विकासशील राष्ट्रहरुमा वैदेशिक सहयोगको भूमिका
वैदेशिक सहयोगको माग
र उपयोग अधिक मात्रामा विकासशील राष्ट्रहरुबाट हुने गर्दछ। विकासशील राष्ट्रहरुमा
आम्दानी र उपभोग बीचको सम्बन्ध ऋणात्म हुने, अर्थात आम्दानी भन्दा उपभोगको मात्रा
बढी हुने हुँदा स्वभाविक रुपमा ऋणात्मक स्थिति उत्पन्न हुन जान्छ र त्यसलाई
सन्तुलित पार्न विकासशील राष्ट्रहरुले अन्य राष्ट्र वा वैदेशिक संस्थाहरु सँग
आर्थिक सहयोग,ऋण लिनु पर्ने वाध्यात्मक स्थिति उत्पन्न हुन्छ। विकासशील राष्ट्रका
वहु संख्यक जनता गरिबको स्थितिमा रहने हुँदा उनीहरुले बचतको माध्यमद्वारा राम्रो
पूँजीको विकास गर्न सक्तैनन्, त्यसै अनुसार राष्ट्रले पनि मुलुकलाई आवश्यक पर्ने
जति पूँजी निर्माण गर्न सक्तैन। अर्कोतिर राष्ट्र वा सरकारले मुलुकको आर्थिक
विकासका लागि अत्यावश्यक भौतिक संरचनाहरु- सडक, पुल, नहर, अस्पताल, विमानस्थल,
विद्यालय आदिको निर्माणमा ठूलो रकम खर्च गर्नु पर्ने हुन्छ। यो कारणले गर्दा
विकासशील राष्ट्रका सरकारहरुले मुलुकमा कोषको अति नै आवश्यकता रहेको उल्लेख गरेर
दाताहरु सँग ऋण, सहयोगको माग गर्छन र प्राप्त गर्छन पनि। विकासशील राष्ट्रका
सरकारहरुले किन आर्थक सहयोग माग गर्दछन् भन्ने प्रश्नको यो सोझो वा व्यवहारिक
उत्तर हो। तर के विकासशील राष्ट्रका सरकारहरुले मुलुको आर्थिक विकासका लागि मात्र नै
वाह्य सहयोगको माग गर्दछन त? यो प्रश्नको उत्तर त्यति सजिलो छैन। अहिलेसम्म भएका
अनुसन्धानहरुले के देखाएका छन भने विकासशील राष्ट्रका सरकार (सरकार संचालनमा रहेका
व्यक्तिहरु) हरुले बाह्य सहयोग माग राष्ट्रको आर्थिक, सामाजिक विकासका लागि मात्र नभएर
आफ्नो फाइदाका लागि पनि गरेका हुन्छन। र प्राप्त त्यस्ता सहयोग रकमको ठूलो भाग भ्रस्ट
नेता वा उनीहरुका सहयोगीहरुको हातमा पुग्छ। अफ्रीकी महादेशको सन्दर्भमा कुरा गर्ने
हो भने, त्यहाँका सरकारहरुले प्राप्त गर्ने आर्थिक सहयोगको करिब ८० प्रतिसत भ्रस्ट
नेताहरुको हातमा पुग्छ। राष्ट्रिय विकासको कार्यमा केवल २० प्रतिसत मात्र खर्च
हुन्छ। नेपालमा यस्तै स्थिति नभएता पनि वाह्य सहयोगको ठूलो हिस्सा भ्रस्ट
नेताहरुको हातमा जान्छ भन्ने कुरामा दुइ मत हुन सक्तैन।
कागजी रुपमा मुलुकको
आर्थिक विकासका लागि भनी उल्लेख गरिएता पनि भित्री रुपमा भने प्राप्त बाह्य आर्थिक
सहयोग भ्रस्ट नेताहरुको हितका लागि माग गरिएको हुन्छ। र प्राप्त वाह्य सहयोगको
ठूलो हिस्सा आफ्नो हातमा पार्न भ्रस्ट नेताहरुले अनेक प्रपंच रचेका हुन्छन् पनि।
ती भ्रस्ट नेताहरुले यसरी हात पारेको रकम आफ्नो व्यक्तिगत स्वार्थका लागि एवं
कार्यकर्ताहरु माझ खर्च गर्छन। आफ्नो पक्षमा जनमत तयार पार्न, जुलुस आमसभा आदिमा
आफ्ना कार्यकर्ता उतार्न भ्रस्ट नेताहरुले
केही सीमित सहयोगीहरुलाई राम्रै रकम दिने गर्दछन। र त्यसरी नेताहरुले दिने त्यस
किसिमको रकम उनीहरुले गरेको एक किसिमको लगानी हो जुन चुनावमा असुल उपर गर्छन।
अर्थात चुनाव जितेर त्यो लगानीको प्रतिफल प्राप्त गर्छन।
यसरी विकासशील
राष्ट्रहरुलाई प्राप्त हुने आर्थिक सहयोग आम जनताको जिवनसँग सरोकार राख्ने विकास,
निर्माणका कार्यहरुमा प्रयोग हुनुको साटो भ्रस्ट नेताहरुको हातमा पर्न जान्छ। र यो
नै प्रमुख कारण हो जसले गर्दा वाह्य सहयोगले प्राप्तकर्ता राष्ट्रको आर्थिक
विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्तैन। प्राप्त वाह्य आर्थिक सहयोगले विकासशील
राष्ट्रहरुमा केवल भ्रस्ट नेता तथा तिनका आसे पासेलाई धनी बनाउने काम मात्र गर्छ।
नेपालमा यो सिलसिला पंचायत कालदेखि नै चलि आएता पनि प्रजातन्त्रकालमा केही बढी, र गणतन्त्रकाला
त झनै व्यापक मात्रामा वृद्धि भएर गएको छ।
विकासशील
राष्ट्रहरुमा वहुसंख्यका नेताहरु भ्रस्ट हुन्छन् र उनीहरुले देशमा आर्थिक प्रगति
नहोस भन्ने चाहन्छन, वाह्य रुपमा, भाषण गर्दा, आफूहरु मुलुकको विकासका लागि
समर्पित छु भनेता पनि। देशमा आर्थिक प्रगति भएमा नेताहरुलाई दुई किसिमबाट प्रतिकूल
असर पर्ने हुन्छ। पहिलो, देशको वहु संख्यक जनता धनी भएमा उनीहरुले देखाएको सपनाको
पछाडि हिँड्ने मान्छेहरुको खडेरी पर्न थाल्छ जसले गर्दा सरकारमाथि हुने उनीहरुको
प्रत्यक्ष वा अप्रत्यक्ष पकड कमजोर भएर जान्छ, जन समर्थन कमजोर भएको कारणले।
दोस्रो, राष्ट्र धनी हुँदै गएमा स्वभाविक रुपमा वाह्य सहयोग क्रमिक रुपमा कम हुँदै
जान्छ। वाह्य आर्थिक सहयोग कम हुनुको सोझो अर्थ भ्रस्ट नेताहरुको हातमा पैसा कम
पर्नु हो। यी कारणहरुले गर्दा नेताहरुले जसरी पनि मुलुको गरिबीलाई निरन्तरता दिने
प्रयास गर्छन। मुलुकको गरिबीको उपयोग गर्छन्। जनतालाई गरिबीको कुचक्रबाट बाहिर
ल्याउनुको साटो। बरु जनताको गरिबीको व्यापक मात्रामा उपयोग गर्छन, शक्ति र सत्ता
प्राप्त गर्नका लागि, बाहिरी रुपमा गरिबहरुको लागि आँशु चुहाएता पनि।
विकासशील राष्ट्रका
जनता, खास गरी नेपाली जनता, बाह्य सहयोगले मुलुकको आर्थिक विकास हुन्छ भन्ने
भ्रमबाट मुक्त भए हुन्छ, वर्तमान परिस्थितिमा। बाह्य आर्थिक सहयोगले भ्रस्ट
नेताहरुको खल्ति मात्र बलियो हुन्छ।
मुलुक मात्र होइन,
कुनै शहर वा एउटा सानो गाउँ समेतले पनि आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक
विकास गर्नु पर्दछ भने सोंचाइको विकास हुन आवस्य छ, आम नेपालीमा। वाह्य सहयोगले
क्रमिक रुपमा स्वावलम्वन क्षमता नास पार्ने र पर निर्भरता बढाउँदै लाने गर्दछ।
भ्रष्टाचार एवं मुद्रास्फिर्ति बढाउँछ। र दीर्घकालसम्म वाह्य सहयोगको क्रम चल्दै
जाँदा मुलुक पूर्ण रुपमा वाह्य सहयोगमा आश्रित हुन पुग्दछ, जुन स्थिति अहिले
नेपालमा छ।
विकासशील
राष्ट्रहरुले मुलुकको आर्थिक विकास गर्नका लागि वाह्य आर्थिक सहयोग लिनु पर्छ नै
भन्ने पनि छैन। चिनले वाह्य आर्थिक सहयोग नलिएर नै पनि यति ठूलो आर्थिक प्रगति
गर्यो। चीनले विगत बीस पच्चीस वर्ष देखि चमत्कारी किसिमले आर्थिक प्रगति गरि रहेको
छ। चीन अहिले पश्चिमी मुलुकहरुलाई ऋण दिन सक्ने स्थितिमा छ। यसै गरी चीनले पूँजी
निर्यात समेत गरि रहेको छ। तर भनिन्छ ४० वर्ष पहिले सम्म पनि चीन धेरै अफ्रिकी
मुलुकहरु भन्दा गरिब थियो। यस किसिमको आर्थिक उपलब्धि हासिल गर्नुको पछाडि उदार
आर्थिक नीतिद्वारा सामाजिक इकाइहरुलाई स्वावलम्वी बनाउने चीनिया नेताहरुको बलियो
चाहना थियो। र त्यो चाहना वा सपनालाई उनीहरुले पूरा गरेर देखाए पनि।
कम्युनिज्मको उत्पति
र ज्यादै प्रयोग हुने मुलुकहरु मध्ये चीन पनि एक हो। तर चीनमा न त कहिले कारखाना
बन्द न त कहिले मजुदूर हडताल भएको खबर सुनिन्छ। न त चीनमा दर्जनौ किसिमका मजदूर
युनियनहरु रहेको समाचारहरुमा उल्लेख भएको पाइन्छ। जवकी चीनले द्रुततर गतिमा आर्थिक
प्रगति गरि रहेको छ। त्यस कारण चीनको आर्थिक प्रगतिको श्रेयता कम्युनिज्मका आर्थिक
सुत्रहरुले पाउँने देखिँदैन। यसको विपरित, चीनको आर्थिक प्रगतिको श्रेयता त्यहाँका
नेताहरुको व्यवहारीक विचारले पाउँछ, उनीहरुद्वारा लागू गरिएका उदार अर्थ नीतिलाई
जान्छ। उनीहरुद्वारा निर्माण एवं प्रयोग गरिएका व्यवाहारिक एवं उदार अर्थ नीति
नियमहरुको कारणले गर्दा नै चीनले वाह्य आर्थिक सहयोग बिना पनि यति ठूलो आर्थिक
प्रगति गर्न सकेको हो। यो तथ्यलाई स्वीकार गर्दै नेपालका नेताहरुले पनि अनेक
किसिमका बादहरुद्वारा देशको आर्थिक प्रगति गर्ने तर्फ लाग्नुको साटो इमान्दार
व्यवहारद्वार मुलुकको आर्थिक प्रगति गर्ने तर्फ लाग्नु उपयुक्त हुन्छ। आर्थिक
भस्टाचार निर्मुल पारि बाह्य निर्भरता कम गर्दै लानु पर्ने देखिन्छ। यसै गरि उदार
अर्थ नीतिमा जोड दिनु पर्ने देखिन्छ। र आफ्नै स्रोत र साधनहरुद्वारा मुलुकको दिगो
आर्थिक विकास हुन्छ भनी बुझ्न पनि आवश्यक छ।
विश्वराज अधिकारी
No comments:
Post a Comment