Wikipedia

Search results

Friday, February 1, 2013

Affluence Possibility and Nepalese Society-Article-75


विकासको पर्याप्त सम्भावना बोकेको नेपाली समाज

नेपाली समाज आर्थिक विकासको पर्याप्त सम्भावना बोकेको समाज हो, विकासको गति सुस्त छ, त्यो भने विश्लेषणको बेग्लै पाटो हो। आर्थिक विकासका लागि समाजमा जुन किसिमको लचकता चाहिन्छ त्यो विद्यमान छ, नेपाली समाजमा। समाजको बनौट, संस्कृति, रहन- सहन, विश्वास, परम्परा, सहिषुण्ता आदिको अध्ययन गर्दा नेपाली समाज उदार, लचिलो र प्रगतिशील समेत रहेको प्रष्ट हुन्छ।
नेपाली समाजमा धार्मिक कट्टरता छैन। धर्मको नाममा डरलाग्दो, ज्यादै रक्तपातपूर्ण, मुलुक नै विभाजन हुने किसिमका दंगाहरु भएका छैनन्, पूर्व युगोस्लाभियमा वा अन्य केही मुलुकहरुमा भए जस्तो। हिन्दु, वौद्ध, इस्लाम, क्रिसचियन, जैन, सिख, बहाइ आदि अनेक धर्म मान्नेहरुले स्वतन्त्रतापूर्वक आफ्नो धर्म मान्न पाएका छन। मुलुक भित्र आफ्नो आस्था अनुसार मठ, मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारा आदिको निर्माण गर्न पाएका छन। यी कुराहरु निर्माण गर्न सरकारले कुनै विभेद गरेको त छैन नै, समाजले पनि कुनै किसिमको बाधा व्यवधान पुर्याएको अनुभव गरिएको छैन। विभिन्न धर्म मान्नेहरु, एक अर्काको धर्मलाई आदर, सम्मान गर्दै, मिलेर बसेका छन्, एक अर्काको धर्मप्रति सद्भाव राख्दै। नेपालका विभिन्न शहरहरु लगाएत गाउँहरुमा पनि मठ, मन्दिर, गुम्बा, चर्च, मस्जिद आदिको निर्माण गरिएको देख्न सकिन्छ। कुनै पनि मुलुको आर्थिक विकासको लागि यो अति नै महत्वपूर्ण तत्व हो। मुलुकको आर्थिक विकासका लागि देश भित्र धार्मिक सहिषुण्ता, धार्मिक सद्भाव हुन आवश्यक छ। मुलुकमा जति बढी धार्मिक कट्टरता भयो, आर्थिक विकासको गति त्यसै अनुसार सुस्त भएर जाने रहेछ। धार्मिक कलहमा देश अल्झे भने आर्थिक विकासका मुद्दाहरु ओझलमा पर्न जान्छन। यो अनुभवले देखाएको यथार्थ हो। स रा अमेरिकाले चमत्कारी किसिमले आर्थिक प्रगति गर्नुका विभिन्न कारणहरु मध्ये एक यो देशमा, राज्य र समाज धर्म प्रति उदार रहनु हो। राज्यले विभिन्न धर्मप्रति विभेद नगर्नु हो। सबै धर्मलाई  आदर सम्मान गर्नु हो। स रा अमेरिकाको संविधानले नै जनतालाई भन्छ तपाँई कुनै पनि धर्म मान्न सक्नु हुन्छ वा धर्म न मान्न सक्नु हुन्छ (You can practice any religion, or not practice a religion)। देशका नागरिकहरुलाई धर्म मान्न पूर्ण स्वतन्त्रता दिइएको ले अमेरिकी समाज एक अर्काको धर्मलाई आदर गर्दै मिलेर, शान्तिपूर्वक बसेको छ।
नेपालमा धार्मिक कट्टरता छैन। यहाँ पोलियो थोपा खुवाउन जाने महिलाहरु माथि गोली हान्ने जस्तो कार्य भएको छैन। नेपालमा कुनै पनि समुदायबाट महिलाहरुलाई काम गर्न बाहिर जानदेखि रोकिएको छैन। यहाँको कुनै पनि धार्मिक समूह कट्टर छैन र महिला पुरुष बीच कुनै किसिमको भेद गरेको छैन, एक दुई वटा अपवादलाई छाडेर कुरा गर्ने हो भने। धार्मिक समूहरु उदार छन। धर्म र आर्थिक विकासलाई सँग सँगै लग्न सफल भएका छन।
नेपालमा जतीय सद्भाव पनि खल बलिएको छैन, ठूलो नरसंहार हुने गरि। सदियौंदेखि अनेक जात जातिहरु एक अर्कासँग हातोमालो गरि, मिलेर बसेको उदाहरण छ।
मुलुकको आर्थिक विकासका लागि जातीय सद्भाव कायम रहनु पर्दछ। जातीय सद्भाव बिथोलियो भने शान्ति र स्थिरताका कामय हुन सक्तैन। अर्कोतिर, मुलुकमा शान्ति र स्थिरता कामय नभए सम्म आर्थिक विकास हुन सक्तैन। अफ्रिकाका केही मुलुकहरुले भोगेको यथार्थ हो, यो।  
यसै गरी, कुनै पनि मुलुकमा जति बढी, विभिन किसिमका जात जातिहरुको बसोबास हुन्छ, त्येति नै बढी उनीहरुले आफ्नो कला, संस्कृति, ज्ञानको प्रयोग गरेर मुलुकको आर्थिक विकासमा ठोस योगदान पुर्याउँछन। स रा अमेरिका, क्यानाडा, अष्ट्रेलिया र अन्य केही मुलुकहरुमा विभिन्न जात जातिहरुको बसोबास रहेको र ती जात जातिहरु बीच राम्रो सद्भाव कायम रहेकोले नै ती मुलुकहरुले त्यस किसिमबाट आर्थिक प्रगति गर्न सकेका हुन।
नेपाली समाजमा विभिन्न जात जातिहरु भएता पनि उनीहरुको बीचमा ज्यादै नै राम्रो सद्भाव कायम रहेको छ। नेपालका केही राजनैतिक दलहरुले विभिन्न जात जातिहरुको बीचमा कलह ल्याउन खोजेता पनि, आफ्नो फाइदाका उनीहरुलाई विभाजित मनस्थितिमा बस्न उकासे तापनि, नेपाली समाजको दूरदर्शिताले गर्दा त्यस्तो हुन पाएको छैन। सदियौं देखि कायम रहेको तराई र पहाडका बासिन्दाहरु बीचको सौहार्दतालाई केही नेताहरुले आफ्नो स्वार्थकालागि खल बल्याउन खोजे तापनि त्यस्तो हुन सकेको छैन, ती नेताहरुले अनेक किसिमका दाउपेंचहरु खेलेता पनि। यस सन्दर्भमा नेपाली समाजले देखाएको सुझबुझलाई उदाहरणको रुपमा पेश गर्न सकिन्छ र यसको उच्च सम्मान गरिनु पर्दछ पनि।
नेपाली समाज यौनको मामिला पनि निकै उदार देखिएको छ। नेपालका मन्दिरहरु कुँदिएका विभिन्न किसिमका चित्रहरुले नेपाली समाज परम्परागत रुपमा नै योन प्रति उदार रहेको पृष्टि हुन्छ। यौन प्रति समाज जति बढी कट्टर भयो, यौन हिँसा पनि उत्तिकै बढी हुने गर्दछ। यो पनि अनुभवबाट प्रमाणित भएको यथार्थ हो। नेपालमा प्रेम विवाहले कानूनी मान्यता त पाएको छ नै, सामाजिक मान्यता पनि पाएको छ। युवा युवतीले एक अर्कोलाई देखाउने प्रेम प्रति नेपाली समाज बाधक बनेर प्रस्तुत भएको खासै देखिएको छैन, झिना मसिना केही घटनाहरुलाई नजरअन्दाज गर्ने हो भने। प्रेम विवाह प्रति निकै युवा युवतिहरु आकृष्ट भएकोले यसले दाइजो प्रथालाई अवश्य पनि निरुत्साहित पार्ने छ, अनि छोरीको विवाहमा आमा बाबुले दाइजो दिनका लागि बोक्नु पर्ने ऋणको भारमा पनि कमी ल्याउने छ। देखिएको, बढ्दो अन्तर जातीय विवाहले समाजमा सद्भाव कायम गराउनमा सहयोग पुर्याउने छ। समाजमा, जात जाति प्रथाप्रतिको कट्टरतामा कमी आउने छ। र आर्थिक विकासका लागि जातीय कट्टरतामा कमी आउन आवश्यक छ पनि।  
नेपाली समाज आर्थिक विकासको पर्याप्त सम्भावना बोकेको समाज भएता पनि मुलुकको आर्थिक विकास तिब्र गतिमा किन हुन सकि रहेको छैन त? यो प्रश्न भने निकै गंभिर छ। यो प्रश्नको उत्तर खोज्न नेपालको राजनैतिक अवस्थाको विश्लेषण गर्नु पर्ने हुन्छ। नेपाली राजनीति उत्थान र पतनको चक्रव्यूहबाट बाहिर आउन सकि रहेको छैन, सदियौंदेखि। मल्लकाललाई छाडेर कुरा गर्ने हो भने शाहकाल, राणाकाल, शाहकाल, पंचायतकाल, संवैधानिक राजतन्त्रकाल, सक्रिय राजतन्त्रकाल र गणतन्त्रकाल, यी सबै कालहरुमा नेपाली राजनीति उत्थान र पतन (एउटा शक्तिको उत्थान र अर्को शक्तिको पतन) को घेरा भन्दा बाहिर आउन सकेको देखिएको छैन। नेपालको राजनीति केवल एउटा पक्ष (शक्ति) लाई हटार अर्को पक्षलाई  सक्तिशाली तुल्याउने खेलमा फँसेको देखिएको छ। २००७ साल भन्दा पहिले नेपालको राजनीति निरंकुश राणाहरुलाई कसरी सत्ताबाट हटाउने भन्ने चिंन्तनमा केन्द्रित थियो, आर्थिक मुद्दाहरु ओझलमा परेका थिए। राणाहरुको पतन (२००७) पछि नेपालको राजनीतिले कोल्टो त फेर्यो तर राजा महेन्द्रले सम्पूर्ण राजकीय शक्ति आफ्नो हातमा लिए पछि र २०१७ सालमा पंचायती व्यवस्था लागु गरे पछि नेपालको राजनीति केवल राजाको सक्रिय शासन र पंचायती व्यवस्था कसरी फाल्ने विषयमा केन्द्रित हुन पुग्यो, आर्थिक विकासका मुद्दाहरु फेरि ओझलमा परे। एक थरि त, राजतन्त्र कसरी फाल्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहे साथै भूमिगतरुपमा आन्दोलित पनि भए। २०४६ सालमा नेपालको राजनीतिले अर्को मोड लियो, जन आन्दोलनबाट सक्रिय राजनन्त्रको अन्त्य भयो, राजा केवल संवैधानिक मात्र रहे, मुलुकमा प्रजातन्त्रको पुर्नस्थापना भयो। तर २०५२ सालमा राजा र संसदीय दलहरुको बिरुद्धमा नै  माओवादीहरुले एक किसिमको गृह युद्धको आरम्भ नै गरे, फेरि आर्थिक विकासका मुद्दाहरु ओझलमा मात्र परेनन् विकासका लागि आवश्य पर्ने अनेक पुर्वाधारहरु नष्ट समेत भए, रक्तपातपूर्ण, डरलाग्दो, संघर्षमा। मौजुदा परिस्थितिमा हेर्ने हो भने, राजनैतिक दलहरु बीचमा भएको जालझेल, खिचातानी पनि, केवल सरकार कसले बनाउने, शक्ति कस्को हातमा रहने भन्ने कुटिल महत्वाकांक्षाका लागि भएको हो भन्ने यथार्थ प्रष्ट हुन्छ। यो समयमा पनि आर्थिक विकासका मुद्दाहरुले महत्व पाउन सकेका छैनन्। नेपालको राजनीतिले केवल नेताहरुको स्वार्थको वरिपरि चक्कर काटि रहेको छ, यो गणतान्त्रिक कालमा पनि, अझै अन्य काल भन्दा बढी।
यसरी नेपाली राजनीति ‘एउटा पक्षले अर्को पक्षबाट शक्ति आफ्नो हातमा लिन गर्ने विभिन्न किसिमका राजनैतिक नौटंकीहरुको मंचन’ वरिपरि चक्कर मात्र काटेको देखिन्छ। नेपालको राजनीति मुलुकको आर्थिक विकासमा केन्द्रित हुन सकेको छैन। जनता पनि एउटा शक्ति केन्द्रलाई माथि उचाल्ने अनि त्यो शक्ति केन्द्र कमजोर भए पछि अर्को शक्ति केन्द्रको पछाडि लाग्ने खेलमा अल्मलिएको देखिएको छ। तर अब जनताले नेपालको राजनीतिलाई आर्थिक विकासमा केन्द्रित हुन बाध्य पार्नु पर्ने स्थिति आएको छ, गरिबीबाट छुटकारा पाउन ठोस प्रयास गर्नु परेको छ। जनताले नेपालको राजनीतिलाई शक्तिको उत्थान र पतनको खेलमा अल्मलिन दिन भएन। जनता अझै बढी जागरुक र सचेत हुनु परेको छ, पहिले भन्दा। नेताहरुद्वारा खेलिने सक्ति र सत्ताको खेलमा जनता फंस्न भएन, नेताहरुको पछाडि लाग्न भएन। र नेपाली जनताले, नेपाली समाजले, नेपाली राजनीतिलाई, नेताहरुलाई, सही दिशातर्फ निर्देशित गर्न सक्ने क्षमता राख्छ किनभने नेपाली समाजमा खास किसिमका योग्यताहरु छन, विशेषताहरु छन।  

Bishwa Raj Adhikari


प्रतीक दैनिकमा प्रकाशित Friday, February 02, 2013

No comments:

Post a Comment