Wikipedia

Search results

Tuesday, December 25, 2012

Marriage Is Not A Substance-Nepali Short Story-30


विवाह एक वस्तु होइन

मैले प्रष्ट गरि भनेको थिएँ, पहिलो भेटमा नै। कुनै कुरा लुकाएको थिन।  खुलस्त पारेको थिएँ- शर्मिला, म एक विवाहित पुरुष हुँ। मेरा सन्तानहरु पनि छन, तर तिनीहरु मसँग बस्दैन, हामी एउटै शहरमा बसेता पनि। मैलै उनीहरुलाई आफूसँगै बस्न कुनै दबाद दिन पनि। छोरी र छोरा छुट्टा छुट्टै अपार्टमेन्टमा बस्छन, अनि म छुट्टै अर्को अपार्टमेन्टमा।  मेरो र मेरो वाइफ कल्पना बीच असमझदारीले गर्दा हामी डिभोर्स गर्ने निर्णयमा पुगेका हौ र डिभोर्स भयो पनि। हामी सबै विदेशमा नै बस्छौ, मेरो इक्स वाइफ पनि। बीस वर्ष जति भयो विदेश बसेको।”
मैले यो पनि भनेको थिएँ- सर्मिला, तपाँई म भन्दा बीस वर्ष कान्छी हुनु हुन्छ। म आफू पचास वर्षको भएकोले, मैले मेरै उमेरको हारा हारीको महिला खोजेको थिएँ, तर के गर्न, सारा काठमाडौ खोज्दा पनि पाउन सकिन। तपाँईसँग बिहे गर्ने प्रस्ताब पनि मेरो दिदी मार्फत तपाईबाट नै आएको हो, यसमा मेरो कुनै पनि किसिमको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब छैन।
मेरो कुरा सुनेर शर्मिलाले भनेकी थिन “मलाई तपाँईको विगतदेखि कुनै गुनासो छैन, भविष्यमा त्यस बारे मैले कुनै कुरा उठाउने छैन पनि। म विवाहलाई एक पवित्र सामाजिक र अझै बढी धार्मिक कारणबाट भएको एकीकरण मान्दछु। भन्छन, को कसको पति र को कसको पत्नी हुने भन्ने कुरा माथि, भगवानले नै निश्चित गरि दिएका हुन्छन। हामी आ-आफ्नो भाग्यको कारणले गर्दा पति पत्नीको रुपमा बाँधिएका हुन्छौ। कसैको भनाइमा त, इमान्दार पति-पत्नीको सम्बन्ध सात जन्म सम्म हुन्छ। तपाँईको पहिलो श्रीमती जस्तो म हुन्न। मेरा व्यवहारहरुले तपाँईलाई कुनै गुनासो गर्ने मौका दिने छैनन्। विवाह एक आत्मिय सम्बन्ध हो र हुनु पनि पर्दछ, जुन मेरो पनि मान्यता हो। धर्म र समाजलाई साक्षी राखेर, एक अर्काको भावनाको कदर गर्दै, सँगै जिवन बिताउँनै छौ भनी गरिएको एक मजबूत दुई पक्षिय सम्झौता पनि हो, यो।
उमेरको पहाड भरखरै चढ्दै गरेको भएता पनि शर्मिलाले सँगालेको त्यस्तो बौद्धिकतापूर्ण ज्ञानले निकै प्रभावित पारेको थियो, मलाई। तर पनि मैले भनेको थिएँ- हेर्नुस शर्मिला, म विवाहलाई सँगै बस्न गरिएको एक सहमति भन्दा बढी केही पनि मान्दिन। विवाह बन्धनमा बाँधिएका दुई पक्षहरु बीचमा राम्रो समझदी कायम हुन सक्यो, एकले अर्काको भावनाको कदर गर्यो, दुख दिने र ठग्ने, ढाँट्ने काम कुनै पक्षबाट भएन भने त्यो विवाहले दीर्घ जिवन पाउँछ, तर त्यस्तो हुन सकेन र दुई पक्षहरु छुट्टिए भने त्यसमा अचम्म मान्नु पर्दैन। कुनै एक पक्ष अर्को पक्षसँग शोषित र पीडित भएर बस्नु हुँदैन, यो मेरो मान्यता हो। जसरी मैले खरिद गरेको घरले मलाई सुविधा र सुरक्षा दिनुको साटो असुबिधा र असुरक्षा दिन्छ भने मैले त्यो घर फेर्नु पर्छ त्यसै गरी विवाह बन्धनमा बाँधिएकाहरुले पनि एकले अर्कोलाई छाड्न पाउनु पर्दछ, एक अर्कोबाट असुरक्षित र अपहेलित भएको अनुभूति भयो भने। त्यसकारण, विवाहलाई म एक वस्तु भन्दा बढी केही पनि मान्दिन। विवाहप्रति मेरो पूर्ण रुपमा वस्तुवादी दृष्टिकोण छ। जिवनका विभिन्न आवश्यकता पूरा गरि दिने अनेक वस्तुहरु झै विवाह  पनि एक वस्तु हो। र यो वस्तुले आफूलाई सुख र सन्तुष्टि दिनुको साटो दुख दिन थाल्यो भने या त यो वस्तु साट्नु पर्छ वा  त्यो वस्तु उपयोग गर्न बन्द गर्नु पर्दछ। विवाहलाई जुन सुकै अवस्थामा पनि कायम राख्नु पर्दछ भन्ने मान्यता पूर्णतया पुरातन हो, रुढिवादी हो। यी कुराहरु शर्मिलालाई सुनाउँदा मलाई अलिकति असजिलो महशूस भने भएको थियो। मलाई अहिले पनि राम्रो गरी याद छ, त्यो समय। तर पनि मैले प्रष्ट गरि भनेको थिएँ। मेरो इमान्दार स्वभावले त्यस्ता कुराहरु भन्न प्ररेति गरेको थियो, मेरो अन्तर आत्मालाई।
विवाहप्रति त्यस्तो दृष्टिकोण राख्ने शर्मिलाले मलाई डिभोर्स पेपरमा साइन गर्न आग्रह गरेकी छिन, आज, यो समय बिन्दुमा। त्यो पनि विवाह भएको एक वर्ष पनि नबित्दै। सम्बन्ध विच्छेदको कारणमा उनले लेखेकी छन् “तपाँईसँगको बसाईमा मैले आफूलाई सुखी रहेको पाउन सकिन।” उनको यो कदमले मलाई दुख भने पट्कै लागेको छैन। मेरो लागि त्यो अनपेक्षित थिएन पनि। बरु म अति अचम्ममा भने अवश्य परेको छु।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, December 21, 2012


No comments:

Post a Comment