Wikipedia

Search results

Friday, May 31, 2013

Can India Be World Superpower?- Article-91 Birth, Development, and Usage of Capitalism

पूँजीवादको जन्म, विकास र प्रयोग

१४. के भारत आर्थिक महाशक्ति राष्ट् हुने छ?

सन् २०५० सम्ममा भारत विश्वकै सर्वाधिक धनी राष्ट्र हुने छ। भारतले आर्थिक क्षेत्रमा अगुवाई गर्ने छ र विश्वमै सर्वाधिक शक्तिसाली, आर्थिक महाशक्ति हुनेछ। यस किसिमको अनुमान केवल आर्थिक क्षेत्रका विज्ञहरुले मात्र होइन, राजनैतिक पण्डितहरुले पनि गरि रहेका छन। र त्यस्तो अनुमान गर्नेहरुमा विकसित देशका अर्थशास्त्रीहरु समेत पनि छन्। सन् १९८० पछि, भारतमा जुन किसिमले आर्थिक जागरणको युग आरम्भ भयो, त्यहाँका प्रभावशाली व्यक्तिहरु मात्र होइन, सरकार समेतले आर्थिक सुधार (उदार अर्थ नीति, नीजीकरण, खुलाबजार) को कार्यक्रममा जोड दियो, त्यसले सुस्त गतिमा चलेको भारतको अर्थ व्यवस्थालाई दौडायो र प्रतिस्पर्धात्मक समेत तुल्यायो। एक किसिमले भन्ने हो भने भारतीय अर्थ व्यवस्था प्रतिस्पर्धाको अग्र पंक्तिमा रहेका राष्ट्रहरुको हारा हारिमा पनि आयो। अब भने भारतीय अर्थ व्यवस्थाले सबै प्रतिस्पर्धीहरुलाई उछिनेर एक नम्बरमा पुग्ने कसरत गर्दै छ।  
स्वतन्त्र भारतको पहिलो प्रधान मंत्री जवाहरलाल नेहरुको सपना ‘समाजवाद’ ले हालसम्म निरन्तरता पाएको भए, भारतीय अर्थ व्यवस्था अहिले पनि कछुवाको चालमा घस्रिरहेको हुन्थ्यो, दौडिने सक्थेन, वर्तमानमा जस्तो। मुलुकमा समाजवादको विकास गर्ने नेहरुको सपनाले केवल उनको समयमा मात्र कार्य गरेन, पछिका प्रधान मंत्रीहरु इन्दिरा गाँधीदेखि राजिब गाँधीसम्म पनि कायम रह्यो, नेहरुको त्यो सपना, उनीहरुले पनि समाजवादमा जोड दिए। भारतले समाजवादमा जोड दिएको समयमा सरकारले सार्वजनिक संरचनाहरु (Public infrastructures) को स्थापनामा निकै जोड दियो, सार्वजनिक संस्थानहरुको स्थापनामा निकै लगानी गर्यो पनि, जुन पछि गएर मुलुकको लागि आर्थिक भार हुन पुग्यो। तर भारतका नवौं प्रधान मंत्री (सन् १९९१-१९९६) नरसिंहा रावको समयमा भने भारतको समाजवादी अर्थ तन्त्रले निरन्तरता पाएन। उनले त्यो क्रमलाई सुस्तरी नै भए पनि तर तोडे। तोड्ने आँट गरे। प्रधान मंत्री नरसिंहा रावको समयमा भारतले खुला र उदार अर्थ नीति अवलम्वन गरेर पूँजीवादको युगमा प्रवेश गर्यो। अनि त्यस पछि शुरु भयो, भारतमा चमत्कारी किसिमले आर्थिक प्रगति हुने सिलसिला। रावले मुलुकमा कायम रहेको लाइसेन्स प्रथा (License Raj) को समाप्तिमा निकै जोड दिए। उनका आर्थिक सुधारका कार्यक्रमहरुलाई पछिका प्रधान मंत्रीहरु अटल बिहारी बाजपेयी र मनमोहन सिंहले पनि निरन्तरता दिए। रावको आर्थिक सुधारका कार्यक्रमहरुलाई अगाडि बढाउनमा तत्कालिन अर्थ मंत्री एवं हालका प्रधान मंत्री डा.मनमोहन सिंहको साथ एवं योगदान पनि महत्वपूर्ण रह्यो। प्रधान मंत्री रावले आफ्ना आर्थिक सुधारका कार्यक्रमहरुलाई लागु गर्न मनमोहन सिंहलाई अर्थ मंत्री नियुक्त गरेका थिए। केही विश्लेषकहरुको भनाईमा, आर्थिक सुधारका कार्यक्रमहरुको शुरूवात कर्ता राव भएता पनि त्यसलाई प्रभावकारी किसिमले व्यवहारमा लागु गर्न (समाजवादी बाट पूँजीवादी  अर्थ व्यवस्थामा रुपान्तरित गर्न) मा सिंहको भूमिका अति नै महत्वपूर्ण रहेको छ। परम्परागत रुपमा भारतमा चलि आएको समाजवादी अर्थ व्यवस्थालाई पूँजीवाद तर्फ लान, राजनैतिक स्तरबाट पहल एवं अनुमोदन समेत गराउनमा रावको भूमिका भने अतुलनीय रहेको मानिन्छ। रावको यस किसिमको ऐतिहासिक कार्यले गर्दा नै उनलाई “चाणक्य” एवं “भारतीय आर्थिक सुधारका पिता” पनि भन्ने गरिन्छ।
भारत स्वतन्त्र भएदेखि नै तत्कालिन सोभियत संघ सँगको सम्बन्धलाई प्रगाढ पार्नमा भारतको नीति केन्द्रित रह्यो। त्यस बेला, पाकिस्तान र चीनसँगको सम्बन्ध कटुटतापूर्ण भएकोले आफ्नो सामरिक स्थितिलाई मजबूत पार्न भारतले त्यस किसिमको नीति अख्तियार गरेको हुन सक्तछ, सोभियत संघलाई अति विश्वासिलो मित्रको रुपमा लिएको हुन सक्तछ। तर भारतको, सोभियत संघसँगको अति निकटतापूर्ण सम्बन्धले गर्दा भारतमा समाजवादी नीति हावी हुन पुग्यो। परिणामस्वरुप, जन शक्ति र प्राकृतिक स्रोतहरु भरपूर भएता पनि विकासको गतिले तिब्रता लिन सकेन। अर्कोतिर, सोभियतसँगको प्रगाढ सम्बन्धले गर्दा भारतमा साम्यवादी सिद्धान्तको विस्तार हुन सजिलो पनि उत्तिकै भयो। यदि भारतको सम्बन्ध, सोभियत रुसको सट्टा संयुक्त राज्य अमेरिकसँग शुरुदेखि नै घनिष्ट भएको भए र भारतले स्वतन्त्रता प्राप्त गर्नासाथ पूँजीवादी अर्थ नीति अंगालेको भए यो मुलुकले अहिले जापान, चीन, जर्मनी, फ्रान्स आदिलाई आर्थिक प्रगतिको प्रतिस्पर्धामा पछाडि छाड्न सफल हुन्थ्यो।
प्रजातन्त्र भएको विश्वको सर्वाधिक ठूलो र जनसंख्याको आधारमा विश्वको दोस्रो ठूलो राष्ट्र भारत लामो समय ( 1800s-1947 )  सम्म बेलायतको अधिनमा रह्यो। तर पनि, कुनै समयमा उपनिवेशको रुपमा रहि सकेका  विश्वका अन्य मुलुकहरुको तुलनामा भारतले निकै आर्थिक प्रगति गरेको छ, पछिल्लो ज्यादै छोटो समयमा। सन् १९९० पछि त भारतमा पुनर्जागरणको युग, आर्थिक विकासको युगको प्रारम्भ भयो। आर्थिक समृद्धि हासिल गर्न कम्मर कसरे लागि परेको भारतलाई यहाँसम्म पुर्याउनमा यो मुलुकले अंगिकार गरेको अर्थ नीति, पूँजीवादी अर्थ नीतिको भूमिका अत्यन्तनै महत्वपूर्ण छ।
भारतले दुई पटक (सन् 1970/1990)  आणविक परीक्षण गरि सकेको छ। यसै गरी आफ्नै सेटेलाईट पनि प्रक्षेपण (सन् 2008 ) गरी सकेको छ।
बजार बिनिमय दरको आधारमा भारत विश्वको दसौं ठूलो अर्थ व्यवस्था हो। परचेजिंग पावर पैरिटी (PPP) को अनुसार भने तेस्रो ठूलो राष्ट्र। भारतको आर्थिक वृद्धि दर उच्च रहँदै आएको छ। बितेका दुई दसकमा औसत आर्थिक वृद्धि दर ५.८ प्रतिशत थियो भने सन् 2011-12  मा   .१ प्रतिशत हुन पुग्यो।  लगभग ५० करोड कामदारहरुको उपस्थिति रहेको (सन् 2011) भारतको श्रम बजार विश्वको दोस्रो ठूलो श्रम बजार हो। कुल गार्यहस्थ उत्पादनमा, सेवा क्षेत्रको योगदान ५५.६, उद्योग क्षेत्रको २६.३ र कृषि क्षेत्रको १८.१ प्रतिशत रहेको छ। विश्व व्यापारम भारतको अंश, सन् 2008 मा, १.६८ प्रतिशत थियो। र सन् 2011 मा भारत विश्वको दसौं ठूलो आयातकर्ता थियो भने नवौं ठूलो निर्यातकर्ता। यहाँको उपभोक्ता बजार विश्वकै ११ रौं ठूलो उपभोक्ता बजार मानिन्छ। सूचना प्रविधिको क्षेत्रमा भारत निकै अगाडि छ भने, औषधिको उत्तादनमा पनि उत्तिकै सबल हुँदै गएको छ। भारतका औषधिहरुले विश्व बजारमा आफ्नो बलियो स्थान बनाउँदै छन्। भारतको सिनेमा उद्योग देश भित्र मात्र बलियो छैन, भारतमा उत्पादन भएका हिन्दी सिनेमाहरु विश्वका धेरै राष्ट्रका दर्शकहरुले हेर्ने गर्दछन।
भारतको बलियो आर्थिक स्थितिले यो मुलुकलाई आर्थिक रुपमा मात्र होइन राजनैतिक रुपमा पनि बलियो पार्दै लगेको छ। क्षेत्रीय साथै विश्व राजनैतिक रंग मंचमा समेत पनि भारतले आफ्नो उपस्थितिलाई प्रभावशाली पार्दै लगि रहेको छ। यसै वर्षको फेब्रुअरी महिनामा, बेलायतका प्रधान मंत्री डेभिड क्यामरुन भारतको भ्रणमा आउँदा उनी घटना स्थलमा नै पुगी श्रद्धांजली दिने बेलायतको पहिलो बहालबाला प्रधान मंत्री हुन पगेका थिए। जलियाबाला बागमा मारिएका व्यक्तिहरुलाई श्रद्धांजली दिन क्यामरुन अमृतसर, घटना स्थलमै, पुगेका थिए। अमृतसर स्थित जलियाबाला बाग त्यो स्थान हो जहाँ ‘पब्लिक मिटिंग” का लागि जम्मा भएका सर्वसाधारण माथि तत्तकालिन ब्रिटिस राजको सेनाले चारैतिरबाट घेराहाली गोली चलाएको थियो। यो घटना सन् 1919 को अप्रिल 13 तारिखमा घटेको थियो। सो घटनामा मारिएकाहरुको संख्या तत्कालिन प्रशासनका अनुसार ३७९ थियो भने भारतीय स्रोतहरुका अनुसार मरिनेहरु एक हजारको हाराहारीमा थिए। क्यामरुनले त्यो हत्यालाई “ब्रटिस इतिहासको अति लज्यास्पद घटना” बताएका थिए भने त्यहाँ रहेको शोक पुरस्तिकामा “हामीले यहाँ के भएको थियो कहिले बिर्सन हुन्न ( We must never forget what happened here) ” भनी लेखेका थिए। प्रधान मंत्री क्यामरुन द्वारा भएको भारतको यो भ्रमणले तथा भारतीय राजनीति प्रति उनले देखाएको चाँसोले विश्व राजनीति रंगमंचमा भारतले आफ्नो भूमिकालाई कुन किसिमले बलियो र अर्थपूर्ण पार्दै लगि रहेको छ भन्ने कुराको संकेत गर्दछ।
भारतले उल्लेखनीय किसिमले आर्थिक प्रगति यो बितेको बीस पच्चिस वर्षमा गरेको हो। पूँजीवादको प्रयोग गरेर भारतले उल्लेखनीय किसिमले आर्थिक प्रगति  गर्यो र गरि रहेको छ पनि। यो गएको बीस पच्चिस वर्षलाई भारतले भने कुशलतापूर्वक उपयोग गर्यो तर नेपालमा भने यो समय उपलब्धिविहीन भएर गयो। आर्थिक रुपमा उपलब्धिविहीन भयो नै राजनैतिक रुपमा पनि उपलब्धिबिहीन होला जस्तो छ। नेता र जनता दुबै समयमै सचेत नहुने हो भने नेपाललाई, अन्य मुलुकहरुले गरेको प्रगतिको केवल साक्षी बस्नु बाहेक अरु केही हात लाग्ने छैन, यस्तै स्थितिले निरन्तरता पायो भने।

विश्वराज अधिकारी

प्रतीक दैनिकमा प्रकाशित Friday, May 31, 2013

No comments:

Post a Comment