नेपालमा बेरोजगारी: बाध्यात्मक कि ऐच्छिक?
समाचारहरूमा उल्लेख भए अनुसार अहिले नेपालको
एकतिहाई जनसङ्ख्या देशभित्र छैन। नेपालीहरू कानूनी र गैरकानूनीरूपमा संसारका अनेक
मुलुकमा पुगेका छन्। विश्वसनीय र सत्य जानकारी नलिएर नेपालीहरू रोजगारका लागि अनेक
देशमा पुगेका छन्। दक्षिण अमेरिका र अफ्रिकी देशहरूसम्म पुगेका छन्।
मानव तस्करहरूको जालमा परेर यस्ता देशमा पनि
पुगेका छन्, जुन देश आफैं गरीब छ। त्यस देशका नागरिकहरू
स्वयं रोजगारका लागि अन्य देश पुगेका छन्। यसैगरी यस्ता देश पनि पुगेका छन्,
जुन देश आफैं निर्धन छ र रोजगारको अति अभाव छ,
चरम बेरोजगारी छ। मानव तस्करको जालमा परेर
रोजगारका लागि नेपालीहरू युद्धग्रस्त देशहरूमा पुगेका छन्। नेपालीहरू रोजगारका लगि
अनेक देश जाने कथा यहीं र यत्तिकैमा समाप्त भए हुन्थ्यो नि! नेपालीहरू भाडाको
सैनिक बनेर युद्ध गर्न पुगेका छन्, अनेक देशमा।
नेपालीहरू अहिले युक्रेन र रूस पुगेका छन्, युद्ध गर्न, राम्रो तलब भत्ता
पाइने विश्वासमा। नेपालीहरू रोजगारका लागि, राम्रो आम्दानीका लागि कुन देशमा, कसरी, कुन स्थितिमा पुग्छन् भन्ने कथा अति नै लामो छ।
के कस्तो जोखिम मोलेर गइरहेका छन्,
कसरी ठगिन्छन्, यो कथा झनै लामो छ।
चलनचल्तिको भाषामा, कानूनी रूपमा अमेरिका प्रवेश गर्नुलाई ‘माथिल्लो बाटो’ भएर अमेरिका आएको भन्ने
गरिन्छ। मानव तस्कारहरूलाई मोटो रकम दिएर गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्नुलाई
‘तल्लो बाटो’ भएर अमेरिका आएको भन्ने गरिन्छ। समाचारहरूमा उल्लेख भए अनुसार
नेपालमा एक करोड रुपियाँसम्म मानव तस्कारहरूलाई भुक्तान गरेर नेपालीहरू तल्लोबाट
अमेरिका आएका छन्। एकजना नेपाली अमेरिका आउनका लागि मानव तस्करलाई एक करोड
रुपियाँसम्म भुक्तान गरिरहेको स्थिति छ। घर खेत बेचेर अमेरिका पुग्नका नाममा ठगिन
तयार भएको स्थिति छ।
तल्लो बाटोबाट अमरिका आउनेहरूलाई मानव
तस्करहरूले नेपालबाट अनेक देश घुमाउँदै अमेरिकासँग जोडिएको देश मेक्सिको ल्याएर
छाडिदिन्छन् रे। ठूलो जोखिम लिएर त्यसरी मेक्सिको आउनेहरूले गैरकानूनीरूपमा
अमेरिका प्रवश गर्नुपर्ने हुन्छ। नेपालबाट अनेक देश हुँदै मेक्सिकोसम्मको यात्रा
अति जोखिमपूर्ण हुन्छ। सुन्नमा आए अनुसार कतिपय बाटोमा हराउने, कतिपयको मृत्युसम्म हुने गरेको छ। यसैगरी मेक्सिकोबाट गैरकानूनीरूपमा अमेरिका
प्रवेश गर्ने काम पनि उत्तिकै जोखिमपूर्ण छ। यति ठूलो जोखिम उठाएर अमेरिका प्रवेश
गर्छन्। तर अमेरिकमा काम पाउने कुनै निश्चितता हुँदैन। बसाइ गैरकानूनी भएकोले
पाइला–पाइलामा दुःख, कष्ट भोग्नुपर्ने हुन्छ।
नेपालीहरू जुन सङ्ख्या र गतिमा रोजगारका लागि अहिले अनेक देश पुगिरहेका छन् त्यो स्थितिलाई विचार गर्दा हामीले आफैंसँग एउटा प्रश्न गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ। के नेपालमा त्यो स्तरको वा विकराल बेरोजगारी छ?
नेपालमा बेरोजगारी छ, यो कुरा सत्य होस तर नेपालको बेरोजगारीको विश्लेषण गर्ने हो भने नेपालमा
यथार्थभन्दा ऐच्छिक बेरोजगारी ठूलो समस्या बनेको छ। बेरोजगारी र ऐच्छिक
बेरोजगारीबीच ठूलो अन्तर छ। यसबारे उति चर्चा भएको पाइँदैन।
आफूले काम गर्न खोजेको छ। कुनै पनि काम गर्ने आफ्नो इच्छा छ, तर श्रम बजारमा कुनै पनि किसिमको काम छैन भने
त्यस्तो स्थितिलाई यथार्थ बेरोजगार भन्ने गरिन्छ।
श्रम बजारमा काम छ। तर खोजेजस्तो काम छैन।
एकजना इन्जिनीयर हो तर उसले इन्जियिीरिड्ढो काम पाउन सकेको छैन। बजारमा घर सफा
गर्ने काम उपलब्ध छ तर काम गर्नेले यो सानो काम हो, इज्जत नपाइने काम हो भनेर गर्दैन। यो स्थितिलाई
ऐच्छिक बेरोजगारी भनिन्छ। आफ्नो सीप, दक्षता वा ज्ञान अनुसारको काम नपाउनु ऐच्छिक
बेरोजगारी हो। यो एक किसिमको ऐच्छिक बेरोजगारी हो भने अर्को किसिमको बेरोजगारी आफूले खोजे अनुसारको काम नगर्नु र बेरोजगारी बस्नु हो। ऐच्छिक बेरोजगारी पनि दुई
किसिमको हुन्छ।
नेपालमा ऐच्छिक बेरोजगारी ठूलो समस्याको रूपमा
रहेको छ। ऐच्छिक बेरोजगारीमा पनि आफूले खोजे अनुसार काम पाए मात्र गर्ने, न भए अर्को किसिमको काम नगर्न मनोवृत्ति ठूलो समस्याको रूपमा रहेको छ। यो काम
सानो, यो काम ठूलो,
यो काम गर्दा इज्जत जान्छ, यो काम गर्दा इज्जत बढ्छ। यस्तो भावनाले गर्दा नेपालमा रोजगार भएर पनि
बेरोजगारी हुनुपर्ने स्थिति छ। बिए,
एमए पास व्यक्तिले बजारमा तरकारी बिक्री गर्नु
इज्जत फाल्नु हो। यस्तो सामाजिक सोचले हाम्रो श्रम बजारलाई सङ्कुचित पारेको छ।
बाँच्नका लागि काम गर्नुपर्छ। बाँच्नका लागि कुनै पनि किसिमको काम गर्न तत्पर
रहनुपर्दछ। कामै नगरी बस्नुभन्दा कुनै पनि किसमको काम गर्नु इज्जतको कुरा हो।
केही कामलाई हामीले केवल एक तोकिएको जातिले
गर्ने भनेर वर्गीकरण गरिदिएका छौं। कपाल काट्ने, सडक सफा गर्ने, फोहर सफा गर्नेजस्ता कामलाई विशेष जातिहरूको
काम भनेका छौं। यस्तो प्रवृत्तिले पनि श्रम बजारको विकास हुन्छ? एमए पास गरेको व्यक्तिले पनि फोहर फाल्ने, सडक सफा गर्ने काम गर्ने मनोविज्ञान राख्नुपर्छ।
काम आफैंमा सानो वा ठूलो हुँदैन। यो काम गर्दा इज्जत बढ्छ, त्यो काम गर्दा इज्जत जान्छ भन्ने पनि होइन। यो त हाम्रो भावना हो, जसले एकथरि काम राम्रो अर्कोथरि काम नराम्रो भनेर छुट्याएको छ। यस्तो मनोवृत्तिले
गर्दा हामीकहाँ दोस्रो किसिमको ऐच्छिक बेरोजगारी ठूलो समस्या हुन पुगेको छ। काम छ
तर पनि बेरोजगारी छ। अहिले स्थिति यस्तो छ।
माथिको प्रसङ्गलाई फेरि दोहो-याउँ। मानव
तस्करलाई नेपालमा एक करोड रुपियाँ भुक्तान गरेर अमेरिका आउन तयार रहेको एक युवक वा
युवतीले नेपालमा नै कुनै सानो आकारको व्यापार गरे हुँदैन? एक करोड रुपियाँ, जुन उक्त व्यक्तिसँग छ, के उसले त्यसलाई पूँजीको रूपमा उपयोग गर्न सक्तैन? यस प्रश्नको उत्तर सजिलो छ। हामी नेपालीहरू सानोतिनो (हामी आफैंले वर्गीकरण
गरेको ) काम गर्न रुचाउँदैनौं। हामीलाई ठूलो काम चाहिन्छ। पद र पैसा दुवै ठूलो
हुनुपर्छ। यो कारणले गर्दा पनि हाम्रो देशमा बेरोजगारी बढेको हो। हाम्रो बेरोजगारी
यथार्थ कम ऐच्छिक बढी रहेको छ। ऐच्छिकमा पनि सानोतिनो काम गर्दिनँ भन्ने हाम्रो
भावनले हामीलाई पिरोलेको छ।
सन् २०१९ मा फैलिएको कोभिडले संसारभरिका
मानिसलाई सतायो। करोडौंलाई बेरोजगारी बनायो। तर पनि त्यस समयमा कतिपयले आफ्नो सीप तथा दक्षताभन्दा फरक किसिमका काम गरे। अमेरिकामा कतिपय पाइलटहरूले
व्यापारिक संस्थाहरूमा सामान्य श्रमिक बनेर काम गरे। म पाइलट हुँ मेरो काम
हवाईजहाज चलाउने हो भनेर बेरोजगारी भएनन्। काम गरे, जस्तो काम पाए, त्यो गरे। कामलाई सानो–ठूलो भनेनन् । त्यो बेला
हवाई उद्योग नगराम्ररी प्रभावित भएको थियो। उडानहरू रद्द भएर यस उद्योगसँग
सम्बन्धित लाखौ व्यक्ति बेरोजगारी भएका थिए।
अमेरिकामा कामलाई ठूलो वा सानो भन्ने चलन छैन।
यो काम गर्दा इज्जत बढ्ने र यो काम गर्दा इज्जत घट्ने भन्ने पनि छैन। अमेरिकी
युवाहरू, खासगरी कलेजमा रहेको अवस्थामा, आफ्नो खर्चले अध्ययन गरिरहेको स्थितिमा, जस्तो किसिमको काम गर्न पनि तत्पर रहन्छन्।
कलेजसम्मको अध्ययन समाप्त भएर, आफ्नो शिक्षा अनुसारको काम पाएर, एक किनारा लाग्नुपूर्व, युवाहरू जस्तो पनि काम गर्न तयार रहन्छन्। घर
घरमा पिज्जा पु-याउने काम पनि खुशीखुशी गर्छन्। कुनै दुःखेसो पोख्दैनन्। सानो काम
गरिरहेको छु भनेर दुःखी हुँदैनन्।
नेपालमा बेरोजगारीको कुरा गर्दा ऐच्छिक
बेरोजगारीबारे खासै चर्चा गर्दैनौं। अहिले पनि, खासगरी काठमाडौंमा, कवाडी काम, तरकारी बेच्ने काम, भारतबाट आएका मानिस साइकल चढेर गर्छन्। यो काम गरेर राम्रो आम्दानी हात
पार्छन्। तर काठमाडौंका मानिस यो काम गर्दैनन्। बरु कामको लागि अरबतिर जान्छन्।
कस्तो अच्मम! भारतका मानिसले काठमाडौंमा रोजगार पाएका छन्, हाम्रा युवाहरू भने काठमाडौंमा काम छैन भन्दै
अरबतिर लागिरहेका छन्। ऐच्छिक बेरोजगारी यस्तै हुन्छ।
बेरोजगारीभन्दा ऐच्छिक बेरोजगारी ठूलो समस्या
हो। सबै किसिमका कामको सम्मान गर्न सिक्नुपर्छ। यसरी गर्ने हो भने नेपालमा
बेरोजगारी समस्या क्रमिकरूपमा समाप्त हुँदै जान्छ, अवश्य पनि।
विश्वराज अधिकारी
akoutilya@gmail.com
प्रतीक दैनिकमा प्रकाशित: Friday, February 16, 2024
https://eprateekdaily.com/2024/02/15/63051/
No comments:
Post a Comment