के चीन भविष्यमा आर्थिक महाशक्ति हुने छ?
चीनको आर्थिक विकास,
अहिले जुन किसिमले तिब्र गतिमा भइ रहेको छ, ले के निरन्तरता पाउने छ? साँच्चिकै,
केही दशक पछि चीन विश्वको एक नम्बर आर्थिक महाशक्ति हुने छ? भविष्यमा आउने विभिन्न
किसिमका- राष्ट्रिर्य अन्तरार्ष्ट्रिय बाधाहरुलाई छिचोल्दै, एक डोजरले सडकको अबरोध
पन्छ्याउँदै अगाडि बढे झै, चीन आर्थिक विकासको पथमा अगाडि बढ्न सक्ला? यूरोप र
अन्य राष्ट्रहरुको खस्किँदो आर्थिक स्थितिले चीनको अर्थतन्त्रलाई प्रभाव नपार्ला
त? अहिले यस्ता प्रश्नहरु माथि विभिन्न किसिमका छलफल एवं चिन्तनहरु भइ रहेका छन।
धेरै अर्थशास्त्री एवं सम्बन्धित क्षेत्रका विज्ञहरुलाई चीनको यस किसिमको चमत्कारी
आर्थिक विकासले निरन्तरता पाउने कुरामा संका छ।
चीनको आर्थिक विकासको
मौजुदा स्थिति हेर्न हो भने, एक नम्बरमा रहेको सं रा. अमेरिका पछि, चीन
अहिले विश्वकै दोस्रो ठूलो अर्थ तन्त्र हो। तेस्रो, चौथो र पाँचौमा स्थानमा क्रमश: जापान,
जर्मनी र फ्रान्स पर्दछन्। यसै गरी, विश्वमै, सर्वाधिक निर्यात गर्ने राष्ट्रहरु
मध्ये चीनको स्थान दोस्रो नम्बरमा पर्दछ। चीनले सन् २०११ मा गरेको निर्यातको मूल्य
(अमेरिकी डलर) $१,८९८,
०००,०००,००० (विनिमय दरका आधारमा) रहेको थियो। चीनको वार्षिक आर्थिक वृद्धि (GDP Growth)
दर ८ प्रतिशतको हाराहारीमा रहेको छ।
चीनको आर्थिक विकासको
गतिको विश्लेषण दुई किसिमबाट गर्न सकिन्छ। पहिलो, लघुकालिन आधारमा। दोस्रो
दीर्घकालिन आधारमा।
दीर्घकालिन
आधारमा
चीनको राष्ट्रिय
राजनीतिमा कम्युनिष्टहरुको पकड ज्यादै बलियो छ, अहिले पनि। उनीहरु यो पकडलाई
खुकुलो पार्न चाहँदैनन्। आर्थिक नीति नियमका सबालमा उनीहरु खुकुलो देखिएता पनि
सत्ता माथि रहेको पकड खुकुलो गर्नमा भने उदार देखिएका छैनन्। संसार कै सबै भन्दा ठूलो
राजनैतिक पार्टी, कम्युनिष्ट पार्टीको, मुलुकको शासन व्यवस्थामा एक किसिमको एकाधिकार
नै छ। सरकार वा कम्युनिष्ट पार्टीको बिरोध गर्नेहरुको आबाजलाई बलियो गरि दबाउने
मात्र होइन श्रम शिविरमा पठाउने स्थिति छ। विभिन्न राजनैतिक पार्टीहरुको उपस्थिति
तथा उनीहरु बीच प्रतिस्पर्धाको स्थिति छैन। तर दिगो किसिमको आर्थिक विकासका लागि मुलुकमा
प्रजातान्त्रिक शासन व्यवस्था हुन नितान्त आवश्यक छ। प्रजातान्त्रिक
व्यवस्थाद्वारा मात्र आर्थिक विकासलाई सुनिश्चितिता प्रदान गर्न सकिन्छ।
प्रजातान्त्रिक व्यवस्थामा निजी क्षेत्रलाई राज्यले अनुकूल किसिमका नीति नियमहरुको
निर्माण गरेर र अन्य किसिमका सहयोगहरु प्रदान गरेर व्यापारीक क्रियाकलाप संचालन
गर्न सजिलो पारि दिएको हुन्छ। र अर्कोतिर राष्ट्रको आर्थिक विकासमा निजी क्षेत्रको
भूमिका ज्यादै अह्म हुन्छ, पनि।
चीन विश्वकै सर्वाधिक
जनसंख्या भएको मुलुक हो। सन् २०१० को जनगणना अनुसार चीनको जन संख्या १ अरब ३३ करोड
९७ लाख २४ हजार ८५२ रहेको थियो। चिनमा अहिले द्रुततर गतिमा आर्थिक प्रगति भएता पनि
राष्ट्रले गरेको आम्दानी वहुसंख्य जनताको हातमा पुग्न सकेको छैन। ठूलो संख्यामा
जनता अहिले पनि गरिब छ र सस्तो ज्याला दरमा काम गर्न तयार छ। यसरी जनता सस्तो वा
कम ज्याला दरमा काम गर्न तयार भएकोले चीनमा उत्पादन हुने सामानहरु विश्वको जुन
सुकै कुनामा पनि सस्तो हुन पुगेको छ, सस्तो श्रम लागतले गर्दा। तर दीर्घकालमा,
वहुसंख्यक जनताको आर्थिक जिवन स्तरमा सुधार आएर, वर्तमानको जस्तो कम ज्याला दरमा
काम गर्न उनीहरु तयार नभएमा, उनीहरुको ज्याला दर बढाउनु पर्ने स्थिति आउने छ।
ज्याला दर बढ्ने बित्तिकै उत्पादन लागत बढ्ने छ। चीनलाई सस्तो उत्पादन लागतबाट पहिले
झै हुने फाइदा उठाउन गार्हो हुने छ। र
त्यसले गर्दा अन्तरार्ष्टिय बजारमा उसको वस्तुको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास
आउने छ।
अन्तरार्ष्ट्रिय
बजारमा आफ्नो वर्चश्व कायम गर्न कुनै पनि मुलुकले व्यापक मात्रामा अनुसन्धान गर्नु
पर्ने हुन्छ। नया किसिमका वस्तु वा सेवाहरुको विकास गर्न वा भएकै वस्तु वा सेवामा उपभोक्ताको माग अनुसार सुधार
गर्न अनुसन्धानमा जोड दिनु पर्ने हुन्छ। अनुसन्धानका लागि तीन कुराहरुको आवश्यकता
पर्दछ। ती हुन-१ राज्यको खुकुलो नीति, २ दक्ष जनशक्ति, ३ ठूलो परिमाणमा रकम। यसै
गरी वस्तु वा सेवाको विकास एवं सुधारमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ।
चीनको निजी क्षेत्र त्यति बलियो छैन र चीनले अनुसन्धानमा जोड दिएर विज्ञान एवं
प्रविधिको क्षेत्रमा वा नया किसिमका वस्तु वा सेवाहरुको विकासमा अग्रता कायम गर्न
सकेको छैन। अहिलेसम्म नया वस्तु एवं सेवाको उत्पादनमा सं रा. अमेरिकाको अग्रता
कायम नै छ। दोस्रो विश्व युद्ध पछि, नया नया प्रविधि तथा उपभोक्ता वस्तुको विकास होस, वा
वैज्ञानिक अनुसन्धान, दुबै क्षेत्रमा सं रा. अमेरिका अगाडि छ। चन्द्रमा, मंगल वा
पृथ्वी वाहिरका अन्य ग्रहहरुमा पुगेर खोजी कार्य गर्ने सन्दर्भमा पनि सं रा. अमेरिका अगाडि नै छ।
चीनले ठूलो परिमाणमा
निर्यात गर्दछ। तर यसरी गरिने निर्यातमा सेवाको हिस्सा ज्यादै कम छ भने वस्तुको
सर्वाधिक। ठूलो परिणाममा वस्तुहरु निर्माण एवं निर्यात गर्न चीनले नवीकरण गर्न
नसकिने स्रोतहरुको प्रयोग व्यापक मात्रामा गर्दैन। उदाहरणका लागि निर्यात गरिने विभिन्न
किसिमक वस्तुहरुको निर्माण गर्न विभिन्न किसिमका स्थानीय कच्चा सामाग्रीहरुको
प्रयोग गर्नु। नवीरकरण गर्न नसकिने स्रोतहरुको प्रयोग व्यापक मात्रमा गर्दा
कालान्तरमा यिनीहरु रित्तिएर जान्छन भने अर्कोतिर यिनीहरुको असन्तुलित प्रयोगले गर्दा
पर्यावरण खराब भएर जान्छ। अहिले नै पनि चीनका केही शहरहरु विश्वका अति प्रदुषित
शहरहरु मध्ये पर्दछन। चीनको चमत्कारी आर्थिक प्रगतिले समाज, पर्यावरण आदिमा
प्रतिकूल असर पारेको देखिन्छ पनि। चीनको आर्थिक विकास असन्तुलित, राम्रो समन्वय
नभएको तथा लामो समयसम्म धान्न नसकिने किसिमको रहेको भनी त्यहाँका नेताहरुद्वारा
व्यक्त गरिएको पाइन्छ। सं रा. अमेरिका पछि, चीनले सर्वाधिक तेल उपयोग
गर्दछ। यसै गरी कोइलाको उत्पादन र प्रयोग पनि ज्यादै ठूलो परिमाणमा गर्दछ।
चीनले आफ्नो मुद्रा
रेन्मीनबी (युएन) को मूल्य कम निर्धारण गरेको छ। र यो कारणले गर्दा चीनका
सामाग्रीहरु अन्तरार्ष्ट्रिय बजारमा सस्तो हुन पुगेका छन। आफ्नो मुद्राको मूल्य
त्यस किसिमबाट कम नतोक्न चीनलाई दबाब परि रहेको छ। आफ्नो मुद्राको मूल्य अहिले
जस्तो कम चीनले सँधै भरि पार्न सक्तैन। अर्कोतिर चीनले आफ्नो मुद्राको मूल्य
वृद्धि गर्नासाथ उसका वस्तुहरु अन्तरार्ष्ट्रिय बजारमा महँगा हुन पुग्छन। र स्वाभाविक
रुपमा निर्यातमा कमी आउन सक्छ।
आर्थिक विकासलाई
निरन्तरता दिन मुलुकमा उपभोग र बचत बीच राम्रो सन्तुलन कायम हुन आवश्यक छ। चीनको
मौजुदा स्थिति हेर्दा त्यहाँ उपभोगको तुलनामा बचत निकै बढी छ। तर नया नया
रोजगारीहरु सृजना गर्न र अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक तुल्याउन उपभोगको
मात्रालाई अनिवार्य रुपमा बढाउनु पर्ने हुन्छ।
कुनै पनि मुलुक वा
समाजमा आर्थिक विकासको गतिलाई तिब्रता एवं निरन्तरता दिन दुई कुराहरु- स्वच्छ समाज
र चुस्त सरकार आवश्यक हुन्छन्। जनताका कार्यहरु सजिलो गरी र प्रभावकारी किसिमबाट
सम्पादन भएमा त्यसले आर्थिक विकासको गतिमा तिब्रता ल्याउँछ। देशको आर्थिक विकासका
लागि, कर तिर्नु पर्ने जनताले अनिवार्य रुपमा कर तिर्ने, देशको प्रत्येक नागरिकले
आर्थिक अनुशासन पालना गर्ने, र करको रुपमा जम्मा भएको रकमको प्रयोग सरकारद्वारा
उचित किसिमले गर्ने परिपाटि हुन आवश्यक छ। नेपाल, भारत लगाएत अन्य विकासशील
राष्ट्रहरुले अपेक्षित मात्रामा आर्थिक विकास गर्न नसक्नुको कारण आर्थिक
अनुशासनहीनता र भ्रष्टचार हो। आर्थिक भ्रष्टाचारले चीनलाई पनि उत्तिकै सताएको छ।
केहीको बिचारमा त चीनमा व्याप्त रहेको आर्थिक भ्रष्टाचार त्यहाँको आर्थिक विकासका
लागि ठूलो बाधकको रुपमा प्रस्तुत हुनेछ।
लघुकालिन
आधारमा
यूरोपको अर्थतन्त्र
अहिले राम्रो स्थितिमा छैन। यूरोपको त्यस किसिमको आर्थिक स्थितिले केवल त्यहाँका
मुलुकहरुलाई मात्र पिरोल्ने होइन, विश्वका अन्य मुलुकहरुलाई पनि पिरोल्ने स्थिति
छ। चीन जस्तो राष्ट्र, जसले निर्यात ज्यादै बढी मात्रामा गर्छ, लाई अझ बढी
पिरोल्ने देखिन्छ। चीनको आर्थिक विकासको गतिलाई तिब्रता प्रदान गर्नमा महत्वपूर्ण
भूमिका खेल्ने उसको निर्यात ब्यापार, यूरोपको खस्किंदो आर्थिक स्थितिबाट नराम्रो
गरी प्रभाविति हुने देखिन्छ। यूरोप, चीनका लागि ठूलो निर्यात बजार रहँदै आएको छ। यूरोपको
खस्किंदो आर्थिक स्थितिले, खास गरी चीनको स्टिल उद्योग नराम्रो गरी प्रभावित हुने
देखिन्छ। यसबाट चीनको ऊर्जा खपत क्षमता पनि प्रभावित हुने देखिन्छ।
सामानहरुको नक्कल (piracy) गरेको आरोप चीन माथि लाग्दै आइ रहेको छ। खास गरी
स्फ्टवेयरहरुको अनाधिकृत रुपमा प्रतिलिपि (copy) हरु तयार पारेको आरोपहरु लागेका छन। तर
दिगो आर्थिक विकासका लागि चीनले आफ्नै स्रोत र साधनहरु माथि जोड दिनु उपयुक्त हुन्छ।
सामानहरुको नक्कल गर्ने कार्यले चीनको अर्थतन्त्रलाई लघुकालमा फाइदा देखिएता पनि
दीर्घकालमा भने हानीकारक देखिन्छ।
सतहमा आएका विभिन्न
तथ्यहरुको अध्ययन एवं विश्लेषण गर्दा लघुकालमा चीन विश्वकै आर्थिक महा शक्ति बन्ने
दिशा तर्फ अग्रसर भएको देखिएता पनि दीर्घकालमा त्यो स्थानमा पुग्न चीनलाई कठिन
हुने देखिन्छ। विश्व अर्थ व्यवस्थाको प्रकृति र गति यस्तै रहेमा वा मौजुदा
स्थितिमा, संयुक्त राज्य अमेरिका, आगामी दिनहरुमा पनि विश्वको आर्थिक महा शक्तिको
रुपमा रही नै रहने देखिन्छ।
विश्वराज अधिकारी
interesting post
ReplyDelete