Wikipedia

Search results

Friday, January 4, 2013

Model Used by Unus to Alleviate Poverty-Article-72


गरिबी समाप्त पार्न युनुसद्वारा प्रयोग गरिएको मोडेल

गरिबहरुको गरिबी समाप्त पार्न, धनीहरुको जग्मा खोसेर गरिबहरुलाई दिनु, धनीहरुको भकारी फोडेर गरिबहरुमा बाँड्नु कम्युनिष्टहरुले प्रयोग गर्ने ज्यादै सस्तो, अव्यवहारीक एवं अप्रभावकारी कार्य हो। कम्युनिष्टहरुको यो कार्यले न त गरिबहरु कहिले धनी हुन सके न त उनीहरुमा स्वावलम्बनको विकास नै हुन सक्यो। उल्टो गरिबहरुले धनीलाई हेर्ने दृष्टिकोण अति नै कटुतापूर्ण हुन गयो जसले गर्दा धनी (रोजगारदाता) र गरिब (श्रमिक) बीच कहिले राम्रो सम्बन्ध स्थापित हुन सकेन, खास गरी विकासशील राष्ट्रहरुमा। नेपाल र भारतको पश्चिम बंगालको औधोगिक विकासको गतिलाई यस कुराको प्रमाणको रुपमा लिन सकिन्छ।
विकासशील राष्ट्रहरुमा धेरै सरकरहरु पनि गरिबी निवारण गर्नमा सफल देखिएका छैनन र यस्तो हुनुमा सरकार संचालन गर्ने (नेता एवं प्रशासक) हरु भ्रष्ट र सत्ता लोलुप हुनु हो। यो कारणले गर्दा विकसशील राष्ट्रका गरिबहरु गरिबीको दुष्चक्रबाट बाहिर आउन सकि रहेका छैनन।
गरिबीको दुष्चक्रबाट बाहिर आउन स्वयं गरिबहरुले नै प्रयास गर्नु पर्दछ। यो सिद्धान्त नौलो भने होइन। धेरै अर्थशास्त्रीहरुले भन्दै आएको सिद्धान्त हो यो। तर बंगलादेशका अर्थशास्त्री मोहम्मद युनुस, जसलाई लघुवित्तका पिता समेत भन्ने गरिन्छ, ले यो सिद्धान्तको व्यवहारीक प्रयोग गरेर नै देखाइ दिए। गरिबहरुलाई गरिबीको खाडलबाट बाहिर आउन उनले महत्वपूर्ण किसिमले सहयोग पुर्याए। उनले कहाली लाग्दो गरिबीबाट बाहिर आउन न त गरिबहरुलाई बन्दुक बोक्न लगाए, न त उनीहरुलाई धनीहरुको समपत्ति लुट्न उक्साए नै। न त कुनै क्रान्तिकारी पार्टीको स्थापना गरेर आफू त्यसको अध्यक्ष भइ, गरिबहरुलाई संगठित पार्दै गृह युद्ध मच्चाए। उनको क्रियाकलापहरुबाट न त हजरौ मानिस बेपत्ता भए, न त हजारौको अंगभंग नै भयो। न त हजारौले ज्यान गुमाउनु नै पर्यो। उनले गरे त केवल अभावमा बाँचिरहेका हरुलाई ज्ञान दिने कार्य। गरिबहरुलाई गरिबीबाट बाहिर आउने तरिकाहरु सिकाए। उनले दिएको ज्ञान प्रयोग गरेर अहिले हजारौ बंगलादेशी परिवारहरु गरिबीको दलदलबाट बाहिर आएका मात्र छैन, आफ्ना सन्तानहरुलाई उच्च शिक्षा दिन समेत सफल भएका छन। युनुसको प्रयासबाट अहिले ५५ हजार जति व्यक्तिहरु उद्यमी बनेका छन। युनसको अभियानसँग अहिले ८ करोड ४० लाख जनता जोडिएका छन। घर घरमा भिख माग्न जानेहरुलाई उनले स्वरोजगारका लागि प्रेरित गरे। गरिबीको दुष्चक्रबाट बाहिर आउने भरपर्दो र दीर्घकालिन उपाय सुझाए। युनुसको भनाइमा ‘सरकारको प्रयासले मात्र आर्थिक विकास सम्भव छैन। गुनासो गरेर मात्र हुँदैन, जनता स्वयंले सक्रियता देखाउनु पर्दछ। सरकार वा अन्य निकायबाट प्राप्त सहयोग रकमले व्यक्तिलाई गरिबीबाट बाहिर आउन सहयोग पुर्याउँदैन न त समाजमा परिवर्तन नै आउँछ। गरिबीबाट बाहिर आउन व्यक्ति स्वयंले प्रयास गर्नु पर्दछ सरकारको मुख ताक्नु भन्दा। नागरिकहरुसँग सरकारभन्दा बढी परिवर्तनकारी शक्ति हुन्छ।’  युनुसका यस किसिमका प्रेरणादायी विचारहरुको प्रयोग गरेर नया मुलुक (सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बनेको) बंगलादेशले गरिबीबाट बाहिर आउन उल्लेखनीय सक्रिय प्रयास गरि रहेको छ। बंगलादेशमा व्याप्त रहेको गरिबी कम पार्ने कार्यमा महत्वपूर्ण सहयोग पुर्याएका छन् प्राध्यपक युनसले। युनुसको प्रयासबाट यो प्रमाणित भएको छ कि एक व्यक्तिको प्रयासले मात्र पनि, कुनै पनि मुलुकमा, सरकारको दान वा अनुदान नलिएर, लाखौंका संख्यामा रहेका गरिबहरु पनि गरिबीको दुष्चक्रबाट बाहिर आउन सक्दा रहेछन। युनसको यो मोडेललाई नेपालमा पनि व्यापक मात्रामा प्रयोग गरेर लाखौं निर्धन परिवारहरुलाई गरिबीबाट बाहिर ल्याउन सकिन्छ।
मुलुकका निर्धन जनतालाई गरिबीको दुष्चक्रबाट बाहिर आउन सहयोग पुर्याए बापत, अर्थशास्त्रका प्रोफेशर रहि सकेका, मोहम्मद युनुस (जन्म जुन २८, १९४०) ले सन् २००६ मा नोवल (शान्ति) पुरस्कार पाइ सकेका छन। उनले त्यस किसिमको उल्लेखनीय कार्य गरे बापत अनेक राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय पुरस्कारहरु समेत पनि पाइ सकेका छन। बंगलादेशको चिट्टागांव विश्व विद्यालयमा अर्थशास्त्रका प्रोफेशर हुँदा उनले लघुकर्जा (Microcredit) र लघुवीत्त (Microfinance)  अवधारणाहरुको विकास गरेका थिए। र पछि उनका यी अवधारणाहरु गरिब बंगलादेशीहरुलाई गरिबीको कुचक्रबाट बाहिर ल्याउन निकै प्रभावकारी साबित भए। केवल एक व्यक्तिको निस्वार्थ सक्रिय प्रयासबाट मुलुकको गरिबी कम हुन सक्छ भन्ने तथ्यहरु झनै प्रष्टिए।
अमेरिकाको विश्व विद्यालयमा अध्यापनरत रहेका युनुस जब त्यहाँको जागिर छाडेर बंगलदेश आए, शुरुको समयमा उनले मुलुकका गरिबहरुलाई आफ्नै आर्जनको पैसा बाँडे। तर त्यो कार्य दीर्घ कालसम्म जारी रहन नसक्ने देखे पछि उनले आफू जमानी बसरे बैंकबाट गरिबहरुलाई ऋण उपलब्ध गराए। बैंकहरुले गरिबलाई ऋण दिन नमाने पछि युनुस गरिबहरुका लागि जमानी बसेका थिए। पछि उनको प्रयासमा सन् १९८३ मा ग्रामिण बैंकको स्थापना भयो। जुलाई २००७ सम्ममा ग्रामिण बैंकले अमेरिकी डलर ६.३८ बिलियन लगानी गरि सकेको थियो भने ऋण लिनेहरुको संख्या ७४ लाख पुगेको थियो। गरिबी विरुद्धको युनुसको यस किसिमको सफल अभियानलाई अहिले विश्व एक दर्जन जति मुलुकहरुले अंगिकार गरेका छन।
युनुसको भनाइमा ‘सबै व्यक्तिमा क्षमता हुन्छ तर त्यो कुनै कारणले खेर गइरहेको हुन्छ। सबै व्यक्तिहरु क्षमतावान् भएर जन्मन्छन जसलाई क्रुर समाजले अघि आउन दिँदैन। बेरोजगारी समाजमा भएको प्रणालीका कारण आउँछ व्यक्तिको कारण होइन।’ हुन पनि, कुनै पनि मुलुकका नागरिक त्यहाँको सरकारको अकुशलता, सामाजिक संरचना, राजनैतिक द्वन्द आदि जस्ता कारणहरुले गर्दा बेरोजगार हुन पुगेको हुन्छ र गरिबीको दलदलमा भास्सिन बाध्य हुन्छ। गरिब हुनुमा व्यक्तिको आफ्नो भूमिका प्रमुख कारण हुँदैन। तर अधिकाँस अवस्थाहरुमा व्यक्तिहरुले आफू गरिब हुनुमा आफ्नो भाग्यलाई दोष दिएको देखिएको छ। अब भने समय आएको छ, गरिबले गरिबीबाट बाहिर आउन स्वयंले प्रयास गर्नु परेको छ, गरिबहरु संगठित हुनु परेको छ र गरिबी विरुद्धको अभियानलाई समाजले सहयोग पुर्याउनु परेको छ। हरेक गाउँ एवं नगरले आफ्ना बासिन्दाहरुलाई कुन किसिमबाट रोजगारी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा घोत्लिनु परेको छ, कुनै राजनैतिक दल र त्यसका नेताहरुको पछाडि लाग्नु भन्दा। राजनैतिक दल र नेताहरुले गरिबी थप्छन र त्यसको उपयोग मात्र गर्छन। यो तथ्य जनताले बुझ्न जरूरी छ, अब।
बंगलादेशले अहिले चमत्कारी किसिमले आर्थिक प्रगति गरि रहेको छ। यस्तो हुनुमा युनुसको योगदान पनि उल्लेखनीय रहेको छ। बंगलादेश जति खेर पूर्वी पाकिस्तान थियो, तत्कालिन पश्चिमी पाकिस्तानबाट छुट्टिएको थिएन, राजनीतिको केन्द्र विन्दु पश्चिमी पाकिस्तान थियो। आर्थिक विकासको हिसाबले पनि तत्कालिन पूर्वी पाकिस्तान पश्चिमी पाकिस्तान भन्दा पछाडि थयो। पछिल्ला वर्षहरुमा र खास गरि सन् १९९१ पछि भने बंगलादेशले अभूतपूर्व किसिमले आर्थिक प्रगति गरेको छ। सन् १९७१ पछिका वर्षहरुमा राजनैतिक उथल पुथल, सैनिक विद्रोह (Military coups), प्राकृतिक पिपद् आदिबाट पीडित भएता पनि सन् १९९१ मा भएको प्रजातन्त्रको पुनर्बहाली पछि भने बंगलादेश शान्त र स्थिर देखिएको छ र आर्थिक प्रगतिको दिशा तर्फ पनि तिब्र गतिमा लम्मिरहेको छ। विश्वको आठौ अति धेरै जन संख्या (सन् २०१२ को अनुमान अनुसार १६ करोड १० लाख ८३ हजार ८०४) भएको मुलुक बंगलादेश ले अहिले ‘अर्को एघारौं अर्थतन्त्र’ (Next Eleven Economy)  को परिचय पाएको छ। ‘अर्को एघार’ (Next Eleven) अन्तर्गत बंगलादेश, इजिप्ट, इन्डोनेसिया, इरान, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, टर्की, दक्षिण कोरिया,  र भियतनाम पर्दछन्। एक्काइसौं सप्ताब्दिमा यी एघार राष्ट्रहरुले विश्वको अति ठूलो अर्थ व्यवस्था हुन सक्ने सम्भावना राख्दछन भनी गोल्डमेन स्याक इन्भेष्टमेन्ट बैंक तथा जिम ओ’निलद्वारा एक गरिएको अनुषन्धानमा उल्लेख गरिएको थियो।
नेपाल (१,४७, १८१ वर्ग किलोमिटर) र बंगलादेश (१,४७, ५७० वर्ग किलोमिटर) को कुल क्षेत्रफल लगभग उत्तिकै उत्तिकै छ। तर बंगलादेशले भने अहिले मानव संसाधनको उपयोग अति नै प्रभावकारी किसिमले गरि रहेको छ, जनसंख्या तुलनात्मक रुपमा अत्यधिक भएता पनि। सन् २०११ मा, बंगलादेश र पाकिस्तानको कुल गार्यहस्थ उत्पादन, पि पि पि मा,    प्रति व्यक्ति,  अमेरिकी डलरमा, क्रमश: 1790.00 2787.00 रहेको थियो।
ठूलो संख्यामा मानव आवादी भएको मुलुक बंगलादेशले युनुसको लघुवीत्त र लघुकर्जा अवधारणाहरु प्रयोग गरेर मुलुकमा व्याप्त गरिबी कम पार्न सकेको उदाहरणबाट सिकेर नेपालमा पनि उनका यी अवधारणाहरु देशमा व्याप्त रहेको गरिबी कम पार्नमा प्रयोग गर्न सकिन्छ र यस किसिमबाट प्रयोग गर्ने कार्यमा जनता नै लाग्नु परेको छ, सरकार वा दलहरुको मुख ताक्नुको साटो।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, January 4, 2013

1 comment:

  1. युनुसकको मोडल व्यवहारमा कसरी लागु भयाे जस्ता शुक्षम जानकारी पनि समावेश भएको थप उपयोगी हुन्थ्यो की ।

    ReplyDelete