पूँजीवादको जन्म, विकास र प्रयोग
१८. उदाहरणीय दक्षिण कोरियाको आर्थिक प्रगति
आर्थिक
विश्लेषकहरुका अनुसार दक्षिण कोरियाले आर्थिक प्रगति शून्य वा खरानीबाट शुरु गरेको
हो। शुन्यबाट आर्थिक प्रगति शुरु गरेर अहिले एशियाको चौथो ठूलो अर्थ तन्त्र हुन
सफल भएको छ। र यति बढी सफलता केवल चालिस पचास वर्षको भित्रमा गरेको हो। हुनत,
दोस्रो विश्व युद्ध पछि, जब कोरियाको विभाजन भयो, दक्षिण कोरिया अर्थात गणतन्त्र कोरियाको सृजना
भयो, दक्षिण कोरिया त्यो समयदेखि नै आर्थिक प्रगतिको बाटोमा लम्क्यो। तर उल्लेख्य
प्रगति भने सन् १९६० देखि १९९० को अवधिमा गर्यो। यो अवधिमा प्रति वर्ष कुल
गार्यहस्थ उत्पादन ९ प्रतिशतले बढ्यो। र आर्थिक प्रगतिको त्यो सिलसिला अहिले पनि
जारि नै छ। दक्षिण कोरिया सन् २०१० मा विश्वको छैठौ ठूलो निर्यातकर्ता राष्ट्र हुन
पुगेको थियो भने दसौं ठूलो आयातकर्ता। यो मुलुकले अन्तरार्ष्ट्रिय व्यापारबाट निकै
नै बढी फाइदा उठाएको छ। शुरुमा केवल जुत्ता, टेक्सटाइल आदि जस्ता वस्तुहरु निर्यात
गरेता पनि अहिले भने बढी मूल्य (High
value) का वस्तुहरु ठूलो परिमाणमा निर्यात गर्दछ। इलेक्ट्रोनिक्स,
अटोमोबाइल्स, जहाजहरु, मेसिन एवं उपकरणहरु, पेट्रोकेमिकल्स, रोबोटिक्स आदि यस
देशका प्रमुख निर्यातक वस्तुहरु हुन। दक्षिण कोरियाको आर्थिक उपलब्धिलाई संसार मै बिसौं
सप्ताब्धिको उल्लेख्यनीय घटनाको रुपमा लिने गरिन्छ। यसै कारणले होला, द कोरियाको
आर्थिक प्रगतिलाई “हांगांग नदिमा चमत्कार” (Miracle
on the Hanggang River) पनि भन्ने गरिन्छ। हुन पनि, कुनै समयमा एक्लिएको
र कृषिमा आश्रित रहेको एक निर्धन मुलुक द कोरियाले प्रचुर मात्रामा आर्थिक प्रगति गरेर
अहिले विश्व सामु उदाहरण प्रस्तुत गरेको छ। जनतामा आर्थिक विकास गर्ने अति चाहना छ
भने, राष्ट्रले इमान्दार नेतृत्व पाएको छ भने, देशको आर्थिक विकास छोटो समयमा,
चमत्कारी किसिमले गर्न सकिन्छ भन्ने धारणालाई सत्य साबित गरि दिएको छ, यो देशको
आर्थिक विकासले। अहिले यो देशमा अटोमोबाइल्स, इलेक्ट्रोनिक्स र जहाज निर्माण गर्ने
ठूला ठूला कम्पनीहरु छन्। यै मुलुकमा, जनताको प्रतिव्यक्ति आय सन् १९६३ मा केवल
१०० डलर (अमेरिकी) थियो भने सन् २००५ मा चमत्कारी किसिमले वृद्धि भएर १६,००० डलर
(अमेरिकी) हुन पुग्यो। कुनै समयमा भने यो
देश अमेरिकी सहयोगमा आश्रित थियो।
मुलुकको आर्थिक
विकासका लागि द कोरियाले प्रारम्भकालदेखि नै परिवारहरुको स्वामित्वमा रहेका साना
साना उद्योगहरुको विकासमा जोड दिंदै आयो। मुलुकको अर्थ तन्त्रलाई निर्यातमूखि
पार्दै लग्यो पनि। यो देशले अहिले उल्लेखनीय समृद्धि प्राप्त गरेको छ। अहिले यहाँ
केवल चार प्रतिसतको हाराहारिमा मात्र बेरोजगारी छ।
द कोरिया, नोमिनल जि
डि पी को आधारमा विश्वको १५ औ ठूलो अर्थ तन्त्र हो भने क्रय शक्ति तुलना (PPP) को आधारमा १२ औ। औधोगिक
विकासमा उल्लेख्य सफलता हासिल गरेको यो मुलुक संयुक्त राष्ट्र संघ, विश्व व्यापार
संगठन एवं ओ इ सि डी (OECD) को सदस्य पनि हो। द कोरियालीहरुको जिवन स्तर ज्यादै उच्च छ।
सन २००२ आर्थिक वृद्धि दर ७.२ प्रतिशत हुन पुगेको थियो। अति उल्लेखनीय कुरा त के छ भने
सन् २००७-२००८ ताका, विश्व अर्थ व्यवस्थामा देखिएको आर्थिक संकटको समयमा, यो
देशलाई त्यो संकटको गंभिर असर परेको थिएन र सन् २०१० मा आर्थिक वृद्धि दर ६.२ प्रतिशत हुन पुगेको थियो।
देशको आर्थिक विकास द्रुदतर गतिमा गर्न द कोरियाले संयुक्त राज्य अमेरिकासंग सन्
२००७ मा एक स्वतन्त्र ब्यापार सम्झौतमा गरेको थियो। सन् २००७ मा दुबै राष्ट्रहरुबाट
सम्झौतमा हस्ताक्षर भएता पनि यो सम्झौताको कार्यान्वयन भने मार्च १५, २०१२ देखि भयो।
यो सम्झौतालाई “गणतन्त्र कोरिया- संयुक्त राज्य स्वतन्त्र ब्यापार सम्झौता” (Republic of Korea-United States Free Trade
Agreement) भन्ने गरिन्छ। द कोरियाको आर्थिक विकासमा
संयुक्त राज्य अमेरिकाको उल्लेख्यनीय सहयोग रहँदै आएको छ। केवल आर्थिक मात्र होइन,
राजनीतिमा समेत पनि उल्लेखयनीय सहयोग रहँदै आएको छ। द कोरियाको अमेरिकासँग यस
किसिमको घनिष्ट सम्बन्ध नरहेको भए यो मुलुकलाई यस किसिमबाट चमत्कारी तबरले आर्थिक
प्रगति गर्न गार्हो हुन्थ्यो होला।
बजार अर्थ तन्त्र
अंगालेको द कोरिया एशियाका तिब्र रुपमा आर्थिक विकास गर्ने राष्ट्रहरुको समूहमा
पर्दछ। यो मुलुकले पूँजीवादी अर्थ व्यवस्था न अंगालेको भए यो स्तरमा आर्थिक प्रगति
असम्भव नै हुन पुग्थ्यो। पूँजीवादी अर्थ व्यवस्थाले नै यो देश र यसका जनतालाई यति
धनी तुल्याएको हो। र यो तथ्य छोटो समयमा यो मुलुकले गरेको आर्थिक उपलब्धिबाट
प्रष्ट हुन्छ। यसका लागि थप तर्कहरु दिनु आवश्यक छैन। उत्तर कोरिया झै यो देशमा
पनि साम्यवादी व्यवस्था वा अधिनायक तन्त्र रहेको भए यो देशको आर्थिक स्थिति पनि
उत्तर कोरियाको झै हुने थियो। पूँजीवादी
अर्थ तन्त्र अंगालेर देशको आर्थिक विकास तिब्र गतिमा गर्न सकिन्छ भन्ने कुराको
उदाहरण द कोरिया र उ कोरियाको आर्थिक स्थितिको तुलना गरेर पनि प्रस्तुत गर्न
सकिन्छ। द कोरियाको प्रति व्यक्ति आय (सन् २०१३ को अनुमान अनुसार) नोमिनलमा, $२५, ०५१ छ भने उ कोरियाको (सन
२०११ को अनुमान अनुसार) मात्र $५०६ रहेको छ। यसै गरी द कोरिया कुल गार्यहस्थ उत्पादन (सन्
२०१३ को अनुमान अनुसार) $१. २५९ ट्रिलियन रहेको
छ भने उत्तर कोरिया (सन् २०११ को अनुमान अनुसार) केवल $१२.४ बिलियन रहेको छ। १ लाख
२१० वर्ग किलोमिटरमा फैलिएको द कोरियाको जनसंख्या ५ करोड ४ हजार ४४१ (सन्
२०१२) छ। १ लाख २० हजार ५४० वर्ग
किलोमिटरमा फैलिएको उ कोरियाको जनसंख्या २ करोड ४५ लाख ५४ हजार (सन् २०११) रहेको
छ। अधिनायकवादी राजनैतिक व्यवस्था र केन्द्रितकृत अर्थ व्यवस्थाले उत्तर कोरियाको
आर्थिक प्रगति हुन दिइ रहेको छैन।
विगतमा द कोरियाको
राजनीति पनि उथल पुथल पूर्ण रहेको थियो। चार दसकसम्म यो देश नियन्त्रणकारी शासन
व्यवस्था रह्यो। तर सन् १९८७ मा पुन वहुदलिय व्यवस्था स्थापना भयो। अहिले भने
प्रजातन्त्रको अभ्यास सफलतापूर्वक गरि रहेको छ, यो मुलुकले। हालको राष्ट्रपति पाक
कुन इ (Park Geun-hye), द कोरियाको एघारौं राष्ट्रपति हुन। उनी द कोरियाको पहिलो
महिला राष्ट्रपति हुन सफल भएकी छिन। साथै उत्तरपूर्व एशियाको आधुनिक इतिहासमा
पहिलो महिला राष्ट्रध्यक्ष हुन समेत पनि सफल भएकी छिन।
द कोरियामा जनसंक्या
वृद्धि दर ज्यादै न्यून रहेको छ र संसार मै ज्यादै न्यून जनसंख्या वृद्धि दर हुने
राष्ट्रहरु मध्ये पर्दछ। यसको जनसंख्या वृद्धि दर जापान भन्दा पनि न्यून रहेको छ।
जनता बढी मात्रामा काममा लिन हुने भएकोले सरकारले जनतालाई घरमा गएर परिवारसंग समय
बिताउन आग्रह समेत गर्नु परेको छ। जनसंख्या वृद्धि तर्फ ध्यान दिन सरकारले जनतालाई
आग्रह गर्नु परेको छ।
कुनै पनि मुलुकको आर्थिक
विकास तिब्र किसिमले गर्नका लागि तीन तत्वहरु- पूँजीवादी अर्थ व्यवस्था,
प्रजातन्त्र र इमान्दार नेतृत्व अनिवार्य रहेछ भन्ने तथ्यको बलियो किसिमले पुष्टि
द कोरियाको आर्थिक प्रगतिबाट हुन आउँछ। यसै गरी मुलुकमा ब्याप्त रहेको गरिबी
साम्यवादी होइन, पूँजीवादी अर्थ तन्त्र
द्वारा गर्न सकिन्छ भन्ने तथ्यको पनि पुष्टि हुन आउँछ। न त साम्यवादी अर्थ
व्यवस्थाद्वारा न त समाजवादी अर्थ व्यवस्थाद्वारा नै, मुलुकको आर्थिक विकास गर्न
सकिन्छ। न त गरिबी नै कम पार्न सकिन्छ, अहिलेको यो प्रतिस्पर्धात्मक युगमा।
त्यसकारण गरिबी कम पार्न साम्यवादी वा समाजवादी अर्थ तन्त्र आवश्यक छ भनी थप
तर्कहरु प्रस्तुत गर्नु समय खेर फाल्नु हो। गरिब जनतालाई झनै गरिबीको खाडलतिर
धकेल्नु हो। यो तथ्य सबै गरिबी व्याप्त रहेका राष्ट्रहरुमा लागु हुन्छ। साम्यवादी
नेताहरु र साम्यवादमा विश्वास गर्ने व्यक्तिहरुले समाजवादी वा साम्यवादी अर्थ
व्यवस्थाद्वारा गरिबी कम पार्न सकिन्छ, जनताको जिवनमा आर्थिक समृद्धि ल्याउन
सकिन्छ भन्ने भ्रम हटाए हुन्छ। गरिब जनताको कल्याण पूँजीवादी अर्थ व्यवस्थाद्वारा
नै हुन्छ। पूँजीवादले राष्ट्रिय अर्थ तन्त्रलाई गति प्रदान गर्दछ। र यस कुराको पुष्टि
पहिले यूरोपका राष्ट्रहरुले र अहिले एशियाका केही राष्ट्रहरुले गरेको आर्थिक
प्रगतिबाट प्रष्ट हुन आउँछ। संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलातय, फ्रान्स,
जर्मनी आदिले पूँजीवादी अर्थ व्यवस्थाद्वारा नै यति बढी आर्थिक प्रगति गरेका हुन
भनी दोहर्याइ रहनु पर्दैन। पूँजीवाद तर्फ अहिले दक्षिण अमेरिका र अफ्रिका धेरै
राष्ट्रहरु समेत पनि ढल्केका छन।
साधन र स्रोतहरुले
सम्पन्न भएता पनि नेपालले तिब्र गतिमा आर्थिक प्रगति गर्न सकेको छैन। र यस्तो
हुनुमा यो मुलुकका नेताहरुमा कस्तो किसिमको आर्थिक व्यवस्थाद्वारा राष्ट्रको आर्थिक
विकास हुन सक्छ भन्ने कुरामा द्विविधा हुनु हो। नेताहरु प्रष्ट हुन सकि रहेका
छैनन। केही नेताहरु परम्परागत धारणा (साम्यवादी अर्थ व्यवस्थाद्वारा मात्र गरिबी
निबारण गर्न सकिन्छ) भन्दा बाहिर आउन सकि रहेका छैनन् भने केहिले जनतालाई
पूँजीवादी अर्थ व्यवस्था द्वारा मात्र मुलुकको गरिबी कम पार्न सकिन्छ भन्ने आँट
गर्न सकि रहेका छैनन्। त्यसरी आँट गर्न नसक्नेहरुमा, प्रमुख रुपमा, कांग्रेसी,
एमाले, लगायत मधेसी दलका नेताहरु पर्दछन।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, July 05, 2013
No comments:
Post a Comment