सक्कली रहेको प्रतीत हुन्छ। तर यथार्थमा त्यस्तो होइन, आफूलाई अति राष्ट्रवादी देखाउन ( अर्कोको ज्यान लिएर- रुसी र युक्रेनी दुबै तर्फको सुरक्षाकर्मी र सामान्य नगरिकको ज्यान लिएर) युक्रेनसङ्ग युद्ध गरेर पुटिनले आफ्नो सत्ताको आयु लम्ब्याउने कार्य गरिरहेका छन्। यो कारणले गर्दा युटिनको राष्ट्रवाद नक्कली राष्ट्रवाद हो। आज वर्षौदेखि पुटिन रसियाको सर्वोच्च पदमा छन्। अनके जालसाज गरेर सत्ता र शक्ति आफ्नो हात लिन सफल भएका छन्। पुटिनको नक्कली राष्ट्रवादलाई के राष्ट्रवाद मान्न सकिन्छ?

भोक ठूलो वा राष्ट्रवाद ठूलो?

के भोको पेटले राष्ट्रवाद सोंच्न सक्छ? कस्तो विचार राष्ट्रवादी हो? कस्तो विचार राष्ट्रवादी होइन? राष्ट्रवादको आधार के? जन्मेको देशलाई आफ्नो राष्ट्र भन्ने? हुर्केको देशलाई राष्ट्र भन्ने? लामो समयसम्म बसेको देशलाई आफ्नो राष्ट्र भन्ने वा छोटो समयसम्म भए पनि आफ्नो देशमा बसेको स्थितिलाई राष्ट्रवाद भन्ने? राष्ट्रवादी हुनुका आधारहरू के के होलान त?

राष्ट्रवादको अर्थ बुझ्ने ज्यादै कठिन भएको हुनाले नै यो शब्दको बढी दुरुपयोग गरिएको छ। आफ्नो पक्षमा राखेर सयौंलाई शोषण गर्न यो शब्दले सजिलो पारिदिएको छ।

भोक र सुरक्षाको अगाडि राष्ट्रवादको कुनै पनि अर्थ रहँदैन। एक दसक भन्दा लामोसमय देखि सिरियामा चलिरहेको गृहयुद्धबाट जोगिन र आफ्नो ज्यान सुरक्षित पार्न अहिले लाखौ सिरियाली नागरिकहरू संसारका अनेक देशमा पुगेका छन्। शरणार्थी बनेर तर सुरक्षित जीवन बिताइ रहेका छन। मरे पनि, बाँचे पनि, राष्ट्रवादी भएर आफ्नै देशमा बस्छु भन्दै किन सिरियामा नै नबसेका होलान्? यस किसिमको स्थितिलाई हेर्दा राष्ट्रवाद खान खाइसेक पछि ‘डेजर्ट’ वा कुनै स्वादिलो खाने कुरा खाए जस्तो हो। भोको पेटले भने राष्ट्रवाद सोंच्न सक्तैन।

विश्वमा अमेरिका मात्र एउटा यस्तो देश हो जहाँ संसारका अनेक देशका नागरिकहरू आएका छन्। युरोप र अफ्रिकाका अनेक राष्ट्रहरूबाट अमेरिकमा अनेक व्यक्तिहरू आएका छन्। यसैगरी दक्षिण अमेरिकाका अनेक राष्ट्रहरूबाट अनेक ब्यक्तिहरू अमेरिका आएका छन्। प्राय: सबै स्थाई किसिमले बस्ने गरी आएका छन्। यसरी आउनेहरूमध्ये केवल १ वा २ प्रतिशत मात्र आफ्नो स्वदेश फर्केका छन्। बाँकि सबै अमेरिकामा नै बसेका छन्। म कहिले आफैसङ्ग प्रश्न गर्छु, आफू जन्मे, हुर्केको देश प्यारो मान्दै किन यसरी अमेरिका आउनेहरू स्वदेश नफर्केका होलान? किन स्वदेशको माया सदाको लागि त्यागेर अमेरिका आएका होलान?

मानिस मूल रुपमा सुविधाभोगी हो। तर पनि कहिले मानिस उग्र राष्ट्रवादी भइदिन्छ। उसको यो उग्र राष्टवादको प्रयोग भने नेताहरूले आफ्नो हितमा गर्छन। फेरि आफैसङ्ग प्रश्न गर्छु, मानिस किन कुनै स्थिति र समयमा उग्र राष्ट्रवादी भइदिन्छ। हो, यस्ता अनेक कारणहरूले गर्दा राष्ट्रवाद के हो भनी बुझ्न कठिन। जुन कुरा जति बुझ्न जति कठिन हुन्छ त्यस कुराको त्येति नै बढी दुरुपयोग हुन्छ।

उत्तर आधुनिक युगका चतुर नेताहरूले सदा शक्ति र सत्तामा रहनका राष्ट्रवादको अति उपयोग गर्ने छन। अनि राष्ट्रवादको पछि पछि लाग्ने जनताले भने आफू उपयोग भएको थाहा पाउने छैन।

 

No comments:

Post a Comment