पूँजीवादको जन्म, विकास र प्रयोग
१३. यूरोपको दोस्रो महाशक्ति फ्रान्स
विश्वका आर्थिक महाशक्ति
राष्ट्रहरु मध्ये फ्रान्स पनि एक हो। फ्रान्सलाई आर्थिक रुपमा सक्षम पार्नमा यस
मुलुकले अंगिकार गरेको आर्थिक नीतिले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। तर यो
मुलुकलाई आर्थिक र सामरिक, दुबै किसिमले सक्षम पार्नमा भने यो मुलुकले कुनै समयमा
खडा गरेको उपनिवेशहरु र तिनका स्रोत एवं साधनहरुले सर्वाधिक महत्वपूर्ण भूमिका
खेलेको पाइन्छ। फ्रान्सले, आफूले विस्तार गरेको उपनिवेशका साधन र स्रोतहरुको
व्यापक उपयोग गरेको हुनु पर्दछ, जुन किसिमले संयुक्त अधिराज्यले गर्यो। तर स्रोत र
साधनहरु जुन किसिमले उपलब्ध भएता पनि त्यसको प्रभावकारी किसिमले उपयोग गर्ने
त्यहाँको जनता नै हो। त्यसकारण फ्रान्सलाई आर्थिक रुपमा यति सक्षम पार्नमा यस
मुलुकको जनता, नेता तथा सरकारको भूमिका अहम् रहेको सहजै भन्न सकिन्छ। अहिले भने, र
खास गरी सन् २००८ देखि फ्रान्सको अर्थ तन्त्र समस्या ग्रस्त हुन पुगेको छ।
फ्रान्समा बेरोजगारी
लगभग ११ प्रतिशत छ। र यसै गरी यहाँका युवाहरु मध्ये करिब २५ प्रतिशत युवाहरुसँग
रोजगारी छैन। फ्रान्समा अहिले ३२ लाख (3.22 million ) भन्दा बढी व्यक्तिहरुले
रोजगारी खोजि रहेका छन्। फ्रान्सको अर्थ तन्त्र अहिले कमजोर हुन पुगेको छ। यसै गरी
अर्थ तन्त्रको प्रतिस्पर्धात्मक क्षमतामा पनि ह्रास आएको छ। कमजोर हुन थालेको अर्थ
तन्त्रमा सुधार ल्याउन फ्रान्सले विभिन्न उपाय (आर्थिक सुधारका कार्यक्रम) हरु
प्रयोग गर्ने घोषणा गरेको छ। तर यसको अर्थ फ्रान्स आर्थिक रुपमा ज्यादै नै कमजोर
हुन पुगेको भने होइन। यो मुलुक अहिले पनि आर्थिक रुपमा उत्तिकै बलियो छ।
फ्रान्स, पश्चिमी
यूरोपको सबै भन्दा ठूलो राष्ट्र हो र यूरोपमा नै भने तेस्रो ठूलो राष्ट्र हो। यो राष्ट्र
यूरोपको दोस्रो ठूलो अर्थ तन्त्र पनि हो। कुनै समयमा विश्वका अनेक मुलुकहरुमा
उपनिवेश खडा गर्ने यो मुलुक अहिले पनि विश्वको पाँचौ ठूलो अर्थ तन्त्र हुनमा सफल भएको
छ। क्रय शक्तिको हिसाबले भने यो विश्वको नवौं बलियो क्रय शक्ति हुने राष्ट्र हो।
यूरोपको अति धनी राष्ट्र मध्ये एक फ्रान्स, विश्व मै चौथो सर्वाधिक धनी राष्ट्र
मानिन्छ। उनिसौं सप्ताब्धि र बिसौं सप्ताब्धिको शुरुमा, यो विश्वको दोस्रो ठूलो
उनिवेश स्थापना गर्ने राष्ट्र थियो र यसका साम्राज्य उत्तरपश्चिम अफ्रिका, मध्य
अफ्रिका, उत्तर अमेरिका, इण्डोनेशिया, भारत, दक्षिणपूर्व चीन, करेबियन, पेसिफिक
आइलैण्डहरुसम्म फैलिएको थियो।
फ्रान्सेलीहरुको
जिवन स्तर (living standard) उच्च मानिन्छ र यहाँको स्वास्थ्य सुबिधा विश्व मै उत्कृष्ट
छ। यहाँका नागरिकहरु औसत आयु पनि लामो छ। खानपिन संस्कृतिको धनी राष्ट्र फ्रान्स,
विश्व प्रसिद्ध वाइनहरुको उत्पादक पनि हो र साथै पर्यटकहरुको मन पर्ने गन्तब्य
पनि। बर्षेनी करिब ८ करोड पर्यटकहरुले फ्रान्सको भ्रमण गर्दछन। फ्रान्स, संयुक्त
राष्ट्र संघको संस्थापक सदस्य हुनुका साथै संयुक्त राष्ट्र संघ, सुरक्षापरिषद्का
पाँच स्थाइ सदस्यहरु मध्ये एक पनि हो। यसै गरी, यूरोपियन यूनियनको एक संस्थापक
सदस्य पनि हो। यूरोपियन यूनियनमा फ्रान्सको भूमिका प्रभावकारी, एक किसिमले भनौ
अगुवाई गर्ने किसिमको नै छ। हुन त यूरोपियन यूनियनमा हालीमुहाली जर्मनीको मात्र छ
भन्ने पनि उत्तिकै छन। फ्रान्स G8,
G20, NATO, OECD, र WTO को सदस्य पनि हो। विश्व
व्यापार संगठनका अनुसार, सन २००९ मा, फ्रान्स विश्वको छैठौ ठूलो निर्यातक राष्ट्र
हुन पुगेको थियो। यस बाहेक यो मुलुक विदेशमा सर्वाधिक लगानी गर्ने राष्ट्रहरु
मध्ये एक पनि हो। कृषिको क्षेत्रमा पनि राम्रो उपलब्धि हासिल गरेको छ, यो देशले।
यूरोपियन यूनियनले गर्ने कुल कृषि वस्तुको निर्यात मध्ये फ्रान्स एक्लोले २०
प्रतिसत निर्यात गर्दछ। विश्वमै सर्वाधिक कृषि वस्तु निर्यात गर्ने राष्ट्रहरुमा
फ्रान्सको स्थान तेस्रो छ। स्याम्पेन (champagne) र बोर्डो (Bordeaux) फ्रान्सका विश्व प्रसिद्ध वाइन हुन।
६ लाख ७४ हजार ८४३
वर्ग किलोमिटरमा फैलिएको फ्रान्सको जनसंख्या (सन् २०१२) ६ करोड ५३ लाख ५० हजार
रहेको छ। कुल गार्यहस्थ उत्पादन (पि पि पि), अमेरिकी डलरमा, २. २५४ ट्रिलियन (सन् २०१२ को
अनुमान) छ। प्रति व्यक्ति आय भने, अमेरिकी डलरमा, ३५ हजार ५४८ छ। फ्रान्सले
मुद्राको रुपमा, साझा मुद्रा “यूरो” प्रयोग गर्दछ। फ्रान्स एक वहुसांस्कृतिक मुलुक
हो जहाँ पचास लाख भन्दा बढी व्यक्तिहरु अरब र अफ्रिकी मुलका छन।
फ्रान्सले आफूलाई
पूँजीवादी राष्ट्र भन्न रुचाउँदैन। विभिन्न सन्दर्भहरुमा फ्रान्सले मिश्रित अर्थ
व्यवस्था अंगालेको भनी उल्लेख गरिएको पाइन्छ पनि। फ्रान्सको अर्थ नीतिको विशेषता र
त्यसको प्रयोगलाई हेर्दा यो मुलुकले समाजवादी अर्थ नीति अवलम्बन गरेको पाइन्छ। र
अर्को कुरा, फ्रान्सले विगतमा, भन्नका लागि हालसम्म पनि, समाजवादी अर्थ नीति अंगालेको
भनेता पनि वर्तमानमा फ्रान्सका अर्थ नीतिहरुमा भएका परिवर्तनहरुको अध्ययन र
विश्लेषण गर्दा, यो मुलुक पूँजीवादको दिशा तर्फ अग्रसर भएको पाइन्छ। सन् १९९० देखि
फ्रान्स विस्तारै पूँजीवाद तर्फ ढल्केको देखिन्छ। ठूलो संख्यामा, करिब पच्चिस लाख
जति निजी कम्पनीहरु दर्तामा छन। तर अहिले पनि महत्वपूर्ण उद्योगहरु- रेल, आणविक
ऊर्जा, संचार, विधृत, हवाइ जहाज निर्माण आदि, मा सरकारको हिस्सेदारी वा प्रभाव बढी
छ। स्थिति यस्तो भएता पनि सरकारले मुलुकको उद्योग व्यापारमा आफ्नो भूमिका कम
पार्दै लाने र निजी क्षेत्रको भूमिका बढाउने अग्रसरता देखाएको छ। यसो हेर्दा
फ्रान्समा समाजवादप्रति अहिले पनि जनताको लगाव रहेको पाइन्छ। वर्तमान राष्ट्रपति
फ्रान्स्वाँ ओलां, फ्रान्स्वाँ मित्राँ (सन् १९८१-१९९५) पछि, पहिलो समाजवादी राष्ट्रपतिको
रुपमा निर्वाचित भएर आएका छन।
सामरिक रुपमा,
यूरोपमा अति नै शक्तिसाली मानिने राष्ट्र, फ्रान्सको अहिले पनि अफ्रिकी
राष्ट्रहरुमा, खास गरी पहिले उपनिवेश रही सकेका मुलुकहरुमा बलियो प्रभाव छ।
फ्रान्सले प्रथम र दोस्रो
विश्व युद्धमा ठूलो जन र धनको क्षति बेहोरेको थियो। त्यसैले पनि होला, दोस्रो
विश्व युद्ध पछि यसले आर्थिक विकासमा नै बढी ध्यान केन्द्रित गर्यो। फ्रान्स लगायत
क्षेत्रीय विकासमा सहयोग पुर्याउन यूरोपियन यूनियनको स्थापना (ट्रिटी अफ पेरिस- २३
जुलाई १९५२, ट्रिटी अफ रोम- १ जनवरी १९५८, ट्रिटी अफ मास्ट्रिच- १ नोभेम्बर १९९३)
मा जोड दियो। युद्धका पीडाहरुको नराम्रो अनुभव संगालेको हुनाले फ्रान्स अहिले
मुलुकको आर्थिक विकासमा बढी केन्द्रित छ। नेपालमा, पंचायतकालको बन्द एवं सुस्त अर्थ
व्यवस्थले जन्माएका समस्याहरु, ४७ साल पछिको वेथितिको स्थिति, माओवादी संघर्षका
पीडा, ६३ साल पछिको राष्ट्रिय अराजकताको दर्द आदि भोगी सक्ता पनि, झिन मसिना
विमतिहरुलाई भूलेर, राष्ट्रको आर्थिक विकासमा, सबै मिलीजुली अगाडि बढ्नु पर्छ
भन्ने सोंच नेताहरुमा आउन सकेको छैन। उता, जनता पनि विभाजित, अलमल (confused) र निराशाको दलदलतर्फ लागेको देखिएको छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 24, 2013
No comments:
Post a Comment