किन बढी मान्छेहरु लाग्छन राजनीतिमा?
नेपालमा मान्छेहरु
चाहिने भन्दा बढी किन राजनीति तर्फ आकर्षित हुन्छन? यति सानो देशमा किन यत्रो ठूलो
संख्यामा रानैतिक दलहरु स्थापना भएका छन्? दल एवं नेताहरु स्वार्थ केन्द्रित भएता
पनि यिनको पछि लाग्ने मान्छेहरुको संख्यामा किन कमी आउन सकेको छैन? कुनै राजनैतिक
दलको सभा, सम्मेलन वा महाधिवेशन हुँदा किन त्यो पर्व जस्तो हुन्छ? किन पुग्छन
मान्छेहरु त्यहाँ कुम्भ मेलामा पुगे झै? रेडियो, टि भी, पत्र पत्रिका आदिले पनि
किन ठूलो महत्वका साथ नेताहरुको क्रियाकलाप (मिटिंग, अन्तरवार्ता, वक्तव्य, लेख
आदि) लाई मात्र प्रशारण एवं प्रकाशन गर्छन, जनताका जन जिविकाका अहंम् समाचारहरुलाई
खासै महत्व नदिएर? किन त्यस किसिमका सभा, सम्मेलनहरुमा पत्रकारहरुको पनि ठूलो
संख्यामा उपस्थिति हुन्छ? राजनैतिक दल र नेताहरुलाई जनताले गालि पनि गर्छ, मुलुकको
राजनीति गलत दिशा तर्फ निर्देशित गरेमा, अर्कोतिर जनताले नेताहरुको झोला बोक्ने
काम छाडेको पनि छैन। नेताहरुले बोकाएका, वैचारिक र भौतिक, दुबै किसिमका झोला किन
बोकि रहेको छ जनताले, नेताहरुको आनि, बानी, व्यवहार थाहा पाउँदा पाउँदै पनि? किन
भइ रहेका छन, यस्ता विरोधाभासपूर्ण कुराहरु? यस्तो हुनुको मूल कारण के होला त? यो
प्रश्नको उत्तर खोज्न धेरै घोत्लिनु पर्दैन। प्रश्नको उत्तर निकै सरल छ। सरकार
कमजोर भएकोले यस्तो भएको हो। मुलुकको सरकार बलियो भइ दिएको भए जनता यस किसिमले नेताहरुको
झण्डा र झोला बोक्न बाध्य हुनु पर्थेन।
सरकारलाई कमजोर
बनाउने काम पनि राजनैतिक दल र नेताहरुले गरेका हुन। दल र नेताहरु, आफूहरु बलियो
हुनका लागि, जानी जानी, योजनावद्ध तरिकाले, उनीहरुले सरकारलाई कमजोर तुल्याएका
हुन। सरकार कमजोर भएमा मात्र उनीहरुले विभिन्न स्थानहरुमा छाया सरकारहरुको
माध्यमबाट आफ्ना इच्छा अनुसारको काम गर्न सक्छन अनि जनतालाई प्रभावित पार्न सक्छन,
आफ्नो स्वार्थ पूरा गर्न सक्छन। यो कुरा दल र तिनका नेताहरुलाई राम्रो गरी थाहा छ।
यसमा उनीहरुलाई कुनै किसिमको दुविधा छैन। सरकारलाई कमजोर तुल्याउनमा सबै दलहरुको
बीचमा राम्रो एकता कायम हुने गर्दछ, कुनै किसिमको मतभेद हुँदैन। यो देखिएको
भोगिएको यथार्थ हो।
स्वास्थ्य, सुरक्षा,
शिक्षा लगायत जिवन यापनसँग सम्बन्धित अन्य विभिन्न किसिमका समस्याहरु समाधानका लगि
जनता सरकार कहाँ पुग्नु पर्ने हुन्छ। जागिर पाउनका लागि होस, वा चालक अनुमति
पत्रका लागि होस, जग्गा खरिदका लागि होस वा विक्रीका लागि, जनता त्यस किसिमका
सेवाहरु प्राप्त गर्न सरकारसम्म पुग्नु पर्दछ। त्यस किसिमका सेवाहरु प्राप्त गर्न
जुन सुकै देशमा पनि जनता सरकार समक्ष पुग्ने गर्दछ। तर नेपालमा नेताहरुले सरकारलाई
निष्पक्षतापूर्वक काम गर्न नदिएकोले, जनताको काम सरकारबाट निष्पक्षतापूर्वक
सम्पन्न हुन पाउँदैन, अनि परि आएका आफ्ना कामहरु सम्पन्न गराउन जनता बाध्य भएर दल
र नेताहरुको दैलोमा पुग्नु पर्ने वाध्यता उत्पन्न हुन्छ। सरकारले गर्नु पर्ने त्यस
किसिमका कामहरु नेताहरुले भनसुनको माध्यमबाट गरि दिएर जनतालाई आफूहरुले गुन लगाई
दिएको भ्रम पार्छन अनि जनतालाई आफ्नो पछि लाग्न बाध्य हुनु पर्ने स्थितिको सृजना
गर्छन। उनीहरुको यो रणनीतिको चक्रब्यूहमा
नेपाली राजनीतिले चक्कार काटि रहेको छ, जनताको निष्पक्षताको साथ सेवा गर्नु छाडेर।
जनता वा समाजलाई
आफ्नो हक एवं अधिकारको प्रयोग तथा संरक्षण गर्न एक किसिमको शक्तिको आवश्यकता
पर्दछ। यो काम (शक्तिको प्रयोग) पहिले, प्रचीन कालमा, कबिलाका सरदारहरुले गर्दथ्ये,
कबिलाका सदस्यहरुलाई सुरक्षा र न्याय प्रदान गर्थ्ये। समाज विकासको क्रममा यो काम
राजा, महाराजा, जमिन्दारहरुले गर्ने थाले। समाजमा चेतनाको विकासको क्रम सँगै यो
काम पछि जन निर्वाचित प्रतिनिधिहरुको माध्यमबाट सरकारले गर्न थाल्यो।
प्रजातान्त्रिक युगमा सरकारहरु जनताद्वारा निर्धारित गरिएका नियम कानूनहरुको परिधि
भित्र रहेर कार्य गर्न बाध्य भए। कुनै व्यक्तिलाई आफ्नो ज्यान असुरक्षित भएको
महशूस भएमा, कसैलाई कसैले आफ्नो सम्पत्ति हरण गर्ने जस्तो लागेमा वा आफ्नो अधिकार
कसैले कुण्ठित पार्न थालेको देखेमा त्यो त्यक्ति सहयोग र न्यायका लागि सरकार
गुहार्न जान थाल्यो। सरकारले त्यस्तो व्यक्तिको सहयोग गर्नु उसको दायित्व हुन
आउँथ्यो। यसरी सरकारको काम जनताको सेवामा केन्द्रित हुँदै गयो। बलियो मानिसले
आफ्नो हक, अधिकारको रक्षा गर्न सक्छ, कमजोरले सक्तैन। त्यस कारण, बलियो
मान्छेहरुद्वारा कमजोरहरुको हक अधिकारको अतिक्रमण नहोस भन्ने सन्दर्भमा सरकारहरुको
प्रयोग र लोकप्रियता, दुवैमा वृद्धि हुँदै
गयो।
नेपालमा भने आफ्नो
हक अधिकारको प्रयोग वा यी विषयहरु संग सम्वन्धित समस्याहरुको समाधानका लागि जनता
सरकारलाई गुहार्नु भन्दा राजनैतिक दल र तिनका नेताहरुलाई गुहार्नु सजिलो र
प्रभावकारी ठान्दछ। कुनै व्यक्तिको हत्या भएमा मृतकको परिवारले हत्यारा पत्ता
लगाई, हत्यारालाई प्रचलित कानून बमोजिम दण्ड दिन सर्वाधिक बलियो राजनैतिक दल वा
त्यसको शक्तिसाली नेतालाई गुहार्नु प्रभावकारी महशूस गर्दछ किनभने जनतालाई थाहा छ
र उसले भोगेको पनि छ- कुनै हत्यारालाई समातेर सरकार समक्ष बुझाएमा पनि, कुनै महावली
नेताले आफ्नो प्रभाव प्रयोग गरेर त्यो हत्यारालाई सजिलै गरी प्रहरीको थुनाबाट
मुक्त गराई दिन्छ। त्यो नेताले आफ्ना विभिन्न दृश्य अदृश्य अधिकार एवं प्रभावहरु
प्रयोग गरेर सजिलै त्यो कार्य गरि दिन्छ। यो यथार्थलाई जनताले बुझेको हुनाले जनता
सरकारलाई गुहार्नु भन्दा पनि राजनैतिक दल वा तिनका नेताहरुलाई गुहार्न प्रभावकारी
हुने महशूस गर्दछ। र यो क्रममा जनता सर्वाधिक शक्तिसाली दलको क्रियाशील सदस्य,
समर्थक वा मतदाता हुन अग्रसर हुन्छ, आफ्ना परि आउने त्यस किसिमका अनेक समस्याहरु
समाधान गर्नका लागि। आफ्ना हक अधिकारहरु सुरक्षित पार्नका लागि।
राजनैतिक
दलहरुद्वारा आफ्नो शक्ति र प्रभाव प्रयोग गरेर मुलुकको सरकारलाई कमजोर तुल्याउने
अनि जनतालाई आफ्नो पछि हिंड्न बाध्य पार्ने समस्याबाट नेपाल लगायत भारत,
पाकिस्तान, बंगलादेश, अफगानिस्तान का साथै विश्वका अनके मुलुकहरु पीडित छन। र
मुख्य गरी विकासशील वा गरिब राष्ट्रहरु बढी पीडित छन र गरिबीको दलदलमा फंसेका छन्।
गरिब राष्ट्रहरु झन झन गरिब हुँदै जानुको महत्वपूर्ण कारणहरु मध्ये सरकार कमजोर
अनि राजनैतिक दलहरु बलियो हुनु पनि एक हो। विकशित वा धनी राष्ट्रहरुमा राजनैतिक दलहरु
होइन, सरकारहरु बलियो हुन्छन र नेताहरुलाई केवल मुलुकका लागि आवश्य पर्ने नियम
कानूनहरु निर्माण गर्ने कार्यमा केन्द्रित पार्न सरकारहरु सक्षम हुन्छन। जतनाको
कार्य नेताहरुको प्रभावमा नपरेर, भेदभाव रहित भएर गर्न सक्षम हुन्छन्। हुन पनि,
नेताहरु, जो जनताद्वारा निर्वाचित भएर जान्छन्, उनीहरुको काम केवल स्थानीय एव
राष्ट्रिय समस्याहरु समाधान गर्न विभिन्न नियम कानूनहरु निर्माण गर्नु हो, आवश्यक
पर्ने नियम कानूनहरु बनाउनु हो, प्रशासनलाई प्रभावित गर्नु होइन, अनावश्य कार्य
गर्न प्रशासकहरुलाई दबाब दिनु होइन।
२०४६/४७ सालको राजनैतिक परिवर्तन
पछि पनि मुलुको आर्थिक विकास तिब्र गतिमा हुनुका साटो झन झन सुस्त भएर जानु, मुलुकमा
लाखौको संख्यामा व्यक्तिहरु बेरोजगार हुनु, ठूलो संख्यामा युवा युवतीहरु रोजगारीका
लागि विदेश जानु र कष्टकर जिवन बिताउन बाध्य हुनु, उद्यो व्यापारहरु नफष्टाउनु आदि
आदि जस्ता समस्याहरु मुलुकमा सरकार बलियो हुनुको साटो राजनैतिक दल र तिनका नेताहरु
बलियो भएर जानु हो। यी राजनैतिक दल र तिनका नेताहरुले पुलिस, प्रशासन लगायत जनताका
कार्यहरु सम्पादन गरि दिने अन्य
निकायहरुलाई स्वतन्त्र एवं निष्पक्ष किसिमले कार्य गर्न दिएका छैनन्, पाइला
पाइलामा हस्तक्षेप गरेका छन्।
मुलुकको आर्थिक
विकासको गतिमा तिब्रता ल्याउने हो, रोजगारीका औसरहरु सृजना गरेर गरिब जनताको
जिवनमा खुसहाली ल्याउने हो भने जनता ‘राजनैतिक दल एवं नेताहरुले सरकारलाई कमजोर
बनाउने अनि सरकार कमजोर भएकोले जनताले राजनैतिक दल एवं नेताहरुलाई गुहार्नु पर्ने,
जनताको काम नेताहरुले गरि दिएर जनतालाई प्रभावित गर्ने अनि जनता नेताहरुको प्रभाव
क्षेत्र भित्र रहि रह्नु पर्ने’ गोल
चक्करबाट बाहिर आउन जरुरी छ। जनताले दलहरुलाई होइन सरकारलाई बलियो बनाउन आवश्यक
छ। र सरकार बलियो पार्न असल र इमान्दार जन
प्रतिनिधितहरु छनौट गरेर तिनलाई निर्वाचित गर्न आवश्यक छ। वर्तमानका नेताहरु, जुन
सुकै दलको भएता पनि, यी केवल नया नया कुराहरु गरेर भ्रम छर्ने, कहिले पनि पूरा हुन
नसक्ने किसिमका सपनाहरु बांडेर जनतालाई लोभ्याउने भएकाले यिनीहरुबाट छुटकारा पाउन
आवश्यक छ। छुटकारा पाउन जनताले नया निर्वाचन गराउन सरकारलाई दबाब दिन अति आवश्यक
छ। राजनैतिक दलहरुको छाता ओढेर मात्र दबाब दिन सकिन्छ भन्ने मनोविज्ञानबाट जनता
बाहिर आउन आवश्यक छ। स्वतन्त्र आवाजहरु द्वारा पनि नया चुनाव गराउन सरकारलाई बाध्य
पार्न सकिन्छ। अनि, शान्त किसिमको दबाब मूलक कार्यक्रमहरु द्वारा सरकारलाई चुनावको
मिति तोक्न बाध्य पार्न सकिन्छ भन्ने कुरामा विश्वास गर्न पनि उत्तिकै आवश्यक छ।
Bishwa Raj Adhikari
No comments:
Post a Comment