Thursday, January 11, 2024

Terrifying Postmodernism Part 25

 उत्तर आधुनिक युगको त्रासदी

२५

लत लगाइ दिने

यो उत्तर आधुनिक युगमा त्यस्ता उपभोक्ता वस्तुहरूको निर्माण भएको छ जुन हामीलाई दैनिक जीवनमा आवश्यक छैन। ती वस्तुहरूको अभावमा हामी सजिलै बाँच्न सक्छौ। तर पनि त्यस्ता वस्तुहरूको उत्पादन र बिक्री ठूलो परिमाणमा भइरहेको छ। बजारमा त्यस्त वस्तुहरूको माग ठूलो परिमाण भइरहेको छ नै, साथै त्यस्ता वस्तुहरूको उपभोग दर पनि तिब्र छ। उपभोक्ताहरूले त्यस्ता वस्तुहरू पटक पटक उपभोग गर्न खोजिरहेका छन्। किन होला?

माथिको प्रश्नको उत्तर ज्यादै सजिलो छ। उत्पादकहरूले जानीजानी, नियतवस र योजनावद्ध किसिमले वस्तुको स्वाद, स्वरुप, रंग यस्तो पारेका हुन्छन, यस्ता विशेषताहरू थपेका हुन्छन, उपभोग गर्ने क्रममा त्यो वस्तुको हामीमा लत बस्न पुग्छ। त्यो वस्तु हामी पटक पटक उपभोग गर्न चाहन्छौ। त्यो वस्तु महँगो छ भन्ने थाहा पाएर, स्वास्थ्यको लागि उपयुक्त छैन भन्ने जानेर पनि त्यो वस्तु पटक पटक उपभोग गर्न बेचैन हुन्छौ। उपभोग गर्न नपाएकाम छटपटिन्छौ।  

जसरी चुरोट वा रक्सी अथवा सूर्ति खाने कुनै मान्छेलाई  त्यो कुराको लत लागेर उसले जसरी पनि त्यो कुरा खान्छ, त्यसैगरी यो उत्तर आधुनिक युगमा धेरै उपभोक्ता वस्तुहरू लत लागेझै गरी उपभोक्ताहरूले उपयोग गर्ने छन्। उदाहरणको लागि स्मार्ट वाच, स्मार्ट फोन, आइपैड, एयरबड आदिको अभावमा हामी सजिलै गरी बाँच्न सक्छौ। अलेक्सा, सिरी जस्ता एप नभएमा हामीलाई बाँच्न कठिन हुने छैन। तर ती वस्तुहरू उपभोग गर्ने क्रममा, ती वस्तुहरू उपभोग गर्ने लत लागेर, ती वस्तुहरू उपभोग गर्न नपाउँदा हामी छटपटिने स्थितिमा पुग्छौ। ती वस्तुहरूको अभावमा हामीलाई बाँच्न नै नसकिने जस्तो लाग्न थाल्छ। अहिले हाम्रो भान्साकोठा, बेठक, सुत्नेकोठा, गराज देखि पार्क, खेल मैदान, सवारीका साधनहरूसम्ममा हामीलाई आवस्यक पर्ने होइन, हामीलाई ती वस्तुहरूको लत लगाइ दिने, वस्तुहरूको भीड सजिलै देख्न सक्छ। र एउटा स्मरणयोग्य कुरा के छ भने त्यस्ता लत लगाइदिने वस्तुहरू उत्पादन गरेर हामीलाई होइन, समाजलाई होइन, केही सीमित व्यक्तिहरूलाई अति ठूलो फाइदा हुन्छ। त्यस्ता वस्तुको बिक्रेता एवं उत्पादकहरू अरबपति, खरबपति हुन्छन। अर्थात ब्यापारीहरूले यो उत्तर आधुनिक युगमा हामीलाई आवश्यक पर्ने वस्तु होइन, हामीलाई लत लाग्ने वस्तुहरू उत्पादन गर्नमा जोड दिइरहेका छन। लत लाग्ने वस्तुहरू उत्पादन गरेर ठूलो धन हात पारिरहेका छन।

लत लगाइ दिने वस्तुहरूको प्रकृति हेर्दा हामी यो भ्रममा पनि पर्छौ कि यी वस्तुहरू हाम्रो दैनिक उपभोगका वस्तुहरू हुन्। यी वस्तुहरूले हाम्रो जीवन सरल पारिदिएका छन। यी वस्तुहरूको अभावमा हाम्रो जीवन कठिन हुन पुग्ने छ। तर यथार्थमा त्यस्तो होइन। हाम्रो जीवन सरल पारिदिने भनी हामीले विश्वास गरेका वस्तुहरूले हाम्रो बानी बिगारी दिन्छ। ती वस्तुहरू उपयोग गर्ने लत पारिदिन्छ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने चाउचाउ नेपालमा उत्पादन नहुँदा पनि काम चलेकै थियो। त्यसबेला अहिले जस्तो उपभोक्ताहरूको ध्यान चाउचाउमा केन्द्रित भएको थिएन। तर अहिले नेपालमा चाउचाउ दैनिक रुपमा खाइने खानाहरू मध्ये एक हुन पुगेको छ। हरेक परिवारको घरमा र हरेक रेष्टुरेन्टको टेबलमा अहिले चाउचाउ अनिवार्य किसिमले देख्न सकिन्छ। उपभोक्ताहरूलाई सूर्ति, चुरोट, रक्सी आदिको जस्तो लत लाग्ने गर्छ चाउचाउको पनि त्यस्तै लत लाग्ने गरेको छ। तर के चाउचाउ स्वास्थ्यको लगि उपयोगी छ? स्वार्थवर्धक छ?

कुनै वस्तु स्वादिलो हुनु नै त्यो स्वस्थ्यकर हुनु होइन। तर मिठो स्वादको कारण अहिले चाउचाउ उपभोक्ताहरूको माझामा लोकप्रिय हुन पुगेको छ।

खाद्य पदार्थ होस वा अन्य वस्तु, ती मध्ये अधिकांसले हामीलाई उपभोग गर्ने लत लगाइ दिने कार्य गर्छन। स्वाद, सुविधा, स्वरुप, प्रकृति आदि द्वारा लत लगाउने होड नै चलेको छ अहिले ब्यापारीहरूको माझ।

आफूले बिक्री गर्ने वस्तुको उपभोक्ताहरूमा लत लगाई दिनु, आफ्नो वस्तु खान उपभोक्ताहरूमा तिब्र इच्छा जगाइदिनु यो उत्तर आधुनिक युगमा उत्पादक एवं बिक्रेताहरूको व्यापारिक उद्देश्य नै हुन पुगेको छ।

लत लगाइदिने कार्यको एउटा सानो उदाहरण यहाँ प्रस्तुत गरौं। आजभोलि बाल बालिकाहरूले भौतिक होइन, कम्प्युटर प्रोग्रामिंगले चल्न खेलहरू बढी हेर्छन। युट्युबमा अनेक किसिमका भिडियोहरू हेर्छन। ती भिडियोहरूको निर्माण यस किसिमबाट गरिएको हुन्छ कि त्यस्ता भिडियो हेर्दा हेर्दा बालबलिकाहरूमा भिडियो हेर्ने लत नै बस्न पुग्छ।

एक अर्को उदाहरण हेरौ। अमेरिकाका फास्ट फुड रेष्टुरेन्टहरूमा रेष्टुरेन्ट पिच्छै एउटै किसिमको खानेकुरा फरक फरक स्वादका हुन्छन। उही खाने कुरा भएता पनि रेष्टुरेन्ट अनुसार स्वाद भने फरक फरक हुने गर्दछ। जस्तै नेपाल वा भारतमा, भात यो रेष्टुरेन्टमा पाकेता पनि त्यो रेष्टुरेन्टमा पाकेता पनि स्वाद एउटै भएझै हुँदैन। बर्गर किंगमा पाइने सेन्डविचको स्वाद एक किसिमको हुन्छ भने चिक-फिल-एमा पाइने सेन्डविचको स्वाद फरक किसिमको हुन्छ। यसैगरी मैक डोनाल्डमा पाइने सेन्डविचको स्वाद फरक किसिमको हुन्छ। ब्यापारिक रणनीतिका साथ रेष्टुरेन्टहरूले एउटै खाद्य वस्तु भएता पनि तिनको स्वाद जानाजानी फरक पारेक हुन्छन र आफ्नो खानेकुराको उपभोक्तामा लत बसोस भन्ने उद्देश्य राखेका हुन्छन।

अमेरिकी रेष्टुरेन्टहरूले प्रतिस्पर्धीहरूको भन्दा आफ्ना खानेकुराहरूमा फरक र विशेष किसिमको स्वाद झिक्न स्वाद विशेषज्ञ वा खाद्य विशेषज्ञ वा वैज्ञानिकहरूको नियुक्ति नै गरेका हुन्छन भन्ने भनाइ रहेको पाइन्छ।

उत्तर आधुनिक युगमा उत्पादक वा बिक्रेताहरूले आफूले उत्पादन वा बिक्री गरेको वस्तुले उभोक्ताको कति हित गर्न छ भन्ने तर्फ ध्यान दिने छैनन। उल्टो आफूले उत्पादन र बिक्री गर्ने वस्तुले उपभोक्ताहरूमा लत लगाइ दिने गरेर आफ्ना वस्तुहरू कति ठूलो परिमाणमा बिक्री हुनेछ, कति बढी मुनाफा हुनेछ भनी ध्यान दिने छन।

उत्तर आधुनिक युगमा खाद्य वस्तुहरू समेत पनि प्रभावित हुन पुग्ने छन। खाद्य वस्तुहरू पनि लत लगाइदिने किसिमका हुनेछन। यसबारे माथि चर्चा गरि सकियो।

No comments:

Post a Comment