पूँजीवादको जन्म, विकास र प्रयोग
११. आर्थिक महाशक्ति अमेरिका
पूँजीवादी अर्थतन्त्र अँगालेर छोटो समयमा संसार भरिमै सर्वाधिक
आर्थिक प्रगति गरेको कुनै मुलुक छ भने त्यो हो संयुक्त राज्य अमेरिका। अमेरिकाले
गएको ५० वर्षमा, खास गरि विज्ञान र
प्रविधिको क्षेत्रमा, यति बढी प्रगति गर्यो जुन एक राष्ट्रलाई विकासको दौडमा सबै
भन्दा अगाडि पुर्याउन पर्याप्त थियो र त्यही प्रगतिले अमेरिकालाई छोटो समयमा विश्वमै सर्वाधिक धनी राष्ट्र बन्नमा
ठूलो सहयोग पुर्यायो। संयुक्त राज्य अमेरिकाको रुपमा, यो देशको स्थापना भएको धेरै
भएको छैन। सन् १७७६ को जुलाई ४ मा संयुक्त राज्य अमेरिकाले ग्रेट ब्रिटेन (बेलायत)
बाट स्वतन्त्रता प्राप्त गरेको हो। यहाँको संविधान सन् १७८७ मा लेखिएको हो जुन
वर्तमान समय सम्म कायम छ। यो देशको अर्थ व्यवस्था पूँजीवादी हो भनी प्रष्ट रुपमा यो
राष्ट्रले उल्लेख गरेको पाइन्छ। संयुक्त राज्य अमेरिकाको स्थापना हुनु भन्दा
पहिले, यूरोपनियनहरु यस स्थानमा बसाइ सरेर आउँदा, यहाँ नेटिभ अमेरिकन वा अमेरिकन
इन्डियनहरुको बसोबास थियो। यूरोप, जनसंख्याको अनुपातमा साँघुरिंदै गएको अर्थात उब्जाउ जमिनको अभाव हुन थालेकोले
यूरोपियनहरु आर्थिक समृद्धिका औसरहरुको खोजी गर्न यो मुलुकमा बसाई सरेर आएका थिए।
उनीहरु यो मुलुकमा आउनुका अन्य उद्देश्यहरुमा –उन्मुक्ति, राजनैतिक स्वतन्त्रता, धार्मिक
स्वतन्त्रता आदि पनि थिए। यूरोपियनहरु यस भूखण्डमा आउनुको प्रमुख उद्देश्य भने आर्थिक
समुन्नति नै थियो र त्येही उद्देश्ले
उनीहरुलाई केवल आर्थिक विकासमा बढी केन्द्रित रहन प्रेरित गर्यो पनि। बसाइ सरेर
आएकाहरु बढी मात्रामा आर्थिक विकासमा मात्र केन्द्रित रहन थालेकोले आर्थिक विकासका
पूर्वाधारहरु – सडक, ऊर्जा, भवन, संचार, यातायात, वीत्त बजार, कुशल जन सक्ति,
प्रविधि आदिको निरन्तर रुपमा विकास हुँदै गयो। यूरोपबाट आउनेहरुको आर्थिक विकास
प्रतिको चाहना र प्रतिवद्धता अमेरिकाको आर्थिक विकासको आधारशिलको रुपमा स्थापित
हुन पुग्यो। यसरी बाहिरबाट आउनेहरु आर्थिक विकासका लागि कटिवद्ध मात्र थिएनन्,
पूँजीवादी अर्थ तन्त्रद्वारा राष्ट्रको आर्थिक विकास द्रुततर गतिमा गर्न सकिन्छ
भन्ने तथ्यमाथि बलियो गरी विश्वास गर्नेहरु पनि थिए।
विगत पचास वर्षमा र मुख्य गरी दोस्रो विश्व युद्ध पछि,
अमेरिकाले उल्लेखनीय किसिमले आर्थिक प्रगति गर्यो। दोस्रो विश्व युद्ध पछि, विश्वका
अन्य विभिन्न राष्ट्रहरु आफ्ना विभिन्न आन्तरीक कलह र केही वाह्य समस्याहरुमा
अल्झिएर बसे तर अमेरिकाले भने त्यो समयलाई विश्वको सर्वाधिक धनी राष्ट्र हुनमा
भरपूर उपयोग गर्यो। ऐतिहासिक कालमा उपनिवेश खडा गर्ने मुलुकहरु- बेलायत, स्पेन,
फ्रान्स आदिले उपनिवेश खडा गरिएका राष्ट्रहरुका साधन र स्रोतहरुको व्यापक उपयोग
गरेका थिए र त्यही साधनहरुको उपयोगबाट उपनिवेश खडा गर्ने
ती राष्ट्रहरु धनी भएका थिए पनि। तर पछि जब औपनिवेशिक युग समाप्त हुन थाल्यो, उपनिवेश
रहेका राष्ट्रहरु स्वतन्त्र हुन थाले, साम्राज्य विस्तार गर्ने ती राष्ट्रहरु सदा
कालिन धनी रहि रहन सकेनन् किनभने उनीहरुले पछिल्लो समयमा अन्य राष्ट्रका साधन
स्रोतहरुको उपयोग गर्न पाएनन। तर अमेरिकाले कतै उपनिवेश खडा नगरेको र केवल आफ्नै
साधन र स्रोतहरुको मात्र उपयोग अनुकूलतम किसिमले गरेको हुनाले सदा कालिन धनी हुने
औसर प्राप्त गर्यो र त्यो औसर अहिले पनि प्राप्त छ, कायम छ। अमेरिकाले आफ्नो मुलुक
भित्र उपलब्ध रहेका साधन र स्रोतहरुको बढी
भन्दा बढी उपयोग वैज्ञानिक किसिमले गर्यो। मुख्य गरी आफ्नो मुलुक भित्र उपलब्ध
रहेका फराकिला जमिनका टुक्राहरु जुन ठूलो परिमाणमा उपलब्ध थिए, अहिले पनि छन्, लाई
ब्यापक मात्रामा उपयोग गर्यो। जमिनका ती ठूला ठूला टुक्राहरुलाई अत्यधिक मात्रामा
उपयोग गर्दा परम्परागत कृषि पद्धतिलाई निरन्तरता दिनुको साटो समय अनुसार, कृषिमा
मेसिन, औजार, प्रविधि आदिको प्रयोग पनि समय सापेक्ष किसिमले गर्दै गयो। कृषिमा
उन्नत बिऊ, मल आदिको राम्रो गरी प्रयोग गर्यो। कृषि उत्पादनको भण्डारन सुबिधालाई
प्रभावकारी पनि उत्तिकै पार्यो। यी कार्यहरुले गर्दा एकातिर ठूलो परिमाणमा उत्पादन
सम्भव भयो भने अर्कोतिर उत्पादन लागत पनि कम हुन पुग्यो। उत्पादन लागत कम पार्दै,
ठूलो परिमाणमा उत्पादन गर्न सकेकोले जनताले सस्तोमा खाद्य लगाएत अन्य सामाग्रीहरु
खरिद गर्न पाए साथै मुलुकबाट ठूलो परिमाणमा निर्यात पनि सम्भव भयो। आधुनिक किसिमले
खेति गरेको कारणले गर्दा नै अमेरिका खाद्य उत्पादनमा आत्मनिर्भर हुँदै गयो भने
विश्वका प्रमुख निर्यातक राष्ट्रहरु मध्ये एक हुनमा सफल समेत पनि भयो। अमेरिका,
अहिले यूरोपियन यूनियनलाई छाडेर कुरा गर्ने हो भने, विश्वको तेस्रो ठूलो (सन् १९११
को अनुमान) निर्यातक मुलुक हो। विगत पचास वर्षमा अमेरिकाले कृषिको क्षेत्रमा
अभूतपूर्व प्रगति गर्यो।
आफ्ना नागरिकहरु, निल आर्मस्ट्रोंग र बज एलड्रिनले सन् १९६९
को जुलाई २१ मा चन्द्रमाको धरातलमा टेके पछि अमेरिकाले वैज्ञानिक खोज र आविष्कारको
, विश्वमा नै, नेतृत्व नै लिए सरह भयो। यस पछिको समयमा, विज्ञान र प्रविधिको
क्षेत्रमा एक पछि अर्को उपलब्धि अमेरिकाले प्राप्त गर्दै गयो। फेसबुक, गुगल, यूटुब
आदि समाविष्ट अहिलेको ‘अति संचार युग’ को सर्जक भइ सक्दा पनि अमेरिकाले विज्ञान र
प्रविधिको क्षेत्रमा अगुवाई लिने सिलसिला जारि नै छ। संचारको क्षेत्रमा भएका
उपलब्धिहरुले पनि अमेरिकालाई विकास पथमा द्रुततर गतिमा दौडाउन उत्तिकै महत्वपूर्ण
भूमिका खेलेका छन्।
अमेरिकालाई विश्वको आर्थिक महाशक्ति तुल्याउनमा के के
तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका होलान त? सडक निर्माण र विज्ञान एवं प्रविधिको
क्षेत्रमा निरन्तर अनुशन्धान र विकास जस्ता दुई कार्यहरुले अमेरिकालाई आर्थिक
समृद्धिको दिशामा द्रुततर गतिमा दौडिन अहम् भूमिका खेलेको हुनु पर्दछ, अमेरिकाको विकासको
इतिहासलाई नियालेर हेर्दा त्यस कुराको संकेत मिल्छ। हुन त अमेरिकाले अन्य
क्षेत्रहरुमा गरेको उपलब्धिहरुले पनि यो मुलुकलाई आर्थिक महाशक्ति तुल्याउनमा अहम्
भूमिका खेलेका छन। मुद्रा र वीत्तको क्षेत्रमा पनि अमेरिकाले धेरै उपलब्धिहरु
हासिल गरेको छ। अमेरिकी डलरको विनिमय संसार भरि नै हुन्छ र अमेरिकी डलर संसार भरि
छरिएको मात्र होइन स्वीकार पनि गरिन्छ। अमेरिकाको पूँजी बजार विश्वमै प्रभावकारी
मानिन्छ।
अमेरिकामा दुई किसिमका सडकहरु; शहरी सडक (city, street roads) र
राजमार्ग (highways) रहेको पाइन्छ। शहरी सडकहरु शहर भित्र हुने
गर्दछन। शहरी सडकहरुमा, सवारीको आवागमनलाई व्यवस्थित पार्नका लागि ट्राफिक लाइट
राखिएको हुन्छ। सबारीको गतिलाई नियन्त्रित गर्नका लागि भने स्पिड लिमिट लेखिएका
साइन बोर्डहरु पनि ठाउँ ठाउँमा राखिएका हुन्छन्। शहर भित्रका सडकहरुमा सबारीहरुलाई
सामान्यतया २० देखि ५० माइलको गतिमा चलाउन
साइन बोर्डको माध्यम द्वारा चालकहरुलाई सूचित गरिएको हुन्छ।
राजमार्गहरुमा भने तिब्र गतिमा सबारीका साधनहरु दौडिउन भनी,
सामान्यतया, कम्तिमा ४० र बढीमा ७० माइलको गतिमा सबारीका साधनहरु दौडाउन, राजमार्गहरुमा
राखिएका साइन बोर्डहरुद्वारा, सूचित गरिएको हुन्छ। राजमार्गहरुले एउटा राज्यलाई
अर्को राज्यसँग जोड्ने कार्य गर्दछन। अन्तर राज्य व्यापारलाई सजिलो तुल्याउँछन्। भनिन्छ,
अमेरिकाका अन्तर राज्य राजमार्ग (Interstate highway) हरुले दैवीय विपत्ति, युद्ध वा यस्तै किसिमका नाजुक अवस्थामा हवाई जहाजहरु
अवतरण गराउने क्षमता राख्छन। तिब्र गतिमा सबारीका साधनहरु लामो लामो दूरी
सम्म बेरोकटोक दौडिउन भन्ने उद्देश्य राखेर राजमार्गहरुको निर्माण गरिएको हो। राजमार्गहरु
बिरलै शहरको भित्रबाट जाने गर्दछन। राजमार्गहरुमा ट्राफिक लाइट राखिएको हुँदैन
जसले गर्दा कुनै अवरोध बिना, तिब्र गतिमा गाडीहरु दौडिनका लागि सक्षम हुन्छन,
बेरोकटोक गन्तब्य तर्फ बढ्छन्। अमेरिकाका विभिन्न राज्यहरुलाई एक आपसमा जोड्न
महत्वपूर्ण भूमिका खेल्ने लामा लामा र फराकिलो राजमार्गहरुमा १८ पांग्राका भिमकाय
ट्रकहरु दौडेको सजिलै देख्न सकिन्छ। राजमार्गको एकातिरबाट चार ओटा र अर्कोतिर बाट
चार ओटा सबारीका साधनहरु तिब्र गतिमा दौडिन सक्छन। खाद्यान्न, तरकारी देखि लिएर औद्योगिक
उत्पादनसम्म, उत्पादित स्थान (राज्य) बाट बिभिन्न अन्य राज्यहरुसम्म पुर्याउन
अमेरिकामा सडक व्यवस्थाले अति नै महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। अमेरिकाको राजमार्ग व्यवस्था, संसारमै सर्वाधिक
ठूलो मान्ने गरिन्छ। यस प्रकार अमेरिकाको अर्थ व्यवस्थालाई अति समृद्ध पार्नमा सडक
व्यवस्थाको अति नै महत्वपूर्छ भूमिका रहेको पाइन्छ। तर एक शब्दमा भन्ने हो भने
अमेरिकालाई आर्थिक उन्नतिको सिखरमा पुर्याउने श्रेयता भने यस मुलुकले अवलम्वन
गरेको पूँजीवादी अर्थ तन्त्र वा बजार अर्थ तन्त्रलाई नै जान्छ।
विश्वराज अधिकारी
प्रतीक दैनिकमा प्रकाशित Friday, May 10, 2013
No comments:
Post a Comment