गरिबीको आडमा तानाशाही
गरिबलाई सपना बाढेर राजनीतिमा सफल हुनु र त्यो राजनैतिक सफलतालाई राजकीय सत्ता
प्राप्तिमा प्रयोग गर्नु संसारका धेरै नेताहरुले प्रयोग गरेको सर्वाधिक सरल एवं
प्रभावकारी उपाय हो। विश्वका कतिपय नेताहरुले त आफ्नो मुलुकमा व्याप्त गरिबीको उपयोग
गरेर, गरिबहरुलाई सम्पन्न पारि दिने सपना बाँडेर देशमा लामो समयसम्म तानाशाही नै
चलाए। त्यस किसिमका नेताहरुको त्यस्तो तानाशाहीमा देशले के को आर्थिक प्रगति
गर्नु? देश झन झन गरिबीको दलदलमा फँसेको उदाहरणहरु प्रशस्त छन।
देशमा व्याप्त गरिबी, देशवासीको दयनीय विपन्नताको प्रयोग आफ्नो उच्च
महत्वाकांक्षा एवं राजनैतिक फाइदाका लागि आफूलाई बामपन्थी वा समाजवादी भन्ने
नेताहरुले बढी गरेका छन। देशको शासन व्यवस्था लामो समयसम्म आफ्नो हातमा लिन, कतिपय
अवस्थामा त आफू बाँचुनजेल पनि प्रधान मंत्री, राष्ट्रपति जस्ता शक्तिसाली पदमा
आसिन रहन नेताहरुले गरिब जनताको गरिबीलाई भर्याङ बनाएका छन। कतिपय नेताले त आफ्नो
वंशलाई नै निरन्तर सत्तामा कायम राख्न जनताको गरिबीको व्यापक उपयोग गरेका छन।
उदाहरणको रुपमा उत्तर कोरिया र क्युवाको शासन व्यवस्थालाई लिन सकिन्छ। यो तथ्यको
अनुभव नेपाली जनतालाई पहिले थिएन। तर २०४६/४७
को र खास गरि २०६३ को आन्दोलन पछि भने यो तथ्यको अनुभव प्रष्ट गरि भयो, नेपाली
जनतालाई, खास गरी गरिब नेपाली जनतालाई। हुन पनि आफूलाई गरिबको मुक्तिदाता बताउने,
सत्ताको माथिल्लो पदमा पुगेका नेपालका बामपन्थी नेताहरुले न त कहिलै साधारण र सरल
जिवनशैली प्रस्तुत गरेर जनता माझ उदाहरण बन्न सके न त आफ्नो जिवन जनताको गरिबी
निवारणमा नै समर्पित गरे। बरु के गरे भने, गरिब जनताले दिएर पठाएको ठूलो विश्वास
केवल आफ्नो राजनैतिक, आर्थिक प्रगतिमा प्रयोग गरे। समाजमा आफ्नो स्थान राजनैतिक र
सामाजिक रुपमा उच्च रहेको देखाउनमा खर्च गरे। अहिले दक्षिण अमेरिकी राष्ट्र, भेनेजुएलाका
राष्ट्रपति ह्युगो चाभेजले पनि त्यस्तै गर्दे छन।
भेनेजुएलामा गत आइतबार ( Sunday, October
07, 2012 ) राष्ट्रपतिको चुनाव भएको थियो। उक्त चुनावमा वर्तमान
राष्ट्रपति ह्युगो चाभेजले विजय हासिल गरे जुन प्रत्यासित नै थियो। उनको विजय
नियोजित थियो। चाभेजले खसेको ८० प्रतिशत मत मध्ये ५४ प्रतिशत प्राप्त गरेका थिए
भने उनका प्रतिस्पर्धी हेनरिक काप्रिलेले ४४.९ प्राप्त गरेका
थिए। ५८ वर्षिय चाभेज सन् १९९९ देखि निरन्तर रुपमा सत्तामा छन र यो चुनाबमा
प्राप्त गरेको विजयले आउने छ वर्षसम्म उनलाई सत्तामा आसिन गराउने छ। सन् २०१८ सम्म
उनी निरन्तर रुपमा सत्तामा रही रहने हो भने सत्तामा उनी निरन्तर किसिमले रहेको
अवधि १९ वर्ष हुनेछ। आफूलाई समाजवादी नेता मान्ने र गरिबहरुको उद्दारकर्ताको रुपमा
आफूलाई प्रस्तुत गर्ने चाभेज भनेजोएलामा ‘एकइसौं सप्ताब्दि समाजवाद’ (21st Century Socialism )
ल्याउने आफ्नो सपना रहेको बताँछन। उनका समर्थकहरु चाभेजले गरिबहरुका लागि वकालत
गर्छन भनी प्रशंसा गर्छन भने उनका बिरोधीहरुले गरिबहरुको उद्दारकर्ताको नाममा
चाभेज तानाशाह हुँदै गएको आरोप लगाउँछन। चाभेजले चुनाबमा विजय हासिल गरे पछि
राजधानी काराकासमा उनका समर्थकहरुद्वारा निकालिएको जुलुशमा ठूलो खुसियाली मनाइएको
थियो। जुलशमा सहभागीहरु मध्ये केहीले ‘चाभेज लेटिन अमेरिकाका आशा हुन’, ‘चाभेजको
विजयबाट म कति सन्तुष्ट छु बयान गर्न सक्तिन’ चाभेजको विजयबाट हामी गरिबहरुलाई
ठूलो राहत मिलेको छ’ आदि आदि भनेका थिए।
समाजवादी आर्थिक कार्यक्रमहरुद्वारा मुलुकको गरिबी कम पार्नमा आफू लागि परेको
चाभेजले बताएता पनि राष्ट्रको आधा जनसंख्या उनको नीतिको विरोधी रहेका छन। उनको
विरोधीहरुले चाभेजले निजी क्षेत्रलाई ज्यादै कमजोर तुल्याएको, महत्वपूर्ण
उत्पादनका क्षेत्रहरुलाई राष्ट्रियकरण गरेको आरोप लगाएका छन। यसै गरि देशमा अभाव
सृजना गरेको, कर्मचारीतन्त्र बढाएको,
भ्रष्टाचार नियनत्रण गर्न नसकेको तथा उत्पादनका साधनरुको प्रतिस्पर्धात्मक क्षमता
ज्यादै कमजोर पारेको जस्ता आरोप पनि लगाएका छन।
भेनेजोएला विश्वमा सर्वाधिक तेल उत्पादन गर्ने राष्ट्रहरुको पंक्तिमा १२ रौं
स्थानमा पर्दछ भने दक्षिण अमेरिकामा पहिलो स्थानमा। यसै गरी भेनेजोएला लेटिन
अमेरिकाको ५ औं ठूलो अर्थतन्त्र पनि हो। तर यति हुँदा हुँदै पनि भनेजोएलाले छिमेकी
मुलुकहरु- ब्राजिल, कोलम्बिया जस्तो आर्थिक विकास गर्न सकेको छैन। राष्ट्रको
अर्थतन्त्र वहु आयामिक हुन सकेको छैन। मुलुकले प्राप्त गर्ने वैदेशिक मुद्राको ९०
प्रतिशत केवल तेलको बिक्रीबाट प्राप्त हुन्छ र सरकारलाई प्राप्त हुने राजस्य मध्ये
तेलको योगदान ५० प्रतिशत रहेको छ।
मुलुकलाई आवश्क पर्ने ऋण भनेजुएलाले चीनबाट लिने गरेको छ। विश्वमै सर्वाधिक ठूलो
तेल भण्डार भएको यो मुलुकले गरिबी कम पार्न सकेको छैन। देशमा भष्ट्राचार व्याप्त
छ। भेनेजोएलाको करिब ३० प्रतिशत जनताको दैनिक आम्दानी US$ ०२.०० (दुई) भन्दा
कम छ। निर्माण उद्योग कमजोर छ। कुल गार्यहस्थ उत्पादनमा निर्माणको योगदान १७
प्रतिशत ( सन् २००६) मात्र रहेको छ। खाद्य उत्पादनमा पनि आत्मनिर्भर हुन सकेको
छैन र करिब दुई तिहाई खाद्यान्न आयात
गर्नु पर्ने स्थिति छ। २ करोड ८९ लाख ४६ हजार १०१ (सन् २०११, जनगणना ) जनसंख्या
भएको यो मुलुक सन् २०१० मा विश्वमै सर्वाधिक, करिब २९. १
प्रतिशत मुद्रास्फिर्ति हुने राष्ट्र हुन पुगेको थियो। चाभेजको राष्ट्रिकरण गर्ने नीतिले गर्दा विदेशी
लगानीकर्ताहरु त्यहाँ लगानी गर्न चाहँदैनन्।
यो कारणले पनि मुलुकको आर्थिक विकासको गति सुस्त हुन पुगेको छ।
संचार माध्यमहरु र खास गरी टेलिभिजनमा राष्ट्रपति चाभेजको एक किसिमको
नियन्त्रण जस्तो नै छ। सेनाको पाराट्रुपर (Paratrooper) बाट राजनीतिमा प्रवेश गरेका चाभेज जनतालाई लोभ्याउने किसिमका काम र कुरा
गर्नमा खप्पिस मानिन्छन। महत्वाकांक्षी पनि उत्तिकै छन्। सजिलो गरी प्राप्त भएको
तेलको पैसा मुलुकको गरिब कम गर्नमा खर्च गरेर जनताको सहानभूति लिने प्रयासमा
क्रियाशील रहेका चाभेजले ठूला ठूला उद्योगहरुको स्थापना गर्ने, रोजगारीको बिस्तार
गर्ने, निजी क्षेत्रलाई प्रोत्सान दिएर उत्पादन र वितरण प्रणालीलाई प्रभावकारी
बनाउने, खाद्यान्न उत्पादनमा आत्मनिर्भर हुने, भष्ट्रचार नियन्त्रण गर्न, हत्या
हिंसा कम पार्ने जस्ता काम गर्न सकेका छैनन। त्यहाँ हत्या हिँसा बढेको छ। यति
हुँदा हुँदै पनि लैटिन अमेरिकाका यी
विवादस्पद नेताले गरिबी कम पार्ने नारा दिएर भेनेजुएलाको राजनीतिमा बलियो पकड कायम
गर्दै गएका छन। अहिले भनेजोएलामा सम्पन्न भएको चुनावले त्यस कुराको पुष्टि गर्दछ।
समाजवादी एवं बामपन्थी नेताहरुको
क्रियाकलाप हेर्दा लाग्छ राष्ट्रवादी एवं गरिबी निर्मुल पार्ने उनीहरुको नारा केवल
उनीहरुलाई सत्तामा टिकाउने हतियार मात्र हुन पुगेको छ। तर उनीहरुको त्यस किसिमको गरिबी निर्मुल पार्ने एवं राष्ट्रवादी नाराले
राष्ट्रलाई झन झन गरिब पार्दै लगेको छ। जनता झन झन गरिब भएर गएका छन। मुलुक हत्या,
हिँसा, भष्ट्राचार, लुटपाट, जोड जबरजस्ति, भय, त्रास आदिको बलियो र ठुलो
चक्रव्यूहमा फँस्दै गएको छ।
विश्व परिस्थिति र नेपालका बामपन्थीहरुको
क्रियाकलाप हेर्दा त लाग्न थालेको छ “नेपालमा बामपन्थीहरुको क्रियाकलाप र आर्थिक
नीतिले मुलुक झन झन गरिब हुँदै गएको छ, सम्पन्न र आत्मनिर्भर हुनुको साटो ” भन्ने बेला भइसक्यो।
विश्वराज
अधिकारी
Published in Prateekdaily on Friday, October 12, 2012
No comments:
Post a Comment