Thursday, January 11, 2024

Terrifying Postmodernism Part 27

 उत्तर आधुनिक युगको त्रासदी

२७

इन्टरनेट एक चुनौति

हामी सबैलाई ज्ञात भएको कुरा हो सन् १९९० को दसक भन्दा पहिले इन्टरनेटको प्रयोग अहिले जस्तो ब्यापक भइसेके थिएन। इन्टरनेटको प्रयोग सीमित स्थानहरूमा मात्र हुन्थ्यो। सामाजिक सञ्जालहरू जस्तै फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सअप आदि प्रयोग गर्न पाउनुन सपनाको कुरा जस्तो थियो। तर सन् १९९० को दसक पछि र मुख्य गरेर सन् २००० पछि इन्टरनेटको प्रयोगमा ब्यापकता आउन आरम्भ भयो। इन्टरनेट प्रयोग गर्नु जीवनका अनेक महत्वपूर्ण गर्नु पर्ने कार्य मध्ये एक हुनु जस्तो भयो। भौगोलिक रुपमा जतिसुकै पर भएता पनि मानिस-मानिस बिच सम्पर्क हुनु, सम्वाद हुनु, अन्तरक्रिया हुनु ज्यादै सहज हुनु पुग्यो। इन्टरनेटको प्रयोग जति सामाजिक जीवनमा ब्यापक भयो त्यतिकै ब्यापक ब्यापारिक जगत्मा पनि भयो। वस्तुहरू अनलाइन खरिद गर्न पाउनु, खरिद गरिएका वस्तुहरूको भुक्तानी अनलाइन गर्न पाउनु अति नै सहज हुन पुग्यो।

सन् २०२० पछि त इन्टरनेटको संसारमा सुनौलो क्रान्ति नै आयो। यही समयमा मानव मष्तिष्कले भन्दा पनि तिब्र गतिले सोंच्ने एंव कल्पना गर्न नसकिने संख्यामा जानकारी संकलन गर्ने, संकलित जानकारीको विश्लेषण गर्ने तथा विश्लेषण पछि, विश्लेषणको परिणाम दिने ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ को विकास भयो। आर्टिफिसिएल इन्टेलिजेन्सको प्रयोग ब्यापक रुपमा हुन थाल्यो।  सन् २०२२ मा विकास भएको एक सफ्टवेयर च्याटजिपिटी (ChatGPT) ले इन्टरनेटको जगत्मा तहल्का नै मचायो। आफूले खोजेको जानकारी उपलब्ध गराउने मात्र होइन, मान्छेलेझै कार्य गर्ने च्याटजिपिटीको प्रयोग अति नै हुन थाल्यो। यस्तो किसिमको कार्य गर भन्दा सो गर्न तयार रहने च्याटजिपिटीले प्रयोगकार्ताको आदेश, प्रयोगकर्ताले भनेको भाषामा कवित, गीत, कथा आदि पनि लेख्ने क्षमता राख्यो।

इन्टरनेटको प्रयोगले खरिद कार्य यति सजिलो भयो कि उपभोक्ताहरूले अनलाइन खरिद गरेका सामाग्री आफ्नो निवासमानै प्राप्त गर्न थाले। अनलाइन सपिंगले यति लोकप्रियता पायो कि मानिसहरू सामान खरिद गर्न खुद्रा भण्डारहरूमा जान छाडेर अनलाइन खरिद गर्नमा नै अति रमाउन थाले। खुद्रा भण्डारमा जानेहरूको संख्या कम भएर धेरै खुदा भण्डारहरू बन्द हुने स्थिति सृजना भयो। यो स्थिति अमेरिकमा बढी देखियो। सन् २०२० पछि, अमेरिकामा ठूलो संख्यामा खुद्रा भण्डार (भवनसहितका पसलहरू) बन्द भए। मलहरू भित्र रहेका खुदा भण्डारहरू पनि ठूलो संख्यामा बन्द भए।

इन्टरनेटको दुष्परिणमाको महत्वपूर्ण उदाहरण अनलाइन सपिंग ब्यवहारमा वृद्धि हुनु र पसल सहितका खुद्रा भण्डारहरू बन्द हुन पुग्यो। यो स्थितिले साना ब्यापारीहरू, जसले ब्यापार संचालन केवल जीवन निर्वाहका लागि गरेका हुन, मा निरासा देखियो। उनीहरूको रोजगार हरिएको अनुभव गरियो।

इन्टरनेटको प्रयोगले मानव जीवनलाई अति सरल पार्यो। तर इन्टरनेटले चुनौतिको पहाड पनि खडा गरिदियो। अर्थात इन्टरनेटको ठूला ठूला दुर्गुणहरू पनि देखिन थाले। ती दुर्गुणहरू पीडाको रुपमा अनुभूत भए।

इन्टरनेटले जन्म दिएको एउटा पीडाबारे यहाँ चर्चा गरौं।

सामाजिक संजालका प्रयोगकर्ताहरूले ह्वाट्सअप, इन्स्टाग्राम, फेसबुक आदिमा आफ्ना क्रियाकलापका अनेक तस्विरहरू सजिलै राख्न सक्छन। विवाहको, भोजको, पार्टीको, अनेक स्थान भ्रमण गरेको फोटोहरू राख्न र ती फोटोहरू सार्वजिनक रुपमा प्रदर्शन गर्न सामाजिक संजालहरूले सजिलो पारिदिएका छन। यो स्थितिमा, मानौ कुनै व्यक्ति अति नै धनी  छ र ऊ प्रत्येक महिना कुनै अर्को देशमा पुग्ने गरेको छ,  त्यहाँ पुगेर भ्रमण गरेको तस्विर ‘फेसबुक’ मा राख्ने गरेको छ भने उक्त धनी ब्यक्तिको लागि फेसबुक आफू धनी छु, दस ओटा देशका विभिन्न स्थानहरूमा घुम्ने हैसियत राख्छु भनी देखाउने ‘प्लेटफार्म’ बन्छ। अर्कोतिर, ती सम्पूर्ण गरिबहरू जसले उक्त ब्यक्ति अनेक देशमा पुगेर उसले अनेक स्थान भ्रमण गरेको उक्त ब्यक्तिले फेसबुकमा राखेको फोटोहरूबाट देख्छ तब ती गरिबहरूमा पनि विश्वका अनेक स्थानहरूमा पुगेर फोटो खिच्ने इच्छा जागृत हुन्छ। आफू गरिब भएर विश्वका अनेक देशहरूमा पुग्न नपाएकोमा ती गरिब ब्यक्तिहरूमा एक किसिमको इर्ष्या वा कुण्ठा जागृत हुन्छ। आफ्नो गरिबीलाई उनीहरूले सहज किसिमले नलिएर अब, यो नया परिस्थितिमा, अभिषापको रुपमा लिन थाल्छन। आफ्नो गरिबलाई अभिसाप अनुभूत गर्न थाल्छन।

सामाजिक सञ्जालको उपस्थितिले दुई स्थिति (गरिब र धनिक) हरूको तुलना गर्न र प्रभाव बोध गर्न सजिलो पारिदिएको छ।

अब अर्को स्थितिको कुरा गरौं। यदि कुनै एक ब्यक्तिले आफ्नो साथी वा कुनै एक परिचित ब्यक्ति संसारका अनेक देशका अनेक स्थानहरूमा पुगेर फोटो खिचेको र ती फोटोहरू फेसबुकमा राखेको देखेको छैन भने सो ब्यक्तिमा विदेशका विभिन्न सहरहरू घुम्ने र फोटो खिच्ने रहर कृत्रिम रुपमा जागृत हुँदैन।

सामाजिक सञ्जालले कृत्रिम इच्छा, कृत्रिम माग सृजना गर्ने कार्य गरिरहेको छ। मनसिक पीडा थप्ने कार्य गरिरहेको छ।

सामाजिक सञ्जालका धनीहरूलाई जति आफ्नो सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको संख्यामा वृद्धि भयो उत्तिनै बढी फाइदा हुने स्थिति छ। यो कारणले गर्दा सामाजिक सञ्जालका धनीहरू सामाजिक सञ्जालका प्रयोगकर्ताहरूको संख्यामा वृद्धि गर्न भगीरथ प्रयत्न गरिरहेका छन्।

मानिस एक अति नै संवेदनशील प्राणी हो। मानिसलाई बाहिर भएका घटना, स्थिति, वातावरणले अति नै प्रभावित पार्छ। अर्थात मानिसलाई देखासिकी गर्न अति मन लाग्छ। अर्कोतिर फेसबुकले देखासिकी गर्न सजिलो पारिदिएकोले मानिसलाई देखासिकी गर्न सजिलो पनि भएको छ। नेपालको सन्दर्भमा कुरा गर्ने हो भने, हाम्रो समाजिक जीवनमा ‘बर्थ डे सेलिब्रेसन’ ‘विडिङ्ग एनभर्सरी पार्टी’, तिज पार्टी आदिको संख्यामा ब्यापक वृद्धि हुनु नेपाली समाजमा फेसबुकको अति उच्च प्रयोगको परिणाम हो।

इन्टरनेटले गर्दा असंख्य अनावस्यक मागहरू मानिसहरूलाई आवश्यक माग हुन भनी बोध गर्ने बाध्य पारिदिएको छ। र ती अनावस्यक मागहरू पूरा नभएमा मानिसहरूमा कुण्डा, पीडा, बृद्धि हुने स्थिति देखिएको छ।

इन्टरनेट अहिले चुनौतिको पहाडको रुपमा देखिएको छ। कसरी? यसका फाइदा कम छन तर बेफाइदा भने असंख्य छन्। यसको प्रयोग व्यवस्थित किसिमले नगर्ने हो भने मानव सभ्यता बर्बाद हुने भएको छ। तर इन्टरनेट ब्यवस्थित किसिमले कसरी प्रयोग गर्ने? यो प्रश्नको उत्तर छैन। यो कारणले गर्दा इन्टनेट एक ठूलो चुनौति हुन पुगेको छ। कतिसम्म इन्टरनेट प्रयोग उचित र कति प्रयोग अनुचित कसरी छुट्याउने? र छुट्याउने मापदण्ड के?

इन्टरनेट मानव सभ्यताको लागि वरदान वा अभिशाप? यो पश्नले उत्तर आधुनिक युगमा प्रत्येक ब्यक्तिलाई पछ्याइनै रहने छ। 

No comments:

Post a Comment